काठमाडौं महानगरपालिकाले २५ अर्बको बजेट ल्याउने

काठमाडौं- काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समिति बैठक बिहीबार सम्पन्न भएको छ ।
काठमाडौं प्लाजास्थित महानगर कार्यालयमा सम्पन्न उक्त बैठक प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको हो ।
बैठकले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि अनुमानित बजेट सीमा निर्धारण गर्दै करिब २५ अर्ब ११ करोड रुपैयाँसम्मको बजेट ल्याउने प्रस्ताव गरेको छ ।
बैठकमा बोल्दै प्रमुख शाहले जनअपेक्षा अनुसारको विकास कार्यक्रमलाई प्राथमिकता दिँदै पूर्वाधार निर्माणका क्षेत्रमा बजेट वृद्धि गर्न निर्देशन दिएका थिए ।
चालु आर्थिक वर्षको तुलनामा आगामी वर्ष पूर्वाधार क्षेत्रमा थप बजेट विनियोजन गरिने निर्णयसमेत समितिले गरेको छ ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसहित अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
अब केही समयमै बस्न लागेको ४०औँ नगर कार्यपालिका बैठकले नगर सभाको मिति तोक्ने र त्यसपछि नगर सभामार्फत बजेट सार्वजनिक गर्ने कार्य अघि बढाइनेछ ।
नगर सभामा प्रमुख बालेन शाहले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् भने उपप्रमुख सुनिता डंगोलले बजेट पेस गर्ने छिन् ।
महानगरपालिकाले आगामी वर्षको योजना निर्माणमा सार्वजनिक सहभागीता र जनआवश्यकतालाई प्राथमिकता दिने संकेत दिएको छ ।