एभरेष्ट फेडरेल क्रेडिट युनियनको चौथो साधारण सभा सम्पन्न
एकैदिन तीन करोड निक्षेप संकलन

न्यूयोर्क, १७ अगष्ट ।
अमेरिकामा बैंकिङ कारोवार गर्ने पहिलो संस्था एभरेष्ट फेडरेल क्रेडिट युनियनको चौथो साधारण सभा शनिवार न्यूयोर्कमा सम्पन्न भएको छ ।
२०१५ मा १० जनाबाट शुरु भएको एभरेष्ट फेडरेल क्रेडिट युनियनको चौथौ साधारण सभा अमेरिकाका बिभिन्न राज्यबाट आएका शेयर धनी तथा निक्षेपकर्ताहरुको विशाल उपस्थितिमा न्यूयोर्कमा सम्पन्न भएको हो ।
शनिवार एकैदिन क्रेडिट युनियनमा झण्डै तीन मिलियन निक्षेप जम्मा भयो । एभरेष्ट फेडरेल क्रेडिट युनियनमाथि विश्वास गर्दै साधारण सभामा सहभागीहरुले यति ठूलो रकम जम्मा गरेका हुन् । योसंगै क्रेडिट युनियनमा १० मिलियन रकम जम्मा भएको छ ।
एभरेष्ट फेडरेल क्रेडिट युनियनमा झण्डै एक मिलियन डलर पहिल्यै जम्मा गरिसकेका युनियनका अध्यक्ष डा.मदन उप्रेतीले शनिवार थप एक मिलियन रकम जम्मा गरे ।
डा. उप्रेतीले युनियनप्रति आम नेपाली समुदायलाई विश्वास दिलाउन आफूले सबैभन्दा बढि रकम निक्षेप जम्मा गरेको बताए ।
यो नेपालको सहकारी जस्तो होईन । जहाँको रकम अपचलन होस वा डुबोस, क्रेडिट युनियनमा ढुक्क भएर आर्थिक कारोवार गर्न आग्रह गर्दै उप्रेतीले भने, तपाईहरुको रकम डुब्दैन । हामीमाथि विश्वास गर्नुहोस । त्यसको जिम्मा हामी लिन्छौ ।
एभरेष्ट फेडरेल क्रेडिट युनियनका अध्यक्ष डा. उप्रेतीले ढुक्क भएर निक्षेप जम्मा गर्न सबैलाई आग्रह गरे ।
यो मुनाफाका लागि खोलिएको होईन । ‘समुदायको सेवा’ लागि खोलिएको हो, उनले भने, घर, व्यवसायका लागि त हामी कर्जा प्रवाह गर्छौ नै । सामान्य ऋणका लागि भौतारिन पर्ने नेपालीहरुको बाध्यताको अन्त्य गर्ने हाम्रो मूल ध्येय हो ।
सामान्य समस्यामा नेपालीहरुले कर्जा नपाउने अवस्थालाई मध्यनजर गर्दै नेपाली समुदायको गर्जो टार्ने उद्देश्य सहित आर्थिक समृद्धिका लागि क्रेडिट युनियन सञ्चालनमा ल्याइएको उप्रेतीले बताए ।
युनियनका प्रमुख कार्यकारी अधिकृत(सिइओ) सुमन तिम्सिनाले क्रेडिट युनियनप्रति नेपाली समुदायको बढ्दो विश्वास, बोर्ड र कर्मचारीहरुको सक्रियताले छोटो अबधिमै निक्षेप र सक्रिय सदस्यको संख्या दोब्बर भएको जानकारी दिए ।
सिईओ तिम्सिनाले नेपाली समुदायको आर्थिक समृद्धि र हीतका लागि खोलिएको युनियनको सेवा, सुबिधा र शाखा थप्ने क्रम तिब्र पारिएको बताए ।
उनले नेपाली विद्यार्थीहरुलाई समेत युनियनसंग जोड्ने प्रयास थालिएको र केही समयभित्र ठूलो संख्यामा विद्यार्थीहरुको खाता खोल्न अभियान सञ्चालन गरिने जानकारी दिए ।
सिईओ तिम्सिनाले समुदायको सेवा गर्ने उद्देश्यले खोलिएको क्रेडिट युनियनलाई उद्देश्य पूर्तिका युनियनको बोर्ड र कर्मचारीको टीमले २४ सै घण्टा काम गरिरहेको बताए । उनले युनियनलाई यो अवस्थामा ल्याई पु¥याउन विश्वास तथा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
उनले छितोछरितो र विश्वसनीय सेवाका लागि आफूहरुले काम गरिरहेको बताउदै बिभिन्न राज्यमा शाखा विस्तार जर्ने क्रम तिब्र रहेको जानकारी दिए ।
हामीले डेबिट कार्डको सेवा शुरु गरेका छौ । क्रेडिट कार्डको सेवा थप्दैछौ । खाता खोल्ने प्रकृयालाई पनि अत्यन्त सहज बनाएका छौ । भिजिट भीसामा आएका नेपाली र अमेरिकामा अध्ययनरत विद्यार्थीहरुले सहजै युनियनमा खाता खोल्ने व्यवस्था मिलाएका छौ, सिईओ तिम्सिनाले भने, अमेरिकामा स्थायी बसोबास गर्ने नेपालीहरुले त युनियनको सम्पूर्ण आर्थिक कारोवारमा सहभागी हुन पाउछन नै । भिजिट भिसामा अमेरिकामा रहेका नेपाली राहदानी भएका व्यक्तिले त्यही आधारमा खाता खोल्न सक्ने र बैकिङ कारोवार गर्न सक्ने व्यवस्था मिलाएका छौ ।
कोषाध्यक्ष तथा पूर्व सिईओ बिराज रिजालले हाल युनियनको कूल सम्पत्ती ८ मिलियन रहेकोमा २०३० मा १०० मिलियन पु¥याउने लक्ष्य राखिएको बताए ।
उनले युनियनमा हाल कुल निक्षेप ७.५ मिलियन रहेकोमा २०३० सम्म ८० मिलियन पु¥याउने लक्ष्य लिएर काम गरिरहेको सुनाए ।
रिजालका अनुसार युनियनको हाल कुल कर्जा प्रवाह ४.५ मिलियन रहेकोमा २०३० सम्म ७० मिलियन पु¥याउने लक्ष्य छ ।
युनियनमा हाल २००० रहेको सक्रिय सदस्यको संख्यालाई २०३० सम्म १० हजार पु¥याउने लक्ष्य राखिएको रिजालले जानकारी दिए ।
कर्जा समितिका अध्यक्ष मिलन पौडेलले कर्जा प्रवाहको अवस्था सन्तोषजनक रहेको बताए ।
साधारण सभाका कन्भेनर जीवन बमले एभरेष्ट फेडरेल क्रेडिट युनियनको स्थापनाले संभावनाको ढोका खोलेको बताए ।
अमेरिकाको न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत दधिराम भण्डारी र साधारण सभामा ब्रुकलिन कोपकी सिईओ समिरा राजनले क्रेडिट युनियनले नेपाली समुदायको आर्थिक समृद्धिका लागि निर्वाह गरिरहेको योगदानको खुलेर प्रशंसा गरे ।
त्यसअघि बिभिन्न राज्यबाट आएका सहभागीहरुले साधारण सभामा आफ्ना जिज्ञासाहरु राखेका थिए । युनियनमा जम्मा गरेको रकमको सुरक्षा, गोपनीयता, रकम जम्मा गर्नेहरुले पाउने सुविधाका बारेमा सहभागीहरुले राखेका जिज्ञासाको युनियनका अध्यक्ष उप्रेती, सिईओ तिम्सिना लगायतले जवाफ दिएका थिए ।