नेपालको सहयोगलाई निरन्तरता दिने एमसीसीको निर्णय

काठमाण्डाै – अमेरिकी सहयोग नियोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी) ले नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिने निर्णय गरेको छ ।
‘मिलेनियम च्यालेन्ज एकाउन्ट’ (एमसीए– नेपाल) ले आज एक विज्ञप्ति निकालेर निर्णयको स्वागत गरेको छ । विज्ञप्तिमा अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुटअन्तर्गत एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिनका लागि अनुमति दिने सम्बन्धमा अमेरिकी सरकारबाट भएको निर्णयको एमसीए–नेपालले स्वागत गरेको उल्लेख छ । तर यो निर्णय कुन मितिमा भयो भन्नेबारेमा एमसीए नेपालले खुलाएको छैन ।
एमसीए–नेपालले २ सय ९७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मतलगायतका कार्यसम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्नेसहितका कम्प्याक्ट क्रियाकलाप कार्यान्वयन गर्न एमसीसीसँग निकटतापूर्वक काम गरिरहेको छ ।