कैलाली उद्योग वाणिज्य सङ्घको निर्वाचन भोली, ओझा र स्वाँर प्यानलबिच रोचक प्रतिस्पर्धा

द एभरेष्ट पोष्ट
२४ असोज २०८२ १८:१५
कैलाली उद्योग वाणिज्य सङ्घको निर्वाचन भोली, ओझा र स्वाँर प्यानलबिच रोचक प्रतिस्पर्धा
कैलाली । सुदूरपश्चिमको अर्थतन्त्रलाई नै प्रभाव पार्ने कैलाली उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयनका लागि निर्वाचनको माहौल तातिएको छ । भोलि (असोज २५) गते हुने ५१औँ साधारण सभा तथा निर्वाचनका लागि मतदातालाई लक्षित गर्दै उम्मेदवार र समर्थकहरू यति बेला व्यस्त छन् ।
सङ्घको नेतृत्वमा पुग्ने प्रतिस्पर्धा यस पटक विशेष गरी दुई प्यानलबिच रोचक प्रतिस्पर्धा हुने छ । केही स्वतन्त्र उम्मेदवारहरूले पनि प्रतिस्पर्धालाई थप रोचक बनाएका छन् ।
सङ्घमा दुई कार्यकाल वरिष्ठ उपाध्यक्ष भइसकेका व्यवसायी पुष्करराज ओझा र पूर्व महासचिव रुपेश स्वाँरले अध्यक्ष पदका लागि छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिएका छन् । दुवै समूहको पदाधिकारीदेखि सदस्यसम्म पूर्ण टिम बनाएर चुनावी अभियान थालेको थियो ।  ओझा प्यानलले उद्योग, वाणिज्य र एसोसिएट क्षेत्रका विभिन्न पदमा अनुभव भएका व्यापारीहरूलाई अघि सारेको छ । यस प्यानलको वरिष्ठ उपाध्यक्षमा ओमबहादुर बिष्ट, उद्योग उपाध्यक्षमा बासुदेव भट्ट, एसोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वाणिज्य उपाध्यक्षमा गगनराज केसी, वस्तुगत उपाध्यक्षमा भीमराज ओझा, महासचिवमा दिनेश लम्साल, कोषाध्यक्षमा सुरेन्द्रबहादुर कडायत र सचिवमा कृष्णाकुमारी बिष्ट छन् । उनीहरूको टिमबाट १३ जना सदस्य उम्मेदवार पनि प्रतिस्पर्धामा छन् ।
त्यस्तै, स्वाँर प्यानल पनि सशक्त टिमसहित चुनावी मैदानमा उत्रिएको छ । वरिष्ठ उपाध्यक्षमा केशवराज जोशी, उद्योग उपाध्यक्षमा लक्ष्मणराज पन्त, एसोसिएट उपाध्यक्षमा अनिलकुमार भोजनिया, वाणिज्य उपाध्यक्षमा राधिका चौधरी, वस्तुगत उपाध्यक्षमा सिद्धराज पनेरु, महासचिवमा सुरेश पाण्डेय, कोषाध्यक्षमा तिलकबहादुर बोहरा र सचिवमा प्रकाशकुमार चन्द उम्मेदवार बनेका छन् । उनीहरूको समूहबाट पनि १३ जना सदस्यमा प्रतिस्पर्धा गर्नेछन् ।
अध्यक्ष पदका उम्मेदवार स्वाँरले नतिजा आफ्नो पक्षमा आउनेमा ढुक्क रहेको बताए । ‘६ वर्ष ग्याप भए पनि व्यवसायीहरूले तपाइ नेतृत्व लिन सक्षम हुनु हुन्छ भनेर मलाई अगाडी सारे । सबै बाट साथ सहयोग पाएको छु र निर्वाचनको नतिजाका लागि म सतप्रतिशत ढुक्क छु,’ स्वाँरले भने ।
उनले निर्वाचन कमिटी र सुरक्षा निकायले मतदाता सबै मिलेर निर्वाचनलाई व्यवस्थित र निष्पक्ष बनाउन अपिल गरेका छन् ।  यस्तै अर्का अध्यक्ष ओझाले पनि आफू जित्नेमा विश्वस्त रहेको बताए । टिमले समावेशी र युवा व्यवसायीको प्रतिनिधित्व गरेकाले व्यवसायीहरूले आफ्नो प्यानल माथि न्याय गर्ने उनको भनाइ छ ।
ओझाले भने, ‘हाम्रो टिम देखेर व्यवसायीहरू उत्साहित हुनु हुन्छ । हामी प्रिपेयर भएर आएका छौ । जे नतिजा आउँछ त्यसलाई आत्मसाथ गर्दै अघि बढ्ने छौ ।’
मुख्य दुई समूहसँगै यस पटक स्वतन्त्र उम्मेदवारहरूले पनि आफूलाई शक्तिशाली विकल्पका रूपमा प्रस्तुत गरेका छन् । वरिष्ठ उपाध्यक्ष पदमा सुरेन्द्र राठी, एसोसिएट उपाध्यक्षमा कविन्द्र पन्त र सचिव पदमा कोपिला कुँवर स्वतन्त्र प्रतिस्पर्धामा उत्रेका छन् । साथै, तीन जना स्वतन्त्र सदस्य उम्मेदवार पनि चुनावमा भिड्ने छन् ।
चुनाव बारे वरिष्ठ उपाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार सुरेन्द्र राठीले नतिजा आफ्नो पक्षमा आउने ९९ प्रतिशत ढुक्क रहेको बताए । ‘व्यवसायीहरू व्यवशायिक व्यक्तित्व नेतृत्वमा आवस भन्नेमा छन् । मतदाताको राम्रो साथ पाएको छु, म प्रति सबै पोजेटिभ हुनु हुन्छ । नतिजा मेरो पक्षमा आउनेमा ९९ प्रतिशत ढुक्क छु,’ उनले भने ।
कैलाली उद्योग वाणिज्य सङ्घमा २ हजार २ सय ७४ मतदाता छन् ।यस पटक मतदानमार्फत अध्यक्षसहित नौ जना पदाधिकारी र १३ जना सदस्य गरी २२ सदस्यीय नयाँ कार्यसमिति चयन हुने छ ।
उद्योग वाणिज्य क्षेत्रका व्यापारीहरूका अनुसार, यस पटकको निर्वाचनले सङ्घको आगामी दिशा निर्धारणमा महत्त्वपूर्ण प्रभाव पार्नेछ । चुनावी माहौल बढ्दै जाँदा, धनगढी र आसपासका व्यापारिक समुदायले नेतृत्व चयनलाई चासोका साथ हेरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस