राष्ट्रियसभाबाट पारित भयो भन्सार विधेयक

काठमाडौं । भन्सार विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ । बुधबारको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पेस गरेकोमा उक्त प्रस्ताव सर्वसहमतिले पारित भएको हो।
प्रस्ताव पेस गर्दै अर्थमन्त्री पौडेलले नयाँ कानुन कार्यान्वयनपछि भन्सार चुहावट नियन्त्रण, प्रविधिको प्रयोग बढाउने, भन्सार जाँचपास छिटोछरितो र प्रभावकारी ढङ्गले काम गर्न सकिने विश्वास व्यक्त गरेका थिए।
भन्सार जाँचपास प्रक्रियालाई थप प्रविधिमैत्री र सहज बनाउन तथा नेपाल पक्ष राष्ट्र रहेको क्योटो महासन्धि अनुकूल हुनेगरी भन्सार ऐन संशोधन आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो।
व्यापार सहजीकरणका लागि भन्सारसँग सम्बन्धित प्रावधान भन्सार ऐन नियमबाट सम्बोधन गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो । यो ऐन प्रमाणीकरण भएको मितिले ९१औँ दिनदेखि लागू हुनेछ । राष्ट्रियसभाको अर्को बैठक यही असार २० गते शुक्रबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेछ ।