सुदूरपश्चिम प्रदेश कराते महासंघद्वारा खेलाडी तथा प्रशिक्षकहरु सम्मानित

द एभरेष्ट पोष्ट
११ साउन २०८२ ३:०९
सुदूरपश्चिम प्रदेश कराते महासंघद्वारा खेलाडी तथा प्रशिक्षकहरु सम्मानित

धनगढी, ९ साउन ।
श्रीलंकामा सम्पन्न ९औँ दक्षिण एशियाली कराते प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी र  प्रशिक्षकहरुलाई धनगढीमा सम्मान गरिएको छ ।

सुदूरपश्चिम प्रदेश कराते महासंघद्धारा शुक्रबार धनगढीमा आयोजित खेलाडी तथा प्रशिक्षक सम्मान कार्यक्रममा उनीहरुलाई नगद सहित सम्मान गरिएको हो ।

धनगढी रंगशालामा आयोजित कार्यक्रम सुदूरपश्चिम प्रदेश कराते महासंघका अध्यक्ष त्रैलोक्यनाथ पाण्डेयको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव लोक बहादुर खड्का प्रमुख अतिथि रहेका थिए ।

अमेरिकामा बस्दै आएका करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा नेपाल कराते महासंघका केन्द्रीय उपाध्यक्ष मकेन्द्र बहादुर सिंहको आर्थिक सहयोगमा खेलाडीहरुलाई नगद सहित सम्मान गरिएको हो ।

कार्यक्रममा गत वर्ष भुटानमा सम्पन्न ८औँ दक्षिण एशियाली कराते प्रतियोगिता र भर्खरै श्रीलंकामा सम्पन्न ९औँ दक्षिण एशियाली कराते प्रतियोगितामा स्वर्णपदक प्राप्त गर्ने खेलाडी मनिषा कुमारी बोहरा र ९ औँ दक्षिण एशियाली कराते प्रतियोगितामा स्वर्णपदक प्राप्त गर्ने आस्था लुहार तथा सोही प्रतियोगितामा कास्य पदक प्राप्त गर्ने खेलाडीहरु सोनिया तिरुवा र कन्चन बोहरालाई नगद सहित सम्मान गरिएको थियो ।

त्यस्तै पदक बिजेता खेलाडी आस्था र सोनियाका प्रशिक्षक बिरेन्द्र बहादुर चन्द तथा मनिषा र कन्चनका प्रशिक्षक अशोक चन्दलाई पनि नगद सहित सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा हालै काठमाडौँमा सम्पन्न १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने दुई जना खेलाडीहरुलाई पनि नगद सहित सम्मान गरिएको थियो ।

प्रतियोगितामा एथलेटिक्स तर्फ छात्राको ४०० मिटर दौडमा राष्ट्रिय रेकर्ड सहित स्वर्णपदक प्राप्त गर्ने संगीता बिके र १३ औं, १४औँ र १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदकको ह्याट्रिक गर्ने तेक्वान्दो खेलाडी दीपा जैशी पनि नगद सहित सम्मानित भईन् ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा क्रियाशील अधिकांश खेलकुद संघका अध्यक्ष तथा पदाधिकारीहरु, राष्ट्रिय खेलकुद परिषद र सुदूरपश्चिम प्रदेश खेलकुद परिषदमा कार्यरत प्रशिक्षक, कर्मचारी सहित पाँच सय भन्दा खेलाडीहरुको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि खेलकुद परिषदका सदस्य सचिव लोक बहादुर खड्काले सम्मान तथा प्रशंसाले खेलाडीहरुको हौसला बृद्धि गर्ने बताउदै आयोजक संस्थालाई धन्यवाद दिए ।

आयोजक संस्थाका अध्यक्ष त्रैलोक्यनाथ पाण्डेयले सम्मानित खेलाडी तथा प्रशिक्षकलाई बधाई दिदै कार्यक्रममा सहभागी अतिथि, खेलाडी, प्रशिक्षक र कर्मचारीलाई धन्यवाद दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस