विपक्षीले पेलेर सदन चलाइएको भनेपछि सभामुखको जवाफ– गर्ने नै त्यही हो !
काठमाडौ । सभामुख डोलप्रसाद (डीपी) अर्याल र सांसदहरूबीच सवालजवाफ भएको छ । सोमबार (जेठ १८) प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदले सभामुखले आफूलाई पेलेर जान खोजेको भनेपछि उनी आक्रोशित भए ।
उनले विपक्षी सांसदहरूले कार्यव्यवस्था परामर्श समिति बैठकका निम्ति समय नदिएको आरोप लगाए । विपक्षीले संसद् बैठकमा एकोहोरो अवरोध जारी राखे सभामुख चुप लागेर नबस्ने उनले चेतावनी दिए ।
“हिजो (आइतबार) दफावार छलफल यही संसद्मा (फुल हाउसमा) गर्ने भन्ने भएपछि नियमावलीमाथिको छलफल अघि बढाएको हो । माननीयज्यूहरूले छलफलमा भाग लिएर आफ्ना संशोधन सम्बोधन गराउन पहल गर्न सक्नुहुन्थ्यो । सभामुखले कार्यव्यवस्था बैठक बोलाउँदा उपस्थित नहुने ?,” उनले भने, “विपक्षले सहयोग नगरेपछि गर्ने नै त्यही हो, जो हिजोको बैठकमा गरिएको थियो ।”
अब पनि अवरोध जारी राखे बैठक सञ्चालन गरिने उनले संकेत गरे ।
