भारतले उपहार दिएको मुर्रा राँगो ‘रोहित’ मर्यो

कास्की : भारतले २१ महिनाअघि उपहार दिएको १५ मध्ये एउटा मुर्रा राँगो मरेको छ । राष्ट्रिय पशु प्रजनन् कार्यालय, पोखरामा रहेको मुर्रा गत साउन ३० मा भ्यागुते रोगका कारण मरेको हो । उक्त मुर्रा साउन १७ देखि बिरामी भएको र उपचारकै क्रममा साउन ३० गते साँझ ६ बजे मरेको कार्यालयका सूचना अधिकारी डा. महेन्द्र मल्लले बताए । उनका अनुसार यो मुर्राको नाम ‘रोहित’ राखिएको थियो ।
भ्यागुते रोग पशुमा देखिने खतरनाक सरुवा रोग हो । यो रोग पास्चुरेला मल्टोसिडा नामक जीवाणुका कारण हुन्छ । आहारा, पानी, झिंगा, लामखुट्टे, किर्ना, उपिया आदिको टोकाइबाट निरोगी पशुमा यो रोग सर्छ । भ्यागुते रोग लागेका पशुमा उच्च ज्वरो आउने, घाँटी र हृयाकुला सुनिने, घाँटीबाट घ्यार–घ्यार आवाज आउने, आँखा रातो हुनेजस्ता समस्या देखिन्छन् । संक्रमण बढेर फोक्सोमा पुगेपछि त्यसको असरले बढीमा तीन दिनमा पशुको मृत्यु हुन्छ ।
लक्षण देखिएलगत्तै छुट्टै क्वारेन्टाइनमा राखिएकाले अन्य राँगा र पशुमा रोग नसरेको कार्यालयका निमित्त प्रमुख विश्वनाथ गौतमले बताए । उनकाअनुसार यो राँगोको मृत्युले वीर्य उत्पादनमा क्षति पुग्नेछ । ‘यो ल्याइएकै वीर्य उत्पादन गर्न हो । हामीले यसबाट वीर्य संकलन गरेका थियौं,’ उनले भने, ‘३ हजार डोज वीर्य स्टक भएकाले यसको सन्तान उत्पादनमा समस्या त हुँदैन । तर नियमित वीर्य उत्पादनमा क्षति हुने भयो ।’
भारतले दिएका १५ मध्ये ७ वटा मुर्रा ०८० मंसिरमा पोखरा ल्याइएका थिए । ५ वटा लहान र ३ वटा बाँकेस्थित राष्ट्रिय पशु प्रजनन्, कार्यालयमा पठाइएका थिए । पोखरा ल्याइएकामध्ये दुई वटाबाट गत वर्षदेखि वीर्य संकलन सुरू गरिएको थियो । गत साउन ३० मा मरेको मुर्रा वीर्य संकलन गरिएका तिनै दुईमध्ये एक हो ।
बाँकी पाँच मुर्रा वीर्य उत्पादनका लागि तालिमकै चरणमा रहेको गौतमले बताए । मृत्यु भएको राँगोको पोस्टमार्टमपछि प्रक्रिया पुर्याएर अन्त्येष्टि (गाडिएको) गरिएको उनले सुनाए । राँगो मरेको विषय कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले हालैको मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका थिए ।