गाजामा इजरायली बमबारी जारी, एकैदिन ११० जना मारिए

द एभरेष्ट पोष्ट
२९ असार २०८२ १२:५०
गाजामा इजरायली बमबारी जारी, एकैदिन ११० जना मारिए

काठमाडौं । गाजाको रफाहमा अमेरिका समर्थित गाजा ह्युमानिटेरियन फाउन्डेसन (जीएचएफ)को खाद्यान्न वितरण केन्द्रमा खाद्यान्न लिन पर्खिरहेका ३४ सहित उक्त क्षेत्रमा ११० प्यालेस्टाइनी मारिएका छन् । त्यो घटनापछि पनि इजरायलले बमबारी जारी राखेको छ ।

इजरायली सेनाले नुसेरात शरणार्थी शिविरमा एउटा घरमा बमबारी गर्दा बालबालिकासहित कम्तीमा १० प्यालेस्टाइनी मारिएका छन् ।

इजरायली सेनाले गाजा सिटीको अल–मावासीमा आठ प्यालेस्टाइनी मारिएको जनाएको छ ।

नासेर अस्पतालका अनुसार, इजरायली सेनाले दक्षिणी अल–मावासीमा विस्थापित मानिस बसेका पालमाथि आक्रमण गर्दा कम्तीमा तीन प्यालेस्टाइनी मारिएका र धेरैजना घाइते छन् ।

गाजा सिटीको हमिद सडकस्थित एक अपार्टमेन्ट भवनमा इजरायली आक्रमणमा थप कम्तीमा पाँच प्यालेस्टाइनी मारिएका छन् ।

इजरायली सेनाले गाजा सिटीको साब्रा क्षेत्रमा आक्रमण गरेको छ । उक्त आक्रमणमा अल–दायह परिवारको घरमा एक बालकको मृत्यु भएको छ । त्यही क्षेत्रमा अर्को आक्रमणमा एक महिलाको मृत्यु भएको छ । तीनजना घाइते छन् ।

प्रत्यक्षदर्शीले बताएअनुसार, इजरायली सैनिकले शनिबार अल–शकुश क्षेत्रमा प्यालेस्टाइनीमाथि सिधै गोली चलाएका थिए ।

यसैबीच, इजरायलको तेल अभिभमा प्रदर्शनकारीले गाजामा मारिएका बालबालिकाका निम्ति मौनधारण गर्दै युद्धविरामको माग गरेका छन् ।

सडकको किनारमा प्रदर्शनकारीले मैनबत्ती र गाजामा मारिएका सयौँ बालबालिकाको तस्बिर बोकेर जनचेतना जगाउने प्रयास गरे । जबकि, अर्को ठूलो समूहले गाजामा अझै बन्धक बनाइएका सबैको तत्काल रिहाइको माग गर्दै मार्च गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस