बालेनले १५ करोड ‘टोकन मनी’ लिएको कवाड व्यवसायीको आरोप

काठमाडौँ । कवाड व्यवसायी समाज नेपालले विभिन्न पाँचबुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका हुन् । संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौँ महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादति र संरचना भत्काउने कार्य तत्काल रोकिनुपर्ने, ज्यादतिमा संलग्न काठमाडौं महानगर प्रहरीलाई कानूनी कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।
यसैगरी, कवाड व्यवसायी, संकलक र मजदुरको जिउ-धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौं महानगर प्रहरीले कवाड व्यवसायीमाथि पुर्याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ । कवाड व्यवसायी ओमप्रकाश सिंहले काठमाडौँ महानगरविरुद्ध अब निर्णायक आन्दोलन गर्ने बताए । उनले भने, ‘अब हामी पछाडि हट्ने छैनौँ । अब हामी कि त बालेनलाई बाध्य बनाउँछौँ । कि गर्छौँ, कि मर्छौं भनेर लागिपरेका छौँ । हाम्रो आन्दोलन अब सफल भएरमात्रै टुङ्गिनेछ ।’
कवाड आन्दोलन संघर्ष समिति संयोजक रामकेवल गुप्ताले कवाड व्यवसायीलाई हटाउन काठमाडौँ महानगरका मेयर बालेन साहले १५ करोड रुपैयाँ टोकन मनी थापेको आरोप लगाए । उनले आफूहरु संवैधानिक अधिकार र सरकारको कानूनभित्र बसेर कर तिरिरहेको बताए ।
उनले काठमाडौँका मेयर बालेनले आफूहरुको पेशा व्यवसाय सकाएको बताउँदै अब बालेन र महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई पनि सकाउने बताए ।
‘हामीले काठमाडौँको मेयरलाई सम्मान दिएको हो । सम्मान दिँदा-दिँदा हामी नै सकिन लाग्यौँ । हामी सकिने हो भने बालेन तिमीलाई पनि सकाउने हो । तिमीलाई राजु पाण्डेलाई यही टोलीले सकाउँछौँ । महानगरमा छिरेर तल रोडमा घिसार्ने छौँ । हामी सकिन लागेका छौँ । तिमीलाई पनि सकाउँछौँ । कवाड व्यवसायीले जहाँ भेट्छ, त्यही हान्छौँ ।’
कवाड व्यवसायी कृष्ण यादवले कवाड व्यवसायीलाई राज्यले सुरक्षा दिनसक्नुपर्ने बताए ।