बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ : ओली

द एभरेष्ट पोष्ट
११ फागुन २०८२ १४:१७
बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ : ओली

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू बनेको बाटोमा हिंड्ने नभई बाटो खन्ने मान्छे भएको बताएका छन् । श्रीमती राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’ को नवौं संस्करण विमोचन तथा आफ्नो ३८ औं वैवाहिक वर्षगाँठका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफू जीवनभर नयाँ ठाउँ जाने र नयाँ बाटो खन्ने मान्छे भएको दावी गरे ।

अध्यक्ष ओलीले भने, ‘म भीरपाखा हामफाल्दै बाटो बनाउने मान्छे हुँ, जसले बाटो बनाउँछ, उ पहिला अप्ठ्यारोमा जान्छ, ब्लाष्स्टिङ गर्छ र बाटो खोल्छ ।’ उनले भने, ‘म जीन्दगीभर नयाँ ठाउँमा जाने र नयाँ बाटो खोल्ने काम गरेको छु ।’ अध्यक्ष ओलीले दुई तिहाइको पार्टी फुटाउनेहरुले देशलाई कमजोर पारेको समेत टिप्पणी गरेका छन् । उनले सहि कामका लागि गरिएको संघर्ष र जिद्दीले नै गणतन्त्र र परिवर्तन सम्भव भएको बताएका छन् ।

अध्यक्ष ओलीले पञ्चायत र राजतन्त्र फाल्ने संकल्पका साथ किशोरावस्थादेखि नै राजनीतिमा होमिएको बताए । १४ वर्षको कठोर जेल जीवन, भूमिगतकालका चुनौती र त्यसक्रममा गुमेका आफ्ना साहित्यिक सिर्जनाहरूबारे उनले भावुक हुँदै स्मरण गरेका छन् । पक्राउ पर्ने डरले नोटहरू नराख्ने बानी परेका कारण अहिले पनि आफूले धेरै कुरा स्मृतिबाटै बोल्ने गरेको उनले बताएका छन् ।

आफ्नो व्यक्तिगत जीवनमा कहिल्यै पैसाको हिसाब नराखेको र श्रीमतीको कमाइमा बाँच्न आफूलाई कुनै लाज नभएको बताए । उनले राजनीतिमा त्याग र पारदर्शिताको महत्व धेरै रहेको बताए । ‘मैले आफूलाई ‘जोइटिङ्ग्रे’ घोषणा गरेको छु, श्रीमतीलाई बलियो बनाउनु र उनको कमाइ खानुमा मलाई गर्व छ’ उनले भने । यसलाई उनले सामाजिक न्याय र समानताको नयाँ भाष्यका रूपमा व्याख्या गरे ।

राजनीतिक नेतृत्वले समयको सदुपयोग गर्नुपर्नेमा जोड दिँदै उनले युवाहरूलाई ‘टाइम पास’ नगर्न सुझाव दिए । ‘समयका डटहरूको जोडाइ नै जिन्दगी हो । समय खेर फाल्नु भनेको जिन्दगी खेर फाल्नु हो’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस