ड्राइभिङ लाइसेन्स अवधि अब १० वर्ष

काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को अवधि १० वर्ष हुने भएको छ । प्रतिनिधिसभाले पारित गरेको केही नेपाल ऐन संशोधन विधेयकमार्फत ड्राइभिङ लाइसेन्सको अवधि १० वर्ष बनाइएको हो ।
यसअघि ड्राइभिङ लाइसेन्सको अवधि ५ वर्ष रहेको थियो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५४ को उपदफा (३) मा रहेका ‘पाँच वर्षसम्म’ भन्ने शब्दहरुको सट्टा ‘दश वर्षसम्म’ भन्ने शब्दहरु राखिएका छन् ।
यो विधेयक अघिल्लो सरकारको पालामा तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ल्याएका थिए । २६ वैशाख २०८० मा यो विधेयक प्रतिनिधिसभामा दर्ता भएको थियो । दफाबार छलफलका लागि प्रतिनिधि सभाले विषयगत समितिमा २९ भदौ २०८० मा पठाइएको थियो ।
समितिबाट पास भएर सभामा १४ वैशाख २०८१ मा पुगेको थियो । मंगलबार प्रतिनिधि सभाले पारित गरेको छ । अब यो विधेयक राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रतिनिधिसभामा आउँछ । सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा लागू हुनेछ ।