एक हजारभन्दा बढी बिरामीलाई निःशुल्क रगत प्रदान

द एभरेष्ट पोष्ट
२४ साउन २०८२ १३:३६
एक हजारभन्दा बढी बिरामीलाई निःशुल्क रगत प्रदान

धनगढी, साउन २३ गते । सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा एक हजारभन्दा बढी बिरामीलाई निःशुल्कमा रगत उपलब्ध गराएको छ । प्रदेश सरकारले एक हजार १८७ जना बिरामीलाई दुई हजार १४८ पिन्ट रगत निःशुल्कमा उपलब्ध गराएको हो । सरकारी अस्पतालमा उपचार गराउने प्रदेशवासीलाई सरकारले नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्रमार्फत निःशुल्क रुपमा रगत उपलब्ध गराउँदै आएको छ ।

यसैगरी, रैथाने बालीमा आधारित मुख्यमन्त्री वृद्धवृद्धा तथा असहाय लक्षित पोषण कार्यक्रम अन्तर्गत पोषण सामग्री आपूर्ति गरिएको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए। एक वर्षको अवधिमा ४८ जना महिलाको आङ खस्ने समस्याको निःशुल्क शल्यक्रिया गरिएको जनाइएको छ । अछामको बयलपाटा अस्पतालमा शल्यक्रिया गरिएको थियो । जसमध्ये एक जनाको क्यान्सर रोगको पहिचान भइ उपचार भइरहेको प्रदेश सरकारले जानकारी दिएको छ ।

यसैगरी, एक वर्षको अवधिमा एक लाख ४६ हजार ६१२ बालिकामा पाठेघर मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइएको छ । यस्तै, अटिज्म रोग पहिचानका लागि २८९ जनाको परीक्षण गरिएको र आठ जना बालबालिकाको शल्यक्रिया गरिएको छ । स्वास्थ्य निर्देशनालयमार्फत एआई प्रविधिद्वारा क्षयरोगका बिरामी पत्ता लगाउन चेकजाँच, परीक्षण गरिएको छ । २२ हजार जनाको परीक्षण गर्दा एक हजार ५०० जनामा सम्भावित क्षयरोग र १५२ जनामा क्षयरोग पुष्टि भएको प्रदेश सरकारले आफ्नो प्रगति विवरणमा उल्लेख गरेको छ ।

त्यस्तै, छ हजार महिला स्वास्थ्य स्वयम् सेविकाको स्वास्थ्य बिमा गरेको, शिविर सञ्चालन गरेर ११ हजार महिलालाई प्रजनन् स्वास्थ्य सेवा प्रदान गरेको, स्क्रिनिङ कार्यक्रममार्फत १४ हजारभन्दा बढीको नसर्ने रोगको स्क्रिनिङ गरिएको जनाइएको छ ।

घोरीघोरा स्वास्थ्य उपचार कार्यक्रमअन्तर्गत कैलालीमा ८४४ र कञ्चनपुरमा तीन हजार ५५३ जनाको सिकलसेल एनिमिया र थालेसेमिया रोग परीक्षण गरिएको छ ।

प्रदेश सरकारले आर्थिक रुपले विपन्न नागरिकको आर्थिक सहायता कार्यक्रम अन्तर्गत ६४५ जनालाई एक लाख रुपियाँको दरले सहायता गरेको छ । जसमा क्यान्सरका ४९३, मिर्गौला प्रत्यारोपणका १९, मस्तिस्क घातका १२, स्पाइनल सर्जरीका ४३, मुटु शल्यक्रियाका ६६ र बोनम्यारो प्रत्यारोपणका एक जनाले सहायता प्राप्त गरेको प्रदेश सरकारले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस