डेनमार्कमा नेपाली खेलकुद: लोकप्रियता, पारदर्शिता र क्रिकेट प्रतियोगिताहरूको विस्तार
कृष्ण धानुक ।
पछिल्ला वर्षहरूमा डेनमार्कमा बस्ने नेपाली समुदायबीच टेनिस बल सुपर सिक्स क्रिकेट, भलिबल, सेभेन–ए–साइड फुटबल, फुटसल र भेट्रान फुटबल जस्ता खेल प्रतियोगिताहरू लोकप्रिय गतिविधिको रूपमा विकसित हुँदै गइरहेको छ। विभिन्न क्लब र संस्थाहरूले सप्ताहन्तमा खेलकुद प्रतियोगिता आयोजना गर्दै समुदायलाई रमाइलो र एकताबद्ध बनाइरहेका छन्। मैदानमा नेपाली खेलाडीको उत्साह देख्दा, समुदायमा खेलकुदले ल्याएको उर्जा र एकता सहजै अनुभूत गर्न सकिन्छ। खेलले अनुशासन, टीमवर्क, नेतृत्व जस्ता गुणहरू विकास गर्छ।
हिमालयन स्पोर्ट्स क्लबले हालै सेभेन–ए–साइड फुटबल र टेनिस बल सुपर सिक्स क्रिकेट प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको छ। प्रवासी नेपाली मञ्च डेनमार्कले नेपाली समुदायबीच भलिबल प्रतियोगिता आयोजना गर्ने गरेको छ। अहिले यो भलिबल प्रतियोगिता स्व. बिष्णु पौडेलज्यूको स्मृतिमा समर्पित प्रतियोगिताको रूपमा चित्रित छ। जनसम्पर्क समिति डेनमार्कले हालै बालबालिकाका लागि फुटबल प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको छ। जनसम्पर्क समिति डेनमार्कको फुटबल कार्यक्रम पहिले वयस्क र बालबालिकाका लागि समर्पित थियो। अहिले भने बालबालिकाको सहभागितामा मात्र केन्द्रित भएको छ।
भर्खरै राइजिङ फुटबल क्लबले अगस्ट महिनामा आयोजना हुने सात-ए-साइड फुटबल प्रतियोगिताको मिति घोषणा गरेको छ। डेनमार्कको छिटो र व्यस्त जीवनशैलीबीच पनि नेपाली समुदाय अहिले खेलकुदमा झन् रमाउन थालेको छ। काम, परिवार र जिम्मेवारीका बीच फुर्सदका क्षणमा खेल हेर्न वा खेल्न पुग्ने नेपालीहरूको संख्या बढ्दो छ।
खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र होइन, स्मृतिको झिल्को पनि हो, खेल हेर्दा वा खेल्दा उनीहरूले आफ्नो युवा उमेरका रमाइला क्षणहरू सम्झन्छन् र खेलकुद सधैं समुदायलाई एकताबद्ध बनाउने माध्यम बनेको छ। फुटबलको मैदानमा गोलको खुसी, क्रिकेटको मैदानमा चौका–छक्काको रोमाञ्चमयी क्षणहरूले डेनमार्कमा बसोबास गर्ने नेपालीलाई आफ्नै गाउँघरको खेल मैदान सम्झाउँछन्।
पुराना क्लब तथा संस्थाहरूले प्रतियोगिता आयोजना गर्नका लागि समुदायबाट चन्दा, स्पोन्सर र सहयोग संकलन गर्ने गरेका छन्। सबैजनाले खुला मनले प्रतियोगितामा सहयोग पनि गर्छन्। नेपाली समुदायमा खेलकुद कार्यक्रम सफल बनाउन प्रायः समुदायकै योगदान अपरिहार्य हुन्छ। मानिसहरूले सामुदायिक एकता, युवा र बालबालिकाको विकास, सामाजिक प्रतिष्ठा, योगदानको भावनाले र मनोरञ्जनको लागि प्रतियोगितामा खुला मनले सहयोग गर्छन्। जब कार्यक्रममा सहयोग गर्नेहरूको नाम सार्वजनिक रूपमा घोषणा गरिन्छ, उनीहरूको सामाजिक सम्मान बढ्छ। यसले अरूलाई पनि सहयोग गर्न प्रेरणा दिन्छ र समाजमा सहयोगको भावना फैलाउँछ। सहयोगीहरूलाई सम्मानित महसुस गराउँदा भविष्यमा पनि उनीहरू सक्रिय रुपमा सहभागी हुन्छन्।
तर, यसैबीच पुराना र स्थापित क्लबहरूको पारदर्शिताबारे प्रश्नहरू उठ्न थालेका छन्। समुदायबाट चन्दा र सहयोग संकलन गरेर प्रतियोगिता सञ्चालन गर्ने। तर, आय–व्यय विवरण समयमै सार्वजनिक नगर्ने जस्ता अभ्यासले केही असन्तुष्टि र अविश्वास सिर्जना गरेको छ। भर्खरै जनसम्पर्क समिति डेनमार्कले बालबालिकाका लागि फुटबल प्रतियोगिता कार्यक्रममा लागेको खर्च र आम्दानीको विवरण सार्वजनिक गरेको छ। यसैगरी, अन्य पुराना क्लबहरूले पनि प्रतियोगिताहरू सकिएपछि नेपाली समुदायबीच निष्पक्ष हिसाब-किताब सार्वजनिक गरिएमा विश्वासको वातावरण बन्नेछ। पारदर्शिता र जवाफदेहीता देखाए खेलकुदको दायरा फराकिलो बनाउनेछ र खेलकुदमा पारदर्शिता हुनु भनेको समुदाय र क्लबबीचको विश्वासको पुल हो। पारदर्शिताले मात्र खेलकुद स्वस्थ, दिगो र सफल हुन्छ। खेलकुदमा संकलित चन्दा, अनुदान र सहयोगको उचित व्यवस्थापन भएको कुरा सबैले थाहा पाउँदा मात्र विश्वास बढ्छ। जब पारदर्शिता हुन्छ, दाताहरूलाई थाहा हुन्छ कि उनीहरूको योगदान कहाँ र कसरी खर्च हुँदैछ। यसले समुदायमा विश्वास कायम गर्छ र भविष्यमा पनि सहयोग प्राप्त गर्न सहज हुन्छ।
डेनमार्कमा रहेका नेपाली स्थापित क्लब र संस्थाहरूले आफ्नो भूमिकालाई नेपाली समाजको संरक्षकको जस्तै व्यवहार गर्न आवश्यक छ। यदि कुनै क्लबले प्रतियोगिताहरूमा एकाधिकार देखाउँदै त्यसप्रकारका प्रतियोगितालाई धन कमाउने साधनको रूपमा प्रयोग गरियो भने त्यो गलत हुन्छ।
नेपालले भर्खरै आईसीसीको डिजिटल फ्यान एंगेजमेन्ट अफ द ईयर २०२४ को पुरस्कार जितेर विश्व क्रिकेट समुदायमा आफ्नो स्थान थप मजबुत बनाएको छ। नेपाल र विश्वभर फैलिएका नेपालीहरू माझ क्रिकेट खेलप्रति रुचि र उत्साह बढ्दै गएको छ। डेनमार्कमा धेरै नेपालीहरूले सकेसम्म धेरै क्रिकेट प्रतियोगिता आयोजना होस् भन्ने चाहना राख्छन् तर हाल हिमालयन स्पोर्ट्स क्लबले आयोजना गर्ने सुपर सिक्स क्रिकेट बाहेक अरू विकल्पहरू सीमित छन्। क्रिकेट प्रतियोगिताहरूको सङ्ख्या बढाउन थप पहलको आवश्यकता छ। क्रिकेट प्रेमीहरूको बढ्दो उत्साहलाई ध्यानमा राख्दै नयाँ क्लब र संस्थाहरूलाई अघि बढ्न प्रोत्साहित गर्नुपर्ने देखिन्छ। थप प्रतियोगिता सञ्चालन गर्न चाहने क्लब तथा संस्थाहरुलाई हौसला प्रदान गरी खेलकुदको विकासलाई तीव्रता दिन सकिन्छ। डेनमार्कमा रहेका क्रिकेटप्रेमी र क्लबहरूबीच सहकार्य, सहयोग र समर्थनको भावना बढाउनु अत्यन्तै आवश्यक छ। डेनमार्कमा बसोबास गर्ने भारतीयहरूले क्रिकेटमार्फत आफ्नो समुदायलाई सक्रिय राख्दै वर्षेनी ३-४ प्रतियोगिता गर्दै आइरहेका छन्।
जब नयाँ क्लबहरूलाई पुराना क्लबहरूले सहयोग र सुझाव दिने वातावरण तयार हुन्छ, तब मात्र खेलकुदले हाम्रो समुदायलाई अझ मजबुत बनाउन सक्छ। यस्तो सहकार्यले मात्र खेलकुदमा समर्पित नेपालीहरूलाई उत्साहित गर्ने मात्र होइन, समुदायभित्र एकता र आत्मविश्वास पनि जागृत गर्दछ। यस प्रकारका पहलहरूले डेनमार्कमा रहेका नेपालीहरूको सामाजिक र सांस्कृतिक जीवनलाई समृद्ध पार्ने साथै खेलकुदमा पनि नयाँ उचाइहरू छुन मद्दत गर्नेछन्। यसले हाम्रो खेलकुद र समाज दुवैलाई दीर्घकालीन रुपमा मजबुत बनाउनेछ।
