रुपेश श्रेष्ठको बयान- कान्तिपुर टेलिभजनमा जब हमला भयो…

द एभरेष्ट पोष्ट
५ असोज २०८२ १४:२०
रुपेश श्रेष्ठको बयान- कान्तिपुर टेलिभजनमा जब हमला भयो…

काठमाडौं । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले केही मिडिया हाउसलाई समेत निशाना बनाए । सबैभन्दा ठूलो आक्रमण कान्तिपुरमा भयो । कान्तिपुर टेलिभिजन र कान्तिपुर दैनिक दुवैका कार्यलयमा आगजनी र तोडफोड गरिएको थियो ।

आक्रमणपछि बन्द हुन पुगेको कान्तिपुर टेलिभिजन २७ घन्टापछि भग्नावशेषबाटै पुन सुचारु गरिएको छ । त्यस दिनको त्रासदीलाई कान्तिपुर टेलिभिजनका डेपुटी न्यूज चिफ रुपेश श्रेष्ठले यसरी वर्णन गरेका छन् :

नोबल पुरस्कार विजेता लेखक अर्नेस्ट हेमिङ्वेले हाम्रा लागि उहिल्यै लेखिदिएको पंक्ति हो यो- मान्छे विनष्ट हुन सक्छ, तर पराजित हुन सक्दैन ।

२४ भाद्रको दिन ती आतंकवादीहरूले हामी कार्यरत कान्तिपुर टेलिभिजनमाथि आक्रमण गरे, आगो लगाए, बुताले भ्याएको तोडफोड गरे । जेनजी आन्दोलनको मौका छोपेर ती आतंककारीहरूले आक्रमण गर्दा हामी आन्दोलनको घटनाक्रम, सरकारको अकर्मण्यता, देशभरको जनजीवनबारे प्रत्यक्ष प्रसारण गर्दै थियौं ।

लेख्दालेख्दैको समाचार, बोल्दाबोल्दैको अपडेट, देखाउँदा-देखाउँदैको दृश्य सबै छोडेर हामी कार्यस्थलबाट निस्कियौं । निस्किने बेला ज्यान जोगाउने कि काम जोगाउने कि कार्यालय प्राङ्गणमा रहेका अनेक सरसामान जोगाउने ? मैले देखेका ती आतंकीहरू केहीको कम्मरमा खुकुरी थियो, धेरैका हातमा लाठी, केहीका हातमा पेट्रोल अनि केहीका हातमा पेस्तोलसमेत ।

दुवै हात आकाशतिर फर्काएर हाम्रा साथीहरू त्यो भिडलाई अनुरोध गर्दै निस्किएँ । पुछारमा रहेको म गेटबाट निस्किनेवित्तिकै आतंकवादीहरूले ममाथि सांघातिक हमला गरे । अनुहारमा मुक्का बर्साए । पछाडीबाट कसैले बजारेको लात्तीले म पछारिएँ । चस्मा उछिट्टियो ।

मलाई प्रहार गर्नेहरूको अनुहार चिन्न सकिएन । केही केटाहरूले उठाएर मलाई छोपे । तर, ममाथि प्रहार रोकिएन । लगाइरहेको कोट र टाइ तानेर खोल्दै तिनै केही केटाहरूले मलाई तान्दै र दौडाउँदै भिडभन्दा पर पुर्‍याए । त्यतिञ्जेल मलाई कतिले कताकता प्रहार गरे, गन्न सकिनँ, कहाँ दुख्यो- चाल पाइनँ । तर म जोगिएँ । ती केटाहरू आतंककारीका सहयोगी थिए कि मेरो लागि सहयोगी थिए, सोध्न भ्याइनँ ।

मानिसहरूको चहलपहल कम भएको एउटा गल्लीमा पुगेर आफूलाई टकटक्याएँ, हातखुट्टा ठिक छन् भन्ने पक्का गरेँ । अनि अनुहार छामेँ, अलि दह्रो नाक कुच्चुक्क परेको थाहा पाएँ । समथर निधारमा केही डाँडा बनेको चाल पाएँ । आँखा वरिपरि डिल परेछन्, ढाडको एकापट्टी ऊँटको ढाडजस्तो उम्रिएको महसुस भयो । कसरत गरेर बलियो बनाएको कम्मरको जाली अलि कमजोर भएछ । तर, म ठिकठाक रहेछु ।

म एक्लै नजिकको एउटा घरमा पसेँ र आश्रय लिएर बसेँ । तितरबितर भएका साथीहरूलाई भएसम्म फोन गरेँ र को कहाँ पुगे भन्ने अपडेट बुझेँ । सबै ठिक छन् भन्ने पक्का भएपछि मोबाइलमा तिनै आतंकीहरूले देशैभरी मच्चाएको तवाही हेरेपछि आफ्नो अवस्थासँग तुलना गरेर मैले आफूलाई सान्त्वना दिएँ । पछि थाहा पाएँ, ती आतंकीहरू कार्यालयमा ४ पटक फर्किएर आए । हरेक पटक आगो थपेर गए । त्यसमा कम्पाउण्डमा रहेका हाम्रा साथीहरूका मोटरसाइकल र चारपांग्रे गाडीहरू खरानी भए । त्यसमा मेरो पनि गाडी पर्‍यो । सुन्निएको अनुहार, डाँडी भाँच्चिएको नाक र जिउमा निलडाम बोकेर अर्को दिन कार्यालय हेर्न पुग्दा तंग्रन नसक्ने कार्यालय देखियो ।

तर, ७२ घण्टापछि हामीले २७ गते अपरान्ह प्रसारण फेरि सुरु गर्‍यौं । निस्किँदा ढोकाको सिसा फुटाउँदा हातमा लागेको चोटसहित विजय पौडेल दाइले समाचार सुरू गर्नुभयो । अरू साथीहरू क्यामरा ट्राइपड लिएर फिल्डमा खटिए । इन्जिनियर र प्राविधिक साथीहरूले बाँकी भएर सरसामान जोडेर प्रसारणको व्यवस्था मिलाए । यस्तो अवस्थामा पनि काममा फर्किने मेरा साथीहरूको हौसला देखेर म आजित भएँ । मैले बुझेँ कि ती आतंकीहरूले जति भौतिक सम्पत्ति नष्ट गरे पनि हाम्रो मनोबललाई भत्काउन सकेनन् । अनि सुन्निएको अनुहार र आँखावरिपरि निलडाम बोकेरै प्रसारण सुरु भएको ५ घण्टापछि म पनि प्रसारणमा मिसिएँ ।

हामीले फेरि मुसुक्क हाँसेरै भन्यौं, ‘कान्तिपुर समाचारमा स्वागत छ !’ अनि खोज्यौं एउटा नयाँ गतिको विश्वास ।

(श्रेष्ठको सामाजिक सञ्जालबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस