संसद् चलाउन सभामुखले बढाए सक्रियता
 
                                 काठमाडौँ- सभामुख देवराज घिमिरेले संसदमा जारी अवरोधबारे आज बिहान रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग अलग अलग छलफल गरेका छन्।
रास्वपा कार्यवाहक अध्यक्ष अर्यालसँग बानेश्वरस्थित कार्यकक्षमा छलफल गर्दै सभामुखले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरु गर्नैपर्ने बाध्यता रहेको, अवरोधको स्वरूप बदल्न आग्रह गरे।
सभामुखले सदनलाई मर्यादित बनाउन समेत ध्यानाकर्षण गराए। रास्वपा कार्यवाहक अध्यक्ष अर्यालले आफूहरूको अवरोध जारी रहने बताउँदै संसद्लाई मर्यादित बनाउने प्रतिबद्धता जनाए।
गत शुक्रबारको बैठकमा अवरोधका क्रममा संसदीय मर्यादाविपरीतका गतिवधि भएकोबारे बिहान भएको बैठकमा प्रमुख सचेतकहरूले सभामुखको ध्यानाकर्षण गराएका थिए।
सभामुखले अध्यक्ष लिङ्देनलाई पनि संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्दै संसद्को अवरोध हटाउन आग्रह गरेका थिए।
अध्यक्ष लिङ्देनसँग टेलिफोन गर्दै सभामुखले संसद्मा आफ्ना विषयलाई राखेर सदन चल्ने वातावरण बनाउन सहयोग गर्न आग्रह गरे।

 
                                         
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                      
                                      
                                      
                                      
                                      
                                      
                                     