गाजामा इजरायली गोलाबारीबाट कम्तीमा ६९ जनाको मृत्यु

काठमाडौं : उद्धारकर्मीले इजरायली गोलीबारीमा बिहीबार गाजामा कम्तीमा ६९ जनाको मृत्यु भएको बताएका छन्। इजरायलले प्यालेस्टिनी भूभागमा बमबारी तीव्र पारेको छ।
हमासको नागरिक रक्षा एजेन्सीका अनुसार गाजामा विस्थापित परिवारको आश्रयस्थल नजिकै भएको हवाई आक्रमणमा १५ जनाको मृत्यु भएको छ। तीमध्ये धेरैजसो महिला र बालबालिका छन्।
इजरायली सेनाले त्यहाँ रहेका एक प्रमुख हमास कार्यकर्तालाई लक्षित गरेको बताएको छ।
नागरिक सुरक्षा विभागले पनि ३८ जनाको मृत्यु भएको जानकारी दिएको छ। राहतका लागि लाइनमा उभिएर वा सहयोग माग्न जाँदा मृत्यु भएको छ।
इजरायली सेनाले ठूलो मात्रामा हताहत भएको भन्ने रिपोर्ट झूटा भएको बताएको छ।
यो घटना इजरायल र हमास दुवैमाथि नयाँ युद्धविराम र बन्धकको रिहा गर्ने सम्झौतामा सहमत हुन दबाब बढिरहेको समयमा भएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार इजरायलले गाजामा ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तमा सहमति जनाएको घोषणा गरे। यद्यपि यो सम्झौतालाई रोक्न सक्ने केही अवरोध अझै पनि छन्।
हमासले प्रस्तावको अध्ययन गरिरहेको बताएको छ। तर अझै पनि युद्धको अन्त्य र गाजाबाट इजरायली फिर्ता चाहन्छ।
इजरायली सेना (आईडीएफ)ले आफ्नो विमानले विगत २४ घण्टामा गाजामा करिब १५० आतंकवादी स्थानमा प्रहार गरेको बताएको छ।
गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सोही अवधिमा ११८ जनाको मृत्यु भएको बताएको छ।