प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन दिन बिदा प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ । आयोगको आइतबार बसेको बैठकले २०, २१ र २२ फागुनमा सार्वजनिक बिदा गर्न सरकारलाई सिफारिस गरेको हो ।
‘निर्वाचनको दिन मतदानमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले आयोगले तीन दिन बिदाको सिफारिस गरेको छ,’ आयोग प्रवक्ता नारायण भट्टराईले भने । उनका अनुसार तीन दिनमा मतदाता आफ्नो मतदानस्थल पुगी मतदान सकेर कार्यस्थलमा फर्किन सक्ने समयको लेखाजोखा गरेर तीन दिन सिफारिस गरिएको हो ।
नेपाली क्यालेन्डरअनुसार १८ फागुनमा पहाडी जिल्ला र १९ मा तराईका जिल्लामा होली पर्वको बिदा छ । आयोगले २०, २१ र २२ फागुनमा बिदा दिन प्रस्ताव गरेको छ । २३ फागुनमा शनिबार छ भने २४ मा आइतबार नारी दिवसको अवसरमा सार्वजनिक बिदा छ ।
