प्रदर्शनकारीलाई बालेनको अपिल : हाम्रो हातमा आइसक्यो, घर फर्कनुस्

काठमाडौं २४ भदौ, । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेन जी प्रदर्शनकारीहरूलाई घर फर्कन अपिल गरेका छन् ।

उनले सामाजिक सञ्जालबाट जेन-जी प्रदर्शनकारीहरूलाई अपिल गर्दै भनेका छन्, प्लिज, जेन-जी, देश तपाईंहरूकै हातमा हो । तपाईंहरूले नै बनाउने हो ।’

उनले अगाडि थपे, ‘अब जति क्षति हुन्छ, तपाईं हाम्रो हुने हो । अब घर फर्कनुस् ।’

कैलाली कारागारका सबै कैदी निकालिए

आन्दोलनकारीहरू कारागारभित्र प्रवेश गर्न खोजेपछि कारागार प्रशासनले कैदीहरूलाई छोडिदिएको छ।

कैलाली कारागार भित्र रहेका सात सय कैदी नै बाहिर निस्किएका छन् ।

संयमित रहन आन्दोलनकारीलाई डा. सुन्दुक रुइतको अपिल

२४ भदौ, काठमाडौं। वरिष्ठ नेत्र चिकित्सक डा. सुन्दुक रुइतले संयमित रहन जेनजी पुस्तालाई अपिल गरेका छन्।

असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको भन्दै उनले सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित नहुने बताएका छन्।

सामाजिक सञ्जालमा डा. रुइतले लेखेका छन्, ‘परिवर्तनका लागि सडकमा विरोध प्रदर्शन गरिरहनुभएका भाइबहिनीहरु, तपाईंहरुले देखाउनुभएको अदम्य साहसका कारणले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको छ। यस्तो अवस्थामा सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन।’

उनले सबै मिलेर देश जोगाउनु पर्ने तथा सबै मिलेर देश बनाउनुपर्ने अपिल गरेका छन्।

‘सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो। तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौं र गर्न नदिउँ। संयम बनौं,’ उनले लेखेका छन्, ‘सबै मिलेर देश जोगाऔं, सबै मिलेर देश बनाऔं।’

संवादमार्फत शान्तिपूर्ण समाधान निकाल्न सेनासहित सुरक्षा निकायको अपिल

नेपाली सेनासहित सुरक्षा निकायहरू र मुख्य सचिव तथा गृहसचिवले राजनीतिक संवादबाट अहिलेको परिस्थितिको शान्तिपूर्ण समाधान खोज्न अपिल गरेका छन् ।

अहिले तीनवटै निकाय जेन–जीले कब्जामा लिएका छन् । उनीहरूले संघीय संसद भवन र सिंहदरबार, पार्टी कार्यालयहरू र नेताका घरमा आगजनी समेत गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएर राष्ट्रपतिले स्वीकृतसमेत गरिसकेका छन् । काठमाडौं मानगरपालिका प्रमखु बालेन शाहले जेन–जीलाई संयम हुन र संसद विघटन गर्ने सर्त राखेर सेनासँग वार्ता गर्न अपिल गरेका थिए ।

apil-1757413866.jpeg

जेनजीले शीतल निवासमा लगाए आगो

 काठ्माण्डौँ– जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् ।

जेनजीको आव्हानमा भएको आन्दोलनको दोस्रो दिन आज महाराजगञ्जस्थित शीतल निवास छिरेका प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका हुन् ।

सरकारी वकिलको कार्यालयमा आगजनी

काठमाडौं । जेनजी युवाहरूले सरकारी वकिलको कार्यालयमा आगजनी गरेका छन् । माइतीघर–भद्रकाली सडकछेउमा रहेको सरकारी वकिलको कार्यालयमा आगजनी भएको हो ।

सोमबारको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेपछि आक्रोशित युवाहरूको समूहले मंगलबार बिहानैबाट सरकारी भवन, मन्त्री निवास तथा नेताका घर र पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिरहेका छन् ।

सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाको विरोधमा प्रदर्शनमा उत्रिएका युवाहरूमाथि राज्य प्रशासनले दमन गरेपछि स्थिति नियन्त्रणबाहिर गएको छ ।

सोमबारको प्रदर्शनमा १९ जना युवाको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । मंगलबार कालिमाटीमा भएको प्रदर्शनमा थप दुई जना युवाको प्रहरीको गोली लागेर ज्यान गएको छ । यो सँगै मृतकको संख्या २१ पुगेको छ ।

प्रदर्शनकारीले सिंहदरबार, सर्वोच्च अदालतमा समेत आगजनी गरेका छन् ।

कालिमाटीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी युवाहरूको जारी प्रदर्शनमा प्रहरीले गोली चलाएको हो ।

कालिमाटी चोकमा मंगलबार दिउँसो २ बजे भएको प्रदर्शनकारी र प्रहरीबीचको झडपमा दुई युवालाई टाउकोमा गोली लागेको एक प्रत्यक्षदर्शीले बताए ।

प्रदर्शनकारीले रवि लामिछानेलाई जेलबाट निकाले

काठमाडौं । आन्दोलनरत जेन जीहरुले रास्वपाका सभापति रवि लामिछानेलाई जेलबाट छुटाएका छन्।
नख्खु कारागारमा पुगेर लामिछानेलाई छुटाएका हुन्।

प्रदर्शनकारीले लामिछाने जेलबाट छुटाएको भिडिओ रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल फेशबुकमा राखेकी छन्।

रास्वपाका दिपक बोहोराले लामिछानेलाई जेलबाट निकालेको पुष्टी गरेका छन् । उनले समाजिक सञ्जालमा लेखेका छन् , रवि दाई निस्किनु भयो। टाइगर इज व्याक अगेन ।

जेनजीबाट घरमै कुटिए देउवा दम्पती

 काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् ।

उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।

बालेनले भने- सेना प्रमुखसँग वार्ता गर्न तयार हौं, त्यसअघि संसद विघटन अनिवार्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आन्दोलनकारीलाई अब हिंसा र तोडफोड रोक्न र सार्वजनिक सम्पत्ति जोगाउन अपिल गरेका छन् ।

उनले अब जेनजी पुस्ताले देशको नेतृत्व गर्ने र सेना प्रमुखसँग वार्ता गर्न तयार रहन भन्दै त्यसअघि संसद विघटन अनिवार्य भनेका छन् ।

जेनजीलाई बालेनको आग्रह- अब संयमित हुनुहोला

२४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द शाह बालेनले उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूलाई संयमित हुन आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमाफर्त यस्तो आग्रह गरेका हुन् ।

‘तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ,’ मेयर शाहले भनेका छन्, ‘तयार रहनुहोला !’

राज्यका तीनवटै अंग आन्दोलनकारीको नियन्त्रणमा, संसद्, सिंहदरबार र सर्वोच्च अदालत जले

२४ भदौ, काठमाडौं । राज्यका तीनै अंग मानिने व्यवस्थापिका संसद, कार्यपालिका सिंहदरबार र न्यायपालिका सर्वोच्च अदालत आन्दोलनकारीको नियन्त्रणमा पुगेका छन् ।

तीनवटै निकायका मुख्य भवनहरूमा आगजनी भएको छ । त्यहाँ आन्दोलनकारीहरू प्रवेश गरेर तोडफोड गरेका छन् । सुरक्षा निकाय, प्रशासनिक निकायका सबै प्रमुखहरूले स्थिति आफ्नो नियन्त्रणमा नरहेको भन्दै संयुक्त विज्ञप्ति जारी गर्दै स्थितिको समाधानका लागि अपिल गरेका छन् ।

अहिले संसद भवन नयाँ बानेश्वरमा सम्पूर्ण रूपमा आन्दोलनकारीको नियन्त्रणमा छ । त्यहाँका सबै भौतिक संरचनाहरू तोडफोड भएका छन् । प्रदर्शनकारीले त्यहाँ आगजनी पनि गरेका छन् ।

सर्वोच्च अदालत, महान्याधिवक्ताको कार्यालय, नेपाल बार एसोसिएसन, काठमाडौं जिल्ला अदालत लगायतका सबै भवनहरूमा प्रदर्शनकारी प्रवेश गरी आगजनी गरेका छन् ।

राजनीतिक संवादका माध्यमबाट निकास निकाल्न सुरक्षा प्रमुखहरुको आग्रह

राजनीतिक संवादका माध्यमबाट निकास निकाल्न सुरक्षा प्रमुखहरुको आग्रह

माओवादी केन्द्रीय कार्यालय पनि जल्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा पनि आगजनी भएको छ ।

उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले केहीबेरअघि माओवादी पार्टी कार्यालय जलाएका हुन् ।

यसअघि उनीहरूले सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए ।

साथै पार्टी कार्यालय र प्रहरी प्रभागहरूमा पनि निरन्तर तोडफोड र आगजनी भइरहेको छ ।

राजनीतिक निकासका लागि राजीनामा दिएको छु : ओली

काठमाडौं । प्रधानमन्त्रीबाट राजीनामा दिएका केपी शर्मा ओलीले आफ्नो राजीनामा राजनीतिक निकासका लागि भएको बताएका छन् ।

मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै आफूले राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि राजीनामा दिएको उनले बताएका छन् ।

‘…हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधानसम्मत राजनीतिक निकास र समस्या समाधानको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागू हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु’, ओलीले आफ्नो राजीनामामा भनेका छन् ।

कान्तिपुर टीभीमा आगजनी

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित कान्तिपुर टीभीमा प्रदर्शनकारीले आगजनी गरेका छन् । अहिले टीभीको भवनमा आगो लागिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । उनको सचिवालयले राजीनामा दिएको जनाएको छ । जेन जीको आन्दोलनले संसद्, सिंहदरबार सैबतिर कब्जा गरेपछि ओलीको राजीनामा आएको हो ।

सोमबारको जेन जीको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । मंगलबार आन्दोलन झन् उग्र बनेको थियो । मंगलबार प्रदर्शनकारीले संसद् र सिंहदरबार कब्जामा लिएको केही मिनेटपछि प्रधानमन्त्रीको राजीनामा दिएको छ ।

प्रदर्शनकारीले लगाए सिंहदरबारको मूल गेटमा आगो

२४ भदौ, काठमाडौं । प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा आगो लगाएका छन् ।

आक्रोशित प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा मंगलबार दिउँसो आगो लगाइदिएका हुन् ।

प्रदर्शनकारीहरूले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक लगायतका नेताहरूको घरमा समेत आगो लगाएका थिए ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाका्े धनगढीस्थित निवासमा आगजनी

धनगढी, २४ भदौ ।
जेन जी प्रदर्शकारीहरुले धनगढी स्थित परराष्ट्रमन्त्री डा आरजु राणा देउवाका्े धनगढीस्थित निवासमा आगजनी गरेका छन् ।

आन्दोलनकारीहरुले नेपाली काँग्रेस र नेकपा एमालेका पार्टी कार्यालयमा समेत आगजनी गरेका   छन् ।

उनीहरुले मुख्यमन्त्री कार्यालयमा रहेको गाडी समेध तोडफोड गरेका छन् ।

राष्ट्रपतिको पौडेलको निजी निवासमा आगजनी

राष्ट्रपति रामचन्द्र पौडेलको बोहराटारस्थित घरमा पनि आगजनी भएको छ । प्रदर्शनकारीहरूले राष्ट्रपति पौडेलको घरमा आगजनी गरेका हुन्। सरकारी कार्यालय, नेताहरूका निवास घर तथा कार्यालयहरूमा तोडफोड र आगजनी भएको छ ।

सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरूको छोराछोरीहरूको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरूले सोमबारदेखि देशभर प्रदर्शन भएको । प्रहरीको गोली लागेर २१ जनाको मृत्यु भएपछि आज देशभर प्रदर्शन भएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीद्वारा धनगढीमा निषेध आदेश जारी

धनगढी २४ भाद्र ।
भ्रष्टाचार र बेथिती विरुद्ध असन्तुष्ट जेन–जीका आक्रोशित युवाहरुले मंगलबार गरेको प्रदर्शन नियन्त्रण भन्दा बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले निषेध आदेश जारी गरेको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले आज दिउँसो १२ बजेर १० मिनेट देखि अर्काे सूचना जारी नभएसम्मका लागि अनिश्चित रुपमा धनगढी उपमहागरपालिकाका प्रदेश प्रमुखको कार्यालय र निवास, मुख्यमन्त्रीको कार्यालय र निवास, जिल्ला प्रशासन कार्यालय क्षेत्र, बसपार्क क्षेत्र, सबै प्रदेश मन्त्रालय र निवास, विभिन्न सरकारी कार्यालयहरु, विभिन्न राजनैतिक दलमा पाटी कार्यालय लगायतका स्थानमा कुनै पनि प्रकारको भेला, जु्लुस, सभा, बैठक, घेराउ गर्न नपाउने गरी निषेधित क्षेत्रको घोषणाको आदेश जारी गरेका छन् ।
प्रदर्शनकारीहरुले विभिन्न प्रदेशका मन्त्रालयका भवन, निजी निवास, विभिन्न सरकारी कार्यालय र गाडी तोडफोड, विभिन्न राजनैतिक दलका पार्टी कार्यालयहरु तोडफाड तथा आगजानी गरेका छन् ।

गगन थापाको घरमा आगजनी

२४ भदौ,  काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरमा जेनजीका प्रदर्शनकारीले आगजनी गरेका छन् ।

उनीहरूले महामन्त्री थापाको रातोपुलस्थित घरमा आगजनी गरेका हुन् ।

उनीहरूले  गगन थापाको घरमा रहेको गाडीमा  सुरूमा आगजनी गरेका थिए ।

सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि आन्दोलनमा उत्रिएका जेनजीका युवाहरूमाथि हिजो प्रहरीले चरम दमन गरेको थियो।  साथै प्रहरीले चलाएको गोली लागेर कम्तिमा पनि १९ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

त्रिभुवन विमानस्थल बन्द गर्ने तयारी

२४ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द गर्न लागिएको हो ।

अहिले आकासमा रहेका जहाजलाई अवतरण गर्न दिने र थप उडानहरू नहुने गरी विमानस्थल बन्द गर्न लागिएको ती अधिकारीले जानकारी दिए ।

अहिले विमानस्थललाईं नेपाली सेनाले सुरक्षा दिइरहेको छ । अब मुख्य गेट नै बन्दै गरेर विमानस्थलमा अन्य गतिविधि रोक्ने तयारी गरिएको बताइएको छ ।

प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा आगजनी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा आगजनी गरिएको छ। प्रदर्शनकारीले भक्तपुरको बालकोटस्थित ओली निवासमा आगजनी गरेका हुन्।

कलंकीमा गोली चल्यो

२४ भदौ, काठमाडौं । कलंकीमा गोली चलेको छ । प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेपछि कलंकीमा प्रहरीले गोली चलाएको हो ।

प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा आगजनी र तोडफोड गरेका छन् ।

सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरुको छोराछोरीहरुको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरूले सोमबारदेखि देशभर प्रदर्शन भएको ।

प्रहरीको गोली लागेर २१ जनाको मृत्यु भएपछि आज देशभर प्रदर्शन भएको छ ।

खानेपानीमन्त्री यादवले दिए राजीनामा

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा दिएका छन् ।

जेन जी युवा पुस्ताले गरेको आन्दोलनको समर्थन गर्दै उनले राजीनामा दिएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘प्रिय युवा भाइ बहिनीहरू तपाईं नै मेरो प्रथम सहयोगी र मेरो जोश र ऊर्जाका सुत्रधार हुनुहुन्छ। हिजो जेन जी युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु। हामी सबैलाई संयमता अपनाई युवा पुस्तालाई सही मार्ग दर्शन दिन र सहयोग गर्न अपिल गर्दछु।’

यसअघि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले राजीनामा दिएका थिए ।

नेपाली कांग्रेस कार्यालयमा आगजनी

२४ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको कार्यालयमा आगजनी भएको छ । जेनजी प्रदर्शनकारीहरूले मंगलबार कार्यालयमा पुगेर आगजनी गरेका हुन् ।

जेनजीहरूले सोमबार गरेको प्रदर्शनका कारण १९ जनाले ज्यान गुमाएका थिए ।

लगत्तै आज बिहानबाटै प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ ।

प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घर र पार्टी कार्यालयमा पुगेर ढुंगामुढा र आगजनी गरिरहेका छन् ।

झापामा गोली चल्यो, दुई जना गम्भीर घाइते

काठमाडौं । झापाको बिर्तामोडमा जेनजी युवाहरूको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ ।

प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । उनीहरूको पेटमा गोली लागेको छ ।

खोज्नुहोस