ऊर्जामा आत्मनिर्भर सुदूरपश्चिम, मागभन्दा दाेब्बर विद्युत् उत्पादन

द एभरेष्ट पोष्ट
५ पुष २०८२ १५:०४
ऊर्जामा आत्मनिर्भर सुदूरपश्चिम, मागभन्दा दाेब्बर विद्युत् उत्पादन

कैलाली – जलविद्युत् उत्पादनको पर्याप्त सम्भावना रहेकाे सुदूरपश्चिम प्रदेश ऊर्जामा आत्मनिर्भर बनेकाे छ । सुदूरपश्चिममा हाल मागभन्दा दोब्बर विद्युत् उत्पादन भइरहेको छ ।

अहिले प्रदेशका विभिन्न नदी–खोलामा सञ्चालन भएका जलविद्युत् आयोजनाबाट १ सय ७१ मेगावाट विद्युत् उत्पादन भइरहेको हाे । जसको झण्डै १ सय ७० मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडिइसकेको छ । देशभर उत्पादित कुल ३ हजार ८ सय ७८ मेगावाट विद्युत‍्मा सुदूरपश्चिमको योगदान बढ्दै गएको छ ।

नेपाल विद्युत् प्राधिकरण अत्तरिया ग्रिडका अनुसार चमेलिया जलविद्युत् आयोजनाको ३० मेगावाट, माथिल्लो अपि र तल्लो अपि जलविद्युत् आयोजनाको ८, मध्यगार्ड जलविद्युत् आयोजनाको १० र कालंगा बेसिनअन्तर्गत निर्माण भएका अपर कालंगा जलविद्युत् आयोजनाको ३८.४६ मेगावाट र तल्लो कालंगा जलविद्युत् आयोजनाको १५.३३ मेगावाट विद्युत् १३२ केभी प्रसारण लाइनमा जोडिएको छ । त्यस्तै कालंगा बेसिनअन्तर्गत निर्मित सानीगाड जलविद्युत् आयोजनाको १०.७ मेगावाट र अपर चमेलिया जलविद्युत् आयोजनाको ४० मेगावाट, नौगाढखोला ८.५ मेगावाट, अपर नौगाढ खोला ८ मेगावाट र जिउनी गार्डको ०.९९६ मेगावाट विद्युत् १३२ केभी प्रसारण लाइनमा जोडिएको छ ।

सुदूरपश्चिममा निजी क्षेत्र कालंगा हाइड्रो लिमिटेडले एउटै बेसिनमा ६४.४९ मेगावाट विद्युत् उत्पादन गरेको छ । यहाँ निजी क्षेत्रको एउटै कम्पनीले उत्पादन गरेको सबैभन्दा ठूलो जलविद्युत् आयोजना यही हो । कालंगा बेसिनमा तीनवटा आयोजना निर्माणका लागि कालंगा हाइड्रोले ११ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको छ ।

ग्रिडका अनुसार सुदूरपश्चिममा हाल ८० मेगावाट विद्युत् खपत भइरहेको छ भने १ सय ७० मेगावाट विद्युत् उत्पादन भइरहेको छ । ग्रिडका इन्जिनियर राकेश भट्ट भन्छन्, ‘अहिले सिँचाइको सिजन आएपछि उत्पादनभन्दा विद्युत् बढी खपत भइरहको छ । हामीलाई कम परेको १० मेगावाट बुटवल प्रसारण लाइन र टनकपुरबाट आउने गर्छ ।’ बर्खामा भने क्षमताअनुसार १ सय ७० मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने गरेको उनले बताए ।

बर्खामा भने सुदूरपश्चिमले टनकपुर र बुटवलबाट भारतलाई विद्युत् निर्यात गर्छ । भारतको टनकपुर प्रसारण लाइनबाट वर्षभरि ७ करोड युनिट विद्युत् नेपाल आउने गर्छ । यसमा आवश्यकताअनुसार कुनै महिना बढी र कम आउने गरेको इन्जिनियर भट्टले बताए ।

इन्जिनियर भट्टका अनुसार सुदूरपश्चिममा गर्मी मौसममा १ सय ३० मेगावाट विद्युत् खपत हुने गरेको छ । हिउँदमा विद्युत् उत्पादन झण्डै ५० प्रतिशतले कम हुने र खपत पनि ५० प्रतिशत कम हुने गरेको छ । हिउँदमा पानीको सतह घटेपछि विद्युत् उत्पादन पनि कम हुने गरेको उनले बताए ।

सुदूरपश्चिमा एक मेगावाटभन्दा माथिका १२ वटा जलविद्युत् आयोजना सञ्चालनमा छन् । केही लघु जलविद्युत् बन्द भइसकेका छन् । तर ८ मेगावाट क्षमताभन्दा माथिका आयोजनाबाट उत्पादित १ सय ७० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । ‘विद्युत‍्मा हामी पहिले नै आत्मनिर्भर भइसकेका थियौं,’ इन्जिनियर भट्टले भने, ‘सुदूरपश्चिमा मागभन्दा दोब्बर मेगावाट विद्युत् उत्पादन हुन्छ ।’

ठूला जलविद्युत् आयोजना मात्र १ सय ३२ केभी प्रसारण लाइनमा जोडिने भएकाले साना जलविद्युत् आयोजना भने गणना नगरिएको उनले बताए । उनका अनुसार ८ मेगावाटभन्दा साना आयोजना १ सय ३२ केभी प्रसारण लाइनमा जोडिएका छैनन् ।

सुदूरपश्चिममा साना जलविद्युत् आयोजनाहरूमा डोटीको बीपीनगरमा ३.५ मेगावाट र बझाङमा एक मेगावाटको एउटा आयोजना सञ्चालनमा आइसकेको छ । यस्तै डोटीमा थप १.५ मेगावाटको आयोजना पनि निर्माण सम्पन्न भएको छ ।

प्रदेशमा १ सय ६७ भन्दा बढी मेगावाट विद्युत् आयोजनाको निर्माण पूरा भए पनि हिउँदमा पानीको सतह घट्दा उत्पादन समेत घट्ने गरेको छ । ग्रिडका अनुसार विद्युत् उत्पादन पानीको सतहमा निर्भर हुने गरेको छ । कतिपय आयोजनाको विद्युत् उत्पादन ५० प्रतिशतभन्दा कम हुने गरेको छ । वर्षायाममा भने क्षमता अनुसार शतप्रतिशत विद्युत् उत्पादन हुने गरेको छ ।

नेपालको विद्युत् उत्पादन क्षमता ८३ हजार मेगावाटमध्ये सुदूरपश्चिममा मात्र १८ हजार १ सय ४९ मेगावाट विद्युत उत्पादन हुन सक्ने सरोकारवाला बताउँछन् । मुलुकभरीको कुल उत्पादनको २२ प्रतिशत जलविद्युत उत्पादन क्षमता सुदूरपश्चिम प्रदेशमा मात्रै छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालका अनुसार सुदूरपश्चिममा ३ हजार ६१४ मेगावाट क्षमताका २० वटा र १०६ मेगावाट क्षमताको चार वटा जलविद्युत आयोजना अध्ययनको चरणमा छन् । १२ वटा योजना नेपाल सरकारको बास्केटमा रहेका छन् । जसको क्षमता ९४ मेगावाट रहेको छ ।

१० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी, ६ हजार ८ सय मेगावाटको पञ्चेश्वर, ७ सय ५० मेगावाटको पश्चिम सेतीलगायतका ठूला प्रस्तावित जलविद्युत् आयोजना सुदूरपश्चिममा रहेका छन् । इप्पानका अनुसार सुदूरपश्चिममा विद्युत् उत्पादनका लागि प्रतिमेगावाट करिब २० करोड रुपैयाँ खर्च हुनेछ । क्षमताअनुसार विद्युत् उत्पादनका लागि करिब ३६ खर्ब २९ अर्ब ८० करोड रुपैयाँ खर्चिनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस