पुनर्निर्माण र निर्वाचनका लागि बजेट स्रोत खोज्न कार्यदल गठन

द एभरेष्ट पोष्ट
३१ भदौ २०८२ १३:३२
पुनर्निर्माण र निर्वाचनका लागि बजेट स्रोत खोज्न कार्यदल गठन

काठमाडौं । जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माण र आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि बजेटको स्रोत खोज्न अर्थ मन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ।

अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले बताएअनुसार, कार्यदलमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा, र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री छन्।

कार्यदललाई हालको बजेटमा परेका केही योजना तथा कार्यक्रमहरू कटौती गरेर कसरी स्रोत जुटाउन सकिन्छ भन्ने विषयमा आन्तरिक अध्ययन गर्ने जिम्मेवारी दिइएको छ। प्रवक्ता पाण्डेयले भने, “चुनाव र पुनर्निर्माणका लागि केही बजेट चाहिन्छ। त्यसका लागि स्रोत जुटाउन अहिलेकै बजेटभित्र रहेर कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर अध्ययन गर्नका लागि कार्यदल बनाइएको हो।” उनले कार्यदलले बजेटका केही आयोजना तथा कार्यक्रम कटौती गर्नुपर्ने हुनसक्ने र त्यसको प्राथमिकता निर्धारण गर्ने अधिकार पनि पाएको जानकारी दिए।

सोमबार पदभार ग्रहण गर्दै नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनालले चालू आर्थिक वर्ष २०८२/८३ को बजेटमा राजनीतिक दबाबमा परेका, पूर्वतयारी नभएका र टुक्रे योजना तथा कार्यक्रमहरू कटौती गरिने बताएका थिए। सरकारले पूरक बजेट नल्याउने र अहिलेको बजेटबाटै करिब एक खर्ब रुपैयाँ बराबरको स्रोत जुटाउन सकिने अर्थमन्त्री खनालको भनाइ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस