यातायात व्यवस्था विभागको सर्भर आंशिक चल्यो, अब नवीकरण र ‘भेरिफिकेसन’ हुने

काठमाडौं । यातायात व्यवस्था विभागको सर्भर आंशिक चलेको छ ।

विभागका अनुसार आइतबारदेखि ईडीएलभीआरएस सर्भर सञ्चालनमा आएको छ । अब लाइसेन्स नवीकरण तथा लाइसेन्स ‘भेरिफिकेसन’ सेवा सुचारु भएको विभागले जनाएको छ ।

अन्य सेवा भने applydlnew.dotm.gov.np वेबसाइट सञ्चालनमा आएपछि मात्र सुचारु हुने समेत विभागले जनाएको छ ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा विभागमा ठूलो क्षति भएको थियो । त्यसपछि लाइसेन्स सेवा अवरुद्ध भएको थियोे ।

युवा कार्यकर्ताले कांग्रेस केन्द्रीय कार्यालयमा लगाए ताला

काठमाडौं । नियमित महाधिवेशनको समय सार्वजनिक गर्न माग गर्दै युवा कार्यकर्ताले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल गेटमा तालाबन्दी गरेका छन् ।

नियमित महाधिवेशनको माग राखेर उनीहरूले पार्टी कार्यालयको मूल गेटमा तालाबन्दी गरेका हुन् ।

उनीहरूले महाधिवेशनमा युवा प्रतिनिधित्वको सुनिश्चितता गर्न माग गरेका छन् ।

पार्टी अनिर्णियको बन्दी भएको भन्दै छिटो निर्णय गर्नका लागि युवाहरूले तालाबन्दीपछि प्रदर्शन समेत गरेका छन् ।

२८ असोजदेखि सुरु भएको केन्द्रीय समितिको बैठक पटक-पटक स्थगित हुँदै आएको छ ।

शुक्रबारका लागि बैठक डाकिएको थियो । तर बस्दै नबसी बैठक आजका लागि सारिएको थियो । तर आजको बैठक पनि नबसी मंगलबारका लागि सारिएको छ ।

केन्द्रीय समितिको बैठक फेरि स्थगित गरिएपछि कार्यालयमा ताला लगाउनु परेको विरोधमा सहभागी विद्यार्थी नेता भुवन भट्टले जानकारी गराए ।

प्रधान सेनापतिद्वारा दर्ज्यानीचिन्ह प्रदान

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी हिम्मतबहादुर बिष्ट र सहायक रथी विष्णुकुमार खड्कालाई जङ्गी अड्डामा आयोजित आज आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रधान सेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका पाँचजना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति हुनुभएका रथीवृन्द तथा अधिकृतका परिवारजनको उपस्थिति थियो ।

निजी अस्पताल र नर्सिङ संघबीच २३ बुँदे सहमति

 काठमाडौं । सरकारी सरह तलब सुविधासहितका विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका नर्स र निजी अस्पताल प्रतिनिधिबीच सहमति भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार बेलुका २३ बुँदे सहमति भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार स्वास्थ्य मन्त्रालयमा नर्सहरूको माग सम्बोधन गर्न भएको वार्तामा सहमति भएको हो ।

‘निजी अस्पताल र नर्सिङ संघका दुवैले राखेको मागलाई समेटेर २३ बुँदे सहमति भएको छ । स्वास्थ्य मन्त्रालयले समवन्य मात्रै गरेको हो,’ डा. बुढाथोकीले भने, ‘नर्सिङको समस्या समधानलाई बनेको गठित कार्यदल एक महिनाभित्र प्रतिवेदन बुझाउने गरी सहमति भएको छ ।’

नर्सलाई पाँचौं तह अनुसारको तलब दिने सहमति भएको उनले जानकारी दिए ।

डा. बुढाथोकीका अनुसार निजी मेडिकल कलेजहरु र ठूला निजी अस्पतालले कात्तिक महिनादेखि नै पूर्ण रूपमा सरकारी पाँचौं तह अर्थात ३४,७३० रुपैयाँ तलब दिने सहमति भएको छ ।

अन्य निजी अस्पतालहरूले भने हाललाई २७ हजार ७८४ तलब दिने र एक महिनाभित्र अस्पतालको वर्णीकरण गर्दै सरकारी सरह नै पुर्‍याउने सहमति भएको डा. बुढाथोकीले बताए ।

तर सहमतिमा पाँचौं तह सरह नै सेवा सुविधा नभएको भन्दै कार्यदलका सहभागी नर्स ज्योति रानाभाटले भने सहमतिपत्रमा हस्ताक्षर गर्न अस्वीरकार गरेकी छिन् ।

‘४ खण्डमा २३ वटा बुँदा सहमति भएको छ । अहिले त्यो सहमति पत्र बाहिर ल्याएको छैनौं,’ डा. बुढाथोकीले भने, ‘ कार्यदलमा हुनेभएको एक सदस्यले हस्ताक्षर गर्न मान्नुभएको छैन ।’

डा. बुढाथोकीका अनुसार कार्यदलको समयमा अझै एक महिना थप गर्दै अस्पतालको वर्गीकरण लगायतको काम हुनेछ ।

शनिबार बेलुकासम्म बसेको बैठकमा स्वास्थ्य मन्त्री डा. सुधा शर्मा, सचिव डा. विकास देवकोटा, कार्यदल संयोजक डा. श्रीकृष्ण श्रेष्ठ, प्रवक्ता डा. प्रकाश बुढाथोकी, नर्सिङ संघका अध्यक्ष र महासचिव, तथा निजी मेडिकल कलेज र अस्पतालका प्रतिनिधिहरू उपस्थित थिए ।

‘कार्यदलले प्रतिवेदन पेस गरेपछि बाँकी अस्पतालहरूले पनि सरकारी मापदण्डअनुसार पूर्ण तलब दिनेछन्,’ प्रवक्ता बुढाथोकीले भने ।

भारत र अस्ट्रेलियाबीचको तेस्रो टी–२० खेल आज

काठमाण्डौ – भारत र अस्ट्रेलियाबीचको तेस्रो टी–२० खेल आज हुँदैछ । खेल होबर्टमा नेपाली समयअनुसार दिउँसो २ बजे शुरु हुनेछ ।

अस्ति शुक्रवार भएको दोश्रो खेलमा घरेलु टोली अस्ट्रेलियाले भारतलाई चार विकेटले हराएको थियो । पाँच खेलको टी–२० शृङ्खलामा अस्ट्रेलिया १–० ले अगाडि छ ।

पहिलो खेल वर्षाका कारण नतिजाविहीन बनेको थियो । चौथो खेल आउँदो बिहिवार र पाँचौ तथा अन्तिम खेल शनिवार हुनेछ ।

मेक्सिकोको सुपरमार्केट विस्फोटमा २३ जनाको निधन

मेक्सिकोको उत्तरी भागमा रहेको एक सुपरमार्केटमा शनिबार भएको भीषण विस्फोटमा कम्तीमा २३ जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार विस्फोटका कारण सम्भवतः त्रुटिपूर्ण विद्युतीय ट्रान्सफर्मर रहेको प्राथमिक अनुसन्धानले देखाएको छ ।

सोनोरा राज्यका गभर्नर अल्फोन्सो दुराजोले भिडियो सन्देशमार्फत भने, ‘दुःखको कुरा, धेरै पीडितहरू नाबालिग रहेका छन्, घाइतेहरूलाई हर्मोसिलो शहरका अस्पतालमा उपचारका लागि लगिएको छ ।’

गभर्नर दुराजोले घटनाको वास्तविक कारण पत्ता लगाउन तथा जिम्मेवार व्यक्तिहरूको पहिचानका लागि विस्तृत र पारदर्शी अनुसन्धानको आदेश दिएका छन् । अभियोजक कार्यालयले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘घटना आकस्मिक भएको प्रारम्भिक धारणा छ र अनुसन्धान पसलभित्र रहेको ट्रान्सफर्मरमाथि केन्द्रित गरिएको छ ।’

विस्फोट शहरको केन्द्रमा रहेको ‘वाल्डो’ सुपरमार्केटमा दिउँसो करिब २ बजेतिर (२००० जिएमटी) भएको थियो । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार विस्फोटपछि पसलभित्र रहेका केही ग्राहकहरू भाग्न नपाई आगोको लप्कामा फसेका थिए । सार्वजनिक भएका तस्बिरहरूमा भवनको अगाडिको भाग कालो देखिएको र झ्यालहरू फुटेका थिए ।

गभर्नर दुराजोले भने, ‘कसैले पनि यो पीडाको सामना एक्लै गर्नुपर्ने छैन । पहिलो क्षणदेखि नै आपतकालीन, सुरक्षा र स्वास्थ्य निकायहरूले उच्च व्यावसायिकता र प्रतिबद्धताका साथ कार्य गरे, परिस्थितिलाई नियन्त्रणमा लिए र धेरै जीवनहरू बचाए ।’

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले सामाजिक सञ्जाल एक्समार्फत मृतकका परिवारजन र प्रियजनप्रति हार्दिक समवेदना प्रकट गरे । उनले भने, ‘म सोनोराका गभर्नरसँग सम्पर्कमा छु र गृह सचिव रोजा इसेला रोड्रिगेजलाई प्रभावित परिवार र घाइतेहरूलाई सहयोगका लागि सहायता टोली पठाउन निर्देशन दिएकी छु ।’

स्थानीय अधिकारीहरूले नागरिकहरूलाई विस्फोट क्षेत्रबाट टाढा रहन आग्रह गरेका छन् । सो अवसरमा आयोजना हुन लागेको मृतकको दिन (डे अफ द डेड) सम्बन्धी उत्सव पनि स्थगित गरिएको छ ।

अखबार एल युनिभर्सलका अनुसार नजिकका व्यवसायहरूले आगो फैलिन नदिन आफ्ना ढोका बन्द गरेका थिए । अनुसन्धानकर्ताहरूले भवनमा प्रवेश अनुमति पाएपछि घटनाको ठ्याक्कै कारण पत्ता लाग्ने अपेक्षा गरिएको छ ।

पुरुष फुटबल टिमको सहायक प्रशिक्षकमा साहुखल र घिमिरे नियुक्त

काठमाडौं । बालगोपाल साहुखल र चेतनकुमार घिमिरे नेपाली पुरुष राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार दुवैलाई नियुक्तिपत्र हस्तान्तरण गरेको हो । आसन्न एएफसी एसियन कप छनोटको मलेसियासँग हुने खेलका लागि सहायक प्रशिक्षक नियुक्त गरिएको हो ।

यसअघि अष्ट्रेलियन प्रशिक्षक म्याट रोसले राजीनामा दिएपछि एन्फाले हरि खड्कालाई प्रशिक्षक बनाएको थियो ।

नेपालले नोभेम्बर १८ मा मलेसिया विरुद्ध एसियन कप छनोट खेल खेल्दैछ । त्यसअघि नोभेम्बर १३ मा नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

ढाका बीटीटीएफ–२०२५ : नेपालद्वारा पर्यटकीय गन्तव्यबारे विशेष प्रस्तुति

काठ्माण्डौ- नेपालले बङ्गलादेशको ढाकामा हालै सम्पन्न तीनदिने तेह्रौँ बङ्गलादेश ट्राभल एण्ड टुरिज्म फेयर (बीटीटीएफ) मा पर्यटकीय गन्तव्यबारे विस्तृत विशेष प्रस्तुति गरेको छ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक सुनिल शर्माले नेपालका पर्यटकीय गन्तव्यबारे विस्तृत प्रस्तुति दिँदै नेपाल अनुभवमा आधारित जीवनभर सम्झनलायक गन्तव्य भएको जानकारी गराए। त्यसैगरी, बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले नेपाल–बङ्गलादेशबीचका ऐतिहासिक, सांस्कृतिक र जनजनबीचका सम्बन्ध भएको उल्लेख गर्दै पर्यटन आदानप्रदानलाई अझ सुदृढ बनाउनुपर्ने उल्लेख गरे।

कार्यवाहक निर्देशक शर्माले दिएको जानकारी अनुसार सो अवसरमा टुअर अपरेटर एसोसिएसन अफ बङ्गलादेश (टिओएबी)का अध्यक्ष एमडी रफेउज्जामान र निर्देशक एमडी तस्लिम अमिन (शोभन)ले नेपालबारे चर्चा गर्दै प्राकृतिक र साहसिक गन्तव्य भएको बताए।

कार्यक्रममा ढाकामा रहेका नेपाली विद्यार्थीले लोकसांस्कृतिक प्रस्तुति गरेका थिए। यसले दुई मुलुकबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।

सोही अवसरमा दुईदेशका पर्यटन व्यवसायीबीच ‘बीटुबी’ अन्तर्क्रिया तथा ‘नेटवर्किङ’सत्र पनि भएको थियो। साथै, कार्यक्रमकै क्रममा ‘राफल ड्र’ आयोजना गरी विशेष ‘होलिडे प्याकेज’हरू पनि घोषणा गरिएको थियो। यस कार्यक्रममा एक सयभन्दा बढी बङ्गलादेशी टुर अपरेटरहरूसहित दुवै देशका पर्यटन व्यवसायी र सरोकारवाला सहभागी रहेका कार्यवाहक निर्देशक शर्माले बताए।

बङ्गलादेशको सबैभन्दा ठूलो पर्यटन प्लेटफर्म ‘बीटीटीएफ’ अक्टोबर ३० देखि नोभेम्बर १ सम्म ढाकामा सम्पन्न भएको हो। यसमा नेपाल पर्यटन बोर्ड, नाटा सहित नेपालका १० पर्यटन व्यावसायिक कम्पनीले सहभागिता जनाएका थिए। बोर्डको नेतृत्वमा सहभागी टोलीमा १६ जना टुर अपरेटर, ट्राभल एजेन्सी तथा होटल प्रतिनिधि समावेश थिए। टोलीले साहसिक पर्यटन, प्रकृति, संस्कृति र विशेष विषयका पर्यटन उत्पादन प्रस्तुत गर्दै नेपाललाई बङ्गलादेशी पर्यटकका लागि छोटो दूरीमै पाउने अद्वितीय तथा अर्थपूर्ण गन्तव्यका रूपमा प्रवर्द्धन गरिएको छ।

यस अन्तर्राष्ट्रिय मञ्चले नेपाल पर्यटन बोर्ड र नेपाली पर्यटन व्यवसायीहरूलाई क्षेत्रीय सहकार्य मजबुत पार्न, अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउने र नेपाललाई ‘जीवनभरको अनुभवको गन्तव्य’का रूपमा प्रवर्द्धन गर्न महत्त्वपूर्ण अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

१७५ दिनका लागि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ ।  बैंक तथा वित्तीय संस्थाहरुबाट तत्काल ठुलो मात्रमा कर्जा प्रवाह हुने स्थिति नदेखिएपछि राष्ट्र बैंकले लामो समयका लागि निक्षेप खिच्न थालेको छ ।

पछिल्ला दिनहरूमा बजारमा कर्जाको माग धेरै बढ्न नसक्दा बैंक, वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम थुप्रिरहेको छ । यसैलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले लामोसमयका लागि मौद्रिक उपकरणको प्रयोग गर्न थालेको हो ।

नेपाल राष्ट्र बैंकले आज (आइतवार) ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो ।

गत बुधबार पनि राष्ट्र बैंकले बजारबाट १७५ दिन अवधिको निक्षेप सङ्कलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ उठाएको थियो । त्यसअघि राष्ट्र बैंकले यतिधेरै अवधिका लागि पछिल्ला वर्षहरूमा निक्षेप उठाएको थिएन । बैंकहरुले तत्काल कर्जा प्रवाह गर्ने छाँटकाट नदेखाएपछि राष्ट्र बैंक दीर्घकालीन रूपमै निक्षेप व्यवस्थापनमा लागेको यसबाट प्रस्ट देखिएको छ ।

अहिले कुल निक्षेप ७४ खर्ब भन्दा बढी पुगेको छ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप सङ्कलन उपकरणको सावाँ तथा ब्याज  २०८३ वैशाख १३ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

खासगरी केन्द्रीय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप सङ्कलन उपकरण प्रयोग गर्नसक्ने व्यवस्था छ ।

यही व्यवस्था टेकेर केन्द्रीय बैंकले पटकपटक निक्षेप सङ्कलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । आइतबारको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप सङ्कलन रकम बाँडफाँट गर्दा काउन्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।

कात्तिक २३ र २४ गते सुदूरपश्चिम रोयल्सले ‘ट्यालेन्ट हन्ट’ गर्ने

धनगढी । नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सले आगामी कार्तिक २३ र २४ गते धनगढीमा ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ । ट्यालेन्ट हन्ट धनगढीस्थित धनगढी क्रिकेट एकेडेमी (डीसीए)मा सञ्चालन हुनेछ ।

ट्यालेन्ट हन्टमा सहभागी हुन कात्तिक १९ गतेसम्म खेलाडीले दर्ता गरिसक्नुपर्नेछ ।

एनपीएलको साविक उपविजेता टोली सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको तयारीका लागि आजबाट प्रशिक्षण पनि सुरु गरेको छ ।

दोस्रो संस्करणको एनपीएल आगामी मंसिर १ गते देखि २७ गतेसम्म आयोजना हुने तय भएको छ ।

सुदूरपश्चिम रोयल्सको टोली :
दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन ।

मुख्य प्रशिक्षक : जगत टमटा ।

प्रधानमन्त्री सातै प्रदेशका मुख्यमन्त्रीसहित बैठक बस्दै

काठमाडौं १६ कात्तिक। प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक आह्वान गरेकी छन् । बैठक आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ ।

बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई निम्तो दिइएको छ ।

आजदेखि मौसम खुल्दै जाने

काठमाडौं १६ कात्तिक  । पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव बलियो भएकाले बदली जारी रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा केही बदली भए पनि बाँकी भूभागमा भने मौसम आज मुख्यतया सफा रहने विभागले जनाएको छ ।

बङ्गालको खाडीबाट उठेको ‘मोन्था’ चक्रवातका कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गएको छ ।

चक्रवातको प्रभाव कमजोर हुँदै गएपछि आजदेखि मौसममा थप सुधार हुने मौसमविद्हरुको पूर्वानुमान छ । तर,  केही स्थानमा भने आज पनि वर्षाको सम्भावना कायमै छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

धनगढीमा सामाजिक अभियन्ता राजु सिंह खड्काको आमरण अनशन

धनगढी : देश विदेशी ऋणबाट समाप्त हुने भन्दै सामाजिक अभियन्ता राजु सिंह खड्काले धनगढीमा आमरण अनशन सुरु गरेका छन्। भिमदत्त नगरपालिका–५, कञ्चनपुरका ६७ वर्षीय खड्काले आज दिउँसोदेखि धनगढी उपमहानगरपालिका–१ स्थित पार्क मोड, जेन जी मार्ग नजिकै सत्याग्रह धर्ना तथा आमरण अनशन सुरु गरेका छन् ।

‘यो देश ऋणमै डुब्ने अवस्थामा पुगेको छ। विदेशी ऋणबाट होइन, आफ्नै स्रोतसाधन जुटाएर देश चलाउनुपर्छ,’ खड्काले ब्यानरमा लेखेका छन् । उनले धोस्त भएका संरचना पुनर्निर्माण र निर्वाचनका लागि विदेशी ऋण नलिन, सम्पत्ति शुद्धिकरणमार्फत भ्रष्टाचारिहरुको सम्पत्ति राष्ट्रियकरण गर्न र नेपालभित्रैबाट चन्दा संकलन गरी संरचना निर्माण तथा निर्वाचन सम्पन्न गर्न माग गरेका छन्।

उनले देशमा शिक्षा, स्वास्थ्य, रोजगार र शान्ति सुशासन कायम गर्न माग गर्दै नेपाल सरकार र सम्पूर्ण नेपाली जनताको ध्यानाकर्षण गराएका छन्। सातै प्रदेशमा यसरी नै सत्याग्रह गर्ने योजनाअनुसार खड्काले यसअघि कञ्चनपुरमा कात्तिक १२ देखि १४ गतेसम्म तीन दिनको अनशन बसेका थिए। त्यसपछि कैलालीमा कात्तिक १५ देखि १७ गतेसम्म तीन दिनको धर्ना तथा आमरण अनशन बस्ने र त्यसपश्चात कर्णाली प्रदेशमा जाने कार्यक्रम रहेको उनले बताएका छन्।
अनशनका क्रममा उनले सोही स्थानमै बस्ने र सुत्ने योजना बनाएका छन्।

एमालेमा फर्कन कुनै आपत्ति छैन, ढोका राम्रोसँग खोल्नुपर्छ : झलनाथ खनाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीलाई एकीकृत बनाइने बताएका छन्।

शनिबार काठमाडौंमा आफू निकट नेताहरूको भेलामा सहभागी हुन पुग्नु भएका नेता खनालले पार्टीलाई पुनर्गठन÷गठन गरेर एकीकृत बनाइने बताएका हुन्। पार्टीलाई सिंगो बनाउन अहिले टुक्रा भएको उनले बताए।

खनालले उचित वातावरण बनाए एमालेमा फर्कन कुनै आपत्ति नरहेको जिकिर गरे। केपी शर्मा ओलीले घर फर्क भनेर मात्रै नहुने भन्दै खनालले ढोका राम्रोसँग खोल्नुपर्ने र बस्ने ठाउँ राम्रो बनाउनुपर्ने उल्लेख गरे।

उनले कम्युनिस्ट आन्दोलनलाई व्यापक एकतामा पुर्‍याउनका लागि आफूहरू छलफलमा जुटेको धारणा राखे।

एकै दिनमा २९ अर्ब डलर गुमाएपछि अर्बपतिहरूको सूचीमा दुई स्थान तल झरे मार्क जुकरबर्ग

काठमाडौँ । मेटाका सीईओ मार्क जुकरबर्ग एकै दिनमा २९.२ अर्ब डलर गुमाएपछि विश्वका अर्बपतिहरूको सूचीमा दुई स्थान तल झरेका छन् । बिहीबार मेटाको स्टक ११ प्रतिशतले घटेपछि जुकरबर्गलाई ठुलो घाटा लागेको हो ।

जुकरबर्ग ब्लुमबर्ग अर्बपति सूचकाङ्कमा तेस्रो स्थानबाट पाँचौँ स्थानमा धकेलिएका छन् । ४१ वर्षीय सीईओ जुकरबर्गको कूल सम्पत्ति २३५.२ अर्ब अमेरिकी डलरमा झरेको छ । जुन उनका लागि विगत दुई वर्षमा सबैभन्दा तल्लो वरीयता हो ।

यो गिरावट ब्लुमबर्गको सम्पत्ति सूचकाङ्कले रेकर्ड गरेको अहिलेसम्मकै चौथो ठुलो एक-दिने बजार सञ्चालित घाटा हो । मेटाको एआईमा खर्चको लागि ३० अर्ब डलरको नयाँ ऋण जारी गर्ने योजनाबाट लगानीकर्ताहरू पछि हटेपछि यो क्षति भएको ब्लुमबर्गले जनाएको छ ।

मेटाको ३० अर्ब डलरको बन्ड बिक्री एआई, डेटा सेन्टरहरू र मेटाभर्स परियोजनाहरूमा खर्च बढाउनको लागि अघि सारिएको थियो ।

जुकरबर्गलाई यो गिरावटपछि अमेजनका संस्थापक जेफ बेजोस र गुगलका सह-संस्थापक ल्यारी पेजले उछिनेका छन् । बेजोस र पेज दुवैलाई उनीहरूको कम्पनीको शेयर मूल्य बढाउने बलियो आम्दानीबाट फाइदा भएको छ ।

अमेजनको क्लाउड-कम्प्युटिङ एकाइमा अप्रिलदेखि शेयर ३० प्रतिशतभन्दा बढीले बढेको छ । अल्फाबेटको स्टक २.५% ले बढ्यो, किनभने कम्पनीले क्लाउड र एआई सेवाहरूको मागबाट प्रेरित भएर तेस्रो त्रैमासिक आम्दानी अपेक्षाभन्दा राम्रो गरेको थियो ।

यद्यपि टेस्लाका सीईओ एलन मस्क अर्बपतिहरूको वरीयतामा सहजै शीर्ष स्थानमा छन् । त्यसपछि ओरेकलका सह-संस्थापक ल्यारी एलिसन रहेका छन् । यो बजार मन्दी जुकरबर्गका लागि तीव्र परिवर्तनको रूपमा आएको छ, जो यस वर्षको सुरुमा बेजोस र मस्कसँग विश्वव्यापी सम्पत्ति वरीयतामा नजिक पुग्दै थिए ।

अमेरिकालाई नेपालले दियो २७२ रनको लक्ष्य

काठमाडौं : आइसिसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृङ्खलाको तेस्रो खेलमा नेपालले अमेरिकालाई जितको लागि २७२ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।

दुबईको आइसिसी एकेडेमी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९.५ ओभरमा अलआउट हुँदै २७१ रन बनाएको हो।

नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ७५ रन बनाए। उनले ६७ बलमा २ चौका र ३ छक्का प्रहार गरे।

ओपनर ब्याटर कुशल भुर्तेलले ४७ रन बनाउँदा अर्का ओपनर आसिफ शेख २ रनमै बोल्ड आउट भए।

तेस्रो क्रममा आएका भीम सार्कीले ४३ र कप्तान रोहित पौडेलले ३६ रन बनाए। करण केसीले महत्त्वपूर्ण ४९ रनको इनिङ्सले नेपाललाई २७० को आँकडा भेटाउन सहयोग गर्‍यो। सन्दीप लामिछाने ४ रनमा जित रहँदा ललित राजवंशी १ रनमा रनआउट भए।

अमेरिकाको लागि हर्रमित सिंहले सर्वाधिक ३ विकेट लिए। सौरभ नेत्रवल्कर र नोस्तुस केन्जीगीले समान २-२ विकेट लिए। जसदीप सिंह र शुभम रञ्जनेले१-१ विकेट लिए।

नेपालले जारी श्रृङ्खलाको पहिलो खेलमा अमेरिकासँग १०६ रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपाल युएईसँग ५ विकेटले पराजित भयो।

जाडो छल्न आउन थाले हिउँदे आगन्तुक चरा

धनगढी । उत्तरी ध्रुवको चिसो छल्न हिउँदे आगन्तुक चरा कैलाली, कञ्चनपुरमा रहेका सिमसारमा आउन थालेका छन् । जाडो याममा त्यहाँको भन्दा यहाँ तुलनात्मक रुपमा बढी तापक्रम हुनेगरेका कारण साइबेरिया, मंगोलिया, रसियालगायतका देशबाट हिउँदे आगन्तुक जलपन्छी आउन थालेका हुन् ।

कैलालीको घोडाघोडी, कर्णाली नदीको तल्लो तटीय क्षेत्र, जाखोर ताल, कोइलही ताललगायतका सिमसारमा विभिन्न प्रजातिका हिउँदे आगन्तुक जलपन्छी पुगिसकेका छन् ।  यसैगरी कञ्चनपुरको बेलौरीस्थित पुरैनी ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको विभिन्न तालहरुमा जाडो छल्नका लागि हिउँदे आगन्तुक चरा आइपुगेको चराविद हिरुलाल डङ्गौराले जानकारी दिए।

उनका अनुसार उत्तरीध्रुवमा अत्यधिक हिउँ परेर खान, बस्नको समस्या हुनेगरेका कारण हिउँदे आगन्तुक चरा जाडो याममा यहाँको सिमसारमा आउनेगरेका छन् । जाडो याममा मालक हाँस, हरियो टाउके हाँस, कालीजुरे हाँस, श्वेताँखीभौं, सुइरेपुच्छ्रे हाँस, खरखरे हाँस, कल हाँस, सुनजुरे हाँस ठुलो जलेवा, चखेवा लगायतका आगन्तुक चरा नेपालका सिमसारमा आउने गरेका छन् ।

“चिसो हुन थालेपछि अक्टोबर सुरुबाट आगन्तुक चरा यहाँका सिमसार क्षेत्रहरुमा आइ पुगेका छन्” डङ्गौराले भने, “अबको झन्डै छ–सात यतै बसाइँ हुनेछ ।” आगन्तुक चरा आएपछि सिमसारमा रौनक थपिएको छ । विभिन्न प्रजातिका चराको आवाजले नदीनाला तथा तालतलैया गुल्जार बनेका छन् ।

यहाँ आएका चराहरु मार्च, अप्रिलतिर पुनः आफ्नो थातथलोतिर फर्कने गरेका छन् । हिउँद याममा हरेक वर्ष आगन्तुक जलपन्छीको गणना हुने गर्दछ ।

कञ्चनपुरमा बस दुर्घटना, एक जनाको मृत्यु

कञ्चनपुर । काठमाडौँबाट महेन्द्रनगरतर्फ आइरहेको यात्रुवाहक बस आज बिहान यहाँ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ना७ख ६१८२ नम्बरको बस कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना हुँदा कृष्णपुर नगरपालिका–१ बण्ड का ४२ वर्षीय बलबहादुर बोहराको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका बोहराको उपचारका क्रममा वाणी अस्पतालमा मृत्यु भएको हो । बसमा पाँच जना मात्र सवार थिए । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बेलायती राजकुमार एन्ड्रुको उपाधि खोसियो, दुई छोरीको यथावत्

बेलायत । बेलायतका राजकुमार एन्ड्रुको आफ्नो ‘राजकुमार’ उपाधि खोसिएको छ। बकिङ्गम प्यालेसले बिहीबार बेलुका एक विज्ञप्ति जारी गर्दै राजा चाल्र्सका भाइ अब एन्ड्रु माउन्टब्याटन विन्ड्जर नामले मात्रै चिनिने जनाएको छ।

एक नाबालिगलाई यौन व्यवसायमा लगाउन खोजेको आरोपमा दोषी ठहर भएका जेफ्री एप्स्टीनसँग घनिष्ठता भएको देखिएपछि छानबिनमा परेका उनले राजकीय आवास ‘रोयल लज’ पनि छाड्नुपर्ने भएको छ।

उनको निजी जीवनबारे अनेकौँ प्रश्न उठेपछि एन्ड्रुले ’ड्यूक अफ योर्क’सहितका अन्य राजकीय उपाधिहरू यसअघि नै परित्याग गरेका थिए ।

यही महिनाको आरम्भमा प्रकाशित संस्मरणमूलक पुस्तकमा भर्जिनिया जूफ्रेले आफूले किशोरावस्थामा राजकुमार एन्ड्रुसँग तीन पटक यौन सम्बन्ध राखेको दाबी दोहोर्याए । उक्त पुस्तक मरणोपरान्त प्रकाशित भएको हो। एन्ड्रुले उक्त आरोप सधैँ खण्डन गर्दै आएका छन् ।

अहिले विकसित घटनाक्रमबारे प्रतिक्रिया व्यक्त गर्दै जूफ्रेको परिवारले उनले ‘आफ्नो सत्य र असाधारण आँटका कारण बेलायतका राजकुमारलाई उपाधिविहीन बनाएको’ बताएको छ ।  जूफ्रेले यसै वर्षको आरम्भमा आत्महत्या गरेका थिए ।

–औपचारिक प्रक्रिया शुरू–

राजाबाट ‘राजकुमार एन्ड्रुका राजकीय पद, उपाधि र सम्मानहरू हटाउने औपचारिक प्रक्रिया’ सुरु भएको राजदरबारले जनाएको छ। उनको राजकीय उपाधिसँगै राजकीय आवास ‘छोड्नका लागि औपचारिक सूचना पनि दिइएको’ दरबारले जनाएको छ।

उनी राजा चाल्र्सले किनिदिएको ठानिएको सान्ड्रिङ्गम इस्टेटस्थित निजी आवासमा सर्नेछन् । एन्ड्रुले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका भए पनि यस्ता कारबाही आवश्यक भएको राजदरबारले जनाएको छ ।

राजदरबारले ‘सबै प्रकारका दुव्र्यवहारका’ पीडितमाथि आफ्नो साथ रहने जनाएको छ।  एन्ड्रुका दुई छोरी यूजनी र बीट्रिसको राजकुमारी उपाधि यथावत् रहने छ।

जूफ्रेको संस्मरणमा यौन दुव्र्यवहारको आरोप प्रकाशित भएपछि राजकुमारको जेफ्री एप्स्टीनसँगको सम्बन्धको विषय पुनः बहसको विषय बनेको थियो।

एन्ड्रुले जूफ्रेसँग दुव्र्यवहार गरेको आरोप अस्वीकार गर्दै आएका थिए । एन्ड्रुले एप्स्टीनसँग आफ्नो सम्बन्ध पहिल्यै अन्त्य भएको दाबी गरेका थिए । सन् २०११ का इमेलहरू फेरि बाहिरिएपछि उनी एप्स्टीनसँग सम्पर्कमा रहेको पुष्टि आधार बनेको थियो ।

 

अमेरिकाविरुद्ध नेपालको ब्याटिङ सुरु, आसिफ शेख आउट

काठमाडौँ। आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत  यूएईमा जारी एकदिवसीय शृङ्खलामा अमेरिकाविरुद्धको खेलमा नेपाललाई सुरुआतमै झट्का लागेको छ।

दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो विकेटका रुपमा आसिफ शेख आउट भएका छन्। उनलाई दोस्रो ओभरको दोस्रो बलमा नोस्तुस केन्जिजले बोल्ड गरे।

आजको खेलमा नेपालले सोमपाल कामीको स्थानमा नन्दन यादवलाई  मौका दिएको छ। जारी शुङ्खलामा नेपालले खेलेका दुवै खेलमा पराजित भएको छ। नेपाल पहिलो खेलमा  अमेरिकासँग १०६ रन र दोस्रो खेलमा यूएईसँग पाच विकेटले पराजित भएको थियो।

नेपालको प्लेइङ–११ मा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की,  आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने, नन्दन यादव र ललित राजवंशी छन्।

https://nepalnews.com/2025/11/01/nepal-starts-batting-against-usa-asif-sheikh-out/

सूचना तथा प्रसारण विभागबाटै अनलाइन दर्ता र नवीकरण सुरु

काठमाडौँ। सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागबाटै सुरु गरेको छ ।

छापाखाना र प्रकाशनसम्बन्धी (दोस्रो संशोधन_ नियमावली स्वीकृत गर्दै सरकारले विभागबाटै अनलाइन न्यूज पोर्टल दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार सूचना तथा प्रसारण विभागबाट गर्ने व्यवस्था मिलाएको हो ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त नियमावली स्वीकृत गरेपछि आज नेपाल राजपत्रमा प्रकाशित भएको छ । विभागले आजै सूचना प्रकाशित गरेर अनलाइन सञ्चारमाध्यम सञ्चालनसम्बन्धी दर्ता र नवीकरण सुरु भएको जनाएको छ ।

विभागका महानिर्देशक उदयबहादुर राना मगरले छापाखाना र प्रशासनसम्बन्धी संशोधित नियमावली राजपत्रमा प्रकाशित भएसँगै विभागले आजैबाट अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण प्रक्रिया सुरु गरेको जानकारी दिए।

उनका अनुसार यसअघि ऐनले स्थानीय अधिकारी तोकेकामा प्रमुख जिल्ला अधिकारीमार्फत गनुपर्ने व्यवस्था रहेकामा व्यवस्था बमोजिम विभागको महानिर्देशकलाई स्थानीय अधिकारी तोकिएको छ । सोहीअनुसार छापाखाना तथा प्रकाशन दोस्रो संशोधन भएसँगै विभागबाटै दर्ता र नवीकरण हुने भएको हो ।

योसँगै लामो सयमदेखि दर्ता र नवीकरण रोकिएका अनलाइन सञ्चारमाध्यमलाई सहज भएको छ । अनलाइनमार्फत नै दर्ता र नवीकरण गर्न सकिने र प्रमाणपत्र लिनुपरेमा विभागमा भौतिक रुपमा उपस्थित हुनुपर्ने विभागले उल्लेख गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको विशेष सक्रियतामा अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणलाई विभागबाटै हुनेगरी सहजीकरण गरिएको हो । नेपाल राजपत्रमा विसं २०८२ कात्तिक १३ मा प्रकाशित सूचनाअनुसार नेपाल सरकारले छापाखाना र प्रकाशनसम्बन्धी दोस्रो संशोधन नियमावली, २०८२ जारी गरेको छ । उक्त नियमावलीमा अनलाइन सञ्चारमाध्यम दर्ता तथा सञ्चालनसम्बन्धी व्यवस्था गरिएको छ ।

अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणका लागि विभागको सूचना व्यवस्थापन प्रणालीमा लगइन गरी आवेदन दिन सकिनेछ ।

ऐनको दफा ७ (ख) बमोजिम अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न चाहने संस्थाले त्यस्तो सञ्चारमाध्यम दर्ता गर्नका लागि रु पाँच हजार दस्तुरसहित अनुसूची ८ (क) बमोजिमको ढाँचामा स्थानीय अधिकारीसमक्ष निवेदन दिनुुपर्नेछ ।

यस्तै अनलाइन सञ्चारमाध्यमको प्रमाणपत्र नवीकरण गराउन चाहने संस्थाले प्रमाणपत्र बहाल रहने अवधि भुक्तान नहुँदै रु दुई हजार ५०० दस्तुरसहित आवश्यक कागजपत्रका साथ नवीकरणका लागि निवदेन दिनुपर्नेछ ।

नेपाल राजपत्रमा गत साउन ४ गते प्रकाशित छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ को संशोधनअनुसार दफा ७ मा (ख) थप गरी अनलाइन सञ्चारमाध्यम दर्ता गर्न दस्तुर लिने व्यवस्था छ । सञ्चारमन्त्री खरेलले दस्तुरका सम्बन्धमा आजै कानुनी रायसमेत लिएको र नियमावलीमा व्यवस्था भएको दस्तुर घटाउनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।

अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणका लागि आवश्यकपर्ने कागजातका लागि विभागको वेबसाइटमा राखिएको छापाखाना र प्रकाशनसम्बन्धी दोस्रो संशोधन नियमावली, २०८२ मा भएको व्यवस्था, तथा सोही व्यवस्थाका आधारमा तयार पारिएको चेक लिस्टबाट जानकारी लिन पनि विभागले अनुरोध गरेको छ ।

छापाखाना र प्रकाशनसम्बन्धी नियमावली, २०४९ लाई संशोधन गरी छापाखाना र प्रवकाशनसम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२ जारी भएको हो । छापाखाना र प्रकाशन सम्बन्धी ऐन, २०४८ को दफा ३९ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियम बनाएको छ । यस नियमावली बमोजिम दर्ता नभई अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न पाइने छैन ।

अनलाइन दर्ताका लागि निवेदन दिन आवश्यक संलग्न कागजात संस्था दर्ता प्रणाणपत्रको प्रतिलिपि, अनलाइन पत्रिका, ई–म्यागजिन, न्युजपेपर, न्युजपोर्टल सञ्चालन गर्ने उद्देश्य उल्लेख भएको प्रवन्धपत्र तथा नियमावली वा संस्थापनसँग सम्बिन्धत कागजातको प्रतिलिपि समावेश गर्नुपर्ने छ ।

प्रचलित कानुनबमोजिम दर्ता भई सञ्चालमा रहेका पत्रपत्रिका, टेलिभिजन, रेडियो र एफएम रेडियोले अनलाइन सञ्चारमाध्यम दर्ता गर्न चाहेमा आफ्नो नामको डोमेनबाट मात्र अनलाइन सञ्चारमाध्यम दर्ता गर्नु पर्नेछ ।

अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्ने संस्थाको सम्पादकसहित कम्तीमा तीनजना कर्मचारीको दरबन्दी हुनु पर्नेछ र एउटै व्यक्ति एकभन्दा बढी अनलाइन सञ्चारमाध्यमको सम्पादक हुन पाउने छैन ।

यो नियम प्रारम्भ हुनुअघि दर्ता भई सञ्चालनमा रहेका अनलाइन सञ्चारमाध्यम यस नियमबमोजिम पुनःदर्ता हुनुपर्ने छैन । नियमबमोजिम जारी भएको अनलाइन सञ्चारमाध्यमको प्रमाणपत्रको बहाल अवधि एक आर्थिक वर्षको हुनेछ ।

अनलाइन सञ्चारमाध्यममा प्रकाशित सामग्री सुरक्षित राख्नु अनलाइन सञ्चारमाध्यम सञ्चालकको दायित्व हुनेछ । सम्बन्धित अनलाइन सञ्चारमाध्यमले प्रयोगकर्ताको डाटाको गोपनीयतासम्बन्धी नीति प्रकाशन गर्नुपर्ने नियमावलीमा उल्लेख गरिएको छ ।

 

खड्कालाई पुरुष फुटबल टिमको प्रशिक्षण जिम्मेवारी

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको प्रशिक्षण जिम्मेवारी पूर्वखेलाडीसमेत रहेका हरि खड्काले पाएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार खड्कालाई प्रशिक्षकको जिम्मेवारी सुम्पिएको जनाएको हो ।

एन्फाका महासचिव किरण राईले खड्कालाई नियुक्ति पत्र प्रदान गरेका हुन् । खड्का एन्फाका प्राविधिक निर्देशकसमेत हुन् ।

खड्काले यसअघि २०७५ सालमा नेपाली महिला टिमको प्रशिक्षण जिम्मेवारीसमेत सम्हालेका थिए । खड्का नेपाली राष्ट्रिय टिमबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडीसमेत हुन् । उनले राष्ट्रिय टिमबाट कुल १३ गोल गरेका छन् ।

खड्कासँगै निराजन रायमाझी र अञ्जन विष्टले पनि समान १३ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

यसअघि नेपाली टिमका मुख्य प्रशिक्षक रहेका अस्ट्रेलियन प्रशिक्षक म्याट रोसले राजीनामा दिएपछि यो जिम्मेवारी रिक्त बनेको थियो । रोसले नेपाली टिमको प्रशिक्षण सम्हालेको सात खेलपछि नै राजीनामा बुझाएका हुन् ।

नेपाल र बंगलादेशले फिफा मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं : नेपाली पुरुष राष्ट्रिय फुटबल टिमले आगामी नोभेम्बर १३ मा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। यो मैत्रीपूर्ण खेल बंगलादेशमा हुनेछ । उक्त खेल नेपाली समय अनुसार ७ः४५ मा हुने बताइएको छ।

आगामी एएफसी एसियन कप छनोटको तयारीका रुपमा बंगलादेशले नेपालसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। बंगलादेशले नोभेम्बर १८ मा भारतसँग एएफसी एसियन कप छनोटको खेल खेल्नेछ।

नेपालले पनि नोभेम्बर १८ मा मलेसियासँग खेल्ने तालिका रहेको छ। दुवै टोलीले भदौमा दशरथ रंगशालामा पनि मैत्रीपूर्ण खेल खेलेका थिए। जुन खेल गोलरहित बराबरीमा सकिएको थियो।

दोस्रो खेल भने जेनजी आन्दोलनका कारण अवरुद्ध भएको थियो।

एन्फाका वरिष्ठ उपाध्यक्ष खड्का निलम्बित

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का निलम्बित भएका छन्। शुक्रबार बसेको एन्फा आकस्मिक भर्चुअल बैठकले वरिष्ठ उपाध्यक्ष खड्कालाई निलम्बित गरिएको हो।

उनलाई एन्फा कार्यसमितिले अनुशासन विपरीत काम गरेको भन्दै निलम्बन गरेको छ। उनले कार्यवाहक अध्यक्षको रूपमा गरिएको कामहरू एन्फाको अनुशासन दायरा बाहिर भएको भन्दै निलम्बन गरिएको हो।

खड्का आगामी साधारण सभासम्मको लागि निलम्बनमा परेको एन्फाले जानकारी दिएको छ।

निजी क्षेत्रमाथिको आक्रमण राष्ट्रिय सम्पत्तिमाथिको आक्रमण हो – अर्थमन्त्री खनाल

अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथिको आक्रमणलाई राष्ट्रिय सम्पत्तिमाथिको आक्रमण भएको बताएका छन्।

‘क्यापासिटी बिल्डिङ फर फिमेल इकोनोमिक जर्नालिस्ट’ कार्यक्रममा उनले निजी क्षेत्रले बनाएको भौतिक सम्पत्ति राष्ट्रकै भएको बताउँदै त्यसमाथिको आक्रमणले लगानी वातावरण बिगार्ने बताए ।

खनालले सञ्चारमाध्यमलाई ‘सम्पत्ति’ र ‘स्वामित्व’बीचको भिन्नता बुझेर समाचार सम्प्रेषण गर्न आग्रह गरे। एनसेलको उदाहरण दिँदै उनले स्वामित्व परिवर्तन हुँदा पनि कम्पनीले सिर्जना गरेको सम्पत्ति देशमै रहने बताए। ‘स्वामित्वमा गल्ती हुन सक्छ, तर सम्पत्तिमाथि क्षति पुर्याउन नहुने,’ उनले भने।

उनका अनुसार विदेशी लगानीलाई ‘लुटपाट’ भन्ने धारणा फैलिँदा लगानीकर्ताको विश्वास घट्ने र आर्थिक वातावरण कमजोर हुने खतरा छ।

खगेन्द्र सुनारको गुनासो- मेरो चरित्र हत्या गर्ने काम भयो

काठमाडौं– दलित अभियन्ता खगेन्द्र सुनारले आफ्नो चरित्र हत्या गर्ने काम भएको गुनासो गरेका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सुनारले आफ्नो मन्त्री बन्ने लिस्टमा नाम आएपछि नभएका कुराहरू लेखेर आफूलाई बदनाम गराएको गुनासो गरेका हुन् ।

सुनारले जाजरकोटका नवराज विकको सामूहिक हत्या र बझाङ्की सम्झना कार्मीको सामूहिक बलात्कार भएजस्तै मिडियाबाट आफ्नो सामूहिक हत्या भएको बताए ।

आफू मन्त्रीको दौडमा हिजो पनि नरहेको र आज र भोलि पनि नरहने भन्दै सञ्चारमाध्यमबाटै मन्त्री बन्ने खबर पाएको उनले बताए । उनले आफू अहिले पनि प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको पक्षमा रहेको पनि उल्लेख गरे ।

आफूमाथि लागेको आरोप पुष्टि भएको खण्डमा हत्कडी लगाएर लैजान उनले आग्रह गरे । उनले आफूमाथि भएको प्रहारले आफूलाई अझ बलियो र दह्रो बनाएको बताए ।

निर्वाचनमाको विकल्प छैन, नत्र देश अँध्यारो सुरुङमा फस्छ : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारमार्फत नै निर्वाचनमा जानुको विकल्प नरहेको जिकिर गरेकका छन् ।

भट्टराईले तोकिएकै समयमा मुलुकमा निर्वाचन नभए देश डरलाग्दो सुरुङमा फस्ने चेतावनी दिँदै यही संविधानमा टेकेर दलहले छिटो निर्वाचन गराउने दिशामा अघि बढ्नुपर्ने बताए ।

वर्तमान कार्की नेतृत्वको अन्तरिम सरकारमा भएका कमजोरी हटाएर मुलुकलाई निर्वाचन सम्पन्न गराउनेतिर अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

‘अब निर्वाचनमा त हामीले जसरी पनि गर्नुपर्छ । कथमकदाचित निर्वाचन भएन भने डरलाग्दो अँध्यारो सुरुङमा देश फस्छ । त्यसैले हामी सबैले सहयोग गरेर यो अन्तरिम सरकार, यो सुशीला कार्की नेतृत्वको जुन सरकार छ,’ उनले भने, ‘यसका अपूर्णता, कमी, कमजोरी छन् भने यसलाई सच्याउन लगाऔं । तर यसैमार्फत नै छिटो चुनाव गराउनेतिर नै हामी जानुपर्छ ।’

भट्टराईले नेपालको वर्तमान संविधानलाई आधार बनाएर मुलुकमा रास्वपालगायतका वैकल्पिक राजनीतिक दलहरूले अघि बढ्दा नै उपयुक्त  हुने समेत बताए ।

‘त्यसका निम्ति जुन हाम्रा अलगअलग दलह छन् । अलग अगल दल पनि चुनावमा जान सकिन्छ । रास्वपाका साथीहलाई हामी एक्लै जान सकि हाल्छौ भन्ने आधार पनि छन् त,’ भट्टराईले भनेका छन् ।

भट्टराईले मुलुकलाई भ्रष्टाचारबाट मुक्त गराउनका लागि सम्बन्धित निकायहरूलाई बलियो बनाएर अघि बढन उपयुक्त पनि स्पष्ट पारे ।

ओली र लेखकसहितको राहदानी रोक्का र स्थान हदविरुद्ध लिखित जवाफ माग

काठमाडौँ। सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलगायतको राहदानी रोक्का र काठमाडौँ उपत्यका बाहिर जान नपाउने गरी स्थान हदका सम्बन्धमा १५ दिनभित्र लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आज उक्त विषयमा परेको रिट निवेदनमा प्रारम्भिक सुनुवाइपछि कारण देखाउ जारी गर्दै सरकारसँग लिखित जवाफ माग गरेको हो ।

अधिवक्ता डा प्रेमराज सिलवालद्वारा यही कात्तिक १२ गते दायर गर्नुभएको थियो । रिट निवेदनमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलगायतमाथि गैरकानुनी कार्य, आदेश र पत्रहरू खारेज गरी संवैधानिक र कानुनी अधिकारको संरक्षण गर्न अन्तरिम आदेशको माग गरिएको थियो, तर अन्तरिम आदेश भने जारी भएन ।

गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्न दिएको सिफारिसबमोजिम सरकारले स्थान हद तोक्ने र राहदानी रोक्का गर्ने निर्णय गरेको थियो ।

आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहित तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन मुख्य निर्देशक हुतराज थापा र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको राहदानी रोक्का गर्न सिफारिस गरेको थियो ।

खोज्नुहोस