नेपाल र भियतनामले एएफसी एसियन कप छनोटको खेल खेल्दै

काठमाडौं : एएफसी एसिया कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज भियतनामसँग खेल्नेछ। नेपाली टोलीले भियतनामको होची मिन्हको गो डाउ स्टेडियममा साँझ ६ः१५ मा खेल्नेछ।
नेपाली टिमले आज अवे म्याचको रुपमा भियतनामसँग खेल्नेछ। पछिल्लो पटक लाओससँगको हार बिर्सन नेपाली टिमले बलियो भियतनामविरुद्ध जित निकाल्ने महत्वकांक्षी लक्ष्य राखेको छ। नेपाली टिमका प्रशिक्षक म्याट रसले नेपाली टिम ३ अंकको लागि खेल्ने बताए।
खेलअघि, बुधबार भएको प्रि म्याच प्रेस कन्फ्रेन्समा नेपाली टिमका प्रशिक्षक म्याट रस भन्छन्,‘हामी यहाँ हुन पाउँदा निकै उत्साहित छौँ । हामी तीन अंकका लागि खेल्नेछौँ , यदि त्यो सम्भव भएन भने कम्तीमा पनि एक अंकका लागि प्रयास गर्नेछौँ । लाओसविरुद्धको प्रदर्शन निकै निराशाजनक थियो । हामी त्यसलाई सुधार्ने प्रयासमा छौँ ।’
फिफा वरियतामा नेपाल १७६ औँ स्थानमा रहेको छ भने भियतनाम ११४ औँ स्थानमा रहेको छ। बलियो भियतनामविरुद्ध एसिया कप छनोटको खेल खेल्नु खेलाडीको लागि राम्रो अवसर रहेको प्रशिक्षक रसले बताए।
उनले भने,‘यी प्रतियोगिताहरू खेलाडीहरूले सपना देख्ने प्लेटफर्म हुन्। यसले टोलीलाई सुधार गर्न निकै राम्रो अवसर हो। हामी टोलीको सम्भावना र मानसिकताबारे कुरा गर्छौं र आगामी दुई खेल टोलीले आफूलाई प्रमाणित गर्ने उत्कृष्ट मौका हो। यदि हामीले ती दुई खेलमा राम्रो नतिजा ल्याउन सक्यौँ भने, हामीसँग योग्यता हासिल गर्ने सबै मौका छ ।’
प्रशिक्षक रससँगै कप्तान किरण चेम्जोङ पनि यो खेलको लागि निकै उत्साहित रहेको बताए। उनले भने,‘म भियतनाम टिमको सामना गर्न उत्साहित छु । सम्पूर्ण टोलीले यो अवसरका लागि तयारी गर्दै आएको छ। हामी सकारात्मक नतिजा घर लैजान प्रयास गर्नेछौँ।’
नेपाली कप्तान चेम्जोङ भन्छन्,‘मलाई थाहा छ, भियतनामको अट्याक धेरै उत्कृष्ट छ, तर हामी खेलमा सबैभन्दा राम्रो प्रदर्शन गर्न आफ्नो सबै प्रयास गर्नेछौँ।’
नेपालले ४४ वर्षको एसिया कप छनोटको यात्रामा हालसम्म २ खेल मात्र जित निकाल्न सकेको छ। सन् २००३ मा नेपालले अफगानिस्तानलाई हराएको थियो। त्यसयता २२ वर्षसम्म नेपालले एसिया कप छनोटको खेलमा जित निकाल्न सकेको छैन। नेपालले होम म्याच पनि अक्टोबर १४ मा भियतनाममा नै खेल्नेछ।
नेपाली टोलीः
किरण चेम्जोङ(कप्तान), अञ्जन विष्ट, अनन्त तामाङ, सनिस श्रेष्ठ, आयुष घलान, जिलेस्पी जंग कार्की, लकेन लिम्बु, कुशल देउवा, सुवास ठकुरी बम, विमल पाण्डे, विशाल सुनार(गोलकिपर), दिप कार्की(गोलकिपर), एरिक विष्ट, दिनेश हेन्जन, अभिषेक लिम्बु, कृतिश रत्न छुन्जु, मणी कुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ