सहमति तोड्दै ढुंगामुडा र आगजनी भएपछि रौतहटमा कर्फ्यु आदेश जारी

द एभरेष्ट पोष्ट
९ फागुन २०८२ १३:३६
सहमति तोड्दै ढुंगामुडा र आगजनी भएपछि रौतहटमा कर्फ्यु आदेश जारी

रौतहट- हिजो भएको ६ बुँदे सहमति विपरीत आगजनी र घरमा तोडफोड हुन थालेपछि रौतहट प्रशासनले स्थिति नियन्त्रणमा लिनका लागि कर्फ्यु आदेश जारी गरेको छ।

विवाहमा गएका हिन्दू समुदायको जन्ती र मस्जिदमा नवाज पढ्दै गरेका मुस्लिम समुदायबीच विवादबाट सुरु भएको घटनालाई राजनीतिक रूप दिन खोजिएको देखिन्छ। गौर नगरपालिका-६ सपगडा टोलमा विवाहको बाजा बजाउँदै गइरहेका जन्तीमाथि फरक समुदायले अवरोध खडा गरेपछि भएको विवादले उग्र रूप लिँदा प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।

शुक्रबार बिहानदेखि भएको झडप नियन्त्रणमा लिएर प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको नेतृत्वमा बेलुकी ४ बजे दुवै समुदायका अगुवाहरूले जिल्ला प्रशासन कार्यालय रौतहटमा छलफल गरेर ६ बुँदे सहमति गरेका थिए।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले ६ बुँदे सहमति गरेको बताए पनि शनिबार बिहानदेखि विवाद सुरु भई झडप र आगजनी सुरु भएको थियो। झडप हुँदा ६ जना घाइते भएका छन्।

प्रहरीतर्फ पनि दुई जना घाइते भएका छन्। प्रदर्शनकारीले भारतीय नम्बर प्लेटको स्कोर्पियो गाडीमा आगजनी गरेका छन् भने  १२ वटा मोटरसाइकल तोडफोड भएको  रौतहट जिल्ला प्रहरी प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस