कञ्चनपुरकी सम्झना मृत्यु प्रकरण, छानबिनका लागि प्रहरीले समात्यो अर्की युवती पूजा भट्ट

कञ्चनपुर– कञ्चनपुरकै बेलडाँडी गाउँपालिका–२ सिहपालकी १८ वर्षीया सम्झना भट्टको मृत्यु प्रकरणको अनुसन्धानका लागि तीन जनाई पक्राउ गरेको प्रहरीले चौथो पात्र समेत नियन्त्रणमा लिएको छ।
गएको आइतबार साँझ झुन्डिएको अवस्थामा उनको शव घरमै फेला परेको थियो। सो विषयमा अनुसन्धानका लागि कैलालीको धनगढी विमानस्थलबाट बेलडाँडीकी पूजा भट्टलाई पक्राउ गरेको हो।
माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो। यसअघि मृतक युवतीका श्रीमान् पवन भट्ट, ससुरा हरिदत्त भट्ट, सासू किरण भट्टलाई प्रहरीले पक्राउ गरेको थियो।
मृतक युवतीका माइती पक्षले प्रहरीसमक्ष बुझाएको एउटा अडियोमा सम्झनाको हत्या गर्न पूजाले भाइ पवनलाई आदेश दिएको पाइएको बताइन्छ।
‘सम्झनालाई मारे पनि पाँच वर्ष त सजाय हुने हो, भाइ मार्दे’ भन्ने शब्द प्रयोग गरिएको दाबी प्रहरी स्रोतले गरेको छ।
प्रनाउ बोहोराले उक्त अडियोको विषयमा पनि छानबिन भइरहेको बताए। शुक्रबार पवनकी दिदी पूजालाई पनि नियन्त्रणमा लिएर आत्महत्या गर्न दुरुत्साहन दिन नहुने शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको डीएसपी बोहोराले जानकारी दिए।
घटनाको अनुसन्धान गरी दोषीउपर कारबाहीको माग गर्दै मृतकका माइती पक्षले शव उठाउन मानेका थिएनन्। मृतकको शव महाकाली प्रादेशिक अस्पतालमा राखिएको थियो।
घटनामा संलग्न रहेको आरोपमा मृतकका माइती पक्षले चार जनामाथि किटानी जाहेरी दिएका छन्।
पूजालाई पक्राउ नगरुन्जेल शव नउठाउने अडानमा माइती पक्ष थिए। शुक्रबार पूजा पक्राउ परेपछि सम्झनाका माइती पक्षले शवको दाहसंस्कार गरेका छन्। साउन १८ गते बिहान बेलडाँडी गाउँपालिका–२ स्थित सिंह पालटोलमा घरभित्र झुन्डिएको अवस्थामा सम्झना मृत फेला परेकी थिइन्।
पति पवनले सम्झनालाई मानसिकलगायतका यातना दिएको आरोप लगाइएको छ। प्रेम विवाह भए पनि यस प्रकरणले हत्यासम्मको खेल भएको सम्झनाका माइतीको दाबी रहेको थियो।