चुनावका लागि आयोगलाई ५ अर्बभन्दा कम बजेट दिने अर्थ मन्त्रालयको तयारी

काठमाडौं । अर्थ मन्त्रालयले फागुन २१ गते तय भएको चुनावका लागि निर्वाचन आयोगलाई ५ अर्बभन्दा कम बजेट उपलब्ध गराउने भएको छ।

मन्त्रालयका एक अधिकारीका अनुसार आयोगले ७ अर्ब हाराहारीमा बजेट माग गरेको भए पनि उसलाई ५ अर्बभन्दा कम बजेट दिने गरी मन्त्रालयले तयारी गरेको हो।

अघिल्लो निर्वाचनमा भएको खर्चलाई आधार मानेर मन्त्रालयले बजेट निकासा गर्ने ती अधिकारीले बताए।

फागुन २१ गते प्रतिनिधि सभाको मात्रै निर्वाचन हुने भएकाले पनि मन्त्रालयले अघिल्लो चुनावहरूको तुलनामा कम बजेट निकासा गर्ने भएको हो।

‘निर्वाचन आयोगले ठूलो रकम मागेको छ। अघिल्लो निर्वाचनको अवस्था र अहिले प्रतिनिधि सभाको मात्रै निर्वाचन हुने भएकाले साढे ५ अर्बभन्दा कम बजेट भए पुग्ने हाम्रो अनुमान छ,’ अर्थका ती अधिकारीले भने।

बजेट साढे ४ अर्बभन्दा कम नहुने भने ती अधिकारीले बताएका छन्। अर्थमन्त्री रामेश्वर खनालले यसअघि नै निर्वाचन आयोगका आयुक्तहरूसँगको छलफलमा मितव्ययी भएर खर्च गर्न आग्रह गरेका थिए।

आयोगले निर्वाचन व्यवस्थाका लागि खरिद गर्नुपर्ने सामान र कर्मचारी परिचालनमा हुने खर्च आकलन गरेर बजेट माग गर्छ। सबैभन्दा बढी खर्च निर्वाचनमा खटिने कर्मचारीमा हुने आयोगको ठम्याइ छ। आयोगका अनुसार एउटा मतदान केन्द्रमा कम्तिमा १४ कर्मचारी आवश्यक पर्छ। आयोगले एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र व्यवस्था गर्दै आएको छ। मतगणनाका लागि पनि आयोगले नै कर्मचारी व्यवस्थापन गर्छ।

आयोगले फागुन २१ गते निर्वाचन गराउन हिमाली क्षेत्रमा कठिनाइ हुनसक्ने आकलन गरेको छ। त्यस्ता ठाउँमा मौसम खुलेका बेला कर्मचारी पठाउने गरी हेलिकप्टर व्यवस्था गर्ने आयोगको तयारी छ।

आयोगका एक आयुक्तका अनुसार २०७९ सालको निर्वाचनमा माग गरेको बजेट खर्च नभएपछि ३ अर्ब रूपैयाँ फिर्ता गरिएको थियो।

देशभरका विमानस्थलमा नेपाल टेलिकमको फ्री वाईफाई सेवा सुरु

काठमाडौं– नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशभर सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरूमा फ्री वाईफाई सेवा सुरु गरेको छ ।

टेलिकमले कात्तिक ११ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यो कार्यक्रम शुभारम्भ गरेको हो ।

नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले प्रथम चरणमा विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा इन्टरनेट सेवाको शुभारम्भ गरे ।

टेलिकमका अनुसार उक्त फ्री वाईफाई इन्टरनेट सेवाको कभरेज विमानस्थलको आगमन, प्रस्थान, भीआईपी लाउन्ज तथा प्रतिक्षास्थल लगायतका क्षेत्रहरूमा रहेको छ ।

देशभर सञ्चालनमा रहेका ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल तथा ३४ वटा आन्तरिक विमानस्थलहरूमा सर्वसाधारण यात्रुलक्षित फ्री इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच भएको सम्झौताबमोजिम सो कार्यक्रमको शुभारम्भ गरिएको हो ।

सेवाको कभरेज रहेको स्थानमा एसएसआईडी ‘एनटी-क्यान नि:शुल्क वाइफाइ’ भएको वाईफाईमा कनेक्ट गरेर निर्देशन पूरा गरी नि:शुल्क इन्टरनेट सेवा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन : प्रधानमन्त्री सचिवालय

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले कसैको दबाब वा प्रभावमा गृहमन्त्री ओम प्रकाश अर्याललाई हटाउने निर्णय नहुने जनाएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले गृहमन्त्री अर्याललाई हटाउन प्रधानमन्त्रीलाई दबाब दिएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीको सचिवालयले कसैको दबाब वा प्रभावमा निर्णय नहुने जनाएको हो ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जारी गरेको प्रेस नोटमा लेखिएको छ, ‘कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकार क्षेत्रको विषय हो । कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन ।’

विज्ञप्तिमा गृहमन्त्री अर्याल असामान्य परिस्थितिमा राष्ट्रको गम्भीर जिम्मेवारी वहन गर्दै आगामी निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्ने, शान्ति–सुरक्षा कायम राख्ने र सुरक्षा निकायहरूको मनोबल उच्च राख्ने कार्यमा सक्रिय रहेको श्रेष्ठले जनाएका छन् ।

संवेदनशील परिस्थितिमा अफवाह नफैलाउन र नपत्याउन पनि उनले सम्बन्धित सबै पक्षलाई अनुरोध गरेका छन् ।

शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

काठमाडौँ। ‘मोन्था’ चक्रवातले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले केन्द्रविन्दुलाई बताए । आगामी २४ घण्टा काठमाडौँ उपत्यकाका साथै आसपासका क्षेत्रमा वर्षा हुने जानकारी दिँदै उनले सबै स्थानमा निरन्तर वर्षा भने नहुने बताए ।

आगामी २४ घण्टामा कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा एकदुई भारी हिमपातको सम्भावना रहेको प्रवक्ता पोखरेलले जानकारी दिए ।

विश्वकप लिग-२: युएईविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएईविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

दुबईस्थित आईसीसी एकेडेमीमा घरेलु टोलीविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

सिरिजअन्तर्गत दुवै टोलीले दोस्रो खेल खेल्न लागेका हुन् ।

पहिलो खेलमा दुवै टोली अमेरिकासंग पराजित भएका थिए । नेपाल १०६ रन र युएई ४ विकेटले पराजित भएको थियो ।

मैत्रीपूर्ण फुटबलमा नेपाली महिला टोलीले भारतलाई ट्राइब्रेकरमा ३ गोलले हरायो

काठमाण्डौ – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली महिला टोलीले भारतलाई ट्राइब्रेकरमा हराएको छ । सिक्किमको पाल्जोर रङ्गशालामा हिजो भएको खेलमा नेपाली महिला टोलीले ट्राइब्रेकरमा भारतलाई ३–० गोलले हराएको हो  ।

नेपालकी गोलकिपर अन्जना राना मगरले २ वटा पेनाल्टी रोकेपछि नेपाल विजयी भयो । अन्जनाले भारतको पहिलो पेनाल्टी हातले र तेस्रो पेनाल्टी खुट्टाले रोकिन् । नेपालका लागि कप्तान अनिता बस्नेतबाहेक ३ खेलाडीले गोल गरे । सविता राना मगर, रश्मिकुमारी घिसिङ र अन्तिममा निशा थोकर गोल गरेपछि नेपाल विजयी भयो ।

त्यसअघि निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो । दोस्रो हाफमा दुबै टोली गोल गर्न असफल भएपछि खेलको निर्धारित समय सकिएको थियो । पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा रश्मिले बराबरी गोल गर्दै नेपाललाई खेलमा फर्काइन् । त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा गएको सोमवार नेपालले भारतलाई २–१ अन्तरले हराएको थियो ।

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज युएईसँग खेल्दै

काठमाण्डौ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय श्रृङ्खलामा नेपालले आज युएईसँग खेल्दैछ । खेल आईसीसी एकेडेमी ग्राउण्डमा विहान सवा ११ बजे हुनेछ ।

यसअघि गएको आइतवार नेपाल अमेरिकासँग एक सय ६ रनले पराजित भएको थियो । नेपाल १७ खेलमा १२ अंकसहित सातौँ स्थानमा छ ।

अमेरिका २२ खेलमा ३२ अंकसहित तालिकाको शीर्षस्थानमा छ । १७ खेलमा ६ अंक रहेको युएई पुछारमा छ । नेपाल, अमेरिका र युएईबीच यो श्रृङ्खला चलिरहेको हो ।

बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ४ जना घाइते

बैतडी १३ कात्तिक । मेलौली नगरपालिका-७ स्वाखानीमा जीप दुर्घटना भएको छ । शिवनाथबाट मेलालीतर्फ आइरहेको से१ज ७३२ नम्बरको जीप स्वाखानीमा बुधबार राति राति दुर्घटना भएको हो ।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका मेलाली नगरपालिका–२ की २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बल्देव बडूले बताए ।

अन्य घाइतेहरुलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

जेन–जी र दल पहिलोपटक संवादमा

काठमाडौं १३ कार्तिक । जेन–जी आन्दोलनको डेढ महिनापछि अन्तरिम सरकारको अग्रसरतामा पहिलोपटक राजनीतिक दल र जेन–जीका प्रतिनिधि एउटै टेबलमा बसेका छन् । आसन्न निर्वाचन र आफूलाई प्राप्त म्यान्डेटअनुसार काम गर्ने वातावरण बनाउन प्रधानमन्त्री सुशीला कार्कीले बुधबार बालुवाटारमा बोलाएको बैठकमा राष्ट्रिय मान्यता प्राप्त अधिकांश दलले चुनावमा भाग लिने प्रतिबद्धता जनाएका छन् । एमालेले भने सरकारको वैधता र सुरक्षाको विषय उठाउँदै आनाकानी गरेको छ ।

सरकार, राजनीतिक दल र जेन–जी प्रतिनिधिहरूको त्रिपक्षीय बैठकले २१ फागुनमा तोकिएको प्रतिनिधिसभाको निर्वाचन स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको छ । यद्यपि, बैठकमा चुनावका लागि सरकारले शान्तिसुरक्षा, स्रोत–साधन र जनशक्ति व्यवस्थापनको अनुकूल वातावरण बनाउनुपर्ने, दल र जेन–जीहरूले चुनावपछि बन्ने संसद्ले गर्ने संविधान संशोधन र शासकीय सुधारजस्ता मुख्य कार्यहरू पहिल्यै समझदारीमा टुंग्याउनुपर्ने साथै भ्रष्टाचार नियन्त्रण र सम्पत्ति छानबिनमा सरकार सक्रिय हुनुपर्ने धारणा प्रस्तुत भएका छन् ।

बैठकमा अहिले चुनाव हुने परिस्थिति नै नदेखिएकाले संसद् पुनर्स्थापना गरेर जानुपर्ने धारणा राखेको एमालेलाई प्रधानमन्त्री, गृहमन्त्री, जेन–जी प्रतिनिधि र अन्य दलका प्रतिनिधिले जवाफ दिएका थिए । सहभागीहरूका अनुसार एमाले प्रतिनिधिसँग प्रधानमन्त्री र जेन–जी प्रतिनिधिको वाद–प्रतिवाद नै चलेको थियो । स्रोतका अनुसार बैठकमा एमालेले ‘जुनियर’ नेता पठाएकोमा प्रधानमन्त्री कार्कीको असन्तुष्टि थियो ।

प्रधानमन्त्री कार्कीले संवादले नयाँ विश्वास र सकारात्मक ऊर्जा जगाएको बताएकी छिन् । ‘आज सरकार, राजनीतिक दलहरू र जेन–जी प्रतिनिधिहरूबिच भएको संवादले नयाँ विश्वास र सकारात्मक ऊर्जा जगाएको छ । देशका चुनौतीहरू हामी सबैका साझा हुन्, त्यसैले समाधान पनि साझा प्रयास र निरन्तर संवादबाटै सम्भव हुन्छ । हामी संवादहीनताको अवस्था अन्त्य गर्दै सहकार्य र विश्वासको वातावरण निर्माण गर्न सफल भएका छौँ,’ बैठकपछि प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘नयाँ पुस्ता, राजनीतिक दल र सरकार सबैको लक्ष्य एउटै छ– निष्पक्ष, सुरक्षित र समयमै निर्वाचन सम्पन्न गर्नु । भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिताप्रति हाम्रो साझा प्रतिबद्धता हो । यही आधारमा हामी स्थिरता, जवाफदेहिता र लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्दै अगाडि बढ्छौँ ।’

बुधबार अपराह्न ४ बजेदेखि राति ९ बजेसम्म पाँच घण्टा चलेको छलफलमा चुनाव, सुशासन, भ्रष्टाचार नियन्त्रण, जेन–जी आन्दोलनमा भएको जनधनको क्षतिको अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाउने सन्दर्भमा छलफल भएको सञ्चारमन्त्री जगदीश खरेलले बताए । ‘छलफल असाध्यै उपलब्धिपूर्ण,महत्वपूर्ण र सौहार्दपूर्ण रह्यो । चुनाव, सुशासन, भ्रष्टाचार नियन्त्रण र आन्दोलनमा भएको जनधनको क्षतिको सन्दर्भमा गहन छलफल भएको छ । आन्दोलनले उठाएको म्यान्डेटलाई राज्यले कसरी मान्यता दिएर अगाडि बढाउने भनेर छलफल भयो । सबै दलले चुनावमा जान्नँ भन्नुभएन । सुरक्षा, स्रोत–साधन, जनशक्ति र मौसमको चुनौतीको विषय राख्नुभयो,’ उनले भने, ‘सरकारले चुनाव गराओस्, जे–जस्तो सहयोग गर्नुपर्छ तयार छौँ भन्नुभयो । एमालेले चुनावको वातावरण बन्छ कि बन्दैन, गराउन सक्छ कि सक्दैन भनेर चासो राखेको छ । तर, भागै नलिने भनेको छैन । अधिकांश दलले सरकार अगाडि बढोस्, हामी साथ दिन्छौँ भन्नुभएको छ ।’

मन्त्री खरेलका अनुसार जेन–जी प्रतिनिधिले सुशासन, भ्रष्टाचार नियन्त्रणको कुरा राखेका थिए । अहिलेसम्म भएका गल्तीहरूलाई दलहरूले रियलाइजेसन गर्नुपर्छ भनेर धारणा राखेका थिए । चुनावको पक्षमा आफूलाई राख्दै जेन–जीहरूले भ्रष्टाचार र सुशासनका मुद्दा, शासकीय प्रणालीको विषयमा पनि कुरा उठाएका थिए । ‘दल र जेन–जी पहिलोपटक आमने–सामने भएर मुलुकको बाटो यसरी तय गरौँ भनेर सौहार्दपूर्ण छलफल भयो,’ खरेलले भने ।

छलफलको सुरुवातमा प्रधानमन्त्री कार्कीले देश बनाउन जेन–जी, दल र सरकार मिलेर जानुपर्ने धारणा राखेकी थिइन् । ‘मुलुक हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रेस सल्लाहकार राम रावलले भने, ‘एकपटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ । हामीले सुरुवात गरेका छौँ ।’

छलफलमा जेन–जीका प्रतिनिधिले २१ फागुनको निर्वाचनलाई समर्थन जनाउँदै आफूहरूको मुख्य माग भ्रष्टाचार नियन्त्रण र सुशासनको सुनिश्चितता रहेको दोहोर्‍याएका थिए । ‘चुनाव चाहिएको छ, गर्नुपर्छ । तर, चुनाव चुनाव भनेर मात्र हुँदैन । हाम्रो आन्दोलनको मुख्य माग सुशासन र भ्रष्टाचारविरुद्धको कारबाही हो । यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ,’ जेनजी प्रतिनिधिहरूले भनेका थिए । जेनजीका तर्फबाट रक्षा बम, जेम्स कार्की, दिवाकर दंगाल, पुरुषोत्तम यादव, मिराज ढुंगाना, अमीत खनाल ऊर्जा, रिजन रानामगर, सामना घर्ती, मोनिका निरौला, उपार्जुन चाम्लिङ, खेम साउद, भोजविक्रम थापा (सहिद परिवार प्रतिनिधि), अभिषेक श्रेष्ठ (घाइते प्रतिनिधि), विवेक ढकाल र सागर ढकालले बोलेका थिए ।

सञ्चारमन्त्री खरेलकाअनुसार जेन–जीका प्रतिनिधिले सुशासनको प्रत्याभूति मुख्य माग भएकाले चुनाव सँगसँगै अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका थिए । उनले भने ‘जेन–जी प्रतिनिधिले जसरी आन्दोलन भयो र आन्दोलनमा जे जस्ता माग उठेका छन्, त्यसको सुनुवाइ हुनुपर्छ, मुलुकमा सुशासन हुनुपर्छ, भ्रष्टाचारको अन्त्य हुनुपर्छ भन्नु भएको छ । साथै उहाँहरूले चुनावको समेत समर्थन गर्नुभएको छ । ‘राजनीतिक दलहरूलाई अझै बढी जिम्मेवार बन्नुपर्छ भन्ने कुरा गर्नुभएको छ ।’

बालुवाटारमा जेनजीसहित त्रिपक्षीय वार्ता सुरु

काठमाडौं । सरकार, राजनीतिक दल र जेनजीहरूबीच वार्ता सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

प्रतिनिधि सभा निर्वाचनको वातावरणका लागि सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्तासँग वार्ता गर्न लागेको हो ।

जसलाई सरकारले त्रिपक्षीय वार्ता पनि भनेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलो पटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच संयुक्त बैठक आयोजना भएको जानकारी गराएका छन् ।

यसअघि ४ कात्तिकमा सरकार र राजनीतिक दलहरूबीच छलफल भएको थियो ।

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने गरी सबैपक्ष सकारात्मक भएका थिए ।

यसबीचमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थिए । लामो समयपछिको औपचारिक राजनीतिक संवादले निर्वाचन वातावरण तयार गर्ने अपेक्षा सरकारको छ ।

संसद्का पदाधिकारी र सदस्यको स्वकीय सचिवालयमा दरबन्दी घटाउने सरकारको निर्णय

काठमाडौं । सरकारले संसद्का पदाधिकारी र सदस्यको स्वकीय सचिवालयमा दरबन्दी घटाउने सरकारको निर्णय गरेको छ ।

बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।

उनका अनुसार, संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ हो अनुसूची २ मा हेरफेर गर्ने निर्णय भएको हो ।

‘संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ हो अनुसूची २ मा हेरफेर गर्ने निर्णय भएको छ,’ मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै उनले भने, ‘स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय भएको हो ।’

त्यस्तै, सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने निर्णय पनि गरेको छ ।

अशोक दर्जी अभिनित ‘मनबिनाको धन’को ट्रेलर सार्वजनिक

काठमाडौं । बालगायक अशोक दर्जीको जीवन कथामा आधारित फिल्म ‘मनबिनाको धन’को मर्मस्पर्शी ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । सडकको किनारमा गीत गाउने सानो बालक, हातमा पुरानो माइकको सपना र आँखाभरि भविष्यको खोजी, यही कथा अब पर्दामा आउँदैछ ।

साँच्चै भन्नुपर्दा, यो केवल एउटा फिल्म होइन, बालगायक अशोक दर्जीको जीवन–यात्रा हो जो कहिल्यै हराइरहेको आवाजबाट देशको हृदयभित्र गुञ्जिन पुगेको छ ।

३ मिनेट १३ सेकेन्ड लामो ‘मनबिनाको धन’ को ट्रेलरले दर्शकको मन छोएको छ । ट्रेलरको सुरुमा सडकमा गीत गाउँदै बटुवासँग पैसा माग्ने सानो बालकको दृश्य देखाइएको छ । त्यसपछि कथा मोडिन्छ एउटा मनकारी व्यक्ति उनलाई हात थाम्छ, पढ्न सिकाउँछ र गायनको बाटोमा अघि बढ्न प्रेरित गर्छ । उनको गायन करिअरलाई पनि मलजल गर्छन् । समयको क्रममा उनले करिअरसँगै सांगीतिक सफलता पाउँछन् ।

यसबाहेक, काठमाडौंमा बसोबास गर्ने भुइँमान्छे र मध्यमवर्गीय पात्रको संघर्ष, सपना र पैसाका लागि विदेशिन बाध्य हुने पात्रको यथार्थ पनि देखाइएको छ ।

चर्चित संगीतकार समेत रहेका टङ्क बुढाथोकीको यो डेब्यू निर्देशकीय फिचर हो । उनकै कथा र संगीत निर्देशन समेत रहेको यो फिल्मको ट्रेलर कथावस्तुबारे संक्षिप्तरुपमा प्रकाश पारेको छ ।

अशोक दर्जीले आफूलाई सडकको संघर्षबाट उठाएर ‘हिरो’ बनाउने अवसर प्रदान गर्ने सम्पूर्ण दर्शक, समर्थक र शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरे। “आज म जहाँ छु, यो सबै दाइ टंक बुढाथोकिको माया र सहयोगकै कारण सम्भव भएको हो” भावुक हुँदै उनले भने ।

फिल्ममा सरोज खनाल, नीता ढुंगाना, बुद्धि तामाङ, सन्तोष पन्त, भोलाराज सापकोटा लगायतको अभिनय छ । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् । निर्माताले फिल्मलाई ‘हिरोदेखि जिरोसम्मको कथा’ भएको बताएका छन् ।

‘मनबिनाको धन’ फिल्म २१ कात्तिकदेखि प्रदर्शनको तयारीमा रहेको छ ।

राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदिश खरेलका अनुसार, माघ ११ गते आइतबार निर्वाचनको मिति तोक्ने निर्णय भएको जानकारी गराए ।

बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

२०७६ सालको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुनबाट सकिनेछ । १९ जना मध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । बाँकी १८ पदका लागि निर्वाचन हुनेछ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनमा पद रिक्त हुनु भन्दा ३५ दिन अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ । २० फागुनमा राष्ट्रिय सभा सदस्यको पदावधि सकिन्छ । त्यसको ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

डोटीमा एक शिक्षिका मृत फेला, शिक्षा अधिकृत पक्राउ

धनगढी । डोटीमा एक शिक्षिका मृत फेला परेकी छन् । सो घटनापछि शिक्षा अधिकृत पक्राउ परेका छन्।

प्रहरीका अनुसार पूर्वीचौकी गाउँपालिका–१ की २७ वर्षीया शिक्षिका जानकी खड्का घर नजिकै झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्।

शिक्षिका खड्का बाजुराको बुढीगंगा नगरपालिका–५ स्थित भानोदय माध्यमिक विद्यालयमा कार्यरत थिइन्। उनले यसअघि धनगढीको डिस्कभरी स्कुलमा अध्यापन गर्दै शिक्षक सेवा आयोगमार्फत स्थायी नियुक्ति प्राप्त गरेकी थिइन्।

घटनापछि प्रहरीले घटनासँग सम्बन्धित भन्दै शिक्षा समन्वय इकाई डोटीमा कार्यरत शिक्षा अधिकृत गणेश रावललाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका रावलमाथि आत्महत्या दुरुत्साहनको अभियोगमा अनुसन्धान अघि बढाइएको छ।

घटनास्थलबाट रावलका नाममा लेखिएको सुसाइड नोट फेला परेपछि प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ। मृतक खड्काको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ।

प्रहरीका अनुसार मृतक खड्का अविवाहित थिइन्। पक्राउ परेका रावल विवाहित जीवनपछि सम्बन्ध विच्छेद  गरेर बसेका थिए। घटनाको प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीले जानकारी दिए।

मंसिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा

काठमाडौं :  राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्।  बुधबार मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले मंसिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने बताएका हुन्।

उनले आन्दोलनबारे मानव अधिकार आयोगलाई समेत जानकारी गराएको बताए। आन्दोलनका क्रममा कसैले बन्द उल्लंघन गरे, तोडफोड वा आगजनी भए त्यसको जिम्मेवारी अभियानले नलिने उनको भनाइ छ।

उनले आन्दोलन शान्तिपूर्वक हुने दावी गरे।

जेन–जी आन्दोलनको क्रममा क्षति भएका मन्त्रालय सार्दै सुदूरपश्चिम प्रदेश सरकार

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका मन्त्रालय सार्ने भएको छ ।

प्रदेशका दुई मन्त्रालयमा काम नै नलाग्ने गरी क्षति पुगेपछि अन्य भवनमा सार्न थालिएको हो । प्रदेश सरकारका अनुसार आर्थिक मामिला मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय अर्को भवनमा सार्ने काम सुरु भइसकेको छ ।

‘आर्थिक मामिला मन्त्रालयको भवन पुनः प्रयोग गर्न सकिने अवस्थामै छैन,’ मन्त्रालयका उपसचिव धनबहादुर रोकायाले भने, ‘भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयको भवनमा सार्न लागिएको छ ।’ उपसचिव रोकायाले भूमिगतको भवनमा व्यवस्थापनको काम सुरु भइसकेको बताउँदै एक सातापछि सोही भवनबाट सेवा सुचारु हुने जानकारी दिए ।

भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयको भवन भर्खरै निर्माण गरिएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालय पनि सार्न थालिएको छ । सोही मन्त्रालयअन्तर्गतको मोहना सिँचाइ आयोजनाको कार्यालयमा मन्त्रालय सार्ने काम सुरु गरिएको मन्त्रालयका उपसचिव मेखराज जैशीले बताए । उक्त भवन पनि हालै निर्माण सम्पन्न गरिएको हो ।

२४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा प्रदेश सरकारको ५० करोड बढीको क्षति भएको छ । सवारीसाधन र जिन्सी सामग्री मात्रै ५० करोड ६३ लाखको क्षति भएको हो भने भवनको क्षति विवरण प्रदेश सरकारले सार्वजनिक गरेको छैन । आन्दोलनका क्रममा ६६ वटा चारपाङ्ग्रे सवारीसाधान र १०० वटा दुईपाङग्रे सवारीसाधन जलाइएको छ । भवनबाहेक सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयमा भएको छ । उक्त मन्त्रलयको १० करोड ५७ लाख ४६ हजार रुपैयाँको क्षति भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ९ करोड ७४ लाख रुपैयाँ, प्रदेशसभा सचिवालयमा ६ करोड ९३ लाख २१ हजार रुपैयाँ, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको ५ करोड रुपैयाँ, सामाजिक विकास मन्त्रालयमा ४ करोड २५ लाख ६७ हजार रुपैयाँ, आर्थिक मामिला मन्त्रालयमा ३ करोड ७५ लाख ९४ हजार रुपैयाँ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ३ करोड ५५ लाख रुपैयाँ, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा ३ करोड ३० लाख रुपैयाँ क्षति भएको छ ।

मुख्य न्याधीवक्ताको कार्यालयको १ करोड ७० लाख रुपैयाँ, प्रदेश प्रशिक्षण प्रतिष्ठानको १ करोड २५ लाख रुपैयाँ, प्रदेश लोकसेवा आयोगको ३१ लाख ९६ हजार रुपैयाँ र प्रदेश नीति तथा योजना आयोगको २५ लाख रुपैयाँ क्षति भएको प्रदेश सरकारले जनाएको छ ।

केपी ओलीका सामू लम्पसार पर्न तयार हुनेहरू गए हुन्छ : माधव नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकताको कुरा गर्ने नेताहरूलाई संकेत गर्दै पार्टी छोडेर जान चुनौती दिएका छन् ।

बुधबार पार्टी केन्द्रीय समितिको बैठकमा उनले एमालेविरुद्ध विद्रोहको औचित्य थिएन भन्‍ने नेताहरूलाई केपी ओलीका सामू लम्पसार तयार भएको टिप्पणी गरेका हुन् ।

पार्टीभित्र सम्मानित नेता झलनाथ खनाललगायतका नेताहरूले एमालेसँगको विद्रोहको औचित्य अझै पुष्टि हुन नसककेको भन्दै प्रश्न उठाइरहेका थिए ।

‘एमाले विरुद्ध विद्रोहको औचित्य छैन भन्‍ने कुरामा  कुनै दम छैन । हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ । विद्रोहको औचित्य थिएन भन्नु केपी ओलीको पछि लम्पसार पर्नु बाहेक केही होइन।’  उनले भने ।

उनले एकीकृत समाजवादी पार्टी खोलेर कुनै गल्ती नगरेको बताए ।  ‘चुनौती आइरह्नछन्। ती चुनौतीको सामना गर्नुपर्छ। हामीले चुनौतीको समाना गरेका थियौं।’ उनले भने ।

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सुरु

नेकपा एकीकृत समाजवादी (एस)को केन्द्रीय समितिको बैठक सुरु भएको छ । सुकेधारास्थित मिराकल पार्टी भेनुमा बैठक सुरु भएको हो ।

एसको केन्द्रीय कमिटी बैठकले वामपन्थी पार्टीसँग एकताको विषयमा छलफल गर्ने बताइएको छ । नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने एसको तयारी रहेको छ ।

सोही कारण अहिले एसभित्र एकताको पक्ष र विपक्षमा दुईधार देखिएको छ । आजको बैठकमा नेताहरू त्यसरी विभाजित हुने नेताहरूले बताएका छन् । अध्यक्ष माधवकुमार नेपाल एकताको पक्षमा भए पनि सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायतका नेताहरू एकताको पक्षमा खुलिसकेका छैनन् ।

बैठक १४ कात्तिकसम्म चल्नेछ ।

प्रतिनिधिसभा विघटन विरुद्धको सुनुवाइमा न्यायाधीशहरूको आग्रह : अन्तरिम आदेशबारे बहस केन्द्रित गर्नुहोस्

काठमाडौं । संवैधानिक इजलासमा रहेका न्यायाधीशहरूले प्रतिनिधिसभा विघटन विरुद्धको सुनुवाइ मा अन्तरिम आदेशबारे बहस केन्द्रित आग्रह गरेका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ। अधिवक्ता प्रेमराज सिलवाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले बहस गरिसकेका छन् ।

बहसका क्रममा न्यायाधीशहरूले कानुन व्यावसायीहरूलाई अन्तरिम आदेशबारे बहस केन्द्रित गर्न भनेका हुन् ।

न्यायाधीश कुमार रेग्मीले भनेका छन्, ‘अन्तरिम आदेशमा निर्वाचन पनि नगर भन्ने ? त्यसो हो भने सबै ठप्प हुने भयो । ठप्प भएर मुलुक चल्छ ?’

न्यायाधीश सपना प्रधान मल्लले इजलासबाट सोधिकी छन्, ‘अन्तरिम आदेश जारी हुन पर्ने कि नपर्ने ? पर्ने भए के-के विषयमा अन्तरिम आदेश दिने ?’

अरू न्यायाधीशहरुले पनि यही प्रश्न गरेका छन् ।

संवैधानिक इजलासबाट बारम्बार अन्तरिम आदेशबारे बहस केन्द्रित गर्न भनिएको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका छन् ।

जेन-जी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेश सरकारको ५० करोड बढी क्षति

कैलाली- जेन-जी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गतका मन्त्रालय तथा कार्यालयहरूमा भवनबाहेक सवारीसाधन र जिन्सी सामग्री मात्र ५० करोड बढीको क्षति मूल्यांकन गरिएको छ ।

सात वटा मन्त्रालय रहेको सुदूरपश्चिममा आर्थिक मामिला मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय रहेका भवनहरू प्राविधिक रूपमा मर्मतसमेत गर्न अयोग्य भनिएपछि ती मन्त्रालयहरू अर्को भवन खोजेर सार्ने क्रममा छन् ।

प्रदेश सरकारले संकलन गरेको तथ्यांक अनुसार ६६ वटा चार पाङ्ग्रे सवारीसाधन र एक सय वटा दुई पांग्रे सवारीसाधन क्षति भएको उल्लेख छ । सवारीसाधन र जिन्सी सामग्रीमा भएको क्षतिको प्रारम्भिक मूल्यांकन प्रतिवेदन अनुसार ५० करोड ६३ लाख २४ हजार क्षति आकलन गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । ‘भवनहरूमा भएको क्षति यसमा संलग्न गरिएको छैन,’ मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले भने ‘आर्थिक र भौतिक मन्त्रालयको भवनमा बस्नै नसकिने गरी क्षति भएकाले ती मन्त्रालय अन्य भवनमा सार्ने तयारी भइरहेको छ ।’

प्रतिवेदन अनुसार सबैभन्दा बढी क्षति भौतिक पूर्वाधार विकास मन्त्रालयको भएको छ । उक्त मन्त्रालयमा भवनबाहेक १० करोड ५७ लाख ४६ हजार अनुमान गरिएको छ । भौतिक मन्त्रालयमा सवारीसाधनमा क्षति पनि सबैभन्दा धेरे भएको छ ।

१४ वटा चार पांग्रे र २० वटा २ पांग्रे सवारीसाधनमा आगजनी गरिएको मन्त्रालयको तथ्यांक छ । दोस्रोमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको क्षति भएको छ । उक्त कार्यालयको क्षति ९ करोड ७४ लाख रहेको उल्लेख छ ।

क्षति बढी हुने तेस्रो कार्यालय प्रदेश सभा सचिवालय हो । प्रदेश सभा सचिवालयमा भवनबाहेक ६ करोड ९३ लाख २१ क्षति भएको तथ्यांक छ । यस्तै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको ५ करोड, सामाजिक विकास मन्त्रालयमा ४ करोड २५ लाख ६७ हजार, आर्थिक मामिला मन्त्रालयमा ३ करोड ७५ लाख ९४ हजार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ३ करोड ५५ लाख, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा ३ करोड ३० लाख क्षति भएको छ ।

मन्त्रालयबाहेक मुख्य न्यायाधिवक्ता कार्यालय, प्रदेश नीति तथा योजना आयोग, प्रदेश लोकसेवा आयोग र प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सवारीसाधन र जिन्सी सामानमा पनि आगजनी भएको छ । मुख्य महान्यायाधिवक्ता कार्यालयमा एक करोड ७० लाख, प्रदेश प्रशिक्षण प्रतिष्ठानको एक करोड २५ लाख, प्रदेश लोक सेवा आयोगको ३१ लाख ९६ हजार र प्रदेश नीति तथा योजना आयोगको २५ लाख क्षति भएको तथ्यांक छ ।

मन्त्रालयको भवन पुनः प्रयोग गर्न नमिल्ने गरी आगजनी गरिएपछि भौतिक पूर्वाधार मन्त्रालय सोही मन्त्रालय अन्तर्गतको मोहना सिँचाइ आयोजनाको कार्यालयका लागि हालै निर्माण सम्पन्न गरिएको भवनमा सार्ने काम सुरु गरिएको छ । मन्त्रालयका कर्मचारीहरूका अनुसार मंगलबारदेखि पुरानो भवनमा बचेका कागजात सार्ने र नयाँ फर्निचर सेटअप गर्ने काम सुरु भएको मन्त्रालयका उपसचिव मेखराज जैशीले बताए ।

आर्थिक मामिला मन्त्रालयको भवन समेत पुनः प्रयोग गर्न नमिल्ने भएपछि भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको हालै निर्मित भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयको भवनमा सार्न लागिएको छ । ‘भवन मात्र तयार भएको थियो । आन्तरिक कामहरू तयार गरेर हाम्रो मन्त्रालय सार्ने काम सुरु भएको छ,’ मन्त्रालयका अधिकृत सुरज श्रेष्ठले भने ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन, भूमि व्यवस्था कृषि तथा सहकारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा भने पुरानै भवनमा मर्मत कार्य भइरहेको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको भवनमा तोडफोड मात्र भएको थियो ।

मंगलबारसम्म कुनै पनि मन्त्रालयका कर्मचारीहरू लयमा फर्किसकेका छैनन् । सबै कर्मचारीहरू हाजिर भए पनि पूर्वाधार अभावले काम गर्ने वातावरण भने नबनेको सम्बन्धित मन्त्रालयका कर्मचारीहरू बताउँछन् । ‘मन्त्रालय मातहतका जिल्ला कार्यालयहरूबाट काम भइरहेको छ, मन्त्रालयहरूमा अझै काम गर्ने वातावरण तयार भएको छैन,’ मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले भने ।

कात्तिक २२ भित्र प्रतिनिधिसभा समानुपातिक उम्मेदवार आह्वान गर्ने रास्वपाको निर्णय

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको आगामी फागुन २१ का लागि तोकिएको निर्वाचनका लागि उम्मेदवारी आह्वान गर्ने निर्णय गरेको छ । रास्वपा सचिवालयको बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवारी आह्वान गर्ने निर्णय गरेको हो ।

रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार कात्तिक २२ गतेभित्र समानुपातिकतर्फको उम्मेदवारी आह्वान गर्ने निर्णय भएको छ । ‘आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन केन्द्रित तयारीहरूको क्रममा समानुपातिकतर्फको उम्मेदवारी आह्वान गर्नका लागि आवश्यक दस्तावेजहरूबारे छलफल गरियो,’ रास्वपा सचिवालयको निर्णय छ, ‘२०८२ कात्तिक २२ भित्र समानुपातिक तर्फको उम्मेदवारी आह्वान गर्ने निर्णय गरियो ।’

त्यस्तै, प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली संकलनका लागि सहजीकरण अभियान संचालन गर्ने पनि रास्वपाको निर्णय छ । ‘निर्वाचन आयोगले मतदाता नामावली दर्ताको लागि यहि कात्तिक मसान्तसम्मको लागि समयसीमा तोकेको र देशभर धेरै नवयुवा लगाएत नागरिकहरूको मतदाता नामावलीमा दर्ता नभएको अवस्थालाई ध्यानमा राख्दै मतदाता नामावली दर्ताको लागि नवयुवा एवं आम नागरिकलाई सहजीकरण गर्नका लागि पार्टी संयन्त्र रहेको हरेक वडा, पालिका, निर्वाचन क्षेत्र र जिल्ला तहमा मतदाता नामावली दर्ता सहजीकरण अभियान यही कात्तिक ११ देखि २५ सम्म संचालन गर्ने निर्णय गरियो,’ रास्वपाको निर्णय छ ।

रास्वपाले जेन-जी आन्दोलनपछिको परिस्थितिको विषयमा कात्तिक १४ मा बृहत राजनीतिक संवाद कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ । ‘आम नेपाली जनताले आशा अपेक्षा राखेका नयाँ राजनीतिक शक्तिहरू, स्वतन्त्र विचारक एवं अभियन्ता र नवयुवा पुस्ताका प्रतिनिधिहरूबीच सार्थक सहकार्य नहुँदा पश्चगमनको ढोका खोलिने अप्रिय सम्भावनाको यथार्थवोध गर्दै विविध राजनीतिक विकल्पबारे खुला छलफलका लागि यहि कात्तिक १४ गते “बृहत् राजनीतिक संवाद” आयोजना गर्ने निर्णय गरिएको छ,’ रास्वपाले भनेको छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा बहस सुरु

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ ।

सुरुमा अधिवक्ता प्रेमराज सिलवालले बहस सुरु गरेका छन् ।

प्रतिनिधि सभा विघटन विरुद्धको रिटमाथि सुनुवाई गर्न संवैधानिक इजलास गठन भएको छ । इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधिशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका छन् ।

अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत २७ भदौमा प्रतिनिधि सभना विघटन गरेका थिए । त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरूमाथि आजबाट संवैधानिक इजलासमा सुनुवाई सुरु भएको हो ।

गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए । त्यसपछि प्रतिनिधिसभाबाट सरकार बन्ने अवस्था बनेन । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । सोही अन्तरिम सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन भएको हो ।

सरकार गठन र प्रतिनिधिसभा विघटन दुवै संविधानसम्मत नरहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । ति रिटहरूमाथि आजबाट सुनुवाई सुरु भएको हो ।

प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा मुद्दामा बहसकर्तालाई ५/५ मिनेट समय दिइएको छ । संवैधानिक इजलासमा बहसकर्तालाई समय व्यवस्थापन गर्नका लागि समय तय गरिएको हो ।

प्रतिनिधि सभा विघटनविरुद्ध युवराज पौडेल, अधिवक्ता किर्तीनाथ शर्मा पौडेल, आयुष बडाल, मकबुल मियाँ, अधिवक्ता खडकबहादुर शाह, डम्बर प्रसाद शिवाकोटी, अधिवक्ता दल बहादुर धामी, अधिवक्ता प्रकाश भूजेल, अधिवक्ता बिपिन ढकालले रिट दिएका छन् ।

आयुष भण्डारी, अधिवक्ता आभाष पोखरेल, ओम प्रकाशजङ्ग शाह, अधिवक्ता विमल पोखरेल, अधिवक्ता डा पुण्यप्रसाद खतिवडा र अधिवक्ता शेरबहादुर रोकायाले अन्तरिम सरकार गठन र प्रतिनlिधसभा विघटन संविधानसम्मत नरहेको दाबी गर्दै रिट निवेदन दिएका हुन् ।

नेकपा एसका ५२६ जनाले गरे पार्टी पुनर्गठनको माग, झाँक्रीको समर्थन

काठमाडौं । एकीकृत (समाजवादी)को विभिन्न संगठनमा आबद्ध ५२६ जना पार्टी पुनर्गठनको माग गरेका छन्। माओवादी केन्द्रसँग एकताको प्रयास भइरहेको बेलामा संयुक्त अपिल जारी गर्दै अन्य दलसँगको गठजोडको बहस छाडेर पार्टी पुनर्गठनमा गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन्।

अपिलमा भनिएको छ, ‘अन्य दलसँगको गठजोडको अनावश्यक बहसमा समय गुजार्नेतिर लाग्नुको बदला नेकपा (एस) भित्र यथाशक्य नेतृत्व सम्मानजनक अभिभावकको भूमिका निर्वाह गरी पुस्तान्तरण र हस्तान्तरणको कार्ययोजनासहित आम नागरिक र विशेषतः जेनजी पुस्तालाई उनीहरूले उठान गरेका विषयलाई संगठित रूपमा पुरा गर्न हाम्रो पार्टीको झन्डामुनि गोलवन्द भएर सम्भव छ भन्ने विश्वास दिलाउँदै अगाडी बढ्नु पर्दछ ।’

यो प्रस्तावलाई स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पनि समर्थन गरेकी छन्। समयको माग अनुसार पार्टीमा जेनजी पुस्ता अगाडि आउनुपर्ने उनको भनाइ छ।

उनले भनेकी छन्, ‘यो मात्र पुस्ता हो, न वर्ग हो, न जातजाति हो, न त यो विचार धारा हो, न भूगोल वा क्षेत्र हो। यो त मात्र एउटा निश्चित समयमा जन्मेका मान्छेहरूको समूह मात्र हो। त्यसैले यसलाई राजनीति र विचारधारात्मक रूपमा दीक्षित गर्दै संगठित गर्नुपर्छ।’

जेनजी पुस्तालाई राजनीति र विचारले परिपक्व बनाएर देशको नेतृत्व गर्न सक्ने बनाउनुपर्ने उनको भनाइ छ।

‘राजनीतिक दलका युवा विद्यार्थी सङ्गठनहरू समाजमा प्रभावहीन भएकै कारण यो पुस्ताले स्पेस लिएका हुन, सङ्घर्ष सुरु गरेको हो। विचार र राजनीतिमा संगठित नभएकै कारण त्यो विद्रोह अरूले हाईज्याक गरे। तपाईँहरूको प्रयास ठिक छ’ उनले भनेकी छन्, ‘मिल्नेहरू जोडिँदै जान्छन, नमिल्नेहरू छोडिँदै जान्छन, यो अभियान हो । आत्तिनु पर्दैन। अगाडी बढ्नुस् मेरो सधैँ साथ र धेरै शुभकामना छ।’

त्यसो त हालै बसेको स्थायी कमिटी बैठकमा महासचिव घनश्याम भुसालसहित नेताहरू जीवनराम श्रेष्ठ, डा.विजय पौडेल, रामकुमारी झाँक्रीलगायत नेताहरूले अध्यक्ष माधव नेपालको राजीनामा मागेका थिए। आजबाट सुरु हुन लागेको केन्द्रीय कमिटी बैठकमा पनि यो विषयले प्रवेश पाउने नेताहरूले बताएका छन्।

नेपाल-भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

काठ्माण्डौँ- नेपाल र भारतको महिला फूटबल टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल बुधबार हुने भएको छ । यसअघि, एन्फाले उक्त खेल बिहीबार खेलिने बताएको थियो ।

नेपाल र भारतबीचको दोस्रो खेल सिक्किममा खेलिने छ । यसअघि, नेपाली टोलीले भारतमै त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो ।

मेघालयको सिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा खेलिएको त्रिदेशीय खेलमा इरान च्याम्पियन बनेको थियो ।

नेपाली टोली पहिलो खेलमा इरानसँग ०–३ गोलले पराजित भएको थियो ।

अर्को खेलमा इरानले भारतलाई २–० गोलले हराएको थियो । तेस्रो खेलमा नेपाली टोलीले चिरप्रतिद्वन्द्वी भारतलाई २–१ गोलले हराएको थियो ।

उक्त खेलमा नेपाली टोलीका लागि दुवै गोल सावित्रा भण्डारी ‘साम्बा’ले गरेकी थिइन् । त्रिदेशीय खेल फिफा विन्डोअन्तर्गत खेलिएको थियो । तर, बुधबार हुने नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल भने फिफा विन्डोमा परेको छैन ।

संसद् विघटनको मुद्दा हेर्न संवैधानिक इजलास गठन

काठमाडौं । प्रतिनिधि सभा विघटनको मुद्दा हेर्न हेर्न संवैधानिक इजलास गठन भएको छ ।

इजलसामा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधिशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका छन् ।

सरकार, दल र जेनजीबीच पहिलो पटक वार्ता हुँदै

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको वातावरणका लागि सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्तासँग वार्ता गर्ने भएको छ ।

छलफलका लागि सरकारले आज (बुधबार) त्रिपक्षीय बैठक आयोजना गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे हुने बैठकका लागि सरकारले राजनीतिक दल र जेनजी समूहलाई आमन्त्रण गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलो पटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच संयुक्त बैठक आयोजना गरिएको बताए ।

उनले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षहरूसँग चरणबद्ध वार्ता र छलफल भइरहेको जानकारी दिए । यसअघि ४ कात्तिकमा सरकार र राजनीतिक दलहरूबीच छलफल भएको थियो ।

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने गरी सबैपक्ष सकारात्मक भएका थिए ।

यसबीचमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थिए । लामो समयपछिको औपचारिक राजनीतिक संवादले निर्वाचन वातावरण तयार गर्ने अपेक्षा सरकारको छ ।

नेपालको नविकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई मन्त्री घिसिङको आह्वान

नयाँ दिल्ली। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत एवम् सौर्य जस्ता नविकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।

नेपालको स्वच्छ ऊर्जाको यात्रा नयाँ युगतर्फ प्रवेश गर्ने महत्वपूर्ण मोडमा पुगेको उल्लेख गर्दै मन्त्री घिसिङले आह्वान गरे, ‘जलविद्युतको अपार सम्भावना, बढ्दो सौर्य ऊर्जा क्षमता र विस्तार हुँदै गएको अन्तरदेशीय प्रसारण लाइन तथा ऊर्जा सम्बन्धकासाथ हामीसँग क्षेत्रलाई दिगो रूपमा ऊर्जायुक्त बनाउन सक्ने सम्भावना छ, म हाम्रा मित्र राष्ट्रहरू र साझेदारहरूलाई निम्तो दिन्छु—नेपालमा लगानी गर्नुहोस्, नवीकरणीय ऊर्जामा लगानी गर्नुहोस् र सबैका लागि उज्यालो र हरित भविष्यको हिस्सा बन्नुहोस् ।’

बृहत् स्तरको स्वच्छ ऊर्जा रुपान्तरणका लागि क्षेत्रीय तथा विश्व अन्तरआवद्धताको परिकल्पना (Envisioning Regional and Global Interconnections for Large-Scale Clean Energy Transition) बारे सभाको विषयगत सत्रमा विशाल ऊर्जा सम्भावनाको दिगो विकास र त्रिपक्षीय विद्युत् व्यापार (नेपाल–भारत–बङ्गलादेश) का लागि मार्गचित्र विषयमा मुख्य/विशेष वक्ताको रुपमा मङ्गलबार सम्बोधन गर्दै मन्त्री घिसिङले नेपालको जलविद्युत दक्षिण एशियाकै स्वच्छ ऊर्जा रुपान्तरणको रणनीतिक सक्षमकर्ता स्रोतको रुपमा रहेको बताए । नेपालको जलविद्युत यस क्षेत्रको लचिलो तथा स्थिर ग्रिडका लागि महत्वपूर्ण स्रोत रहेको उनले उल्लेख गरे ।

जलविद्युत उत्पादन देशको विकासलाई मात्र नभई दक्षिण एशियाकै स्वच्छ तथा हरित ऊर्जा प्रमुख निर्यातकर्ता बन्ने नेपालको भिजन रहेको उल्लेख गर्दै घिसिङले सन् २०३५ सम्ममा १५ हजार मेगावाट नविकरणीय ऊर्जा निर्यातको लक्ष्यसहित नेपाल र भारतले संयुक्त रुपमा उच्च क्षमताका प्रसारण लाइन पूर्वाधार पहिचान गरी निर्माणका काम भइरहेको बताए ।

झण्डै ८३ हजार मेगावाट जलविद्युत् सम्भावना र करिब ४२ हजार मेगावाट पम्प स्टोरेज जलविद्युत सम्भावनाले सम्पन्न ऊर्जाका स्रोत स्वच्छ, नवीकरणीय र नेपालका छिमेकी देशहरूको सौर्य तथा वायु ऊर्जासँग उत्कृष्ट रूपमा परिपूरक रहेको उनले उल्लेख गरे ।

उनले क्षेत्रीय र विश्वव्यापी रुपमा ग्रिड विकसित हुँदै जाँदा अन्तरआवद्ध प्रसारण सञ्जालले विभिन्न क्षेत्रहरूबीच नविकरणीय ऊर्जा प्रवाह सम्भव बनाउँदै विद्युत माग र आपूर्तिको सन्तुलन कायम गर्ने, लागत घटाउने र पहुँच विस्तार गर्ने बताए ।

‘यो दृष्टि एक सूर्य, एक विश्व, एक ग्रिड अवधारणासँग पूर्ण रूपमा मेल खान्छ, जहाँ स्वच्छ ऊर्जा सीमाना नाघेर सहज र दिगो रूपमा प्रवाहित हुन्छ, यस दृष्टिलाई वास्तविकता बदल्न क्षेत्रीय देशहरूले एकीकृत विद्यु्त बजारतर्फ अघि बढ्नुपर्छ,’ उनले भने ।

‘सहज, भेदभावरहित र अप्रतिबन्धित हरित ऊर्जाको प्रवाह सुनिश्चित गर्छ, यसका लागि पारदर्शी नियमन, मापदण्डहरूको एकरुपता र प्रसारण पूर्वाधारमा खुला पहुँच विस्तार जस्ता कुरा निजी लगानी आकर्षित गर्न र दीर्घकालीन दिगोपन सुनिश्चित गर्ने मुख्य तत्वहरू हुनेछन् ।’

सीमापार ऊर्जा सहकार्य नेपालको स्वच्छ ऊर्जाभिजनको मुटुमा रहेको उल्लेख गर्दै घिसिङले विद्युतको प्रभावकारी क्षेत्रीय एकीकरण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक) मा आवद्ध मुलुकहरुबीचको पूर्ण आवद्ध ग्रिडको जग बसाल्न नेपाल–भारत मात्र होइन, भारत–बङ्गलादेशबीचको प्रसारण पूर्वाधार पनि सुदृढ गर्न अत्यावश्यक रहेकोमा जोड दिए ।

उनले जलवायु परिवर्तनका विद्युत प्रणाली र जीविकोपार्जनमा परिरहेको गम्भीर क्षतिलाई सम्बोधन र न्यूनीकरण गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यलाई अझै सुदृढ बनाउन आह्वान गरे ।

मन्त्री घिसिङले भने, ‘दिगोपनको अर्को महत्वपूर्ण पक्ष भनेको जलवायु परिवर्तनका बढ्दो प्रभावसँग जुध्न हाम्रो ऊर्जा पूर्वाधारको सहनशीलता हो, यद्यपि नेपालको कार्वन उत्सर्जनमा योगदान नगन्य छ, बारम्बार बढ्दै जाने बाढी र खडेरीका घटनाले हाम्रो विद्युत् प्रणाली र जीविकोपार्जनमा गम्भीर क्षति पुर्याइरहेका छन्, जसका कारण प्रायः ठूला पुनर्निर्माण आवश्यक पर्दछ, त्यसैले जलवायुप्रतिरोधी पूर्वाधारलाई सुदृढ बनाउनु हाम्रो राष्ट्रिय प्राथमिकता हो, र हामी यी जलवायुजन्य क्षतिहरूलाई सम्बोधन र न्यूनीकरण गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यलाई अझ सुदृढ बनाउन आह्वान गर्दछौं ।’

बंगालको खाडीको ‘मोन्था चक्रवात’ दुई दिनभित्र नेपाल प्रवेश गर्दै

काठमाडौँ। बंगाललको खाडीमा विकसित भएको ‘मोन्था’ नामक सामुद्रिक चक्रवात आगामी दुई दिनभित्र नेपाल प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। चक्रवातको प्रभावले विशेषगरी कोशी र मधेस प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको भन्दै विभागले सतर्क रहन आग्रह गरेको छ।

हाल भारतको विशाखपटनम क्षेत्रमा रहेको यो चक्रवात क्रमशः भारतको भू–भाग हुँदै नेपालतिर प्रवेश गर्ने क्रममा रहेको जल तथा मौसम विभागका बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिएका छन्।

खोज्नुहोस