कुलमान र बेलायती राजदूतबीच भेटवार्ता

द एभरेष्ट पोष्ट
७ असोज २०८२ १४:०५
कुलमान र बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ सहित तीन मन्त्रालयको जिम्मा पाएका कुलमान घिसिङ र नेपालस्थित बेलायती राजदूत रब फेनबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई बेलायती राजदूत फेनले बधाई दिए । उनले कुलमानको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

भेटमा नेपाल-बेलायतबीच मित्रता, सहकार्य, ऊर्जा क्षेत्रमा बेलायतको सहयोग, पूर्वाधार क्षेत्रमा लगानीको सम्भावना, जलवायु परिवर्तनबाट सिर्जित समस्या न्यूनीकरणका उपायका लागि आवश्यक सहयोग लगायत विषयमा छलफल भयो ।

भेटमा मन्त्री घिसिङले जेनजी आन्दोलनपछि गठन भएको सरकारको मुख्य प्राथमिकताका रूपमा आन्दोलनका कारण क्षति भएका संरचना पुनर्निर्माण, आमचुनाव र सुशासन कायम गर्नु रहेको बताए ।

नेपालको पुरानो मित्र बेलायतले नेपालको आर्थिक विकासमा गरेको सहयोगको सराहाना गर्दै नेपाललाई कार्बनरहित बनाउन विद्युतीय सवारीसाधन प्रयोग बढाउन चार्जिङ स्टेसन स्थापनाका लागि भइरहेको सहयोग प्रभावकारी रहेको बताए ।

उनले बेलायतमा पूर्वाधार निर्माणमा सफल मानिएको सार्वजनिक-निजी साझेदारी लगानी मोडेललाई नेपालमा पनि अनुशरण गर्ने, ग्रिन हाइड्रोजन, जलवायु परिवर्तनका कारण सम्भावित हिमताल विस्फोटको जोखिम अध्ययन लगायत क्षेत्रमा सहयोग गर्न आग्रह गरे ।

बेलायत-नेपालको पूरानो मित्र भएकाले नेपालको सफलता आफ्नो देशको सफलता भएको उल्लेख गर्दै राजदूत फेनले नेपालको आर्थिक रूपान्तरणमा सहयोग गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस