‘नक्कली आधार कार्ड र राहदानी बनाएर’ भारत हुँदै नेपाली युवतीहरूको तस्करी भएको दाबी

काठमाडौं । मानवतस्करीको आरोपमा भारतको सशस्त्र सीमा बल (एसएसबी)ले पूर्वी नेपालसँग जोडिएको पानीट्याङ्की नाकाबाट दुई जनालाई पक्राउ गरेसँगै उक्त प्रयोजनका लागि जाली भारतीय कागजपत्र बनाइने गरेको तथ्य खुलेको अधिकारीहरूले बताएका छन्।
भारतको सशस्त्र सीमा बलले आइतवार सामाजिक सञ्जाल ‘एक्स’मार्फत् विशेष गुप्तचर विवरणका आधारमा आफ्नो एउटा टोलीले एक नाबालिगसहित सात जनाको उद्धार गरेको जनाएको थियो।
घटनास्थलबाट पक्राउ गरिएका एक भारतीय र एक नेपाली नागरिकहरूलाई थप कारबाहीका लागि पश्चिम बङ्गाल प्रहरीलाई बुझाएको उसको भनाइ छ।
नेपाली अधिकारीहरूले पीडित भनिएका महिला र मानवतस्करीमा संलग्न भएको आरोप लागेका नेपाली व्यक्ति दुवै पूर्वी नेपालको सङ्खुवासभा जिल्लाका बासिन्दा भएको भन्दै भारतीय प्रहरीले आफ्नो अनुसन्धान सम्पन्न गरेपछि नेपाल फर्काएर ती महिलाहरूलाई थप सोधपुछ गरिने जनाएका छन्।
भारतीय प्रहरीको भनाइ
तस्बिर स्रोत,Bijay Gajmer
तस्बिरको क्याप्शन,मेची पुलनजिकैको सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीहरूले सवारीसाधनलाई चेकजाँच गर्ने गर्छन्
दार्जिलिङका प्रहरी अधिकारीहरूले भारतीय सञ्चारमाध्यमहरूलाई बताएअनुसार विदेश जाने लोभ देखाएर नेपाली युवती र नाबालिगहरूलाई ल्याइएको थियो।
एसएसबीले सामाजिक सञ्जाल ‘एक्स’ मा राखेको विवरणमा नक्कली कागजपत्रका आधारमा उनीहरूलाई हङकङ तस्करी गर्ने योजना बनाइएको थियो।
भारतीय सञ्चारमाध्यमहरूमा प्रकाशित विवरणअनुसार जाली कागजपत्रका आधारमा आपराधिक गिरोहले विदेशमा रोजगारीमा पठाउने भन्दै नक्कली आधार कार्ड, स्थायी लेखा नम्बर (प्यान) कार्ड र राहदानीसमेत बनाइदिने गरेको पाइएको छ।
झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले पीडित भनिएका सबै किशोरीहरू सङ्खुवासभा जिल्लाका रहेको र उनीहरू पनि अनुसन्धानकै दायरामा रहेको आफ्नो जानकारीमा रहको बताए।
उनी भन्छन्, “अपराधकै सिलसिलामा त्यहाँ अनुसन्धान भइरहेको बुझिएको छ। कसैले जाली कागजपत्र बनाइदियो र त्यसमै (छानबिन भइरहेको) भन्ने छ। अनुसन्धानकै क्रममा भएकाले हामीलाई पनि सबै कुरा थाहा हुने भएन।”
तस्बिर स्रोत,Getty Images
तस्बिरको क्याप्शन,दलालहरूले कागजपत्र बनाएर भारतबाटै हङकङ पठाइदिने वाचा ती युवतीहरूलाई गरेका थिए
उनले माइती नेपालको टोली गएर पीडितहरूलाई भेटेको र त्यहाँ नक्कली कागजका आधारमा आधार कार्डदेखि राहदानीसम्म फेला परेको विवरण ल्याएको उल्लेख गरे।
अधिकारी थप्छन्, “दलालले नक्कली कागजपत्रहरू बनाइदिएको भन्ने भएपछि भारतीय पक्षबाट यो अदालतमा नै लैजानुपर्यो भन्ने भएको छ। केही दिनमा त्यसको टुङ्गो लागेर ती महिलाहरू हाम्रो नियन्त्रणमा आउनुभएपछि कसले पठाएको रहेछ, के भएको रहेछ भनेर हाम्रोतर्फबाट गर्ने अनुसन्धान हामी गर्ने छौँ।”
पीडितहरूलाई भेटेर फर्किएका माइती नेपालका प्रतिनिधि के भन्छन्?
पीडितहरूलाई भेटेर फर्किएका माइती नेपालका प्रतिनिधिहरूले सिलगुढीमा बाल कल्याण कमिटीको संरक्षणमा ती नेपाली किशोरीहरूलाई राखिएको जानकारी दिए।
उक्त संस्थाका कोशी प्रदेश क्षेत्रीय कार्यक्रम अधिकृत गोविन्द घिमिरेले पक्राउ पर्नेमा एक सवारी चालक र एक जना दलाल रहेको बताए।
उनी भन्छन्, “पहिला पीडित भनेर महिलाहरूलाई नेपाल नै ल्याउन लागिएको थियो। हामी पनि त्यहाँ गएका थियौँ। तर जब नक्कली परिचयपत्र र अर्काको नागरिकता बनाएर नेपाली चेलीहरू जान लागेको देखिएपछि कारबाहीको कुरा आयो, बयान लिने भन्ने कुरा भयो। अहिले आवश्यक प्रक्रिया चालिरहेको छ।”
उनले विगतमा पनि नक्कली भारतीय कागजपत्र बनाएर मानवतस्करी गरिएका घटना आफूहरूले सुन्ने गरेको भए पनि दलाल फेला नपर्ने गरेको उल्लेख गरे।
“पहिला सोधपुछ गर्दा ‘हाम्रो गाउँको दाजुले बनाइदिएको, उसको नाम ठूले हो’ भन्ने गर्थे। ‘ठूले के हो, को हो?’ भन्ने अवस्था थियो। तर यसपालि चाहिँ सम्बन्धित व्यक्तिलाई नै पक्राउ गरियो र मुद्दा चलाउने भन्ने कुरा भएको थियो।”
उनले आफ्नो संस्थाका मनोपरामर्शकर्ताहरू पनि लिएर गएको भन्दै त्यस्तो गतिविधिमा संलग्न नहुन हाल भारतीय अधिकारीहरूको संरक्षणमा रहेका १६ देखि २५ वर्ष उमेर समूहका युवतीहरूलाई सुझाव दिएको उल्लेख गरे।
नेपालमा मानवतस्करी
अमेरिकी विदेश मन्त्रालयले नेपाल सरकारले मानवतस्करी उन्मुलन गर्ने न्यूनतम मापदण्ड पूरा गर्न नसकेको निष्कर्ष निकाल्दै नेपाललाई दोस्रो तहको निगरानी सूचीमा राखेको छ।
नेपाल र भारतबीच १,८८० किलोमिटर खुला सिमाना छ र विज्ञहरूले सीमावारपार हुने मानवतस्करीका गतिविधि बारम्बार प्रकाशमा आउने गरेका भन्दै चिन्ता व्यक्त गर्ने गरेको पाइन्छ।
सीमा क्षेत्रमा गैरसरकारी संस्थाहरूले गर्ने निगरानीमा प्रहरी निर्भर रहेको भन्दै अमेरिकी विदेश मन्त्रालयले सन् २०२४ मा सार्वजनिक गरेको प्रतिवेदनले त्यस्तो प्रयासहरू महिला यात्रुहरूको जाँचमा केन्द्रित हुने गरेको उल्लेख गरेको छ।
माइती नेपालले अघिल्लो वर्ष पूर्वी नेपालको काकरभिट्टा नाकानजिकैबाट चार जनाको उद्धार गरिएको र १६८ जनालाई यात्रा गर्नबाट रोकिएको जनाएको छ।
यो वर्षको जुनसम्म ९३ जनालाई यात्रा गर्न रोकिएको र चार जनाको उद्धार गरिएको जनाइएको छ।
भारतीय सीमा सुरक्षा बलले गरेको पछिल्लो कारबाहीले विभिन्न वैकल्पिक रणनीतिहरू प्रयोग गरेर मानवतस्करीका गतिविधि हुने गरेको यथार्थ पुनः सतहमा आएको र यसले आफूहरूलाई थप सतर्क बनाएको अधिकारीहरूले बताएका छन्।