श्रीमतीलाई डीभी परेपछि अमेरिका गएका वडाध्यक्षले दिए राजीनामा

कास्की : श्रीमतीलाई डीभी परेपछि अमेरिका गएका कास्कीको मादी गाउँपालिका–१२ का वडाध्यक्ष कृष्णराज दाहालले पदबाट राजीनामा दिएका छन् । उनले गाउँपालिका अध्यक्ष देवीजंग गुरुङलाई असोज १ गते ह्वाट्सएपमार्फत राजीनामा पत्र बुझाएका हुन् । उनको राजीनामा आइतबारको ४९ औं कार्यपालिका बैठकले स्वीकृत गरेको छ ।
आफू नियमित काममा फर्कन सक्ने अवस्था नरहेको भनी दाहालले राजीनामा पत्र पठाएको अध्यक्ष गुरुङले बताए । ‘पहिला म कात्तिक दोस्रो हप्तासम्म आउँछु भन्नुभएको थियो । अहिले म कसै गरेर पनि आउन नसक्ने भएँ भनेर राजीनामा दिनुभएको छ,’ उनले भने ।
राजीनामा स्वीकृत भएको कार्यपालिका बैठकको निर्णय अब निर्वाचन आयोगलाई जानकारी गराउने अध्यक्ष गुरुङले बताए । दाहालले देशभन्दा बाहिर नै रहेको विषय भने पत्रमा खुलाएका छैनन् । उनले आफू वडाभन्दा बाहिर रहेको र उपस्थिति हुन नसक्ने विषय पत्रमा उल्लेख गरेका छन् ।
श्रीमतीलाई डीभी परेपछि २०८१ असारमा वडा सदस्यलाई कार्यवाहक दिएर उनी अमेरिका गएका थिए । केही दिनलाई वडा बाहिर रहने भन्दै उनले महिला वडा सदस्य लक्ष्मी गिरीलाई ०८१ असार १६ मा कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएका थिए । दाहालले परिवारका सदस्य दुर्घटनामा घाइते भएकाले उपचारका लागि एक हप्तालाई काठमाडौं जानुपर्ने कारण देखाएका थिए ।
अमेरिका पुगेपछि उनले दुई महिनामा फर्कने अर्को सन्देश पठाए । पछि फेरि ६ महिनाको समय मागे । एक वर्षमा फर्कने भनेर अन्तिम मौका मागे । एक वर्ष हुँदा पनि उनी फर्किएका थिएनन् । पछिल्लोपटक उनले आफू कात्तिकमा फर्कने सन्देश गाउँपालिका अध्यक्षलाई पठाएका थिए ।
वडाध्यक्ष दाहाल अमेरिका हुँदा पनि उनको नेपालस्थित बैंक खातामा सेवासुविधा दाखिला भएको पाइएको थियो । गाउँपालिकाको कार्यालयले अमेरिका गएपछिको ५ महिनासम्म सात वटा शीर्षकमा करकट्टी गरेर कुल एक लाख ३३ हजार ६ सय ५० रुपैयाँ उनको खातामा पठाएको थियो ।
उनले अमेरिका गइसकेपछि अर्थात् ०८१ साउनदेखि मंसिरसम्म यातायात सुविधा ७ हजार ५ सय, पत्रपत्रिका तथा इन्टरनेट सुविधा १७ हजार ५ सय, टेलिफोन सुविधा १७ हजार ५ सय, अतिथि सत्कार सुविधा ३० हजार, अनुगमन सुविधा ३० हजार, समन्वय र सहजीकरण सुविधा १२ हजार ५ सय रुपैयाँ बुझेका थिए । यसबाहेक चाडपर्व सुविधाबापत २० हजार रुपैयाँ पनि उनको खातामा जम्मा भएको थियो ।
गत साउन १२ मा श्रीमतीलाई डीभी परेपछि वडाध्यक्ष अमेरिकामा, सुविधा खातामा शीर्षकमा समाचार प्रकाशन गरेको थियो । उनले राजीनामा दिएसँगै चारमध्ये एक जना सदस्यलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिने तयारी छ । चार जना सदस्य सल्लाह गरेर एक जनाको नाम पठाउन भनिएको गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले बताए । ‘वडाध्यक्षले राजीनामा दिएपछि उहाँले दिएको कार्यवाहक पनि मिल्दैन । सदस्यमध्ये एक जना मिलेर आउनुस्, उसैलाई कार्यवाहक तोकेर पठाउँछौं भनेका छौं,’ उनले भने ।
२०७९ को स्थानीय तह निर्वाचनमा दाहाल माओवादीबाट विजयी भएका थिए । मादी–१२ मा चारमध्ये तीन सदस्य एमाले र एक सदस्य कांग्रेसबाट निर्वाचित छन् ।