भारत र पाकिस्तान: कोसँग कति हतियार छन्, सैन्य शक्ति कसको बढी छ

पहलगाममा भएको आतङ्कवादी हमलाको जवाफमा भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मिरमा आक्रमण शुरु गरेको छ । योसंगै दुई देशको शक्ति र सैन्य क्षमतालाई लिएर आंकलन शुरु गरिएको छ ।
भारतीय सेनाको शक्ति
ग्लोबल फायर पावरका अनुसार सन् २०२५ को सैन्य शक्तिको वरीयतामा भारत र पाकिस्तानबीच आठ स्थानको अन्तर छ।
सन् २०२५ मा विश्वव्यापी सैन्य शक्तिको हिसाबले भारत १४५ देशहरूमध्ये चौथो स्थानमा हुनेछ भने पाकिस्तान १२औँ स्थानमा हुनेछ।
भारतीय सेनासँग लगभग २२ लाख सैनिक, ४,२०१ ट्याङ्क, झण्डै १.५ लाख बख्तरबन्द सवारी साधन, १०० सेल्फ प्रोपेल्ड आर्टिलरी र ३,९७५ बाह्य सहायताका भरमा चल्ने आर्टिलरी छन्। यसबाहेक, मल्टी ब्यारल रकेट आर्टिलरीहरूको सङ्ख्या २६४ छ।


तस्बिर स्रोत,Getty Images
भारतीय वायुसेनासँग ३ लाख १० हजार सैनिक एवं ५१३ लडाकु विमान र २७० पारवहनमा प्रयोग हुने विमानसहित कुल २,२२९ वटा विमान छन्। कुल विमानहरूमा १३० वटा हमलाकारी, ३५१ वटा प्रशिक्षणमा प्रयोग हुने विमान र छवटा ट्याङ्कर फ्लीट विमानहरू छन्।
भारतीय सेनाका तीनवटै अङ्गसँग गरेर कुल ८९९ हेलिकप्टर छन्। तीमध्ये ८० वटा हमलाकारी हेलिकप्टर छन्।
भारतीय नौसेनामा १.४२ लाख नौसैनिक र दुई विमानवाहक युद्धपोत, १३ डिस्ट्रोअर, १४ फ्रिगेट्स, १८ पनडुब्बी र १८ कार्भेटसहित कुल २९३ वटा जहाजहरू छन्।
त्यसबाहेक भारतीय सेनासँग ३११ विमानस्थल, ५६ बन्दरगाह र ६३ लाख किलोमिटर सडक र ६५ हजार किलोमिटर रेलवे सञ्जाल छ।
पाकिस्तानी सेनाको शक्ति
तस्बिर स्रोत,Getty Images
ग्लोबल फायर पावरका अनुसार पाकिस्तानी सेनामा झण्डै १३.११ लाख सैनिक, १.२४ लाख नौसैनिक र ७८ हजार वायुसेना छन्।
पाकिस्तानसँग ३२८ लडाकु विमान, ९० आक्रामक प्रकारका, ६४ यातायात विमान, ५६५ ट्रेनर, ४ ट्याङ्कर फ्लीट र ५७ लडाकु हेलिकप्टरका साथ ३७३ हेलिकप्टर सहित कुल १,३९९ विमानहरू छन्।
यसमा २,६२७ ट्याङ्क, ६६२ सेल्फ प्रोपेल्ड आर्टिलरी, २६२९ बाह्य सहायताका भरमा चल्ने आर्टिलरी र ६०० मल्टी ब्यारल रकेट छन्।
पाकिस्तानी नौसेनासँग नौवटा फ्रिगेट, नौवटा कर्भेट, आठवटा पनडुब्बी र ६९ गस्ती जहाज छन्।
अन्य क्षमताका हिसाबले पाकिस्तानसँग तीन बन्दरगाह, ११६ विमानस्थल र ६० व्यापारिक समुद्री जहाजहरू छन्। यसबाहेक उसको २ लाख ६४ हजार किलोमिटर सडक र ११.९ हजार किलोमिटर रेलवे सञ्जाल छ।
कोसँग कतिवटा आणविक हतियार छन्?
स्वीडनको थिंक ट्याङ्क स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटको सन् २०२४ को एक रिपोर्ट अनुसार आणविक वारहेड भारतसँग १७२ वटा र पाकिस्तानसँग १७० वटा छन्।
तर दुवै देशसँग कति आणविक हतियार तैनाथ छन् भन्ने कुरा स्पष्ट छैन।
यस संस्थाका अनुसार पाकिस्तानले भारतसँग प्रतिस्पर्धा गर्न आणविक हतियार तयार गरिरहेको अनि भारतको ध्यान चाहिँ लामो दूरीका हतियारहरू तैनाथ गर्नमा रहेको जनाइएको छ। त्यसको अर्थ ती चीनलाई समेत निशाना गर्न सक्ने हतियारहरू हुनु हो।
भारत र पाकिस्तानको छिमेकी एवं विश्वको तेस्रो ठूलो आणविक शक्ति राष्ट्रका रूपमा चीनमा आणविक हतियारको संख्या २२ प्रतिशतले बढेको छ। त्यो ४१० वारहेडबाट ५०० पुगेको छ।
ड्रोनको सङ्ख्या
तस्बिर स्रोत,Getty Images
गत वर्ष नोभेम्बरमा प्रकाशित बीबीसी उर्दू संवाददाता शकील अख्तरको एक लेखका अनुसार भारत र पाकिस्तानले आफ्नो ड्रोनको सङ्ख्या द्रुत गतिमा बढाइरहेका छन्।
रक्षा विश्लेषक राहुल बेदीका अनुसार भारतसँग आगामी दुई देखि चार वर्षमा लगभग पाँच हजार ड्रोन हुनेछन्।
उनका अनुसार पाकिस्तानसँग ‘भारतभन्दा कम ड्रोन’ भए तापनि त्यसबाहेक ऊसँग भएका ड्रोनहरूको क्षमता फरक छ र ती १० देखि ११ भिन्न ब्रान्डका छन्।
गत वर्ष अक्टोबरमा भारतले अमेरिकासँग ३.५ अर्ब डलर बराबरको ३१ प्रिडेटर ड्रोन खरिद सम्झौतामा हस्ताक्षर गरेको थियो।
प्रिडेटर ड्रोनहरू संसारकै सबैभन्दा सफल र खतरनाक मानिन्छन्।
त्यससँगै ५० करोड अमेरिकी डलर बराबरका बम र लेजर निर्देशित मिसाइलहरू पनि खरिद गर्नेछ जुन ती ड्रोनमार्फत् निसानामा मार गर्न प्रयोग गरिनेछ।
राहुल बेदीका अनुसार पाकिस्तानले टर्की र चीनबाट ड्रोन आयात गर्छ। तर उसले जर्मनी र इटलीबाट पनि ड्रोनहरू खरिद गरेको छ।
पाकिस्तानले बराक र शाहपरजस्ता ड्रोनहरू पनि बनाएको छ।
पाकिस्तानसँग टर्कीको आधुनिक ‘बेराक्टार’ ड्रोन टीबीटू र अकेन्जी छ भने उसले चीनबाट ‘वाङ लङ टु’ र ‘सीएचफोर’ जस्ता ड्रोनहरू पनि प्राप्त गरेको छ।
-बीबीसी हिन्दीबाट