परराष्ट्रमन्त्री राणाद्वारा गौरीफन्टा नाका व्यवस्थित गर्न पहलको प्रतिबद्धता

द एभरेष्ट पोष्ट
२४ जेठ २०८२ ८:०७
परराष्ट्रमन्त्री राणाद्वारा गौरीफन्टा नाका व्यवस्थित गर्न पहलको प्रतिबद्धता

धनगढी, २३ जेठ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कैलालीस्थित गौरीफन्टा नाका क्षेत्रलाई व्यवस्थित गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। बिहीबार निरीक्षणको क्रममा उनले उक्त सीमा नाका भएर दैनिक हजारौं सुदूरपश्चिमवासी भारत र नेपाल आवतजावत गर्ने भएकाले सो क्षेत्रलाई छिटोभन्दा छिटो व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याइन्।

गौरीफन्टा नाका अव्यवस्थित हुँदा सर्वसाधारणले यात्रा गर्न कठिनाइ भोग्नुपरेको गुनासो सुनेपछि मन्त्री राणाले भन्सार प्रमुख अनन्तराज तिमिल्सिना, प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र सुरक्षा निकायका प्रमुखहरूलाई आवश्यक योजना तयार गरी चाँडै पेश गर्न निर्देशन दिइन्।

उनले निरीक्षणको क्रममा प्रहरी चौकी, बसपार्क, सडक तथा शौचालयजस्ता पूर्वाधार सुधार गर्न पनि निर्देशन दिँदै भनिन्, “यो सडक जीर्ण अवस्थामा छ, यसलाई सुधार गर्न आवश्यक छ। अन्तर्राष्ट्रिय सीमा क्षेत्र भएकाले यहाँको सडक राम्रो हुनु अत्यावश्यक छ, जसबाट देशको सकारात्मक छवि प्रवर्द्धन हुन्छ।”

उनले नेपालतर्फको सडक सुधारमा ढिलाइ भइरहेको भन्दै चाँडै कालोपत्रे र स्तरोन्नति गर्न जोड दिइन्। भारतले भने आफ्ना तर्फबाट आवश्यक सुधार र कालोपत्रेको कार्य सम्पन्न गरिसकेको उल्लेख गर्दै उनले दुधुवा नेशनल पार्क क्षेत्रमा सडक चौडाइको कार्य भारत सरकारको कानुनी प्रक्रिया जटिलताका कारण रोकिएको जानकारी पनि दिइन्।

“भारतले आफ्नो प्रतिबद्धता अनुसार सडक कालोपत्रे गरेको छ, अब नेपालले पनि आफ्नो भागको सुधार चाँडै गर्नुपर्छ। यसका लागि म आवश्यक पहल गर्छु,” मन्त्री राणाको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस