सिरियामा भएको इजरायली हमलामा ३६ जनाको मृत्यु

एजेन्सी- सिरियामा बुधबार भएको इजरायली हमलामा ३६ जनाको मृत्यु भएको छ।
सिरियाली रक्षा मन्त्रालयका अनुसार प्राचीन पाल्मिरा सहरमा बुधबार भएको इजरायली हमलामा ३६ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना भन्दा बढी घाइते भएका छन्।
बेलायतमा आधारित युद्ध पर्यवेक्षक ‘सिरियन अब्जर्वेटरी फर ह्युमन राइट्स’ ले भने इजरायली आक्रमणमा ६१ जनाको मृत्यु भएको जनाएको छ।
जस मध्ये ३३ जना इरानी मिलिसियासँग सम्बन्धित सिरियाली, २२ जना गैर–सिरियाली, चार जना हिजबुल्लाह र दुई जना अज्ञात थिए।
इजरायलले अल–तान्फ क्षेत्रको पाल्मिरा सहरका धेरै भवनहरूलाई निशाना बनाएर हवाई आक्रमण गरेको रक्षा मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको हो।
युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश स्थल पाल्मिरा सिरियाली गृहयुद्धको चरम अवस्थामा इस्लामिक राज्यका जिहादीहरूले कब्जा गरेका थिए।