विश्वकप लिग-२: कप्तान रोहितको शतकमा नेपालले दियो २३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको छ । दुबईस्थित आईसीसी एकेडेमीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले शतक प्रहार गरे । रोहितले १३० बलमा १०९ रनको योगदान दिए । आसिफ शेख ३५, कुशल भुर्तेल ७, भीम सार्की ३, आरिफ शेख २७, दीपेन्द्रसिंह ऐरी २३, गुल्सन झा ०, करन केसी १३, ललित राजवंशी ० र सोमपाल कामी ६ रनमा आउट भए । सन्दीप लामिछाने ३ रनमा अविजित रहे ।

बलिङमा युएईका जाहिद अलीले सर्वाधिक ४ विकेट लिए । जुनैद सिद्दिकीले ३ विकेट लिए ।

भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु

बुटवल । नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ ।

भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध कार्यक्रममा उद्योगी र मजदुरले गरेको विरोध प्रदर्शनमा उनी भाषण गर्दागदै बेहोस भएर ढलेका थिए ।

उनलाई तत्कालै थप उपचारका लागि अस्पताल लगिएको थियो ।

मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिए ।

६५ वर्षीय गौतम हृदयघातका भएर ढलेका थिए ।

अस्पताल पुर्‍याएपछि चेकजाँच गर्दा चिकित्सकले हृदयघातका कारण मृत्यु भइसकेको जानकारी गराएको बस्यालले बताए ।

बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतम नेकपा एमालेका केन्द्रीय सदस्य समेत हुन् । २०५४ सालदेखि पार्टी र जिफन्टमा सक्रिय गौतमका दुई छोरा र श्रीमती रहेका छन् ।

नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन प्रयोग गरेको भन्दै बुटवल–भैरहवा कोरिडोरका १० उद्योगमा लाइन काटेको विरोधमा उद्योगीका संस्था र मजदुरले संयुक्तरूपमा आयोजना गरेको विरोध प्रदर्शनमा गौतम मजदुरहरूको तर्फबाट वक्ताका रुपमा गएका थिए ।

एनपीएलका उत्कृष्ट तीन खेलाडीले मोटरसाइकल पाउने

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा उत्कृष्ट खेल प्रदर्शन गर्ने तीन खेलाडीलाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिने भएको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच नेपाल क्रिकेट संघ (क्यान) र गोल्छा ग्रुपबीच अफिसियल टु ह्विलर पार्टनरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौता पत्रमा क्यान सचिव पारस खड्का र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरेका थिए। सम्झौता अनुसार एनपीएलमा सर्वाधिक रन बनाउने, सर्वाधिक विकेट लिने र इमर्जिङ प्लेअरलाई एक–एक वटा पल्सर मोटरसाइकल प्रदान गरिने क्यान सचिव खड्काले जानकारी दिए।

उनले एनपीएलको दोश्रो संस्करण पूर्वाधारका हिसाबले पनि निकै उत्कृष्ट हुने बताए। एनपीएल व्यवस्थित ढंगले आयोजना हुने जानकारी दिँदै उनले क्रिकेट प्रशंसकलाई निराश हुन नदिने उल्लेख गरे। एनपीएलको तयारी अन्तिम चरणमा पुगेको उनको भनाइ छ।

उनले प्रतियोगिता सुरु हुनु केही दिनअघि पत्रकार सम्मेलन गरेर सम्पूर्ण जानकारी दिने बताए। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आगामी मंसिर १ गतेदेखि २७ गतेसम्म आयोजना हुँदैछ।

युद्ध लड्ने ‘रोबोट कुकुर’ बनाउँदै चीन

प्रविधिको विकाससँगै युद्धका तरिका तथा हतियारहरु पनि बदलिइरहेका छन् । भविष्यमा पारम्परिक हतियार तथा उपकरणबाट होइन कि रोबोट तथा एआई प्रविधियुत्त रोबोटिक ड्रोन र कुकुरबाट युद्ध लडिनेछ ।

चीन अहिले यस्तै अत्याधुनिक एआई सञ्चालित हतियार निर्माणमा जुटेको छ । उसको प्रतिस्पर्धा अमेरिकासँग छ, जसले एआई क्षमतायुक्त स्वचालित ड्रोनको फौज तयार गरिरहेको छ । यस्तोमा चीनले चाहीँ एआई प्रविधि जडित रोबोटिक कुकुर तयार पार्दैछ, जसले भविष्यमा शत्रु पक्षका सैनिकसँग युद्ध गर्नेछ ।

रोयटर्सका अनुसार चीनको सरकारी रक्षा कम्पनी नोरिन्कोले गत फेब्रुअरीमा एउटा सैन्य वाहन तयार पारेको छ । यसले ५० किलोमिटर प्रतिघण्टाको गतिमा स्वचालित रुपमा बख्तरबन्द अभियान चलाउन सक्नेछ । यो चिनियाँ एआई डीपसीकबाट चल्नेछ ।

चीनमा सैन्य अभियानमा एआई एप्लिकेसनको प्रयोगसँग सम्बन्धित सयौं शोधपत्र, पेटेन्ट तथा खरिद रेकर्डहरूको समीक्षा रोयटर्सले गरेको छ । यसबाट एआई सञ्चालित रोबोट, रोबोटिक एप्लिकेसन तथा ड्रोनको मतले भविष्यको युद्ध लडिनेछ भन्ने विषयमा चर्चा गरिएको छ ।

यस्तै एक दस्तावेजका अनुसार चीनले एआई सञ्चालित रोबोट कुकुर समेत बनाउने तयारी गरिरहेको छ । उक्त रोबोटिक कुकुर समूह बनाएर युद्ध मैदानमा उत्रिनेछ र सम्भाविन लक्ष्यलाई ट्रयाक गर्दै आकासमा उडिरहेको ड्रोनलाई त्यसबारेमा सूचना दिनेछ ।

यसले एउटा वार गेम कन्सोलको जस्तै कमान्ड सेन्टरमा काम गर्नेछ । यस एआईयुक्त रोबोटिक कुकुर र ड्रोनले आफैले लक्ष्य तथा सम्भावित खतरा पहिचान गरी त्यसको सूचना कमान्ड सेन्टरमा पठाउँछ र त्यहाँबाटै अगाडिको कारवाहीका निम्ति निर्देशन प्राप्त हुनेछ ।

सन् २०२४ मा चिनियाँ जनमुक्ति सेनाले एआई सञ्चालित रोबोट कुकुरका लागि एक प्राविधिक टेन्डर जारी गरेको थियो जसले युद्ध मैदानमा खतराको खोजी गर्न सकोस् र विस्फोटक वा बारुदी सुरुंग जस्ता खतरालाई पन्छाउन सकियोस् ।

अन्नपूर्ण आधार शिविरबाट ७२ पर्यटकको उद्धार

म्याग्दी । हिमपातका कारण समस्यामा परेका १७ जना विदेशी सहित ७२ जना पर्यटकहरुलाई सुरक्षाकर्मीहरुको टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविरबाट उद्धार गरेको छ ।

म्याग्दीदेखि मुस्ताङ जोड्ने धौलागिरि चक्रीय पदमार्गको ‘हिडन भ्याली’मा हिउँले बाटो पुरिएपछि समस्यामा परेका पर्यटक उद्धार गर्न मुस्ताङ तर्फबाट सुरक्षाकर्मी टोली परिचालन भएको छ ।

 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका पर्यटकहरु सोमबार रातीदेखिको वर्षा र हिमपातका कारण पैदलमार्ग पुरिएपछि फर्कन नसकेर समस्यामा परेका थिए ।

सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरबाट प्रहरी निरीक्षक विनोद पौडेलको नेतृत्वमा गएको सात जना सशस्त्र, तीन जना जनपद प्रहरी र स्थानीय उद्धारकर्मी इन्द्रसिंह शेरचनको टोलीले पर्यटकको उद्धार गरेको हो ।

गुल्मपति प्रमुख प्रहरी नायव उपरीक्षक लिलाबहादुर भुजेलले १७ विदेशीसहित ७२ जना पर्यटकहरुलाई आधार शिविरबाट उद्धार गरेर बिहीबार बिहान हुमखोला झारिएको र उनीहरु सकुशल रहेको राससलाई जानकारी दिए ।

“हिउँले पदमार्ग पुरिएपछि बाटो बिराएका २० जनालाई डोरीको सहायताले उद्धार गरिएको छ,” उनले भने, “उद्धार टोलीले पदमार्गमा थुपिएको हिउँ पन्छाएर सबै पर्यटकलाई सुरक्षित ठाउँमा ल्याएको छ ।”

अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग खाली बनाएर सबै पर्यटकहरुलाई सकशुल सुरक्षित ठाउँमा ल्याइएको प्रनाउ भुजेलले जानकारी दिए । वर्षा, हिमपात र मौसम खराब भएपछि समुन्द्रि सतहदेखि चार हजार एक सय ९० मिटर उचाईको आधार शिविर भ्रमणमा गएका पर्यटकहरु बास बसेकै ठाउँमा रोकिएका थिए ।

हुमखोला, फुतफुते, साधीखर्क, गुफाँफाट, भुसकेत मेला र पञ्चकुण्डको होटलमा बसेका पर्यटकहरु सुरक्षाकर्मीहरुको सहायतामा फर्किएका छन् । मंगलबार दिनभर हिमपात भएको उक्त क्षेत्रमा बुधबार मौसम सफा भएको थियो भने बिहीबार बिहानदेखि पुन हिउँ पर्न थालेको छ ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले हिमपात र बर्षाका कारण हुन सक्ने सम्भावित जोखिमको आँकलन गरेर सोमबार देखि कात्तिक १४ गतेसम्म अन्नपूर्ण आधार शिविरको भ्रमणमा रोक लगाइएको बताए ।

सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य

जियुक्वान । चीनले बिहीबार सन् २०३० सम्ममा आफ्ना अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमाको सतहमा अवतरण गराउने योजनालाई तीव्ररूपमा अघि बढाइरहेको घोषणा गरेको छ । यो लक्ष्य चीनको दीर्घकालीन उद्देश्य अन्तरिक्ष अन्वेषणमा विश्व नेतृत्व हासिल गर्ने को महत्त्वपूर्ण हिस्सा हो ।

चाइना म्यान्ड स्पेस प्रोग्रामका प्रवक्ता झाङ जिङबोका अनुसार हाल चन्द्रमामा मानव अवतरणसम्बन्धी अनुसन्धान तथा विकासका सबै परियोजनाहरू सुचारु रूपमा अघि बढिरहेका छन् । उनले लङ मार्च-१० रकेट, चन्द्र अवतरण पोसाक र अन्वेषण सवारी निर्माणलाई यस दिशामा ‘फलदायी उपलब्धि’ का रूपमा वर्णन गरे  । झाङले भने, “सन् २०३० सम्ममा चन्द्रमामा व्यक्ति पठाउने हाम्रो लक्ष्य अटल र स्पष्ट छ ।”

यो घोषणासँगै चीनले आफ्नो तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा पठाउन लागेको नयाँ अन्तरिक्ष यात्री टोलीको परिचय पनि गराएको छ । यो मिसन चीनको बढ्दो अन्तरिक्ष क्षमताको अर्को महत्त्वपूर्ण चरण हो । नयाँ चालक दलमा झाङ लु, वु फेइ र झाङ होङझाङ रहेका छन्  । उनीहरू आगामी शुक्रबार राति ११ः४४ बजे जियुक्वान प्रक्षेपण केन्द्रबाट प्रस्थान गर्नेछन् ।

झाङ लुले यसअघि सेन्झाउ–१५ मिसनमा सहभागिता जनाइसकेका थिए भने वु फेइ र झाङ होङझाङका लागि यो पहिलो अन्तरिक्ष यात्रा हुनेछ । उनीहरूले तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा पुगेर करिब छ महिनासम्म अनुसन्धान गर्ने योजना छ ।

यो यात्रामा अन्तरिक्ष यात्रीहरूले दुई नर र दुई पोथीसहित चारवटा मुसा पनि साथ लैजानेछन् । यी जनावरहरूमा भारहीनता र सीमित वातावरणको प्रभाव अध्ययन गरिनेछ, जसले भविष्यको दीर्घकालीन अन्तरिक्ष यात्रामा जैविक अनुसन्धानका लागि मूल्यवान् जानकारी प्रदान गर्नेछ ।

चीनले सन् २०११ मा अमेरिकी प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) बाट अलग भएपछि आफ्नै तियाङ्गोङ, अर्थात् ‘हेभनली प्यालेस’, नामक अन्तरिक्ष स्टेसन निर्माणको काम सुरु गरेको थियो । उक्त कार्यक्रम पिपुल्स लिबरेसन आर्मीको प्रत्यक्ष प्राविधिक समन्वयमा सञ्चालन भइरहेको छ, जसले अमेरिकामा राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ता पैदा गरेको छ ।

तियाङ्गोङ अहिले पूर्णरूपमा सञ्चालनमा छ र चीनले यसलाई पृथ्वीको कक्षामा दीर्घकालीन वैज्ञानिक प्रयोगशाला बनाउने लक्ष्य लिएको छ । प्रत्येक नयाँ टोलीले त्यहाँ सूक्ष्म गुरुत्वाकर्षण, जैविक अनुकूलन र प्राविधिक परीक्षणमा अनुसन्धान गर्छ ।

विश्लेषकहरूका अनुसार चीनको सन् २०३० लक्ष्य विश्वका अन्य अन्तरिक्ष शक्तिहरू अमेरिका र रूस सँगको प्रतिस्पर्धामा निर्णायक कदम हुनेछ । यदि सबै योजना सफल भए चीन सो समयसम्म चन्द्रमामा मानव अवतरण गराउने दोस्रो देशका रूपमा स्थापित हुनेछ ।

२८३ मेगावाट विद्युत् भारत निर्यात अनुमति नवीकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २ सय ८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरणका लागि स्वीकृति पाएको छ ।

भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत् आयोजनाबाट उत्पादित २ सय ८३ मेगावाट विद्युत् निर्यातका लागि दिइएको स्वीकृति नवीकरण गरिदिएको छ ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त विद्युत् भारतीय ऊर्जा एक्स्चेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दर र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त विद्युत् भारतीय ऊर्जा एक्स्चेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दर र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।

भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशमा पनि विद्युत् निर्यात भइरहेको छ । आईएक्स मार्केटमा प्रतिस्पर्धी दरमा विद्युत बिक्री गर्न स्वीकृति पाएका चार आयोजनाको नवीकरण भएको हो ।

ती आयोजनाबाट उत्पादित १ सय ३ मेगावाट विद्युत् आईएक्समा बिक्रीका लागि पाएको स्वीकृति विभिन्न मितिमा सकिएको थियो । सबै आयोजनाको निर्यात गत मंगलबारदेखि लागु हुने गरी करिब एक वर्षका लागि नवीकरण स्वीकृत भएको छ ।

यसैगरी द्विपक्षीय सम्झौता बमोजिम हरियाणा राज्यलाई चार आयोजनाबाट उत्पादित करिब १ सय ८० मेगावाट बिक्री भइरहेको थियो । हरियाणालाई बिक्री गर्न दिइएको अनुमति बिहीबार (आज) सकिने छ ।

प्राधिकरणले हरेक वर्ष जुन अक्टोबरमा हरियाणालाई विद्युत् बिक्री गर्दछ । प्राधिकरणले हरियाणालाई विद्युत बिक्रीका लागि अनुमति पाएका आयोजनाको विद्युत् आईएक्समा पनि बिक्री अनुमति मागेको थियो ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले उक्त प्रस्तावलाई स्वीकृति दिएको हो । अब चार आयोजनाबाट उत्पादित विद्युत् शुक्रबारदेखि आईएक्समा समेत निरन्तर बिक्री गर्न पाउने भएको छ ।

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आईएक्सको आठौं सभामा सहभागी हुन भारत नयाँदिल्ली भ्रमण क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भारतका विद्युत्मन्त्री मनोहरलाल खट्ठरसँगको भेटमा विद्युत् निर्यात स्वीकृतिको प्रक्रिया सरलीकृत गरिदिन आग्रह गरेका थिए ।

उनले नेपालमा विद्युत् उत्पादनको सबैभन्दा राम्रो समय अहिले भएकाले नवीकरणका लागि पठाइएको प्रस्तावलाई तत्काल स्वीकृत गरिदिन समेत आग्रह गरेका थिए ।

सुडानको अल-फाशरमा विद्रोही लडाकुबाट ४६० भन्दा बढीको हत्या

काठमाडौँ । सुडानको अल-फाशर कब्जा गरेपछि, र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) का लडाकुहरूले मुख्य अस्पतालमा सयौं नागरिकहरूको हत्या गरेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस गेब्रेयससले सुडानी शहर अल-फाशर कब्जा गरेपछि, र्‍यापिड सपोर्ट फोर्सेसका लडाकुहरूले मुख्य अस्पतालमा सयौं नागरिकहरूको हत्या गरेको बताएका छन् ।

डब्लुएचओका प्रमुख गेब्रेयससले अल-फाशर अस्पतालमा ४६० जनाको मृत्युको खबरले स्तब्ध र गहिरो दुःखी भएको बताएका छन् ।

यसअघि, सुडान डाक्टर नेटवर्कले मंगलबार आरएसएफ लडाकुहरूले बिरामीहरू, उनीहरूका आफन्तहरू र अन्यहरू सहित अस्पतालमा रहेका सबैलाई क्रूरतापूर्वक मारे बताएको थियो । डाक्टर नेटवर्कले संख्या प्रदान गरेन, तर शहरका धेरै अस्पतालहरूलाई ‘मानव वधशाला’ मा परिणत गरिएको बताएको थियो ।

सुडान डाक्टर नेटवर्कले आरएसएफलाई चार डाक्टर सहित छ जना स्वास्थ्यकर्मीहरूलाई अपहरण गरेको आरोप पनि लगाएको छ । सुडानको दक्षिण डार्फरको राजधानी अल-फाशर, आरएसएफ विरुद्ध लड्ने अन्तिम शहर हो ।

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

काठ्माण्डौ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले सो प्रतिवेदन पेस गरेका हुन्।

नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

ट्रम्पले घटाए चीनमाथि लगाएको कर, दुर्लभ खनिज व्यापार समाधान हुने दाबी

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच दक्षिण कोरियामा वार्ता भएको छ।

र्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले फेन्टानिल बनाउन प्रयोग हुने रसायनको आपूर्तिको बदलामा सबै सामानमा पहिले लगाइएको कर घटाउने घोषणा गरेका छन्।

अमेरिकाले यसलाई फेन्टानिल कर भन्छ। यी कर २० प्रतिशतबाट १० प्रतिशतमा घटाइएको छ। ट्रम्पले चीनले आफ्नो पहिलेको घोषणा अनुसार अमेरिकाबाट ठूलो मात्रामा सोयाबीन किन्न सहमत भएको बताए।

उनले चीनसँगको दुर्लभ खनिज व्यापारको समस्या पनि समाधान भएको बताए। हालैका दिनमा दुई देशबीच करलाई लिएर निकै तनाव रहेको छ। तर अब दुई देशबीच सम्झौता हुने आशा थियो।

अमेरिकी अर्थमन्त्री स्कट बेसान्टले चिनियाँ सामानमा १०० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी अब कार्यान्वयन हुने कुरामा आफूलाई लाग्दैन भन्ने पनि बताए।

विश्वका दुई ठूला अर्थतन्त्र करिब हरेक क्षेत्रमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका छन्। राष्ट्रिय सुरक्षा चिन्ताका कारण अत्यधिक लोकप्रिय चिनियाँ एप टिकटक पनि लामो समयदेखि दुई देशबीच तनावको स्रोत बनेको छ।

विश्लेषकले दुई नेताले यस वार्तालापमा टिकटकको अमेरिकी सञ्चालनको बिक्री सम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन सक्ने विश्वास गरे।   ʻयो बैठकले कोभिड पछिको युगमा विश्वव्यापीकरणको लागि नयाँ दिशा तय गर्नेछ,ʼ सिड्नीको युनिभर्सिटी अफ टेक्नोलोजीका अर्थशास्त्रका प्राध्यापक टिम हार्कोर्ट भन्छन्।

पारस्परिक शुल्क, अस्थिर युद्धविराम र विश्वभरका उद्योग र व्यवसायका लागि अनिश्चितताले गर्दा बैठकमा पुग्न दश महिना लाग्यो।

काभ्रे जिल्ला अदालत उपस्थित भए खगेन्द्र सुनार, आजै थुनछेक हुने

काठमाडौँ  : श्रममन्त्रीमा सिफारिस भएर अन्तिम समयमा शपथ खान नपाएका खगेन्द्र सुनार काभ्रेपलान्चोक जिल्ला अदालत उपस्थित भएका छन् । उनी विद्युतीय कारोबारसम्बन्धी मुद्दामा बयान दिन लागि हाजिर भएको अदालतका स्रेस्तेदार इन्दिरा कार्की गेलालले जानकारी दिइन् ।

अधिवक्ता मनिषा गौतमको जाहेरीमा विद्युतीय कारोबार मुद्दाका सुनार फरार प्रतिवादी थिए । मन्त्रीमा सिफारिस भएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको सार्वजनिक भएको थियो ।

सुनारलाई काभ्रे अदालतले ५ साउनमा दैलेख प्रहरीलाई पक्राउको अनुमतिसहित पक्राउ पुर्जी काटेको थियो । गौतमले आफूलाई सुनारले सामाजिक सञ्जालमा गरेको गालीगलौजसहितको स्क्रिन सटको प्रमाण राखेर विद्युतीय अपराध कसुरमा काभ्रेमा मुद्दा दायर गरेकी थिइन् ।

कानुन व्यवसायीसहित उपस्थित भएका उनको अहिले बयान जारी छ । बयान सकिएपश्चात आजै थुनछेक बहस गर्ने तयारी अदालतको छ । सुनारमाथि सुर्खेतमा पनि स्वास्थ्य संस्था तोडफोड र स्वाथ्यकर्मीमाथि कुटपिटको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । केही दिनअघि श्रममन्त्रीको नियुक्तिको तयारी हुँदै गर्दा उनका विभिन्न मुद्दा बाहिरिएपछि प्रधानमन्त्री सुशीला कार्कीले शपथ रोकेकी थिइन् ।

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ। मौसममा आएको खराबीका साथै ‘इनरुट वेदर’ बिग्रिएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका हुन्।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार प्रतिकूल मौसमका कारण आज आन्तरिकतर्फ केही उडान ‘डाइभर्ट’ हुनका साथै भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको छ। पोखरा विमानस्थल आगमन बन्द छ भने ‘डिपार्चर’ मात्रै खुलेको छ। काठमाडौंका लागि विराटनगरबाट उडेको श्री एयरलाइन्सको विमान उतै डाइभर्ट भएको जनाउँदै उनले भैरहवाबाट काठमाडौं उडेको सोही एयरलाइन्सको विमान भैरहवा डाइभर्ट भएको बताए।

प्रवक्ता शेर्पाका अनुसार अन्तर्राष्ट्रियतर्फ नेपाल एयरलाइन्सको विमान भारतको नयाँदिल्ली डाइभर्ट भएको छ। इण्डिगो एयरको विमान पनि नयाँदिल्ली डाइभर्ट गरिएको जनाउँदै उनले एयर इण्डियाको विमान लखनऊ डाइभर्ट भएको उल्लेख गरे। अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी दुई हजार ५०० मिटर रहेको प्रवक्ता शेर्पाले बताए। इनरुट वेदर खराबीले आन्तरिक उडानमा समस्या भएको विमानस्थल कार्यालयले जनाएको छ।

यसैबीच जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ कात्तिक ११ गते राति भारतको आन्द्र प्रदेशमा प्रवेश गरेको छ। त्यसपछि उक्त प्रणाली विस्तारै कमजोर हुँदै उत्तर, उत्तर–पश्चिम दिशातर्फ सर्दै न्यून चापीय क्षेत्रका रूपमा नेपालको मध्यभू–भाग नजिक आएर पूर्वतर्फ सर्दै गरेको छ।

आजदेखि यही कात्तिक १५ गतेसम्म नेपालको बाग्मती, मधेस र कोशी प्रदेशको मौसम प्रभावित हुने महाशाखाले जनाएको छ। उक्त प्रणालीको प्रभावले मधेस र कोशी प्रदेशका अधिकांश स्थानमा तथा बाग्मती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। ती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले आवश्यक सर्तकता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

जलवायु परिवर्तनबारे बिल गेट्सको स्तब्ध पार्ने दाबी

काठमाडौं । कार्बन उत्सर्जन घटाउने एक प्रमुख समर्थकका रूपमा चिनिने बिल गेट्सले जलवायु परिवर्तनका विषयमा ‘महाविनाशकारी’ धारणा राख्ने अभियन्ता समुदायलाई कडा धक्का दिँदै एउटा महत्वपूर्ण लेख प्रकाशित गरेका छन्।

मंगलबार प्रकाशित उक्त लेखमा उनले जलवायु परिवर्तनविरुद्धको लडाइँबाट स्रोतसाधनहरू अन्यत्र सार्नुपर्ने तर्क गरेका छन्। यो भनाई उनी आफ्नै यसअघिको दाबीभन्दा विपरीत रहेको बताइएको छ ।

गेट्सले विश्वका परोपकारीहरूले जलवायु परिवर्तनमा भन्दा बढी रोग र भोकमरी रोकथाम गर्ने प्रयासहरूमा लगानी बढाउनुपर्ने गर्क गरेका छन् ।

उनले जलवायु परिवर्तनले मानवतालाई पूर्ण रूपमा समाप्त पार्न नसक्ने र शून्य कार्बन उत्सर्जन हासिल गर्ने विगतका प्रयासहरूले वास्तविक प्रगति गरेकाले अब स्रोतको प्राथमिकता बदल्नुपर्ने तर्क गरेका छन् ।

तर, गेट्सले जलवायु परिवर्तनविरुद्धको विगतको लगानी गलत ठाउँमा भएको र धेरै राम्रो पैसा महँगा र शंकास्पद प्रयासहरूमा लगाइएको बताए।

तत्कालको पीडा बढी महत्वपूर्ण

जलवायु परिवर्तनविरुद्धको लगानी जारी रहनुपर्ने बताए पनि गेट्सले राष्ट्रपति डोनाल्ड ट्रम्पले युएसएआईडीमा गरेको कटौतीले अझ बढी जरुरी समस्या खडा गरेको बताए । उनले ट्रम्पको कदमले भोकमरी तथा जीवन जोखिममा पार्ने रोकथाम गर्न सकिने रोगहरूसँगको लडाइँमा विश्वव्यापी रूपमा दीर्घकालीन क्षति पुर्‍याउने खतरा रहेको तर्क गरे।

ट्रम्प प्रशासनले विभिन्न देशहरूलाई खाना र औषधि उपलब्ध गराउन वार्षिक ८ अर्ब डलर सहयोग गर्दै आएको युएसएआईडी बन्द गरिदिएको थियो।

‘जलवायु परिवर्तन, रोग र गरिबी सबै प्रमुख समस्या हुन्,’ गेट्सले लेखेका छन्, ‘उनीहरूले निम्त्याएको पीडाको अनुपातमा हामीले समाधान गर्नुपर्छ।’

ट्रम्प प्रशासनको कोष कटौतीले अलपत्र पारिएका ती प्रयासहरूलाई सहयोग गर्न तत्काल र ठूलो लगानी तथा स्रोतसाधन केन्द्रित गर्न आवश्यक भएको गेट्सको तर्क छ।

गेट्स लेख्छन्, ‘यद्यपि विशेषगरी गरिब देशका मानिसहरूका लागि जलवायु परिवर्तनले गम्भीर परिणाम ल्याउनेछ । यसले मानवताको अन्त्य भने गर्ने छैन।’

उनले थपे, ‘उत्सर्जन र तापक्रम परिवर्तनभन्दा पनि बढी महत्त्वपूर्ण मापनमा ध्यान केन्द्रित गर्ने यो अवसर हो: जीवन सुधार गर्नु। हाम्रो मुख्य लक्ष्य पीडा रोक्नु हुनुपर्छ, विशेष गरी विश्वका सबैभन्दा गरिब देशहरूमा कठिन परिस्थितिमा बाँचिरहेका मानिसहरूको।’

आगामी कोप-३०अघि गेट्सको ‘रिभर्सल’

गेट्सको यो चकित पार्ने लेख अर्को महिना हुने जलवायु परिवर्तनसँग जुध्न केन्द्रित विश्वव्यापी शिखर सम्मेलन कोप ३० अघि आएको हो।

गेट्सले आफ्नो नयाँ अडान विगतका अडानहरूको उल्टो नभएको दाबी गरेका छन्। उनले मंगलबारको लेखमा विश्वले शून्य कार्बन उत्सर्जन हासिल गर्ने विगतका प्रयासहरूलाई निरन्तर समर्थन गर्नुपर्ने बताए।

यद्यपि, गेट्सले सीएनबीसीका एन्ड्रयू रस सोर्किनसँगको एक अन्तर्वार्तामा जलवायु लगानीबाट पछि हट्नु ‘ठूलो निराशा’ भए तापनि यो आवश्यक कदम भएको बताए।

यो भनाइ गेट्सले केही वर्षअघि शुद्ध ऊर्जा व्यवसाय र लोबी समूहहरू लगायत आफ्नो परोपकार केन्द्रित गरेको क्षेत्रभन्दा फरक छ।

उदाहरणका लागि, सन् २०२३ को ब्रेकरु थ्रु इनर्जीको एउटा लेख (जुन पछि हटाइएको थियो) मा गेट्सले विश्वभरका अधिकांश मानिसहरू जलवायु परिवर्तनको प्रभावसँग संघर्ष गरिरहेको र यो भावना ‘अत्यधिक’ हुन सक्ने भएकाले ‘अभूतपूर्व’ स्तर र गतिमा प्रतिक्रिया दिन आवश्यक रहेको बताएका थिए।

आलोचकहरूले के भने ?

केही आलोचकहरूले गेट्सको यो परिवर्तनलाई गलत द्विविभाजन भनेका छन् ।

‘झूटो द्विविभाजन’ एक प्रकारको तार्किक भ्रम हो। यो भ्रम तब उत्पन्न हुन्छ जब कसैले कुनै जटिल परिस्थितिलाई केवल दुईवटा मात्र विकल्प रहेको रूपमा प्रस्तुत गर्छ, जबकि वास्तवमा तेस्रो वा अन्य धेरै सम्भावित विकल्पहरू पनि उपलब्ध हुन्छन्। यसलाई ‘कालो वा सेतो भ्रम’ पनि भनिन्छ।

गेट्सले अहिले जसलाई प्राथमिकता दिने भनिरहेका छन्, तीमध्ये ठूलो मात्रामा पीडा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जलवायु परिवर्तनकै कारण उत्पन्न भएका हुन्।

वुडवेल क्लाइमेट रिसर्च सेन्टरकी वरिष्ठ वैज्ञानिक जेनिफर फ्रान्सिसले सीएनएनसँग भनिन्, ‘मानवहरू लचिलो हुन्छन्, र अर्बौं डलरको विपत्तिहरू अझ बारम्बार र विनाशकारी हुँदै गए पनि, मानवहरू पृथ्वीको सतहबाट मेटिने छैनन्।’

उनको भनाइ छ, लगानीलाई ‘रोग’ (अर्थात्, तापक्रम बढाउने ग्यासहरूको उत्सर्जन) निको पार्नमा निरन्तर केन्द्रित गर्नुपर्छ। यसका साथै, ‘लक्षणहरूको उपचार’ (अर्थात्, जलवायु परिवर्तनले निम्त्याएका असरहरू) जस्तै: स्वास्थ्य र भोकमरी सुधार गर्ने, पूर्वाधारलाई बलियो बनाउने, र पारिस्थितिक प्रणालीको संरक्षण गर्ने कार्यमा पनि ध्यान दिनुपर्छ।

अरूहरूले भने गेट्सले अझ व्यापक कुरालाई बेवास्ता गरिरहेको विश्वास गरेका छन् ।

पेन सेन्टर फर साइन्स, सस्टेनेबिलिटी एन्ड द मिडियाका निर्देशक माइकल मानले भने, ‘विकासशील राष्ट्रहरूका लागि जलवायु सङ्कटभन्दा ठूलो अरू कुनै खतरा छैन। उहाँले यो सबै उल्टो बुझ्नुभएको छ।’

रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौँ, १३ कात्तिक :सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सचालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज हुँदैछ ।

उनीहरुको बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा उच्च अदालत तुल्सीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा सुनुवाइ हुन लागेको हो ।

यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले छवि समेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो ।

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रसको राजीनामा

काठमाडौँ, १३ कात्तिकः नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले आफ्नो पदबाट राजीनामा दिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

गत फागुनमा एन्फा र अस्ट्रेलियाली प्रशिक्षक रसबीच एक वर्षका लागि सम्झौता भएको थियो । रसले करिब आठ महिनामै राजीनामा दिएको एन्फाका महासचिव किरण राईको जानकारी दिए। के कारणले राजीनामा दिए भन्ने विषयमा पछि जानकारी गराउने उनले बताए ।

आठ महिनमा रसको प्रशिक्षकमा नेपाली फुटबल टोलीले सात अन्तरराष्ट्रिय खेल खेलेको थियो । जसमा नेपालले एक खेलमा जित हासिल गर्दा दुई खेल बराबरी तथा चार खेलमा पराजित भएको थियो । रसको प्रशिक्षणमा खेलेको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई हराएको थियो ।

चुनावका लागि आयोगलाई ५ अर्बभन्दा कम बजेट दिने अर्थ मन्त्रालयको तयारी

काठमाडौं । अर्थ मन्त्रालयले फागुन २१ गते तय भएको चुनावका लागि निर्वाचन आयोगलाई ५ अर्बभन्दा कम बजेट उपलब्ध गराउने भएको छ।

मन्त्रालयका एक अधिकारीका अनुसार आयोगले ७ अर्ब हाराहारीमा बजेट माग गरेको भए पनि उसलाई ५ अर्बभन्दा कम बजेट दिने गरी मन्त्रालयले तयारी गरेको हो।

अघिल्लो निर्वाचनमा भएको खर्चलाई आधार मानेर मन्त्रालयले बजेट निकासा गर्ने ती अधिकारीले बताए।

फागुन २१ गते प्रतिनिधि सभाको मात्रै निर्वाचन हुने भएकाले पनि मन्त्रालयले अघिल्लो चुनावहरूको तुलनामा कम बजेट निकासा गर्ने भएको हो।

‘निर्वाचन आयोगले ठूलो रकम मागेको छ। अघिल्लो निर्वाचनको अवस्था र अहिले प्रतिनिधि सभाको मात्रै निर्वाचन हुने भएकाले साढे ५ अर्बभन्दा कम बजेट भए पुग्ने हाम्रो अनुमान छ,’ अर्थका ती अधिकारीले भने।

बजेट साढे ४ अर्बभन्दा कम नहुने भने ती अधिकारीले बताएका छन्। अर्थमन्त्री रामेश्वर खनालले यसअघि नै निर्वाचन आयोगका आयुक्तहरूसँगको छलफलमा मितव्ययी भएर खर्च गर्न आग्रह गरेका थिए।

आयोगले निर्वाचन व्यवस्थाका लागि खरिद गर्नुपर्ने सामान र कर्मचारी परिचालनमा हुने खर्च आकलन गरेर बजेट माग गर्छ। सबैभन्दा बढी खर्च निर्वाचनमा खटिने कर्मचारीमा हुने आयोगको ठम्याइ छ। आयोगका अनुसार एउटा मतदान केन्द्रमा कम्तिमा १४ कर्मचारी आवश्यक पर्छ। आयोगले एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र व्यवस्था गर्दै आएको छ। मतगणनाका लागि पनि आयोगले नै कर्मचारी व्यवस्थापन गर्छ।

आयोगले फागुन २१ गते निर्वाचन गराउन हिमाली क्षेत्रमा कठिनाइ हुनसक्ने आकलन गरेको छ। त्यस्ता ठाउँमा मौसम खुलेका बेला कर्मचारी पठाउने गरी हेलिकप्टर व्यवस्था गर्ने आयोगको तयारी छ।

आयोगका एक आयुक्तका अनुसार २०७९ सालको निर्वाचनमा माग गरेको बजेट खर्च नभएपछि ३ अर्ब रूपैयाँ फिर्ता गरिएको थियो।

देशभरका विमानस्थलमा नेपाल टेलिकमको फ्री वाईफाई सेवा सुरु

काठमाडौं– नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशभर सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरूमा फ्री वाईफाई सेवा सुरु गरेको छ ।

टेलिकमले कात्तिक ११ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यो कार्यक्रम शुभारम्भ गरेको हो ।

नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले प्रथम चरणमा विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा इन्टरनेट सेवाको शुभारम्भ गरे ।

टेलिकमका अनुसार उक्त फ्री वाईफाई इन्टरनेट सेवाको कभरेज विमानस्थलको आगमन, प्रस्थान, भीआईपी लाउन्ज तथा प्रतिक्षास्थल लगायतका क्षेत्रहरूमा रहेको छ ।

देशभर सञ्चालनमा रहेका ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल तथा ३४ वटा आन्तरिक विमानस्थलहरूमा सर्वसाधारण यात्रुलक्षित फ्री इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच भएको सम्झौताबमोजिम सो कार्यक्रमको शुभारम्भ गरिएको हो ।

सेवाको कभरेज रहेको स्थानमा एसएसआईडी ‘एनटी-क्यान नि:शुल्क वाइफाइ’ भएको वाईफाईमा कनेक्ट गरेर निर्देशन पूरा गरी नि:शुल्क इन्टरनेट सेवा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन : प्रधानमन्त्री सचिवालय

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले कसैको दबाब वा प्रभावमा गृहमन्त्री ओम प्रकाश अर्याललाई हटाउने निर्णय नहुने जनाएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले गृहमन्त्री अर्याललाई हटाउन प्रधानमन्त्रीलाई दबाब दिएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीको सचिवालयले कसैको दबाब वा प्रभावमा निर्णय नहुने जनाएको हो ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जारी गरेको प्रेस नोटमा लेखिएको छ, ‘कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकार क्षेत्रको विषय हो । कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन ।’

विज्ञप्तिमा गृहमन्त्री अर्याल असामान्य परिस्थितिमा राष्ट्रको गम्भीर जिम्मेवारी वहन गर्दै आगामी निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्ने, शान्ति–सुरक्षा कायम राख्ने र सुरक्षा निकायहरूको मनोबल उच्च राख्ने कार्यमा सक्रिय रहेको श्रेष्ठले जनाएका छन् ।

संवेदनशील परिस्थितिमा अफवाह नफैलाउन र नपत्याउन पनि उनले सम्बन्धित सबै पक्षलाई अनुरोध गरेका छन् ।

शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

काठमाडौँ। ‘मोन्था’ चक्रवातले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले केन्द्रविन्दुलाई बताए । आगामी २४ घण्टा काठमाडौँ उपत्यकाका साथै आसपासका क्षेत्रमा वर्षा हुने जानकारी दिँदै उनले सबै स्थानमा निरन्तर वर्षा भने नहुने बताए ।

आगामी २४ घण्टामा कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा एकदुई भारी हिमपातको सम्भावना रहेको प्रवक्ता पोखरेलले जानकारी दिए ।

विश्वकप लिग-२: युएईविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएईविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

दुबईस्थित आईसीसी एकेडेमीमा घरेलु टोलीविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

सिरिजअन्तर्गत दुवै टोलीले दोस्रो खेल खेल्न लागेका हुन् ।

पहिलो खेलमा दुवै टोली अमेरिकासंग पराजित भएका थिए । नेपाल १०६ रन र युएई ४ विकेटले पराजित भएको थियो ।

मैत्रीपूर्ण फुटबलमा नेपाली महिला टोलीले भारतलाई ट्राइब्रेकरमा ३ गोलले हरायो

काठमाण्डौ – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली महिला टोलीले भारतलाई ट्राइब्रेकरमा हराएको छ । सिक्किमको पाल्जोर रङ्गशालामा हिजो भएको खेलमा नेपाली महिला टोलीले ट्राइब्रेकरमा भारतलाई ३–० गोलले हराएको हो  ।

नेपालकी गोलकिपर अन्जना राना मगरले २ वटा पेनाल्टी रोकेपछि नेपाल विजयी भयो । अन्जनाले भारतको पहिलो पेनाल्टी हातले र तेस्रो पेनाल्टी खुट्टाले रोकिन् । नेपालका लागि कप्तान अनिता बस्नेतबाहेक ३ खेलाडीले गोल गरे । सविता राना मगर, रश्मिकुमारी घिसिङ र अन्तिममा निशा थोकर गोल गरेपछि नेपाल विजयी भयो ।

त्यसअघि निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो । दोस्रो हाफमा दुबै टोली गोल गर्न असफल भएपछि खेलको निर्धारित समय सकिएको थियो । पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा रश्मिले बराबरी गोल गर्दै नेपाललाई खेलमा फर्काइन् । त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा गएको सोमवार नेपालले भारतलाई २–१ अन्तरले हराएको थियो ।

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज युएईसँग खेल्दै

काठमाण्डौ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय श्रृङ्खलामा नेपालले आज युएईसँग खेल्दैछ । खेल आईसीसी एकेडेमी ग्राउण्डमा विहान सवा ११ बजे हुनेछ ।

यसअघि गएको आइतवार नेपाल अमेरिकासँग एक सय ६ रनले पराजित भएको थियो । नेपाल १७ खेलमा १२ अंकसहित सातौँ स्थानमा छ ।

अमेरिका २२ खेलमा ३२ अंकसहित तालिकाको शीर्षस्थानमा छ । १७ खेलमा ६ अंक रहेको युएई पुछारमा छ । नेपाल, अमेरिका र युएईबीच यो श्रृङ्खला चलिरहेको हो ।

बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ४ जना घाइते

बैतडी १३ कात्तिक । मेलौली नगरपालिका-७ स्वाखानीमा जीप दुर्घटना भएको छ । शिवनाथबाट मेलालीतर्फ आइरहेको से१ज ७३२ नम्बरको जीप स्वाखानीमा बुधबार राति राति दुर्घटना भएको हो ।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका मेलाली नगरपालिका–२ की २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बल्देव बडूले बताए ।

अन्य घाइतेहरुलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

जेन–जी र दल पहिलोपटक संवादमा

काठमाडौं १३ कार्तिक । जेन–जी आन्दोलनको डेढ महिनापछि अन्तरिम सरकारको अग्रसरतामा पहिलोपटक राजनीतिक दल र जेन–जीका प्रतिनिधि एउटै टेबलमा बसेका छन् । आसन्न निर्वाचन र आफूलाई प्राप्त म्यान्डेटअनुसार काम गर्ने वातावरण बनाउन प्रधानमन्त्री सुशीला कार्कीले बुधबार बालुवाटारमा बोलाएको बैठकमा राष्ट्रिय मान्यता प्राप्त अधिकांश दलले चुनावमा भाग लिने प्रतिबद्धता जनाएका छन् । एमालेले भने सरकारको वैधता र सुरक्षाको विषय उठाउँदै आनाकानी गरेको छ ।

सरकार, राजनीतिक दल र जेन–जी प्रतिनिधिहरूको त्रिपक्षीय बैठकले २१ फागुनमा तोकिएको प्रतिनिधिसभाको निर्वाचन स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको छ । यद्यपि, बैठकमा चुनावका लागि सरकारले शान्तिसुरक्षा, स्रोत–साधन र जनशक्ति व्यवस्थापनको अनुकूल वातावरण बनाउनुपर्ने, दल र जेन–जीहरूले चुनावपछि बन्ने संसद्ले गर्ने संविधान संशोधन र शासकीय सुधारजस्ता मुख्य कार्यहरू पहिल्यै समझदारीमा टुंग्याउनुपर्ने साथै भ्रष्टाचार नियन्त्रण र सम्पत्ति छानबिनमा सरकार सक्रिय हुनुपर्ने धारणा प्रस्तुत भएका छन् ।

बैठकमा अहिले चुनाव हुने परिस्थिति नै नदेखिएकाले संसद् पुनर्स्थापना गरेर जानुपर्ने धारणा राखेको एमालेलाई प्रधानमन्त्री, गृहमन्त्री, जेन–जी प्रतिनिधि र अन्य दलका प्रतिनिधिले जवाफ दिएका थिए । सहभागीहरूका अनुसार एमाले प्रतिनिधिसँग प्रधानमन्त्री र जेन–जी प्रतिनिधिको वाद–प्रतिवाद नै चलेको थियो । स्रोतका अनुसार बैठकमा एमालेले ‘जुनियर’ नेता पठाएकोमा प्रधानमन्त्री कार्कीको असन्तुष्टि थियो ।

प्रधानमन्त्री कार्कीले संवादले नयाँ विश्वास र सकारात्मक ऊर्जा जगाएको बताएकी छिन् । ‘आज सरकार, राजनीतिक दलहरू र जेन–जी प्रतिनिधिहरूबिच भएको संवादले नयाँ विश्वास र सकारात्मक ऊर्जा जगाएको छ । देशका चुनौतीहरू हामी सबैका साझा हुन्, त्यसैले समाधान पनि साझा प्रयास र निरन्तर संवादबाटै सम्भव हुन्छ । हामी संवादहीनताको अवस्था अन्त्य गर्दै सहकार्य र विश्वासको वातावरण निर्माण गर्न सफल भएका छौँ,’ बैठकपछि प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘नयाँ पुस्ता, राजनीतिक दल र सरकार सबैको लक्ष्य एउटै छ– निष्पक्ष, सुरक्षित र समयमै निर्वाचन सम्पन्न गर्नु । भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिताप्रति हाम्रो साझा प्रतिबद्धता हो । यही आधारमा हामी स्थिरता, जवाफदेहिता र लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्दै अगाडि बढ्छौँ ।’

बुधबार अपराह्न ४ बजेदेखि राति ९ बजेसम्म पाँच घण्टा चलेको छलफलमा चुनाव, सुशासन, भ्रष्टाचार नियन्त्रण, जेन–जी आन्दोलनमा भएको जनधनको क्षतिको अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाउने सन्दर्भमा छलफल भएको सञ्चारमन्त्री जगदीश खरेलले बताए । ‘छलफल असाध्यै उपलब्धिपूर्ण,महत्वपूर्ण र सौहार्दपूर्ण रह्यो । चुनाव, सुशासन, भ्रष्टाचार नियन्त्रण र आन्दोलनमा भएको जनधनको क्षतिको सन्दर्भमा गहन छलफल भएको छ । आन्दोलनले उठाएको म्यान्डेटलाई राज्यले कसरी मान्यता दिएर अगाडि बढाउने भनेर छलफल भयो । सबै दलले चुनावमा जान्नँ भन्नुभएन । सुरक्षा, स्रोत–साधन, जनशक्ति र मौसमको चुनौतीको विषय राख्नुभयो,’ उनले भने, ‘सरकारले चुनाव गराओस्, जे–जस्तो सहयोग गर्नुपर्छ तयार छौँ भन्नुभयो । एमालेले चुनावको वातावरण बन्छ कि बन्दैन, गराउन सक्छ कि सक्दैन भनेर चासो राखेको छ । तर, भागै नलिने भनेको छैन । अधिकांश दलले सरकार अगाडि बढोस्, हामी साथ दिन्छौँ भन्नुभएको छ ।’

मन्त्री खरेलका अनुसार जेन–जी प्रतिनिधिले सुशासन, भ्रष्टाचार नियन्त्रणको कुरा राखेका थिए । अहिलेसम्म भएका गल्तीहरूलाई दलहरूले रियलाइजेसन गर्नुपर्छ भनेर धारणा राखेका थिए । चुनावको पक्षमा आफूलाई राख्दै जेन–जीहरूले भ्रष्टाचार र सुशासनका मुद्दा, शासकीय प्रणालीको विषयमा पनि कुरा उठाएका थिए । ‘दल र जेन–जी पहिलोपटक आमने–सामने भएर मुलुकको बाटो यसरी तय गरौँ भनेर सौहार्दपूर्ण छलफल भयो,’ खरेलले भने ।

छलफलको सुरुवातमा प्रधानमन्त्री कार्कीले देश बनाउन जेन–जी, दल र सरकार मिलेर जानुपर्ने धारणा राखेकी थिइन् । ‘मुलुक हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रेस सल्लाहकार राम रावलले भने, ‘एकपटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ । हामीले सुरुवात गरेका छौँ ।’

छलफलमा जेन–जीका प्रतिनिधिले २१ फागुनको निर्वाचनलाई समर्थन जनाउँदै आफूहरूको मुख्य माग भ्रष्टाचार नियन्त्रण र सुशासनको सुनिश्चितता रहेको दोहोर्‍याएका थिए । ‘चुनाव चाहिएको छ, गर्नुपर्छ । तर, चुनाव चुनाव भनेर मात्र हुँदैन । हाम्रो आन्दोलनको मुख्य माग सुशासन र भ्रष्टाचारविरुद्धको कारबाही हो । यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ,’ जेनजी प्रतिनिधिहरूले भनेका थिए । जेनजीका तर्फबाट रक्षा बम, जेम्स कार्की, दिवाकर दंगाल, पुरुषोत्तम यादव, मिराज ढुंगाना, अमीत खनाल ऊर्जा, रिजन रानामगर, सामना घर्ती, मोनिका निरौला, उपार्जुन चाम्लिङ, खेम साउद, भोजविक्रम थापा (सहिद परिवार प्रतिनिधि), अभिषेक श्रेष्ठ (घाइते प्रतिनिधि), विवेक ढकाल र सागर ढकालले बोलेका थिए ।

सञ्चारमन्त्री खरेलकाअनुसार जेन–जीका प्रतिनिधिले सुशासनको प्रत्याभूति मुख्य माग भएकाले चुनाव सँगसँगै अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका थिए । उनले भने ‘जेन–जी प्रतिनिधिले जसरी आन्दोलन भयो र आन्दोलनमा जे जस्ता माग उठेका छन्, त्यसको सुनुवाइ हुनुपर्छ, मुलुकमा सुशासन हुनुपर्छ, भ्रष्टाचारको अन्त्य हुनुपर्छ भन्नु भएको छ । साथै उहाँहरूले चुनावको समेत समर्थन गर्नुभएको छ । ‘राजनीतिक दलहरूलाई अझै बढी जिम्मेवार बन्नुपर्छ भन्ने कुरा गर्नुभएको छ ।’

बालुवाटारमा जेनजीसहित त्रिपक्षीय वार्ता सुरु

काठमाडौं । सरकार, राजनीतिक दल र जेनजीहरूबीच वार्ता सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

प्रतिनिधि सभा निर्वाचनको वातावरणका लागि सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्तासँग वार्ता गर्न लागेको हो ।

जसलाई सरकारले त्रिपक्षीय वार्ता पनि भनेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलो पटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच संयुक्त बैठक आयोजना भएको जानकारी गराएका छन् ।

यसअघि ४ कात्तिकमा सरकार र राजनीतिक दलहरूबीच छलफल भएको थियो ।

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने गरी सबैपक्ष सकारात्मक भएका थिए ।

यसबीचमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थिए । लामो समयपछिको औपचारिक राजनीतिक संवादले निर्वाचन वातावरण तयार गर्ने अपेक्षा सरकारको छ ।

संसद्का पदाधिकारी र सदस्यको स्वकीय सचिवालयमा दरबन्दी घटाउने सरकारको निर्णय

काठमाडौं । सरकारले संसद्का पदाधिकारी र सदस्यको स्वकीय सचिवालयमा दरबन्दी घटाउने सरकारको निर्णय गरेको छ ।

बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।

उनका अनुसार, संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ हो अनुसूची २ मा हेरफेर गर्ने निर्णय भएको हो ।

‘संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ हो अनुसूची २ मा हेरफेर गर्ने निर्णय भएको छ,’ मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै उनले भने, ‘स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय भएको हो ।’

त्यस्तै, सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने निर्णय पनि गरेको छ ।

अशोक दर्जी अभिनित ‘मनबिनाको धन’को ट्रेलर सार्वजनिक

काठमाडौं । बालगायक अशोक दर्जीको जीवन कथामा आधारित फिल्म ‘मनबिनाको धन’को मर्मस्पर्शी ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । सडकको किनारमा गीत गाउने सानो बालक, हातमा पुरानो माइकको सपना र आँखाभरि भविष्यको खोजी, यही कथा अब पर्दामा आउँदैछ ।

साँच्चै भन्नुपर्दा, यो केवल एउटा फिल्म होइन, बालगायक अशोक दर्जीको जीवन–यात्रा हो जो कहिल्यै हराइरहेको आवाजबाट देशको हृदयभित्र गुञ्जिन पुगेको छ ।

३ मिनेट १३ सेकेन्ड लामो ‘मनबिनाको धन’ को ट्रेलरले दर्शकको मन छोएको छ । ट्रेलरको सुरुमा सडकमा गीत गाउँदै बटुवासँग पैसा माग्ने सानो बालकको दृश्य देखाइएको छ । त्यसपछि कथा मोडिन्छ एउटा मनकारी व्यक्ति उनलाई हात थाम्छ, पढ्न सिकाउँछ र गायनको बाटोमा अघि बढ्न प्रेरित गर्छ । उनको गायन करिअरलाई पनि मलजल गर्छन् । समयको क्रममा उनले करिअरसँगै सांगीतिक सफलता पाउँछन् ।

यसबाहेक, काठमाडौंमा बसोबास गर्ने भुइँमान्छे र मध्यमवर्गीय पात्रको संघर्ष, सपना र पैसाका लागि विदेशिन बाध्य हुने पात्रको यथार्थ पनि देखाइएको छ ।

चर्चित संगीतकार समेत रहेका टङ्क बुढाथोकीको यो डेब्यू निर्देशकीय फिचर हो । उनकै कथा र संगीत निर्देशन समेत रहेको यो फिल्मको ट्रेलर कथावस्तुबारे संक्षिप्तरुपमा प्रकाश पारेको छ ।

अशोक दर्जीले आफूलाई सडकको संघर्षबाट उठाएर ‘हिरो’ बनाउने अवसर प्रदान गर्ने सम्पूर्ण दर्शक, समर्थक र शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरे। “आज म जहाँ छु, यो सबै दाइ टंक बुढाथोकिको माया र सहयोगकै कारण सम्भव भएको हो” भावुक हुँदै उनले भने ।

फिल्ममा सरोज खनाल, नीता ढुंगाना, बुद्धि तामाङ, सन्तोष पन्त, भोलाराज सापकोटा लगायतको अभिनय छ । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् । निर्माताले फिल्मलाई ‘हिरोदेखि जिरोसम्मको कथा’ भएको बताएका छन् ।

‘मनबिनाको धन’ फिल्म २१ कात्तिकदेखि प्रदर्शनको तयारीमा रहेको छ ।

राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदिश खरेलका अनुसार, माघ ११ गते आइतबार निर्वाचनको मिति तोक्ने निर्णय भएको जानकारी गराए ।

बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

२०७६ सालको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुनबाट सकिनेछ । १९ जना मध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । बाँकी १८ पदका लागि निर्वाचन हुनेछ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनमा पद रिक्त हुनु भन्दा ३५ दिन अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ । २० फागुनमा राष्ट्रिय सभा सदस्यको पदावधि सकिन्छ । त्यसको ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

खोज्नुहोस