जेन-जी आन्दोलनमा ६१ भीआईपीको भएको थियो हवाई उद्धार

काठमाडौँ  : जेन-जी आन्दोलनमा ६१ भीआईपीको हवाई उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । गत भदौ २३ गतेको जेन-जी आन्दोलन र भोलिपल्ट उत्पन्न घटनाक्रमका बारेमा पत्रकार सम्मेलन गर्दै सेनाले यसबारे जानकारी गराएको हो ।

नेपाल प्रहरीका २३ कर्मचारीको पनि हवाई उद्धार गरिएको र जमिनबाट १२९ जनालाई उद्धार गरिएको सेनाले जनाएको छ ।

सेनाका युद्धकार्य निर्देशक अनुपजंग थापाले आफूहरुको प्राथमिकता जनधनको सुरक्षा र राष्ट्रिय एकतामा रहेको बताए । ‘सेनाले घातक शक्ति प्रयोग नगरेको छिटपुट सुन्नमा आएका छन्, तर हाम्रो स्पष्ट प्राथमिकता जनधन सुरक्षा र राष्ट्रिय एकता नै थियो,’ उनले भने ।

भदौ २४ को घटनामा सेनाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेता र नितका परिवारका साथै मन्त्रीहरुलाई उद्धार गरी सुरक्षित स्थलमा पुर्‍याएको थियो ।

जेन-जी आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिका कारण कुल ७६ जनाको मृत्यु भएको थियो ।

यी हुन् नेपालसहित टी–२० विश्वकप क्रिकेट खेल्ने २० टिम

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ खेल्ने २० टिम (राष्ट्र)को नाम टुंगो लागेसँगै सार्वजनिक गरिएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आईसीसी)ले सन् २०२६ फेब्रुअरीदेखि मार्चसम्म भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ खेल्ने २० टिमको नाम सार्वजनिक गरेको हो ।

जसअनुसार भारत, श्रीलंका, अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिज, आयरल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, क्यानडा, इटाली, नेदरल्यान्ड, नामिबिया, जिम्बावे, नेपाल, ओमान र यूएई हुन् ।

कुन राष्ट्रको सहभागिता कसरी ?

भारत र श्रीलंका आयोजक राष्ट्रको रुपमा आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६मा सहभागी हुँदा सन् २०२४ मा सम्पन्न क्रिकेट विश्वकपका उत्कृष्ट सात टोलीका रूपमा अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिजले खेल्ने अवसर पाएका हुन् ।

आईसीसी टी–२० वरीयताको आधारमा आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान विश्वकपमा खेल्न पाउँदा अमेरिकी छनोटअन्तर्गत क्यानडाले विश्वकपमा स्थान बनाएको हो ।

युरोपियन क्षेत्रीय छनोटबाट इटाली र नेदरल्यान्ड, अफ्रिकी क्षेत्रीय छनोटबाट नामिबिया र जिम्बावे र एसिया प्यासिफिक क्षेत्रीय छनोटबाट नेपाल, ओमान र यूएईले विश्वकपको स्थान सुरक्षित गरेको हो ।

दल घोषणा गर्दै मिरज ढुंगाना

काठमाडौँ :  जेनजी युवा मिरज ढुंगानाले नयाँ दल घोषणा गर्ने भएका छन् । ढुंगानाले भोलि (शनिबार) दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन आयोजना गरिएको पनि जानकारी गराएका छन् ।

प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले मत हाल्न पाउनुपर्ने अधिकार सुनिश्चित हुनुपर्ने लगायतका एजेन्डामा रहेर दल दर्ता गर्ने उनले बताएका छन् । सामाजिक सञ्जालमार्फत एक भिडियो जारी गर्दै उनले पार्टी गठन वार्ता समिति गठन भएको जानकारी गराएका छन् ।

‘देश गम्भीर अवस्थामा छ । देले निकास खोजिसकेको छ । यस्तो अवस्थामा हामी दल खोल्नुपर्ने निष्कर्षमा पुगेका छौं,’ ढुंगानाले भनेका छन् ।ढुंगाना जेनजी आन्दोलनपछि चर्चामा आएका अगुवामध्येका हुन् ।

आज सुनको भाउ प्रतितोला दुई लाख ५८ हजार

काठमाडौँ : सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन प्रतितोला दुई लाख ५८ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदी प्रतितोला तीन हजार ३५० मा किनबेच हुनेछ । बिहीबार सुन प्रतितोला दुई लाख ५० हजार ९०० र चाँदी प्रतितोला तीन हजार २७५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा सुन आज प्रतिऔँस चार हजार ३६० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

न्यूनतम पारिश्रमिक र सुविधा सुनिश्चित गर्न स्वास्थ्यकर्मीको धर्ना

कैलाली । निजी अस्पतालका स्वास्थ्यकर्मीहरूले न्यूनतम पारिश्रमिक, अतिरिक्त भत्ता र कानुनी प्रावधानअनुसारका सेवा–सुविधाको माग गर्दै धनगढीमा धर्ना दिएका छन्।

धनगढी उपमहानगरपालिका–१ स्थित जिल्ला प्रशासन कार्यालय, कैलाली अगाडि  र सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा धर्ना सुरु गरेका हुन। धर्ना निजी अस्पतालहरूको संयुक्त आयोजनामा गरिएको हो भने नवजीवन अस्पतालकी स्टाफ नर्स आरती भट्टको नेतृत्वमा  स्वास्थ्यकर्मीहरू सहभागी भएका थिए।

स्वास्थ्यकर्मीहरू माथिको श्रम शोषण र दमनको अन्त्य गर्दै नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक, अतिरिक्त भत्ता, सेवा–सुविधा र नियुक्ति तथा सम्झौता सम्बन्धी कानुनी प्रावधानको पालना गर्न उनीहरूले माग गरेका छन्। साथै, शैक्षिक सक्कल प्रमाणपत्र कार्यालयमा नराख्ने, कार्य अनुभव प्रमाणपत्र अनिवार्य रूपमा उपलब्ध गराउने र पारिश्रमिक बैङ्किङ प्रणालीमार्फत मात्र वितरण गर्ने व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।

धर्नाको क्रममा  सामाजिक विकास मन्त्रालयका निमित्त सचिव मङ्गल बहादुर शाहीले स्वास्थ्य संस्था व्यवस्थापन संस्था ‘अफिम’ का प्रतिनिधिहरूसँग भेट गरेका थिए। उनले स्वास्थ्यकर्मीहरूको माग उचित रहेको स्वीकार गर्दै नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक लागू गर्न र अतिरिक्त भत्ता व्यवस्था गर्ने विषयमा पहल गर्ने आश्वासन दिएका थिए। स्वास्थ्यकर्मीहरूले माग पूरा नभएसम्म चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन्।

राहुल गान्धीको आरोप- ‘प्रधानमन्त्री मोदी ट्रम्पसँग डराउँछन्’

काठमाडौं : भारतीय लोकसभाका विपक्षी नेता तथा कांग्रेस सांसद राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग डराउने गरेको आरोप लगाएका छन्। ट्रम्पले हालै भारतले रुसबाट तेल किन्ने कार्य बन्द गर्ने आश्वासन प्रधानमन्त्री मोदीले दिएको दाबी गरेपछि राहुल गान्धीले ती टिप्पणीहरूलाई अस्वीकार गर्दै मोदीमाथि प्रहार गरेका हुन्।

राहुल गान्धीले सामाजिक सञ्जाल एक्समा ‘प्रधानमन्त्री मोदी ट्रम्पसँग डराउँछन’ लेख्दै हालका केही घटनाहरू सूचीबद्ध गरेका छन्। उनका अनुसार, प्रधानमन्त्री मोदीले ‘ट्रम्पलाई भारतले रुसबाट तेल नकिन्ने घोषणा गर्न अनुमति दिए, पटक–पटक अस्वीकृति गर्दा पनि उनलाई बधाई सन्देश पठाए। अर्थमन्त्रीको अमेरिकाको भ्रमण रद्द गरे, शर्म एल–शेख सम्मेलनमा सहभागी हुन चुके र ‘अपरेसन सिन्दुर’बारे ट्रम्पको दाबीमा मौन रहे।’

कांग्रेसका वरिष्ठ नेता जयराम रमेशले पनि प्रधानमन्त्री मोदीको मौनतालाई प्रश्न गरेका छन्। ट्रम्पले पाँच देशमा ५१ पटकसम्म आफूले भारत-पाकिस्तानबीचको युद्धविराम गराएको दाबी गरेका छन् तर प्रधानमन्त्री मोदी मौन रहेका छन्।
ट्रम्पले बुधबार ओभल अफिसमा एफबीआई निर्देशक काश पटेलसँग संयुक्त पत्रकार सम्मेलनमा भनेका थिए,‘प्रधानमन्त्री मोदीले मलाई आश्वासन दिएका छन् कि भारत अब रुसबाट तेल किन्नदैन। यो ठूलो कदम हो, अब चीनलाई पनि त्यही गर्न प्रेरित गर्नुपर्छ।’ उनले भारतको अघिल्लो तेल आयात नीतिप्रति असन्तुष्टि जनाउँदै भने, ‘रुसबाट तेल किन्ने कार्यले रुसलाई युद्ध जारी राख्न सहयोग पुर्यायो, जहाँ करिब १५ लाख सैनिकहरू मारिएका छन्।’

भारतले यसअघि रुसबाट तेल आयातलाई आफ्नो आर्थिक स्थायित्वका लागि आवश्यक भन्दै बचाउ गरेको थियो। तर ट्रम्प प्रशासनले भारतीय वस्तुहरूमा २५ प्रतिशत अतिरिक्त शुल्क लगाउँदै रुससँगको भारतको तेल व्यापारलाई अमेरिकी सुरक्षाका लागि “असामान्य र असाधारण खतरा” भनेको थियो।

यसैबीच भारतले स्पष्ट पारेको छ कि ‘अपरेसन सिन्दुर’ वा भारत-पाकिस्तान युद्धविराम दुवै देशका सैन्य अधिकारीहरू बीचको सहमति थियो र त्यसमा कुनै तेस्रो देशको संलग्नता थिएन।

बाढी प्रभावित समुदायका लागि सुरक्षित आवास

कञ्चनपुरः कञ्चनपुरको गाउँपालिका–२ कञ्जमा बाढी प्रभावित समुदायका लागि सुरक्षित आवास (सेफ हाउस) निर्माण गरिने भएको छ। गाउँपालिका र ‘पेशवान’ नामक गैरसरकारी संस्थाको संयुक्त लगानीमा सुरक्षित आवास निर्माण सुरु गरिएको हो।

गाउँपालिकाका अध्यक्ष निर्मल रानाका अनुसार ५९ लाखमा ठेक्का प्रक्रियामार्फत सुरक्षित आवास भवन निर्माण सुरु गरिएको छ। “समुदायका लागि जलवायु उत्थानशील कार्यक्रमअन्तर्गत निर्माण भइरहेको सुरक्षित आवासका लागि गाउँपालिकाले पाँच लाख लगानी गरेको छ”, अध्यक्ष रानाले भने, “बाँकी रकम संस्थाले व्यहोरेको छ।”

दोदा नदीको बाढी प्रभावित बासिन्दालाई सुरक्षित आवासमा खाद्यान्न तथा अतिआवश्यक सामग्री भण्डारण गर्ने, बालबालिका, वृद्ध, असक्त, अपाङ्गता भएका व्यक्ति र महिलालाई सुरक्षित बसोबास गर्न सहज होस् भन्ने उद्देश्यले आवास निर्माण गरिएको पेशवानका प्राविधिक जनक लेखकले बताए। उनका अनुसार सो भवनमा सामुदायिक विपद् व्यवस्थापन समितिले छलफल, बैठक तथा तालिमका कार्यक्रम सञ्चालन गर्न पनि सहज हुनेछ।

यसैगरी, पुनर्नवास नगरपालिका–५ रातोताल सिम्रीमा पनि पालिकासँगको सहकार्यमा ४६ लाख लागतमा अर्को दुईतले सुरक्षित आवास निर्माण अगाडि बढाइएको छ।

सहकारी ठगेर हिँड्नेलाई कुनै हालतमा छोड्न हुन्न’- प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगलाई कुनै हालतमा उन्मुक्ति दिन नहुने बताएकी छिन् ।

बिहीबार प्रधानमन्त्री कार्यालयमा मन्त्री, सचिव, संगटग्रस्ट सहकारी समस्या समाधान आयोग, सहकारी समस्या नियमन प्राधिकरण, सहकारी पीडित बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका सदस्यहरुबीच भएको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले सहकारी ठगेर हिँड्नेलाई कुनै हालतमा छोड्न नहुने बताएकी हुन् ।

उनले सहकारी ठगलाई जुनसुकै अवस्थामा पनि अहिलेकै सरकारले कारवाही गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छलफलमा सहकारीमा एक अधिकारीले बताएका छन् । उनले अहिलेको सरकारले सहकारी समस्या समाधान नगरे अरु कसैले नगर्ने पनि बताएकी थिइन् ।

प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगलाई कुनै हालतमा उन्मुक्ति दिन नहुने बताएकी छिन् । त्यस्तै, प्रधानमन्त्री कार्कीले सहकारी ठगलाई कारवाही गर्न र सहकारी समस्या समाधान गर्न हाल विद्यमान कानून बाधक बने कानून संशोधन गरेर भए पनि सुधार र कारवाही प्रक्रिया अघि बढाइने बताएका छन् । उनले घरजग्गा लिलाम गरेर भए पनि पीडितको बचत फिर्ता गर्नुपर्ने बताएकी छिन् ।

एमाले बैठकमा मानन्धरले मागे ओलीको राजीनामा

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरिएको छ ।

बिहीबार ललितपुरको जावलाखेलमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले ओलीको राजीनामा माग गरेका हुन् ।

छनोट प्रतियोगिताको उपाधि जितेमा क्रिकेट खेलाडीले जनही १९ लाख ५० हजार पाउने

काठमाडौं । नेपालले ओमानमा जारी टी-२० विश्वकप छनोट प्रतियोगिताको उपाधि जितेको खण्डमा राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरूले जनही १९ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेलकुद विकास नियमावली २०७९ अनुसार सो पुरस्कार रकम दिइने बताए ।

नेपाल अहिलेसम्म प्रतियोगितामा अपराजित रहँदै अंकतालिकाको शीर्षस्थानमा छ । हिजो भएको म्याचमा घरेलु टिम ओमानलाई पराजित गरेपछि नेपाल पहिलो नम्बरमा उक्लिएको हो । अब शुक्रवार हुने अन्तिम खेलमा नेपालले सामोआलाई हराएको खण्डमा नेपालले छनोट प्रतियोगिताको उपाधि जित्ने छ ।

घिसिङकै कार्यकालमा ल्याइएको खेलकुद विकास नियमावलीमा खेलाडीहरूलाई प्रदान गरिने पटके पुरस्कारलाई व्यवस्थित गरिएको थियो । कस्तो प्रतियोगिता जितेमा खेलाडी र प्रशिक्षकलाई कति पुरस्कार दिने भन्ने नियमावलीमै उल्लेख छ ।

नियमावलीको अनुसूची ४ अन्तरगतको व्यवस्था अनुसार यदि नेपालले विश्वकप नै जितेको खण्डमा खेलाडीले जनही ३२ लाख ५० हजार रुपैयाँ पाउँछन् । यस्तै, उपविजेता भएको खण्डमा जनही २६ लाख र तेस्रो भएमा १९ लाख ५० हजार दिने व्यवस्था छ ।

विश्वकप छनोट प्रतियोगितामा पहिलो भएको अवस्थामा पनि प्रत्येक खेलाडीले १९ लाख ५० हजार पाउने व्यवस्था गरिएको छ । दोस्रो भएमा १३ लाख र तेस्रो भएमा ९ लाख १० हजार पाउँछन् । यही नियमावली अनुसार २०२४ को विश्वकप छनोट प्रतियोगितामा नेपाल दोस्रो हुँदा खेलाडीले १३ लाख जनही पाएका थिए ।

छनोट प्रतियोगिताको उपाधि जितेमा प्रमुख प्रशिक्षकले ६ लाख २५ हजार रकम पाउनेछन् । यस्तै, सहायक प्रशिक्षक, फिजियो र अफिसियललाई ३ लाख २५ हजार दिइनेछ । दोस्रो भएमा प्रमुख प्रशिक्षकले ३ लाख ९० हजार र अफिसियलहरुले एक लाख ९१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उपाधि जितेमा नेपाल क्रिकेट संघ (क्यान) ले पनि ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो भएमा ३ लाख ९० हजार र तेस्रो भएमा दुई लाख ६० हजार रुपैयाँ प्राप्त गर्ने व्यवस्था नियमावलीमा गरिएको छ ।

नेपालले अब अन्तिम खेल सामोआसँग खेल्नेछ । उक्त खेल जितेमा नेपाल अपराजित रहँदै प्रतियोगिताको विजेता हुनेछ । यदि नेपालले हार्यो र ओमानले पनि अन्तिम म्याचमा जापानसँग हार्यो भने पनि नेपाल नै विजेता हुन्छ । तर, नेपालले हार्यो र ओमानले जित्यो भने चाहिँ रन रेटका आधारमा नेपाल र ओमानमध्ये एक विजेता बन्नेछन् ।

चुहावट रोक्न नसक्दा कैलाली भन्सारको राजश्व संकलन दर घट्यो

धनगढी : सुदूरपश्चिमको प्रमुख भन्सार नाका धनगढीस्थित कैलाली भन्सार कार्यालयमा चालु आर्थिक वर्षको पहिलो तीन महिनाको राजश्व संकलन गत वर्षको तुलनामा घटेको छ । गत आर्थिक वर्ष ०८१/८२ को पहिलो तीन महिनामा एक अर्ब ७८ करोड ६० लाख ६३ हजार रहेको थियो ।

चालु आर्थिक वर्ष ०८२/८३ को पहिलो तीन महिना साउनदेखि असोज २८ गतेसम्मको राजश्व संकलन भने एक अर्ब ७२ करोड ७७ लाख ३६ हजार रहेको छ । कैलाली भन्सार कार्यालयले त्यस अघिल्लो आर्थिक वर्ष ०८०/८१ को सोही अवधिमा एक अर्ब ६१ करोड ६० लाख २५ हजार रुपैयाँ राजश्व संकलन गरेको अभिलेख छ ।

गत आर्थिक वर्षमा लक्ष्य अनुसार न्यून संकलन भएपछि चालु आर्थिक वर्षमा राजश्व संकलनको लक्ष्य नै घटाएको थियो । गत आर्थिक वर्ष ०८१/८२ को साउनमा ८२ करोड लक्ष्य निर्धारण गरिएकोमा ६३ प्रतिशत, भदौमा ९० करोड लक्ष्य लिइएकोमा ५९ प्रतिशत र असोजमा ८७ करोड लक्ष्यमा ७६ प्रतिशत मात्र राजश्व संकलन हुन सकेको थियो । चालु आर्थिक वर्षमा भने कार्यालयले साउनमा ७१ करोड, भदौमा ७४ करोड र असोजमा ७६ करोड राजश्व संकलनको लक्ष्य निर्धारण गरेको थियो ।

कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्षमा कूल ९ अर्ब ७१ करोड १५ लाख ६ हजार राजश्व संकलनको लक्ष्य राखेको छ । गत आर्थिक वर्षमा ११ अर्ब १६ करोड २६ लाख ३० हजार लक्ष्य निर्धारण गरिएकोमा ८ अर्ब ६६ करोड ९८ लाख अर्थात् ७७.६७ प्रतिशत मात्र राजश्व संकलन भएको भन्सार अधिकृत खिमप्रसाद अर्यालले बताए ।

 

आर्थिक वर्ष ८०/८१ मा ७ अर्ब ९१ करोड ८० लाख ९८ हजार कूल राजश्व संकलन भएको अर्यालले जानकारी दिए । ‘पछिल्लो समयमा व्यापार व्यवसाय घटेकाले आयात पनि घटेको छ’ भन्सार अधिकृत अर्यालले भने ‘ कैलालीमा राजश्व संकलनको मुख्य आधार पेट्रोलियम पदार्थ हो । व्यापार व्यवसाय नबढ्दासम्म आयात घट्ने र राजश्व संकलन पनि स्वतः घट्ने नै भयो ।’

कैलाली भन्सारले विगत पाँच वर्षदेखि निरन्तर निर्धारित राजश्व संकलनको लक्ष्य पुरा गर्न सकेको छैन । आर्थिक वर्ष ०७७/७८ देखि राजश्व संकलनको वार्षिक लक्ष्य पुरा हुन नसकेको हो । आर्थिक वर्ष ०७९/८० मा वार्षिक १२ अर्ब ३० करोड ६६ लाख ७८ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा आठ अर्ब २९ करोड ६३ लाख पाँच हजार (६७.४१ प्रतिशत) मात्रै राजश्व संकलन भएको थियो ।

उत्पादन र आयातको सम्भाव्यता अध्ययन नगरी लक्ष्य निर्धारण गर्दा राजश्व संकलन लक्ष्यमा पुग्न नसकेको विगतको अनुभव रहेको कार्यालयको भनाई छ । ‘अहिले त आर्थिक गतिविधि घटेको छ । सुदूरपश्चिममा गरिबीको सूचांकमा रहेको जनसङ्ख्या उच्च छ । आम्दानीको स्रोत अनुसार उपभोग हुने भएकाले आयातमा ह्रास आउने गरेको हो,’ कार्यालय प्रमुख अनन्त तिम्सिनाले भने ‘अर्कोतिर विगतदेखि नै राजश्व छलीको परम्परालाई घटाउन नसकिएका कारण पनि राजश्व संकलनको वार्षिक लक्ष्य पुरा गर्न कठिन भइरहेको हो ।’

निर्वाचन आयोग र राजनीतिक दलबीच छलफल

काठमाडौँ- निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि आज पहिलो पटक राजनीतिक दलहरूसँग छलफल गरेको छ । आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आशन्न निर्वाचनको तयारीको छलफलमा आउन पत्राचार गरेको थियो ।

छलफलमा नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष गुरु बराल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिवालय सदस्य देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महासचिव कविन्द्र बुर्लाकोटी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायत अन्य दलका प्रतिनिधि छन् । छलफलमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन घोषणा भई तयारी सुरु भएको अवस्थामा निर्वाचनको वातावरण सृजना गरी सक्रिय हुन दललाई आग्रह गरे  ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गते निर्धारित निर्वाचनको मिति घोषणा भएको थियो ।

जेनजी र हाम्रा माग एउटै हुन्, माओवादी अझै पनि मूलधारको पार्टी बन्छ– प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी फेरि जनताको विश्वास जितेर मूलधारको पार्टी बन्ने दाबी गरेका छन् ।

शुक्रबार बिहान चितवनको भरतपुरस्थित पार्टी कार्यालय प्राङ्गणमा आयोजित भेटघाट कार्यक्रममा प्रचण्डले हालको ‘जेनेरेसन जेड’ (जेनजी) आन्दोलन’ का माग माओवादीका पुराना आदर्शसँग मेल खाने बताएका हुन् ।

‘युवाले उठाएका मागहरू हाम्रो आन्दोलनसँग गहिरो रूपमा जोडिएका छन्,’ उनले भने, ‘भ्रष्टाचारविरोधी अभियान हाम्रो शुरूदेखिको मुद्दा हो । अहिले जेनजीले त्यसैको स्वर बुलन्द पारेको छ ।’

उनले असोज २३ गते राजधानीमा भएको आन्दोलनमा भएको गम्भीर सुरक्षा लापरवाहीको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री र मन्त्रीहरूले लिनुपर्ने बताए ।

‘शान्तिपूर्ण आन्दोलनमा कलेज ड्रेस लगाएका युवाहरूको टाउको र छातीमा गोली हानिनु अन्तर्राष्ट्रिय स्तरमै लाजमर्दो हो,’ प्रचण्डले भने ।

२४ गते सिंहदरबारमा विपक्षी दलहरूको बैठकपछि सुरक्षा जोखिमका कारण आफूहरू सेनाको समन्वयमा त्यहीँ बस्नुपरेको स्पष्ट पार्दै उनले भने, ‘हामीलाई कसैले लगेका होइन, परिस्थितिको मूल्याङ्कन गरेर सुरक्षा संयन्त्रसँगको सहकार्यमा सुरक्षित स्थानमा गएका हौं ।’

सुनको भाउ तोलाको २ लाख ५० हजार नाघ्यो

काठमाण्डौ – सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुनको भाउ एकैदिन दुई हजार रुपैयाँले बढेर तोलाको दुई लाख ५० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४८ हजार नौ सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ३५ रुपैयाँले बढेर तोलाको तीन हजार दुई सय ७५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार दुई सय ४० रुपैयाँ रहेको थियो । चाँदीको भाउ अस्ति अहिलेसम्मकै उच्च तोलाको तीन हजार तीन सय २५ रुपैयाँ रहेको थियो ।

 

पूर्वसभामुख महरालाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पूर्पक्षमा जेल चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौंले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ र ८० बमोजिम बुधवार थुनछेक आदेशपछि महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

अदालतमा पेस भएको प्रारम्भिक प्रमाण र अनुसन्धान प्रतिवेदनअनुसार महराको चिनियाँ व्यापारी दावजिन वाङसँग निरन्तर सम्पर्क र पारिवारिक तथा व्यावसायिक सम्बन्ध रहेको देखिएको छ । दुवैबीचको मिलेमतोमा इ–सिगरेट ९भेप० मार्फत सुनको तस्करी गरिएको आरोप लगाइएको छ ।

प्रमाण अनुसार, महरासँगै उनका छोरा रेशम (राहुल) महरा र बुहारी विमला महरा को मोबाइल नम्बरबाट समेत दावजिन वाङसँग पटक–पटक कुराकानी भएको भेटिएको छ। महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरुण पोखरेललाई फोन गरी जफत गरिएका सामानबारे भनसुन गरेको पनि प्रमाणित भएको अदालतको आदेशमा उल्लेख छ ।

भन्सार कार्यालयले २०७९ फागुन २१ गते इ–सिगरेट ७३० थान जफत गरेको थियो, जसको न्यूनतम मूल्य पाँच लाख ११ हजार रुपैयाँ तोकिएको थियो । तर उक्त इ–सिगरेटको आवरणमा करिब ९.५ किलो सुन लुकाइएको पाइएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

सरकारले गठन गरेको सुन तस्करी नियन्त्रण छानबिन आयोग, २०८० को प्रतिवेदन, प्रहरीले बुझाएको प्रतिवेदन, मोबाइल कल डिटेल र प्रत्यक्ष साक्षीका बयान अदालतमा प्रमाणका रूपमा पेश गरिएको छ ।

छानबिनका क्रममा अभियुक्त दिनेश बस्नेतले उक्त इ-सिगरेटभित्रको सुन ६ करोड रुपैयाँमा व्यापारी वेदप्रकाश अग्रवाललाई बिक्री गरेको बयान दिएका छन् । अग्रवाल र अन्य व्यक्तिका बयानले पनि आरोप पुष्टि गर्ने आधार बनेको छ ।

अदालतले प्रस्तुत प्रमाण र बयानका आधारमा महरालाई तत्काल निर्दोष ठहर गर्न सकिने अवस्था नरहेको निष्कर्ष निकाल्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

प्रतिनिधिसभा विघटनविरूद्ध ९ वटा रिट दर्ता

 काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ९ वटा रित दर्ता भएका छन् । बुधबार सर्वोच्चमा ९ वटा रिट दर्ता भएका हुन् ।

रिटमाथि आगामी कार्तिक १२ गतेका लागि पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनमा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति भएपछि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइ बाहेक सबै काम स्थगित गरिएको थियो ।

जेनजी आन्दोलनले अपदस्थ गरेकाहरूबाटै सुरक्षा चुनौती थप्ने गतिविधि भए : गृहमन्त्री

काठमाडौं ।  गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनले अपदस्थ गरेकाहरूबाटै सुरक्षा चुनौती थप्ने गतिविधि भइराखेको बताएका छन् । गृह मन्त्रालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले सुरक्षा चुनौती थप्ने खालका गतिविधिहरू भइराखेको बताएका हुन् ।

उनले भनेका छन्, ‘सुरक्षा हामीले दिइराखेका छौं । बरु सुरक्षा समस्या नेशनल सेक्युरिटी क्राइसिस थप्ने खालका गतिविधिहरू कहीँ कैतबाट भएका छन् ।’पत्रकारहरूले सोधे, ‘कहाँबाट भएका छन् ?’गृहमन्त्रीले जवाफ दिए, ‘जो चाहीँ अपदस्थ भा’थे त्यहाँबाट (सुरक्षा चुनौती थप्ने गतिविधि) भइरहेका छन् । त्यसलाई निगरानी गरेर गरेर सुरक्षा दिन्छौं । निगरानी गर्नुपर्ने तत्वहरू को हुन् भनेर थाहा पाएका छौं ।’

पत्रकारले सोधे, ‘पुराना दलहरू (सुरक्षा चुनौती) भइराखेका छन् ?’जवाफमा गृहमन्त्रीले भने, ‘सबैलाई म जेनरलाइज गर्दिन ।’ तथापि, कतिपय एलिमेन्टहरू जसले समस्याहरू निम्त्याउन सक्लान्, जुन एलिमेन्टहरूले केही गर्लान् र तिनीहरूलाई काबुमा राख्नुपर्ला भन्ने सोचिएको थियो त्यसभन्दा फरक रूपमा गतिविधि हुन थालेको उनले बताए ।

जेनजी आन्दोलनले विस्थापित गरेका नेताहरू नै सुरक्षा थ्रेटका रूपमा देखा पर्न खोजेको उनको संकेत छ । विस्थापित भएका दलहरूले के बोध गर्नुपर्ने थियो भनेर उनले सुझाएका छन्, ‘जो विस्थापित भएका थिए, विद्रोहले जसलाई विस्थापित गरेको थियो, अपदस्थ गरेको थियो तिनीहरूलाई बोध हुनुपर्ने- हामीले सुशासन दिन नसकेको कारणले, हामीले कुशासन गरेको कारणले यो परिस्थिति आएको थियो । यसमा हामीले क्षमा माग्छौं । हामी स्टेप डाउन हुन्छौं ।’

यस्तो बोध जेनजी आन्दोलनपछि विस्थापित भएका नेताहरूमा हुन नसकेको गृहमन्त्री अर्यालको टिप्पणी छ ।

गृहमन्त्री अर्यालले अगाडि भनेका छन्, ‘…पार्टीमा पनि अरू पनि योग्य मान्छे छन् उनीहरूलाई नेतृत्व दिन्छौं, हामीले स्थिति सामान्यीकरण गर्छौं भनेर सोच्नुपर्ने थियो नि ! तर, तिनीहरू नै अहिले डुक्रिन थालेका छन् ।’

यहाँनेर उनले वर्तमान सरकार क्रान्तिपछि बनेको सरकार भएको ख्याल गर्न पनि भनेका छन् । ‘क्रान्तीकारीहरूलाई उनीहरू आतंककारी देखिरहेका छन्’ उनले भनेका छन्, ‘यो क्रान्तिपछि बनेको सरकार हो, हेक्का रहोस् ।’

सुशासनको मामलामा के के गर्नुपर्छ सरकारले गर्ने गृहमन्त्री अर्यालको प्रतिवद्धता छ । उनको प्रतिप्रश्न छ, ‘सुशासनका लागि विद्रोह भएपछि हामीले सुशासन छोड्छ ?’

सुशासन कायम गर्दै जाँदा भ्रष्टाचारीहरू कानुनको दायरामा आउन सक्ने उनको भनाइ छ ।

बरु विगतमा जसले सुरक्षाकर्मीहरूको दुरुपयोग गरेका थिए, जसले मापदण्डविपरित सुरक्षाकर्मी लगेका थिए उनीहरूले नै शान्ति सुरक्षाको कुरा गरिरहेको उनले बताए ।

‘बर्दीधारीलाई लगेर पनि घरमा भान्से बनाउनुभएको थियो, अरु काममा पनि लगाउनुभएको थियो’ उनले भने, ‘सुरक्षाकर्मी लगेर, पिएसओ लगेर ड्राइभर बनाउनुभएको थियो ड्राइभरलाई दिने पैसा बचाउनलाई ।’

अनावश्यक सुरक्षा फिर्ता गरेपछि त्यसको विरोध स्वरुप समग्र रुपमै शान्ति सुरक्षा भएन भनेर भन्न थालिएको भन्दै उनले सरकार शान्ति सुरक्षाका लागि गम्भीर रहेको बताए ।

व्यक्तिगत रूपमा कसैलाई थ्रेट भए निवेदन दिन सकिने उनको आग्रह छ । निवेदन आएपछि थ्रेटको व्याख्या हुने र त्यसआधारमा चाँडो भन्दा चाडो निकास दिइने गृहमन्त्री अर्यालको प्रतिवद्धता छ ।

२२.५८अंकले घट्यो नेप्से, ३ अर्ब १० करोडको कारोबार

काठमाडौं : बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २२.५८ अंकले गिरावट आएको छ । आज नेप्सेमा कारोबार भएका २०६ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा नेप्से घटेर २५०५.५८ अंकको विन्दुमा आएको हो ।

नेप्सेमा गिरावट आए पनि आज कारोबार भएका कम्पनीमध्ये ४० वटा कम्पनीको सेयर मूल्य बढेको छ । तर, आज ५ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

मंगलबारको तुलनामा नेप्सेमा आज कारोबार रकम समेत खुम्चिएर ३ अर्ब १० करोड १८ लाख ३० हजार रुपैयाँको मात्रै भयो ।

आज नेप्सेमा समता घरेलु लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने समाज लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए । नेप्से परिसूचक घट्दा आज म्यूचुलअ फन्ड बाहेक सबै समूहको सूचक नकारात्मक बन्न पुगेको छ ।

 

विपिनको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैन : प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकार प्रमुख सुशीला कार्कीले विपिन जोशीको हत्याप्रति गहिरो शोक र समवेदना व्यक्त गरेकी छन् ।

सन् २०२३ को अक्टुबर ७ मा इजरायलमा भएको हमास आक्रमणमा परी बेपत्ता भएका जोशी जीवित नरहेको भनि २७ असोजमा मात्रै इजरायलले नेपाली राजदूतावासलाई औपचारिक जानकारी दिएको थियो ।

अन्तरिम सरकार प्रमुख कार्कीले जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेकी छन् । जोशी केवल एक विद्यार्थी मात्र नभई विदेशमा ज्ञानको खोजीमा लागेका हजारौं नेपाली युवाको उज्ज्वल प्रतिनिधि भएको उनी बताउँछिन् ।

जोशीको साहस र त्यागको प्रशंसा गर्दै कार्कीले भनिन्, ‘उहाँ त अब हामीमाझ रहनुभएन । तर बन्धक हुनुपूर्वका अन्तिम क्षणमा उहाँले अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर अन्य कैयौं साथीहरूको ज्यान बचाउनुभएको कुराले हामी सबैलाई उहाँ सदा कृतज्ञ बनाएको छ । उहाँको यो वीरतापूर्ण कार्य उहाँको जीवनको सबैभन्दा ठूलो विरासत हो, जसले उहाँलाई सधैं नेपाली गौरवको प्रतीकका रूपमा जीवित राख्नेछ ।’

जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सने उनले बताइन् ।

कञ्चनपुरका जोशी दक्षिणी इजरायलकोे किबुत्ज अलुमिममा अध्ययनरत थिए । सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा उनी बेपत्ता भएका थिए ।

इजरायली डिफेन्स फोर्सकाअनुसार अपहरणमा परेको करिब महिना दिनपछि नै जोशीको हत्या भएको जनाएको छ ।

भारतको राजस्थानमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु

नयाँ दिल्ली । भारतको पश्चिमी राज्य राजस्थानमा एक निजी बसमा आगलागी हुँदा मङ्गलबार कम्तीमा २० जनाको ज्यान गएको सरकारी अधिकारीले बताएका छन् । उक्त चलिरहेको बस राजस्थानको जैसलमेर जिल्लास्थित थायत गाउँ नजिकै सडकमा अचानक आगो लागेको थियो ।

यो स्थान राजस्थानको राजधानी जयपुरबाट करिब ५४८ किलोमिटर पश्चिममा पर्दछ । अधिकारीहरुका अनुसार ५७ यात्रु सवार रहेको बस राजमार्गमा यात्रा गरिरहेको बेला पछाडिको भागबाट धुवा निस्कन थालेपछि चालकले बस रोकेका थिए । तर केही समयमै बस पुरै आगोमा परिणत भयो र धेरै यात्रु बसमै फसे ।

केही घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ । यद्यपि आगलागीको कारण अझै पत्ता लाग्न बाँकी रहेको बताइएको छ, प्रहरीका अनुसार बसको भित्र विद्युतीय तार सर्टका कारण आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।

एमाले महाधिवेशन मंसिर २७ देखि २९ सम्म पोखरामा

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन आगामी मंसिर २७, २८ र २९ गते हुने भएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन पोखरामा आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको प्रस्ताव गरेका थिए ।

सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित सबै मन्त्रालय सञ्चालन

धनगढीः जेनजी प्रदर्शनकारीको आगजनी र तोडफोडपछि अस्तव्यस्त बनेका सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित सबै मन्त्रालय सञ्चालनमा आएका छन्।

सरसफाइ र मर्मतसम्भार गरेर मन्त्रालयहरूलाई सञ्चालनमा ल्याइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सूचना अधिकारी (उपसचिव) जगदीश जोशीले जानकारी दिए। त्यस्तै बढी क्षति भएका मन्त्रालयको कामकाज अन्य भवनबाट थालिएको छ। तोडफोड र आगजनीपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित मन्त्रालयहरूको कामकाज रोकिएको थियो।

उपसचिव जोशीले अनुसार भदौ २४ गते जेनजी आन्दोलनकारीले प्रदेश सभा, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालयसहित विभिन्न कार्यालयमा क्षति पु¥याएका थिए। कम क्षति भएका मन्त्रालयहरू सरसफाइ र आवश्यक मर्मत गरेर कामकाज सुचारु गरिएको छ।

बढी क्षति भएको भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयको भवनबाट भने तत्कालै कामकाज सञ्चालन गर्न नसकिने भएकाले वैकल्पिक भवनबाट कामकाज भइरहेको छ । सबैभन्दा बढी क्षति भएको प्रदेश सभा भवन भने सञ्चालनमा आउन सकेको छैन । प्रदेश सभा भवनको मर्मतका लागि छलफल चलिरहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ। सम्भवतः तिहारपछि प्रदेश सभा भवनको कामकाज सुरु हुने जोशीले बताए।

 

गेटामा विश्वविद्यालय ऐन कार्यान्वयनको ढोका खुल्यो, ८८ दिनमा सभाको बैठक

धनगढी ।  निकै रस्साकस्सी बिच तत्कालीन प्रतिनिधि सभाबाट पारित भएको कैलालीको गेटा स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ कार्यान्वयनमा गएको छ। दुवै सदनबाट पारित भएर असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको ऐन साउन २ गते देखि लागू भएको थियो। उक्त ऐन लागू भएको ९० दिन भित्र सभा बैठक बस्नुपर्ने बाध्यात्मक परिस्थितिका बिच मंगलबार पहिलो बैठक बसेपछि ऐन कार्यान्वयनको ढोका खुलेको हो। ऐनमा सभाको बैठकबाट ९० दिन भित्र उपकुलपति, रजिस्ट्रार नियुक्तिका लागि सिफारिस समिति गठन गरिसक्नु पर्ने प्रावधान थियो।

मंगलबार ऐन लागु भएको ८८ औँ दिनमा बैठक बसेपछि अब विश्वविद्यालयका मुख्य कार्यकारी पद उपकुलपति, रजिस्ट्रार नियुक्तिको बाटो खुलेको छ। मंगलबार बसेको सभाको बैठकले उपकुलपति, रजिस्ट्रार नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ। प्रा डा जयराज अवस्थी संयोजक रहेको समितिको सदस्यमा प्रा डा दीपक महरा र प्रा डा भारती जोशी सदस्य रहेका छन्।ऐन अनुसार अब सिफारिस समितिले ६० दिन भित्र उपकुलपति, रजिस्ट्रार नियुक्तिको लागि सिफारिस गर्नुपर्ने प्रावधान छ भने सिफारिस समितिले सिफारिस गरेका व्यक्तिबाट सभाले ३० दिन भित्र नियुक्त गर्नुपर्ने प्रावधान पनि ऐन मै उल्लेख छ।

ऐन अनुसार नै काम अगाडि बढेमा पनि अब ढिलोमा ९० दिन भित्र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले उपकुलपति, रजिस्ट्रार पाउने छ। कार्यकारी पद उपकुलपति र रजिस्ट्रार नियुक्ति पछि मात्रै विश्वविद्यालयका अन्य कर्मचारी नियुक्त गरिने छन्।मंगलबार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ को परिच्छेद ४ को दफा बमोजिम विश्वविद्यालय सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माहाविर पुनको अध्यक्षता बैठक सम्पन्न भएको थियो। बैठकले सभाका ७ जना सदस्य पनि नियुक्ति गरेको छ।

जसमा सभाको गठन सम्बन्धी परिच्छेद ४ को दफा ७ को उपदफा (२) को खण्ड (छ) बमोजिम स्वास्थ्य विज्ञानसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने अन्य विश्वविद्यालयका उपकुलपतिमध्ये सभाबाट एक जना सदस्य मनोनीत गर्नुपर्ने प्रावधान अनुसार सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा हेमराज पन्त चयन गरेको छ।

यस्तै परिच्छेद ४ कै दफा ७ को उपदफा (२) को खण्ड (ठ) बमोजिम विज्ञान तथा प्रविधि, व्यवस्थापन, कानुन, शिक्षा, समाजशास्त्र, मानवशास्त्रका विज्ञमध्येबाट ६ जना चयन गर्नुपर्ने प्रावधान अनुसार प्रा डा जयराज अवस्थी, प्रा डा अम्मराज जोशी, डा लवदेव अवस्थी, प्रा डा संगीता राज भण्डारी, डा डम्बरबहादुर पाल र सह प्रा अनुराधा रोकायलाई चयन गरेको छ। बैठकमा सभाका सदस्य रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सभाका सदस्य गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट लगायतको सहभागिता रहेको थियो।

विश्वविद्यालयको सभाको पहिलो बैठकबाट उपकुलपति र रजिस्ट्रार नियुक्ति प्रक्रिया अगाडि बढाएर सभाका ७ सदय चयन गरिए पनि अझै विश्वविद्यालयको स्वरूप दिनका लागि भने ऐन अनुसार प्राज्ञिक परिषद्, कार्यकारी परिषद्, अनुसन्धान केन्द्र, स्कुल, शिक्षण संस्था र शिक्षण अस्पतालको संरचना बन्न बाकी नै छ। यद्यपि हाल विश्वविद्यालय भित्रै गेटा अस्पताल सञ्चालनमा रहेको भए पनि उक्त अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा घोषणा गरिएको छैन।

भदौमा घट्यो महँगी

काठमाडौं । चालु आर्थिक वर्ष ०८२/८३ को भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी) १.८७ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो तथ्यांकअनुसार गत वर्षको सोही महिनाको तुलनमा महँगी घटेको हो । गत वर्षको भदौ महिनामा यस्तो महँगीदर ३.८६ प्रतिशत थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको महँगीदर १.३४ प्रतिशतले ऋणात्मक रहेको छ । गैर–खाद्य तथा सेवा समूहको महँगीदर ३.७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको महँगीदर क्रमशः ५.०६ प्रतिशत र ३.१९ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.०९ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३.९७ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको २.६६ प्रतिशतले बढेको छ । तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १२.७४ प्रतिशत, मरमसलाको ६.३१ प्रतिशत र दाल तथा गेडागुडीको ३.५८ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.७७ प्रतिशत, शिक्षाको ७.६७ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.८४ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ४.५५ प्रतिशतले बढेको छ । बिमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ०.२२ प्रतिशतले घटेको छ ।

समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १.७३ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १.९१ प्रतिशतले बढेको छ ।

प्रदेशगत रूपमा समीक्षा महिनामा कोसी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.९९ प्रतिशत, मधेसको १.७४ प्रतिशत, वाग्मतीको १.७२ प्रतिशत, गण्डकीको १.४७ प्रतिशत, लुम्बिनीको १.७६ प्रतिशत, कर्णालीको १.८५ प्रतिशत र सुदूरपश्चिमको ०.८८ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.२१ प्रतिशत, तराईको १.७० प्रतिशत, पहाडको १.६८ प्रतिशत र हिमालको २.५१ प्रतिशत रहेको छ ।

३१ प्रतिशतले बढ्यो रेमिट्यान्स, भदौमा मात्रै भित्रियो पौने २ खर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भएको छ । चालु आवको भदौ महिनामा गत आवको सोही अवधिको तुलनामा नेपाल भित्रने रोमिट्यान्स ३३.१ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार यो अवधिमा ३ खर्ब ५२ अर्ब ८ करोड रेमिट्यान्स भित्रिएको छ । गत आवको सोही अवधिमा २ खर्ब ६४ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।  अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.८ प्रतिशतले बढेको थियो ।

२०८२ भदौ महिनामा मात्रै विप्रेषण आप्रवाह १ खर्ब ७४ अर्ब ६७ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब २७ अर्ब ९९ करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ३ खर्ब ८४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २ खर्ब ८७ अर्ब ७६ करोड रहेको थियो ।  समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ७६ हजार ४८५ र ४० हजार ५८३ रहेको थियो ।

 

फरेन्सिक परीक्षणबाट पनि पुष्टि भयो विपिनको शव

काठमाडौँ  : फरेन्सिक परीक्षणबाट विपिन जोशीको शव पुष्टि भएको छ । हमासले सोमबार राति इजरायललाई विपिनसहित चार जनाको शव हस्तान्तरण गरेको थियो ।

इजराइली सेनाले फरेन्सिक परिक्षणबाट चारैजनाको शवको पहिचान भएको पुष्टि गरेको हो । यसबारे परिवारलाई जानकारी दिइएको छ । सेनाका अनुसार तेलअभिभस्थित अबु काबिर फरेन्सिक संस्थानले अनुसन्धान पूरा गरेपछि उनीहरूको मृत्युको कारण र अवस्थाबारे अन्तिम निष्कर्ष सार्वजनिक गरिने जनाएको छ ।

‘विपिनको शव पहिचान भएको खबर पाएका छौं,’ दाजु किशोर जोशीले भने, ‘नेपाल कहिले आउँछ भनेर मिति दिएको छैन । आवश्यक प्रक्रिया पूरा भएपछि खबर गर्छौं भनेका छन् ।’

इजरायली सेनाले ‘हमासबाट विपिनको हत्या युद्धको पहिलो महिनामै गाजामा कैद गरिएको अवस्थामा गरिएको’ दाबी गरेको छ । हमासले गाजा पट्टीमा इजरायली हवाई आक्रमणका क्रममा विपिनको मृत्यु भएको दाबी गरेको थियो ।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिनलाई हमासले २०२३ अक्टोबर ७ मा अलुमिम किबुजबाट बन्धक बनाएर लगेको थियो । त्यस दिन हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएका थिए । हमासले बन्धक बनाएर लैजाँदा विपिनको टाउको छोपेर अस्पतालभित्र लगिरहेको भिडियो सार्वजनिक गरिएको थियो । त्यसयता उनका बारेमा कुनै पनि जानकारी सार्वजनिक भएको थिएन् ।

जेन-जीका जायज माग पूरा गर्नैपर्छ : देउवा

काठमाडौँ : कांग्रेस सभापति शेरबहादुर देउवाले जेन-जीले उठाएका जायज माग पूरा हुनुपर्ने बताएका छन् । केन्द्रीय समिति बैठकमा आफ्ना धारणा राख्दै देउवाले जेनजीका मागबारे केन्द्रीय समिति बैठकमा छलफल हुने बताए ।

‘जेनजीले देशमा सुशासन र भ्रस्टाचारमुक्त वातावरण सुनिश्चित हुनुपर्छ, अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनुपर्छ भन्ने जायज मागलाई सम्बोधन गरिनुपर्छ भन्ने मेरो धारणा छ। उहाँहरुको मुलुकप्रतिको चासो र चिन्ताको सम्बोधन गर्नैपर्छ। यस विषयमा पनि यो बैठकमा छलफल हुने नै छ,’ उनले भनेका छन् ।

उनले भदौ २३ र २४ को घटना सुनियोजित र योजनाबद्ध रहेको बाहिर आइरहेका तथ्यहरुले पुष्टि गर्न थालेको दाबी गरेका छन् । साथै उनले यसको यथाशीघ्र थप अध्ययन अनुसन्धान गर्न पनि माग गरेका छन् । ‘यो अनुसन्धान कसैलाई तत्कालिक नाफा घाटाभन्दा पनि मुलुकको सर्वोपरी हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ। देशमा सबै महत्वपूर्ण अंगहरुको मनोबल गिरेको अवस्था छ। यस अवस्थामा हामीले देशका सबै अंग वा निकायको मनोबल उच्च राख्ने काम गर्नुपर्दछ र अदालत, सुरक्षा निकाय लगायत सबै निकायलाई उच्च मनोबल साथ काम गर्न आह्वान पनि गर्नुपर्दछ।

देउवाले २३ गते जेनजीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भएर निर्दोष नवयुवकहरुको ज्यान गएको पनि उल्लेख गरेका छन् । ‘भाद्र २४ गते बिहानैदेखि राष्ट्रपति भवन, सिंहदरवार, संसद भवन, सर्वोच्च अदालत, विभिन्न मन्त्रालयहरु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवन मातहतका अदालत, मालपोत कार्यालय, प्रदेश सरकारका कार्यालयहरु, प्रहरी कार्यालयहरु, स्थानीय पालिका भवनहरु, वडा कार्यालय, जस्ता जनतालाई दैनिक अति आवश्यक सेवा र सुरक्षा प्रदान गर्ने प्रशासनिक, भौतिक तथा ऐतिहासिक संरचनाहरु र राजनैतिक दलका विभिन्न कार्यालयहरु, नेताहरुको नीजि घर डेरा, संचार गृह लगायत व्यवसायिक तथा व्यापारिक प्रतिष्ठानहरुमा आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरियो,’ उनले भनेका छन्, ‘यसबाट अकल्पनीय जनधनको क्षति भयो। सम्भवत: यो नेपालको इतिहासमै एउटा डरलाग्दो दिनको रुपमा लिपिबद्ध हुनेछ।’

उनले नागरिकको जिउधनको सुरक्षा गर्ने जिम्मेवारी बोकेका सुरक्षाकर्मीको हुर्मत लिने, हातहतियार लुट्ने र नागरिकको निजी सम्पतिमाथि तोडफोड लुटपाट र आगजनी गरिएको भन्दै यी दुवै दिनका घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नै पार्टी जनमतले प्रपञ्च रचेको र सरकारमा सहभागी दलहरूले बचन फेरेको आरोप लगाउँदै राजीनामा दिएका छन् । मधेश प्रदेश सभामा मंगलबार विश्वासको  मतका लागि प्रस्ताव पेस गर्नुअघि उनले सभालाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

‘म सत्ता र पदक‍ा लागि होइन, जनताका लागि काम गर्न चाहन्छु । जनताको हित र संविधानको रक्षाका लागि यहाँ उभिएको छु,’ उनले भने, ‘वर्तमान परिस्थितिमा मार्ग प्रशस्त गर्दै म मुख्यमन्त्रीको पदबाट राजीनामा गर्दछु ।’

प्रदेशसभामा अल्पमतमा परेपछि मुख्यमन्त्री सिंहले विश्वासको मत नलिँदै राजीनामा दिएका हुन् । सभामुख रामचन्द्र मण्डलले उनलाई विश्वासको मत नलिएको हुनाले प्रदेश प्रमुखसमक्ष लिखित राजीनामा दिन निर्देशन दिएका छन् ।

नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ को नियम १४३ को उपनियम (४) बमोजिम राजीनामाको घोषणा गरेकाले अब विश्वासको मतको प्रक्रियामा जानु नपर्ने सभामुखले बताए ।

मुख्यमन्त्रीको पदबाट राजीनामा दिन तयार भए पनि पार्टीले आफूलाई बदनाम गराउन प्रपञ्चमाथि प्रपञ्च रचेको पनि उनको आरोप थियो।

‘राजीनामा दिने तयारी गरिरहँदा आफूलाई एक शब्द नसोधी फिर्ता बोलाएको पत्र सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भयो,’ उनले भने, ‘यो तानाशाही प्रवृत्ति नभए के हो ?’ मनपरी, तानाशाही र कानुनको उल्लंघन गर्दै आफूलाई बदनाम गरिएको पनि उनले बताए । ‘मेरो चरित्र हत्या नै गरियो,’ उनले भने । पार्टीले आफूविरुद्ध मिडिया ट्रायल गरेर गलत भाष्य निर्माण गरेको पनि उनको आरोप थियो ।

सरकारमा सहभागी र प्रतिपक्ष दलका सांसदले नै राजीनामा दिने अवस्था नरहेको हुनाले आफूलाई रोकेको उनले दाबी गरे । ‘अहिले तपाईंको राजीनामाले संघीयतामाथि खतरा आउन सक्छ । तपाईं राजीनामा नदिनुस्, नभए सबै जिम्मा तपाईंले लिनु पर्छ,’ मुख्यमन्त्री सिंहले दलका नेताहरूको कुरा उद्धृत गर्दै भने, ‘यस्तो भन्ने दलहरूले नै पछि बोली फेरे । म त छातीमा हात राखेर उक्त कुरा आत्ममन्थन गर्न आग्रह पनि गर्दछु ।’

खोज्नुहोस