सर्पको डसाइबाट कञ्चनपुरकी कमलाको मृत्यु

रञ्जना बिसी,
कैलाली । शुक्रबार सर्पको टोकाइबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका १ निगालिकी ३० वर्षीय कमला आउजिको मृत्यु भयो। सुरक्षित पक्कै घर हुँदाहुँदै घरबाट करिब ६० मिटरको दुरीमा रहेको छाउगोठमा सुत्न गएकी उनलाई राति १० बजे बजे सर्पले टोकेको थियो। आफन्तका अनुसार उनका झुल लगाएर सुतेकी कमला गर्मी भएपछि झुल बाहिर टाउको निकालेर सुतेकी थिइन्। त्यहीबेला उनलाई सर्पले टोकेको थियो। छाउगोठबाट उनी चिच्याएको आवाज आएपछि वरपरका छिमेकी के भयो भन्दै छाउगोठ पुगेका थिए ।
बेहोस अवस्थामा भेटिएकी उनलाई आफन्तले राति नै अटो बोलाएर उपचारका लागि राति १२ बजे धनगढीको सेती प्रादेशिक अस्पताल पुर्याएका थिए । गम्भीर अवस्थामा पुगेकी उनलाई बिहान ४ बजे सघन उपचार कक्ष आइसियुमा राखिएको थियो । तर उपचारकै क्रममा शनिबार राति ८ बजे आउजीको मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।
मृतक आउजीका परिवार विगत लामो समय देखि इंडिया बस्दै आएका छन् । कमलापनि गत वैशाखमा मात्रै इन्डियाबाट घर आएकी हुन ।
आफ्नु छाउगोठ नभएका कारण उनी जेठाजुको छाउगोठमा सुतेको आफन्तले बताए ।
कमलाका जेठाजु सिद्ध आउजिका अनुसार कमलाको पक्की घर छ । तर छाउ भएको बेला घरभित्र बस्दा देउता रिसाउने भएकाले उनी छाउगोठ सुत्ने गरेको उनले बताए ।
‘बाहिर सरेका बेला घर भित्र बस्न पाइँदैन । हामीले नमाने पनि हाम्रा देउता छाउ भयको बेला घर भित्र बसेको राम्रो मान्दैनन् ,’ उनले भने । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार आउजी को परिवार अछाम बाट बसाइँ सरेर कञ्चनपुर आएको हो । उनका नाबालक १५ वर्षीय, १२ वर्षीय र पाँच वर्षीय तीन छोरा छन् भने श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् ।
कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा मृतक कमलालाई छाउगोठमा बस्न कसैले बाध्य नबनाएको बताउँछन् । उनको घरमा कोही नभएकाले उनलाई कसैले बाध्य नबनाएर सो इच्छाले उनी छाउगोठमा बसेको उनले बताए । मेयर ओझाका अनुसार कृष्णपुर नगरपालिकाले गतवर्ष मात्रै वडा नम्बर १ स्थित निगालीका चारवटा छाउगोठ भत्काएको थियो। यस वर्ष पनि छाउगोठ भत्काउने कार्यक्रम रहेको उनले जानकारी दिए ।
‘हामी पटक पटक विभिन्न जनचेतनाका कार्यक्रम गर्दै छौ । तर समाजमा जरा गाडेर बसेको यो कुपर्था लागि महिलाहरू स्वयम छोड्न चाहँदैनन् ,’ ओझा भन्छन् ।