एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरूद्ध जाहेरी

द एभरेष्ट पोष्ट
५ असार २०८२ १६:५९
एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरूद्ध जाहेरी

काठ्माण्डौँ- नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा सांसद मेटमणि चौधरीविरूद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी परेको छ।
बुधबार कार्यालयमा हुलाकमार्फत चेक अनादर कसुरमा जाहेरी परेको कार्यालय प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिए।

‘हुलाकमार्फत चेक अनादरको जाहेरी आएको छ। यसबारे हामी छलफलमा छौं,’ उनले भने।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयको उच्च स्रोतका अनुसार चौधरीविरूद्ध एभेरेस्ट बैंकको ५ करोड ४० लाखको चेक अनादरको जाहेरी परेको हो।

उनीविरूद्ध रोल्पाका ठेकेदार धात बुढामगरले जाहेरी दिएका प्रहरीले जनाएको छ।

हुलाकमार्फत परेको जाहेरीलाई सनाखत गर्न प्रहरीले जाहेरवालालाई कार्यालयमा बोलाएको छ।

‘जाहेरवालालाई सनाखत गर्नका लागि बोलाउने प्रक्रिया हुन्छ। सनाखत भएपछि अनुसन्धानको नियमित प्रक्रियामा अघि बढ्छ,’ स्रोतले भन्यो, ‘हस्ताक्षर नमिलेर चेक बाउन्स भएको भन्ने कुरा छ। हामी हेर्दै छौं।’

यस विषयमा कुराकानी गर्न एकीकृत समाजवादीका उपमहासचिव चौधरीलाई सम्पर्क गर्दा उनले फोन उठाएनन्।

चौधरी गत आम निर्वाचनमा दाङ क्षेत्र १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस