फिलिपिन्समा बाढी र पहिरो : मृत्यु हुनेकाे सङ्ख्या ३० पुग्यो

द एभरेष्ट पोष्ट
११ साउन २०८२ १६:३१
फिलिपिन्समा बाढी र पहिरो : मृत्यु हुनेकाे सङ्ख्या ३० पुग्यो

मनिला । फिलिपिन्समा गत साता यता लगातार भएको भीषण वर्षा, बाढी र पहिरोका कारण हालसम्म कम्तीमा ३० जनाको ज्यान गएको फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले जानकारी दिएको छ ।

तीमध्ये १३ जनाको मृत्यु पुष्टि भइसकेको छ भने अन्यको पहिचान प्रक्रिया जारी छ । यस्तै, सात जना अझै हराइरहेका छन्, जसमा केही आकस्मिक बाढीले बगाएको र केही पहिरोमा पुरिएको आशंका गरिएको छ । घटनाहरूमा परी १० जना घाइते भएका छन् ।

उक्त प्राकृतिक प्रकोपले करिब १४ लाख ६० हजार परिवार प्रभावित भएका छन्, जसमा करिब ५३ लाख मानिस समावेश छन् । नागरिक सुरक्षा कार्यालयका अनुसार देशभरका ८८ शहर तथा नगरपालिकाले विपद् व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले प्रकोपको अवस्था घोषणा गरिसकेका छन् ।

हाल टाइफुन विपा, फ्रान्सिस्को र को–मे नामक आँधीहरू देशको भूभागबाट बाहिरिइसकेका छन् । तर, मौसम विज्ञान विभागले लुजोन टापुको केही भागमा अझै केही दिन भारी वर्षा जारी रहने पूर्वानुमान गरेको छ । फिलिपिन्समा प्रत्येक वर्ष झन्डै २० वटा आँधीबेहरी आउने गर्छन्, जसले व्यापक जनधनको क्षति पुर्याउने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस