मेसिनले दिएन साथ, आज मतदान : एमाले महाधिवेशन
काठमाडौं । एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको मतदान प्रक्रिया बुधबार बिहान ८ बजेबाट मात्र हुने भएको छ । मंगलबार बिहान ११ बजेदेखि सुरु गर्ने पूर्वनिर्धारित कार्यतालिकाअनुसारको मतदान चौथोपटक सारिँदै बुधबार बिहान ८ बजे पुर्याइएको छ । २९ मंसिरसम्म तय भएको महाधिवेशन कम्तीमा दुई दिन धकेलिएको छ ।
अध्यक्षका उम्मेदवार केपी ओली र ईश्वर पोखरेलले मतदान मेसिनमा देखिएको प्राविधिक समस्या तथा चिसो मौसम मध्यनजर गर्दै आपसी परामर्शमा मतदान प्रक्रिया स्थगित गर्ने सहमति गरेका हुन् । महासचिव शंकर पोखरेलका अनुसार मंगलबार साँझ ७ बजेदेखि सुरु गर्ने भनिएको मतदान प्राविधिक समस्याका कारण समयमै सुरु हुन सकेन ।
‘मेसिनमा देखिएको प्राविधिक समस्या समाधान नभएसम्म चिसो मौसमका कारण राति प्रतीक्षा गरिरहने अवस्था रहेन । त्यसैले बुधबार बिहान ८ बजेबाट मतदान सुरु गर्ने गरी स्थगित गरिएको हो,’ ओली, पोखरेललगायत पदाधिकारी सहभागी मञ्चबाट महासचिव पोखरेलले भने ।
सचिव पदका उम्मेदवार विनोद ढकालले पनि अन्य कुनै कारण नभई मतदान मेसिनको सर्भरमा देखिएको प्राविधिक समस्याका कारण प्रतिस्पर्धी नेताहरूको समझदारीमा मतदान सरेको स्पष्ट पारे । ‘६ सयभन्दा बढी उम्मेदवारको नाम मेसिनमा इन्ट्री गरी फोटोसमेत राख्न १५–१६ घण्टा लाग्ने अनुमान थियो । तयारीकै क्रममा साँझसम्म पनि प्राविधिक समस्या देखिएकाले प्रतीक्षा गरिरहने अवस्था नभएपछि मतदान सारिएको हो,’ उनले भने ।
मंगलबार बिहान ११ बजेबाट मतदान गर्ने कार्यतालिका रहे पनि पहिलोपटक दिउँसो १२ बजे, दोस्रोपटक साँझ ५ बजे, तेस्रोपटक साँझ ७ बजे र अन्तत: बुधबार बिहान ८ बजेका लागि चौथोपटक सारिएको हो । नेताहरूका अनुसार ६ सयभन्दा बढी उम्मेदवारको विवरण र फोटो मेसिनमा प्रविष्ट गर्न १५ घण्टाभन्दा बढी समय लागेको र मेसिन पूर्ण रूपमा चुस्त रहेको परीक्षणपछि मात्र मतदान सुरु गर्नुपर्ने भएकाले ढिलाइ भएको हो ।
बुधबार नेपाल कम्युनिस्ट पार्टीले कार्यक्रमका लागि भृकुटीमण्डपको सभाहल बुक गरेकाले एमाले रातभरि नै भए पनि मतदान गराउनुपर्ने दबाबमा परेको थियो । तर, हाल बन्दसत्र सञ्चालन भइरहेको हल सो पार्टीलाई छोडेर खानाको तयारी गरिएको प्रदर्शनीस्थलको ठुलो हलमा मतदान गराउने तयारी एमाले निर्वाचन आयोगले गरेको छ ।
मतदान स्थगित हुनुअघि प्रतिनिधिहरू मतदानका लागि दुई घण्टाअघिदेखि लाइनमा बसेका थिए । स्थगनसँगै प्रतिनिधि तथा उम्मेदवारहरू आ–आफ्नो वासस्थान फर्किएका छन् । यसबिच प्रतिस्पर्धी उम्मेदवारलाई जितका लागि आवश्यक तयारी र प्रतिनिधिलाई मनाउन थप समयसमेत उपलब्ध भएको छ । अध्यक्ष पदका लागि ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन् ।
