स्वास्थ्य बीमा नवीकरण समयमा नगरे थप शुल्क लाग्ने : स्वास्थ्य बीमा बोर्ड

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमित परिवारलाई तोकिएको समयमा बीमा नवीकरण नगरे थप शुल्क लाग्ने भएकोले असोज मसान्तभित्रै नवीकरण गर्न आग्रह गरेको छ।
बोर्डका अनुसार विगतमा स्वास्थ्य बीमा गरेका तर नवीकरण नगरेका सम्पूर्ण बीमितले वि.सं. २०८२ असोज मसान्तसम्म (२०८२/०६/३१) नवीकरण गरेमा एकपटकका लागि कुनै अतिरिक्त शुल्क नलाग्ने व्यवस्था मिलाइएको छ। बीमा नवीकरण गर्न ई–सेवा, कनेक्ट–आइपीएस, खल्ती वा दर्ता सहयोगीमार्फत सजिलै सकिनेछ।
तर उक्त म्यादपछि नवीकरण गर्दा भने बीमितले अतिरिक्त शुल्क तिर्नुपर्नेछ। बोर्डले तोकेको विवरण यस्तो छ :
तीन महिनाभित्र नवीकरण गर्दा योगदान रकममा १० प्रतिशत थप
छ महिनाभित्र नवीकरण गर्दा योगदान रकममा ३० प्रतिशत थप
एक वर्षभित्र नवीकरण गर्दा योगदान रकममा ५० प्रतिशत थप
एक वर्षपछि नवीकरण गर्दा योगदान रकममा १०० प्रतिशत थप
दुई वर्षपछि नवीकरण गर्दा योगदान रकमको तीन गुणा
तीन वर्षपछि नवीकरण गर्दा योगदान रकमको चार गुणा
बोर्डले बीमित परिवारलाई तोकिएको समयमा नै बीमा नवीकरण गरी स्वास्थ्य सुरक्षामा निरन्तरता दिन आग्रह गरेको छ।