हिमालय टिभीको युट्युब च्यानलबाट गायब शार्क ट्याङ्क नेपालका एपिसोड भारतीय च्यानलबाट सार्वजनिक

काठमाडौँ । शार्क ट्याङ्क नेपालका एपिसोडहरू ‘शार्क ट्याङ्क इन्डिया’को युट्युब च्यानलमा सार्वजनिक हुन थालेका छन् । शार्क ट्याङ्कका पछिल्ला दुई एपिसोड (१३ र १४) सोनी टेलिभिजनको युट्युब च्यानल ‘शार्क ट्याङ्क इन्डिया’ मा आइतबार अपलोड भएका हुन् ।
बुधबार रातिदेखि हिमालय टेलिभिजनले शार्क ट्याङ्क नेपालका पूराना सबै एपिसोड पनि प्राइभेट गरेको थियो । टेलिभिजनले भने प्राविधिक कारणले समस्या भएको भन्दै टिकटकमार्फत १३ औँ र १४ औँ एपिसोड लाइभ गरेको थियो ।
तर युट्युबमा भिडिओ राख्न समस्या हुँदा दर्शकहरूलाई असुविधा भएको भन्दै शार्क ट्याङ्क इन्डियामार्फत एपिसोडहरू दर्शक सामु ल्याइएको टेलिभिजनले जनाएको छ । अब उक्त युट्युब च्यालनमा हालसम्म प्रसारण भइसकेका र आगामी एपिसोड पनि अपलोड हुने बुझिएको छ ।
उक्त च्यानलमा नेपाली संस्करणको शार्क ट्याङ्कका एपिसोड राख्दा नेपाली व्यवसायलाई थप व्यक्तिसम्म चिनाउने र यसले लगानीदेखि समग्र व्यवसायमा समेत सकारात्मक प्रभाव पुर्याउने टेलिभिजनले जनाएको छ । यस्तै आगामी एपिसोडहरू भने टेलिभिजनका साथै हिमालय टेलिभिजनको युट्युब च्यानलमा पनि सार्वजनिक हुने बताइएको छ ।