नेपाल टेलिकमले ल्यायो वाइफाइ ६ राउटर
काठमाडौं– नेपाल टेलिकमले हाल वितरण गरिरहेको फाइबर टु द होम (एफटीटीएच) प्रविधिको इन्टरनेटलाई अझै गुणस्तरीय बनाउन वाइफाइ ६ राउटर (सीपीई) तथा एपी उपलब्ध गराउने भएको छ । यस अनुसार अब वाइफाइ ६ प्याकेजअन्तर्गत न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच वितरण हुनेछ ।
नेपाल टेलिकमले पहिले वाइफाइ ५ प्रविधिको सीपीई (CPE–Customer Premises Equipment) उपलब्ध गराइरहेकोमा अब वाइफाइ ६ प्रविधिको सीपीईका साथै पहिलो पटक एपी (AP–Access Point) समेत उपलब्ध गराउने भएको हो । नयाँ प्रविधिका उपकरण प्रयोग गर्दा विभिन्न स्थानमा वाइफाइ सिग्नल पर्याप्त नहुने समस्याको समाधान भई इन्टरनेटको स्पिड पनि तीव्र हुन्छ । धेरै डिभाइसहरू कनेक्ट गर्दा, सेभिङ फुल क्षमता, इन्टरनेट स्पिडमा स्थिरता, डाटा ट्रान्सफर छिटो हुने, डिभाइसको ब्याट्री लाइफ बढाउने र सुरक्षित तथा भरपर्दो इन्टरनेट सेवाका लागि यसले महत्वपूर्ण भूमिका खेल्ने छ ।
ग्राहकहरूका लागि वाइफाइ ६ इन्डिभिजुअल प्याकेज र प्रिमियम प्याकेज उपलब्ध छन् । इन्डिभिजुअल प्याकेज अन्तर्गत १. इन्टरनेट र टेलिफोन प्याकेज, २. इन्टरनेट, बेसिक एनटीभी र टेलिफोन प्याकेज र ३. इन्टरनेट, प्रिमियम एनटीभी र टेलिफोन प्याकेज मध्ये कुनै एक प्याकेज रोज्न सकिने छ ।
त्यसैगरी प्रिमियम प्याकेज अन्तर्गत १. प्रिमियम इन्टरनेट प्याकेज मात्र, २. प्रिमियम इन्टरनेट र बेसिक एनटीभी प्याकेज र ३. प्रिमियम इन्टरनेट र प्रिमियम एनटीभी मध्ये कुनै एक प्याकेज रोज्न सकिने छ । यी सबै प्याकेज १००, १५० र २०० एमबीपीएस क्षमताको हुनेछ भने मोबाइलमा डाटा समेत उपलब्ध हुनेछ ।
नेपाल टेलिकमले उपलब्ध गराउने वाइफाइ ६ प्रविधिको सीपीई र एपी तथा एफटीटीएचका नयाँ दररेट र अन्य जानकारी लिन नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर्न सकिने छ । त्यसैगरी ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट पनि विभिन्न प्याकेजहरू सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने छ । १९८ मा कल गरेर वा नजिकको नेपाल टेलिकमको कार्यालयबाट पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिने छ ।
