श्रीलङ्काका राष्ट्रपति दिसानायकेको वाम गठबन्धनलाई दुई तिहाई बहुमत

कोलम्बो, १ मंसिर ।
श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेको वाम गठबन्धनले मध्यावधि विधानसभा चुनावमा दुई तिहाई बहुमत प्राप्त गरेको छ ।
आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा मार्क्सवादी दिसानायकेले भ्रष्टाचारविरुद्ध लड्ने र चोरी भएको सम्पत्ति फिर्ता गर्ने वाचाका साथ सेप्टेम्बरमा भएको राष्ट्रपतीय चुनावमा विजय हासिल गरेका थिए ।
तत्काल चुनाव गराउने र आफ्नो एजेन्डाका लागि संसदीय समर्थन सुरक्षित गर्ने उनको निर्णयलाई समर्थन मिलेको छ । दिसानायकेको नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनले २२५ सदस्यीय विधानसभामा कम्तीमा १५९ सिट जितेको छ ।
श्रीलंकाको २२५ सिट रहेको बिधानसभामा १९६ सिटका लागि प्रत्यक्ष निर्बाचन हुने गरेको छ । बाँकी सिट भने निर्बाचनमा दलहरुले पाएको मतको प्रतिशतका आधारमा बाँडफाँड हुने गरेको छ ।
दिसानायकेको गठबन्धनले ६२ प्रतिशत मत प्राप्त गरेको । विपक्षी नेता सजिथ प्रेमदासाको पार्टी १८ प्रतिशत मतमा सिमित रहेको छ ।
जनताले भ्रष्टाचार र भ्रष्ट प्रणालीबाट छुटकारा पाउनका लागि मतदान गरेको विश्वास गरिएको छ ।
अल्पसङ्ख्यक तमिल समुदायको बाहुल्य रहेको उत्तरी जिल्ला जाफनामा पनि उनको पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।
एक मजदुर परिवारमा जन्मिएका ५५ वर्षीय राष्ट्रपति दिसानायकेले बिहीबारको चुनावमा मतदान गरेपछि संसदमा ‘सशक्त बहुमत’ साथ आफ्नो गठबन्धनलाई अगाडि बढाउने अपेक्षा गरेको बताएका थिए । उनले भनेका थिए, “हामीलाई विश्वास छ, यो एक महत्त्वपूर्ण चुनाव हो जसले श्रीलङ्कामा एउटा परिवर्तनको सङ्केत गर्नेछ । यो चुनावमा एनपीपीले संसदमा बलियो बहुमतका लागि जनादेश पाउने हाम्रो विश्वास छ ।”
नभन्दै उनले प्रचण्ड बहुमत पाएका छन् ।
श्रीलङ्कामा गत सेप्टेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा भन्दा कम ७० प्रतिशतको हाराहारीमा खसेको सञ्चारमाध्यमले जनाएका छन् ।
करिब २५ वर्षदेखि सांसद रहँदै आएका वर्तमान राष्ट्रपति दिसानायकेले केही समयका लागि कृषिमन्त्रीको रूपमा समेत काम गरेका थिए । एनपीपी गठबन्धनले निवर्तमान विधानसभामा जम्मा तीन सिट मात्र जितेको थियो ।
देशलाई सन् २०२२ को आर्थिक सङ्कटतर्फ धकेलेको आरोप लागेका संस्थापन पक्षका राजनीतिज्ञहरूबाट आफूलाई सफलतापूर्वक अलग्गै राखेपछि उनी सेप्टेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनबाट राष्ट्रपति पदका लागि निर्वाचित भएका थिए।