सुदूरपश्चिम प्रदेश सरकारद्वारा एक वर्षमा विभिन्न जिल्लामा एकसय वटा विद्यालय भवन निर्माण

द एभरेष्ट पोष्ट
२७ साउन २०८२ १३:५२
सुदूरपश्चिम प्रदेश सरकारद्वारा एक वर्षमा विभिन्न जिल्लामा एकसय वटा विद्यालय भवन निर्माण

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा प्रदेशका विभिन्न जिल्लामा एकसय वटा विद्यालय भवन निर्माण गरेको छ । सरकारले गत आर्थिक वर्ष २०८१–८२ मा एकसय वटा दुई कोठाको विद्यालय भवन निर्माण गरेको हो ।

प्रदेश सरकारले सबैभन्दा बढी कैलालीमा १९ वटा विद्यालय भवन निर्माण गरेको छ । त्यस्तै, बझाङमा १७, अछाममा १६, बैतडीमा १५, डडेल्धुरामा १४, डोटीमा आठ, दार्चुलामा छ र बाजुरामा पाँच वटा विद्यालय भवन निर्माण गरेको प्रदेश सरकारको एक वर्षको प्रगति विवरणमा उल्लेख छ ।

यसैगरी, सरकारले कैलालीमा २०, कञ्चनपुरमा एक, डोटीमा १२, डडेल्धुरामा दुई, बाजुरामा दुई, अछाममा १४, बझाङमा पाँच, बैतडीमा तीन गरी ५९ विद्यालय घेरबार तथा खेलमैदान निर्माणको काम गरेको छ । विभिन्न चार जिल्लाका विद्यालयमा सात वटा शौचालय निर्माण भएको जनाइएको छ ।

यस्तै, प्रदेश सरकारले डोटी बहुमुखी क्याम्पसको क्याम्पस भवन र प्रशासनिक भवन निर्माण गरेको छ । यसैगरी, अमरगढी बहुप्राविधिक शिक्षालय निर्माण सम्पन्न गरेको जनाइएको छ । अमरगढी बहुप्राविधिक शिक्षालयको प्रशासनिक भवन निर्माणको क्रममा रहेको प्रदेश सरकारले जानकारी दिएको छ ।

सिक्दै कमाउँदै कार्यक्रमका लागि प्राविधिक धार सञ्चालन भएका छ वटा विद्यालयलाई अनुदान दिइएको जनाइएको छ । प्रदेश सरकारले छ वटा सामुदायिक विद्यालयहरुमा लघु सङ्ग्रहालय स्थापना गरेको छ । डडेल्धुराको भुवनेश्वरी माध्यमिक विद्यालय, डोटीको रामपुर मावि बुडर, कञ्चनपुरको लक्ष्मी मावि जगदिया, डडेल्धुराको जगदीश मावि बडाल र कञ्चनपुरकै सत्यवती मावि बनगाउँमा लघु सङ्ग्रहालय स्थापना गरिएको हो ।

प्रदेश निर्वाचन क्षेत्रभित्रका ३२ वटा सामुदायिक विद्यालयलाई प्रदेश नमुना विद्यालयको रुपमा सरकारले छनोट गरेको छ । छनोट भएका सबै विद्यालयको विकास गुरुयोजना तयार भइ डिपिआरसहित भौतिक र शैक्षिक विकासमा नमुनायोग्य कार्य प्रारम्भ गरेको जनाइएको छ ।

साक्षर प्रदेश घोषणा गरिएको यो प्रदेशको १० वर्षे शिक्षा योजनाको प्रदेश सरकारले तयारी गरिरहेको छ । यसैगरी, प्रदेश शिक्षा नीति तर्जुमाको क्रममा रहेको जनाइएको छ । त्यस्तै, प्रदेश नमुना विद्यालय सञ्चालन निर्देशिकाको प्रारम्भिक ड्राफ्ट तयार भइसकेको जनाइएको छ । प्रदेश नमुना विद्यालय कार्यसम्पादन अनुदान मापदण्ड तयारीको अन्तिम चरणमा रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस