मधेश प्रदेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नै पार्टी जनमतले प्रपञ्च रचेको र सरकारमा सहभागी दलहरूले बचन फेरेको आरोप लगाउँदै राजीनामा दिएका छन् । मधेश प्रदेश सभामा मंगलबार विश्वासको  मतका लागि प्रस्ताव पेस गर्नुअघि उनले सभालाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

‘म सत्ता र पदक‍ा लागि होइन, जनताका लागि काम गर्न चाहन्छु । जनताको हित र संविधानको रक्षाका लागि यहाँ उभिएको छु,’ उनले भने, ‘वर्तमान परिस्थितिमा मार्ग प्रशस्त गर्दै म मुख्यमन्त्रीको पदबाट राजीनामा गर्दछु ।’

प्रदेशसभामा अल्पमतमा परेपछि मुख्यमन्त्री सिंहले विश्वासको मत नलिँदै राजीनामा दिएका हुन् । सभामुख रामचन्द्र मण्डलले उनलाई विश्वासको मत नलिएको हुनाले प्रदेश प्रमुखसमक्ष लिखित राजीनामा दिन निर्देशन दिएका छन् ।

नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ को नियम १४३ को उपनियम (४) बमोजिम राजीनामाको घोषणा गरेकाले अब विश्वासको मतको प्रक्रियामा जानु नपर्ने सभामुखले बताए ।

मुख्यमन्त्रीको पदबाट राजीनामा दिन तयार भए पनि पार्टीले आफूलाई बदनाम गराउन प्रपञ्चमाथि प्रपञ्च रचेको पनि उनको आरोप थियो।

‘राजीनामा दिने तयारी गरिरहँदा आफूलाई एक शब्द नसोधी फिर्ता बोलाएको पत्र सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भयो,’ उनले भने, ‘यो तानाशाही प्रवृत्ति नभए के हो ?’ मनपरी, तानाशाही र कानुनको उल्लंघन गर्दै आफूलाई बदनाम गरिएको पनि उनले बताए । ‘मेरो चरित्र हत्या नै गरियो,’ उनले भने । पार्टीले आफूविरुद्ध मिडिया ट्रायल गरेर गलत भाष्य निर्माण गरेको पनि उनको आरोप थियो ।

सरकारमा सहभागी र प्रतिपक्ष दलका सांसदले नै राजीनामा दिने अवस्था नरहेको हुनाले आफूलाई रोकेको उनले दाबी गरे । ‘अहिले तपाईंको राजीनामाले संघीयतामाथि खतरा आउन सक्छ । तपाईं राजीनामा नदिनुस्, नभए सबै जिम्मा तपाईंले लिनु पर्छ,’ मुख्यमन्त्री सिंहले दलका नेताहरूको कुरा उद्धृत गर्दै भने, ‘यस्तो भन्ने दलहरूले नै पछि बोली फेरे । म त छातीमा हात राखेर उक्त कुरा आत्ममन्थन गर्न आग्रह पनि गर्दछु ।’

कैलालीमा ज्यान मार्ने उद्योगमा संलग्न ११ जना पक्राउ

धनगढी । कैलालीमा ज्यान मार्ने उद्योगमा संलग्न ११ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय  कैलालीका अनुसार असोज २६ गते राति करिब ११:४५ बजे गोदावरी नगरपालिका–४ मा रहेको गगन बडैला सञ्चालित शुभम होटेलमा भएको घटनामा उनीहरू संलग्न रहेको पाइएको हो।

प्रहरीका अनुसार डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ बस्ने ३२ वर्षीय गौरव ऐरमाथि केही अपरिचित व्यक्तिहरूले धारिलो हतियारले प्रहार गरी घाइते बनाएका थिए। हतियारको प्रहारबाट ऐरको हातको औँला काटिएको र टाउको तथा घाटीमा चोट लागेको प्रहरीले जनाएको छ।

घाइते ऐरलाई प्रारम्भिक उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल लगिएको थियो। त्यहाँ उपचारपछि थप उपचारका लागि भारतको रुद्रपुरस्थित मेडिसिटी अस्पतालमा रिफर गरिएको प्रहरीले बताएको छ।

घटनामा संलग्न भएको आशंकामा खोजतलास गर्न जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी टोली खटिएको थियो । टोलीले असोज २८ गते बिहान करिब २ बजे नेपाल–भारत सिमानामा पर्ने धनगढी त्रिनगर भन्सार नजिकैबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा धनगढी -२ का  सन्नी भन्ने २९ वर्षीय भिम नेपाली, १८ वर्षीय अनुपम सिंह, १८ वर्षीय मुस्कान सिंह, २० वर्षीय बबिन सिंह, २६ वर्षीय गोपाल भट्ट, १८ वर्षीय प्रिन्स सिंह, धनगढी-३ का १८ वर्षीय बिशाल बोहरा, कञ्चनपुरको कृष्णपुर – ९ का २३ वर्षीय किरण महरा, २६ वर्षीय गोबिन्द बलायर, कञ्चनपुरको पुर्नवास –१० का ३२ वर्षीय दिनेश बिक र ३२ वर्षीय अनिल बिक रहेका छन् ।

 

जेन-जी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भए देउवा दम्पती

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी श्रीमती तथा पार्टी केन्द्रीय सदस्य आरजु राणा देउवा सानेपा पुगेका छन्। कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन उनीहरू पार्टीको केन्द्रीय कार्यालय सानेपा पुगेका हुन्।

आजको केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले सम्बोधन गर्ने कार्यक्रम छ।

बैठकमा सहभागी हुन पुगेका सभापति देउवालाई स्वास्थ्य अवस्था कस्तो छ भनी पत्रकारले सोध्दा उनले ‘ठिक छ, ठिक छ’ भन्दै जवाफ फर्काएका छन्।

जेन-जी आन्दोलनका क्रममा गत २४ भदौमा देउवा निवासमा भएको आक्रमणपछि उनीहरू पहिलोपटक आज सार्वजनिक भएका हुन्।

 

प्रतिनिधिसभा पुन:स्थापनाको माग गर्दै सर्वोच्चमा १० थान रिट पेस

काठमाडौँ : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा धमाधम रिट पेस गर्ने क्रम जारी छ । कानुन व्यवसायीहरूले हालसम्म १० वटा रिट दर्ताका लागि पेस भएको बताएका छन् ।

आज बिहानदेखि अधिवक्ता प्रेमराज सिलवाल, अधिवक्ता कृतिनाथ शर्मा पौडेल, युवराज सफल पौडेल, विपना शर्मा र आयुष बडाल तथा मकबुल मियाँ लगायतले ती रिट सर्वोच्चमा पुर्‍याएका हुन् ।

रिटमा प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको दाबी गरिएको छ ।

असंवैधानिक रूपमा नियुक्त प्रधानमन्त्रीबाट भएका सबै निर्णयहरू बदर गर्न रिटमा माग गरिएको छ भने प्रधानमन्त्री र सरकारले गरेका निर्णयहरूको कार्यान्वयन रोक्न अन्तरिम आदेश जारी गर्न पनि माग गरिएको छ ।

सर्वोच्च अदालतले आजदेखि रिटसहित नयाँ मुद्दा दर्ता गर्न सुरु गरेसँगै प्रतिनिधि सभा विघटनविरुद्ध रिट पुगेको हो । भदौ २४ गते जेन–जी प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी खण्डहर भएको छ ।

विपिनको घरमा दिनभरि सुनसान, साँझपख रुवाबासी

कञ्चनपुर  : कञ्चनपुरको भीमदत्त नगरपालिका–३, मालिकार्जुन टोलमा रहेको विपिन जोशीको घरमा पुग्दा सोमबार अपराह्न च्यानल गेटमा ताल्चा लागेको थियो । गेटछेउमै विपिनकी ठूलीआमा नन्दा जोशी बसेकी थिइन् । उनी विपिनका बुबा महानन्दलाई भेट्न आएकी थिइन् । महानन्द भने बिहानै घरमा ताल्चा लगाएर भीमदत्त नगरपालिका–१ बारकुन्डामा आफन्तको घर गएका थिए ।

फलफूलका पोकासहित च्यानल गेट नजिकै बसेकी ठूलीआमालाई लैजान विपिनका दाइ (ठूलोबुबाका छोरा) किशोर जोशी घरमा पुगे । उनको मोबाइलमा एकपछि अर्को गरी लगातार फोन आइरहेको थियो । आफन्तदेखि सञ्चारकर्मी सबैले विपिनको अवस्थाबारे जानकारी खोजिरहेका थिए ।

घरमा पुग्ने अधिकांशले विपिनका बुबा महानन्दलाई खोजिरहेका थिए । किशोरले काका श्राद्धमा गएको र अहिले धेरै कुरा गर्दा अप्ठेरो हुने भनिरहेका थिए । बिहान भएको फोनबारे पनि उनले काकालाई जानकारी नगराएको बताए । महानन्दसँग भेट्न खोज्ने सञ्चारकर्मीलाई पनि किशोरले अप्ठेरो हुने भन्दै टारिरहेका थिए ।

इजरायल र हमासबीच युद्धविरामको समाचार सुन्नेबित्तिकै विपिनका बुबा महानन्द निकै उत्साहित देखिन्थे । युद्धविरामसँगै बन्दीहरू रिहाइ हुने खबर सुनेदेखि निकै आशावादी रहेका उनी छोरालाई देख्न पाउनेमा आशावादी थिए । ‘यो दुई वर्षमा हाम्रा लागि एक/एक पल निकै संघर्षपूर्ण रह्यो,’ दुई दिनअघि महानन्दले भनेका थिए, ‘हामीले एक/एक दिन गन्ती गरेका छौं, त्यो निकै पीडादायी छ ।’

उनी सोमबार छोराको रिहाइ हुने दिनको व्यग्र प्रतीक्षामा थिए । तर सोमबार जब बन्दी रिहाइको समय आयो, बिहानसम्म हमासले रिहाइ गर्ने २० जनामा विपिनको नाम परेन । यसले जोशी परिवारमा अन्योल बढ्यो । साँझपख विपिनको शव हस्तान्तरण गर्न लागिएको जानकारी घरमा आयो । त्यतिबेला भने सबै आशा सकियो । जोशी परिवारको दुई वर्षदेखिको प्रतीक्षा पीडादायी बनेर आयो ।

‘अब त पत्याउनै पर्‍यो, हाम्रो भाग्यमा यस्तै लेखेको रहेछ,’ किशोरले भने, ‘साँझपख इजरायलबाटै फोन आएको थियो, त्यही बेला शव हस्तान्तरण भइरहेको र त्यसमा विपिनको नाम पनि रहेको छ भन्ने खबर आएको छ ।’ अहिले विपिनको घरमा आफन्तहरू आउन थालेका छन् । बुबा महानन्द भने अहिले कसैसँग पनि कुरा गर्न सकिरहेका छैनन् ।

यसअघि सोमबार बिहान इजरायली सेनाका प्रतिनिधिले किशोरसँगै अमेरिकामा रहेकी विपिनकी बहिनी पुष्पा र इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितसँग पनि भिडियो कलमा कुरा गरेका थिए । त्यतिबेला भने रिहाइ हुने नामावलीमा विपिनको नाम नभएको जानकारी गराएको किशोरले बताए ।

‘यसरी विगतमा पनि भिडियो कलमार्फत कुरा हुने गरेको थियो,’ जोशीले भने, ‘आज पनि त्यसरी नै कुरा भएको हो, विगतमा पनि इजरायली प्रधानमन्त्रीको सचिवालयबाट बन्दीसम्बन्धी मामिला हेर्ने कर्मचारी र सेनाका प्रतिनिधिले फोन गरेका थिए ।’

‘यत्तिका दिनसम्म विपिन आउँछ भन्ने आशामै थियौं, अहिले आएर यस्तो खबर आयो,’ विपिनकी छिमेकीसमेत रहेकी भीमदत्त नगरपालिका–३ की वडा सदस्य मीना ठगुन्नाले भनिन्, ‘उनको परिवार मात्रै होइन, हामीलाई पनि अत्यन्तै पीडा भइरहेको छ ।’ उनले विपिनलाई सानैदेखि चिन्थिन् । सानैदेखि साहसी र केही गर्छु भन्ने एक खालको आँट विपिनमा देखेको उनले बताइन् । सोमबार दिनभरि घरबाहिर रहेका विपिनका बुबा महानन्द पनि घरमा आएका छन् ।

तिहारमा भाइटीकाको उत्तम साइत बिहान ११ : ३९ बजे

काठमाडौँ  : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ : ३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए।

कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा देवमणि भट्टराईले जानकारी दिए। ‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन,’ उनले भने।

यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । कात्तिक २ गते आइतबार काग तिहार परेको छ । यसै दिन धनवन्तरी जयन्ती पर्व पनि मनाइन्छ ।

कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । यसै दिन साँझ दीपमालिका गरिन्छ । कात्तिक ३ गते सोमबार दिउँसो ०२ : ५२ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत् रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ ।

सायकालमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ । औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ४ गते मङ्गलबार बिहान गर्नुपर्नेछ । कात्तिक ४ गते दिउँसो ०४ः२९ बजेसम्म औँशी तिथि रहेको समितिले जनाएको छ ।

गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ५ गते बुधबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । कात्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्म (म्ह) पूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ । आत्म (म्ह) पूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ । समितिले स्वीकृति दिने तीन पात्रो (पञ्चाङ्ग) नेवार समुदायका पञ्चाङ्गकारले प्रकाशन गर्ने गरेका छन् । सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशी नेवार समुदायकै पञ्चाङ्गकारले पनि कात्तिक ५ गते नै आत्म (म्ह) पूजा गर्ने विषय आफ्ना पञ्चाङ्ग (पात्रो) मा उल्लेख गरेका छन्।

यसै दिन यस वर्ष नेपाल संवत् अनुसार नयाँ वर्ष मनाउनुपर्ने समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार यस्तो निर्णय गरिएको अध्यक्ष ढकालले बताए। यसै दिनदेखि नेपाल संवत् ११४६ सुरु हुन्छ ।

शास्त्रीय विधिअनुसार भाइपूजा र नेवारी भाषामा भनिने किजापूजा पनि कात्तिक ६ गते बिहीबार मनाइनेछ । मङ्सिर २ गते बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि छ । शास्त्रीय वचन अनुसार मध्याह्नकालमा नै भाइटीका लगाइन्छ । शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुवैलाई बुझाउँछ । भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै दाजुभाईलाई टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ ।

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक भनिने तिहार पर्व मनाइन्छ । यस पर्वमा कात्तिक कृष्ण त्रयोदशीको साँझदेखि कात्तिक शुक्ल द्वितीयाको साँझसम्म यमदीपदान गरिन्छ । यमदीपदान परिवारको सङ्ख्याका आधारमा नाम उच्चारण गरेर गरिन्छ । यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

काग र कुकुरलाई पनि यमदूतका रूपमा मीठा परिकार खान दिएर खुसी बनाउने वैदिक परम्परा छ । जसले यमलोकमा सहयोग गर्ने विश्वास गरिन्छ ।

चाडपर्व भत्ता नपाएपछि सेती प्रादेशिक अस्पतालका करार कर्मचारी आन्दोलित

 धनगढी । चाडपर्व, पोशाक र महँगी भत्ता नपाएपछि धनगढीको सेती प्रादेशिक अस्पतालका करार सेवाका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । करारमा कार्यरत १५० भन्दा बढी कर्मचारीले विगत वर्षहरूमा जस्तै यस वर्ष भत्ता नपाएको भन्दै हिजो सामाजिक विकास मन्त्रालयको मूल गेटमा प्रदर्शन गरेका हुन ।

कर्मचारीहरूले असोज ६ गतेदेखि नै भत्ता भुक्तानीका लागि माग गर्दै आएका थिए । तर, अस्पताल र मन्त्रालय बिचको जिम्मेवारी स्पष्ट नभएकाले समस्या उत्पन्न भएको अस्पतालले जनाएको छ ।  सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेले करार सेवाका कर्मचारीलाई भत्ता दिन समस्या उत्पन्न भएको स्पष्ट पार्दै भने, ‘मन्त्रालयले १२ महिनाको तलब बाहेक छुट्टै भत्ता रकम उपलब्ध गराएन । महालेखा परीक्षकको प्रतिवेदनमा पनि करार सम्झौतामा भत्ता उल्लेख नभएकाले अस्पतालको कोषबाट वितरण गर्न नपाइने भनेको छ ।’

उनका अनुसार, अस्पताल प्रशासनमा कर्मचारीहरूको मागप्रति नीतिगत प्रष्टता नहुँदा भत्ता वितरणमा समस्या शिजृना भएको हो । सोमबार दिउसो भत्ता भुक्तानीको माग गर्दै कर्मचारीहरूले मन्त्रालयमा ध्यानाकर्षण पत्रसमेत बुझाएका छन् । यता अस्पताल प्रशासनले पनि मन्त्रालयले करार सेवाका कर्मचारीलाई नियुक्त गरेकाले भत्ता सम्बन्धी समस्या पनि मन्त्रालय नै सुल्झाउनु पर्ने बताएको छ ।

आन्दोलनरत कर्मचारीहरूले अस्पतालको सेवा भने अवरुद्ध गरेका छैनन् । ड्युटी बाहेकको समयमा आफूहरू प्रदर्शन गर्न गएको कर्मचारीहरूले बताएका छन् ।यद्यपि माग सम्बोधन नभए आगामी दिनमा सेवा नै ठप्प पार्ने चेतावनी उनीहरूले दिएका छन् । मेडिकल सुपरिन्टेन्डेन्ट डा, पाण्डेले  पनि करार कर्मचारीहरूले माग सम्बोधन गराउन सेवा अवरुद्ध नगरेको बताए । ‘सेवा अवरुद्ध गर्ने भए प्रशासनलाई जानकारी गराउन भनेका छौ । तर उहाँहरू आफ्नो ड्युटी पुरा गरिरहनु भएको छ ।’ उनले कर्मचारीका माग पुरा हुनु पर्ने बताए ।

अस्पताल प्रशासनले यही विषयमा एक महिना अघि मन्त्रालयलाई पत्र पठाएको थियो । तर समस्या समाधान भएन । अर्को पत्र हिजो पनि पठाएको अस्पतालले जनाएको छ । यता सामाजिक विकास मन्त्रालयले पनि कर्मचारी मागप्रति मन्त्रालय सकारात्मक रहेको जनाएको छ ।

मन्त्रालय सूचना अधिकारी जयदेव महराले करार कर्मचारी माग छिटै पुरा हुने बताए । ‘कार्यविधि बनिसकेको छ । त्यो अनुसार अर्थ मन्त्रालयबाट बजेट माग गरेर कर्मचारीका माग पुरा गर्छौ । मन्त्री ज्यु बाहिर हुनुहुन्छ । केही दिन लाग्न सक्छ ।’

तिहारका लागि मादल बनाउन भ्याइनभ्याइ

कञ्चनपुर,  असोज २८ गते ।  तिहार नजिकिँएसँगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ का रेशम वादीको मादल बनाउने काममा व्यस्तता बढेको छ । अन्य समयमा घरेलु जुत्ता उद्योग सञ्चालन गरेर जीविकोपार्जन गर्ने उहाँले दसैँ, तिहारको समयमा मादल बनाउने गर्छन ।

नेपाली सांस्कृतिक चाडपर्वमा विशेष स्थान ओगटेको मादल देउसीभैलो, नाचगान र सांस्कृतिक कार्यक्रमको प्रमुख बाजा भएकाले तिहार नजिकिँदै गर्दा मादलको माग बढेको वादीले बताए । “दसैँ र तिहारको समयमा मादल बनाउने माग बढी आउने गरेको छ, विशेषगरी तिहारको समयमा मादलको बिक्री हुन्छ”, उनले भने, “तिहारका मागअनुसार मादल पु¥याउन पनि सकिँदैन ।” तिहारमा मादल बिक्रीबाट रु ४० हजारसम्म आम्दानी हुने गरेको उनले उल्लेख गर ।

केही वर्षअघिसम्म तीजमा पनि मादलको माग बढी आउने गरेको भए पनि पछिल्लो समय आधुनिक प्रविधिको बढ्दो प्रयोगले तीजमा मादल बिक्री हुन छोडेको वादीले बताए । “दुई–तीन वर्षअघिसम्म तीजमा मादलको माग उच्च थियो, अहिले तिहारमा मात्रै खोजी हुन्छ”, उनले भने, “मादल बनाएको सानो र ठूलोको दुई हजारदेखि १२ हजारसम्म बिक्री हुन्छ ।”

 कच्चा पदार्थ नपाउँदा समस्या

वाद्यवादनका सामग्री बनाउनु वादी समुदायको पुख्र्यौली पेसा हो । पछिल्लो समय वाद्यवादनका सामग्री बनाउन कच्चापदार्थ पाउन कठिन भएपछि पेसा नै सङ्कटमा पर्न थालेको दोधारा चाँदनी–३ का वादीले जानकारी दिनुभयो । “बाजेबुबाले वाद्यवादनका सामग्री बनाएर जीविकोपार्जन गर्नुभयो, अहिले कच्चापदार्थ रूपमा आवश्यक पर्ने छाला र काठ ९खमारी० नपाउँदा समस्या हुन्छ”, उनले भने ।

मादलमा बाख्राको छालाको प्रयोग हुने बताउँदै भारतीय छिमेकी सहरमा छाला पाइने भए पनि नाकामा सुरक्षाकर्मीले ल्याउन रोक लगाउने गरेकाले समस्या हुने वादीको अनुभव छ । छाला र खमारी सहज रूपमा नपाइने भएकाले पछिल्लो समय नयाँ मादल बनाउनेभन्दा पनि मादल मर्मतका लागि आउने सेवाग्राही बढी हुने गरेका उनले बताए ।

उनका अनुसार भारतीय बजारमा एउटा छालाको रु एक हजारसम्ममा खरिद गर्न पाइन्छ । “यहाँ छालाका लागि हामीले बाख्रा किन्नुपर्छ त्यो अत्यन्त महँगो हुन्छ, छाला मात्रै पाउँदैन”, उनले भने, “भारतीय सहरमा पाइन्छ सीमानाकामा ल्याउन पाइँदैन ।”

वादी समुदायको मुख्य पेसा मादल, ढोलक र दामाहा बनाएर बिक्रीवितरण गर्नु हो । विभिन्न पर्वमा नाचगान गरेर जीविकोपार्जन गर्ने यो समुदायले बढ्दो आधुनिकतासँगै पुख्र्यौली पेसा सङ्कटमा पर्दै गएको बताउँछन् । रासस

सुनको मूल्य एकैदिन तोलामा आठ हजार १ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । मंगलबार (असोज २८) सुनको मूल्य तोलामा आठ हजार १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ४८ हजार ५०० रुपैयाँ कायम छ । यो मूल्य हालसम्मकै उच्च हो । सोमबार (असोज २७) छापावाल सुन प्रतितोला दुई लाख ४० हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । चाँदीको मूल्य तोलामा ९५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला तीन हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शोकमा रहेको परिवार विपिनको डिएनए रिपोर्टको पखाईमा

धनगढी, २८ असोज । युद्धबिरामको घोषणासंगै ईजरायल र हमासबीच जारी दुई वर्ष लामो युद्ध तत्काललाई स्थगन भएको छ । र, युद्ध विरामसंगै हमासको कब्जामा रहेकाहरु रिहा भईरहदा ईजरायलमा खुशीयाली छाएको छ । र, ईजरायलमा रहेको १७०० भन्दा बढि प्यालेष्ट्राईनी कैदीबन्दीलाई ईजरायल सरकारले मुक्त गर्न थालेको छ ।

युद्धविराम र त्यसलाई पूर्णता दिन ईजरायल र हमासद्धारा थालिएका कब्जामा रहेका र थुनामा रहेका कैदीबन्दीहरुको आदान प्रदानले मध्यपूर्वमा आशाको सञ्चार भईरहदा हमासको कब्जामा रहेका विपिन जोशी जीवित नरहेको खवरले नेपाल भने शोकमा डुबेको छ ।

विपिन जोशीको रिहाईका लागि हमासलाई दवाव दिन अमेरिकामा संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन आएकी आमा पद्मा र बहिनी यतिबेला अमेरिकाको नर्थ क्यारोलिनामा आफन्तको घरमा छन् । यो खवर सुनेर उनीहरु स्तब्ध छन् । बुवा महानन्द जोशी कञ्चनपुरको भीमदत्त नगरपालिका–३ विचपुरी मल्लिकार्जुनटोलस्थित घरमा एक्लै छन् ।

विपिन जीवित नरहेको खवर डढेलो झै फैलिदा महानन्द भने आफन्तको घरमा थिए । यो खवरपछि विपिनका घरमा आफन्तहरु भेट्न आउने क्रम बढेको छ । विचपुरी मल्लिकार्जुनटोल शोकमा डुबेको छ । हमासले विपिन जीवित नरहेको कुरा ईजरायली सेनालाई बताएपनि ईजरायली सरकारले भने विपिनको भनिएको शवको डिएनए परीक्षणको रिपोर्ट कुर्न परिवारजनलाई आग्रह गरेको छु ।

डिएनए रिपोर्ट बाहिर आएपछि मात्र विपिन जीवित रहे नरहेको पुष्टि हुने ईजरायली अधिकारीहरुले परिवारलाई बताएका छन् । विपिन जीवित नरहेको पुष्टि भएपछि शव बुझ्न परिवारजनलाई ईजरायल सरकारले बोलाउने जनाएको छ । ईजरायल कसरी पुगेका थिए विपिन ? सुदूर पश्चिम विश्वविद्यालयको कृषि बिज्ञान संकायको स्नातक तहमा अध्ययनरत विपिन ११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत् कृषि अनुसन्धान तथा कामका सिलसिलामा १७ जना सहपाठीसंगै २०२३ मा ईजरायल पुगेका थिए ।

७ अक्टोबर २०२३ मा गाजापट्टीबाट इजरायल प्रवेश गरेका हमासको अन्धाधुन्ध आक्रमणमा परी १० नेपाली विद्यार्थीसहित करिब १ हजार २ सयको मृत्यु भएको थियो । विपिनसहित २ सय ५१ जनालाई हमासले कब्जामा लिएको थियो । हमासको आक्रमणबाट डोटीको आदर्श गाँउपालिका–८ लामिखालका पदम थापा र शिखरनगरपालिकाको पचनाली–३ का राजन फुलारा र सल्यानको शारदा–३ का प्रवेश भण्डारी बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, धनुषा सापही–६ का आनन्द शाह, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार र कैलाली बौनियाँ–३ का आशीष चौधरीको मृत्यु भएको थियो ।

शव नेपाल ल्याइएर आफन्तलाई बुझाइसकिएको छ। असोज २० गते हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । हमासको आक्रमणबाट सल्यानका विधान सेजवा र दाङका प्रविन डाँगी, कैलालीका धनबहादुर चौधरी र गोरखाका हिमाञ्चल कट्टेल घाईते भए । सकुलस रहेका सल्यानका प्रमोद केसी र कैलालीका बीरेन्द्र चौधरी सहित घाईतेहरुलाई उपचारपछि ईजरायल सरकारले नेपाल फिर्ता ग¥यो भने मृतकहरुको शव परिवारजनलाई बुझायो ।

हमासले कब्जामा लिएका कञ्चनपुरका विपिन जोशीको अवस्था भने खुल्न सकेन् । हमास र ईजरायलबीच युद्ध विरामपछि दुबै पक्षले आफ्नो नियन्त्रणमा रहेका कैदी बन्दी र कब्जामा व्यक्तिहरुलाई रिहा गर्ने क्रम शुरु भएपछि विपिन पनि रिहा हुने आशा गरिएको थियो ।

अन्तिम समयमा हमासले विपिन जोशी जीवित नरहेको बताएपछि परिवारजन गहिरोमा पीडामा परेका छन् । यो खवरले संसारभरी रहेका नेपालीहरु निराश भएका छन् । महानन्द र पद्माका दुई सन्तान थिए । जेठा छोरा विपिन र कान्छी छोरी पुष्पा ।

परिवारको जेठो सन्तान गुमाएपछि बुवा महानन्द र आमा पद्मासंगै बहिनी पुष्पा गहिरो शोकमा छिन् । डिएनए रिपोर्ट कुरीररहेका परिवारजनमा भने विपिन जीवित भेटिने आशा अझै जीवित छ ।

गाजामा अस्ताएको जोशी परिवारको आशाको दियो

खेमराज उपाध्याय
धनगढी, २८ असोज ।

अन्ततः ७३८ औं दिनमा ईजरायलबाट आएको खवरले नेपालीहरुलाई निराश बनायो । हमासद्धारा ७ अक्टोबर २०२३ मा ईजरायलको सीमाबाट अपहरित विपिन जोशी जीवित नरहेको खवरले संसारभरीका नेपालीहरुलाई स्तब्ध बनाएको छ ।

हमासका तर्फबाट ईजरायली सरकारलाई विपिन जोशीको अवस्थाका बारेमा दिईएको जानकारी पत्याउनु बाहेक अर्को बिकल्प परिवारजनसंग छैन् ।विपिनको अपहरणका ७३७ दिनका हरेक पल बुवा महानन्द, आमा पद्मा र बहिनी पुष्पाले छटपटीमा बिताए । विपिनको सकुशल रिहाइका लागि भाकल गरे । सरकारसंग अनुनय गरे । हमाससंग बिन्ति बिसाए । आमा पद्मा र बहिनी पुष्पा ईजरायल पुगिन्, त्यहीबाट पनि विपिनको सकुशल रिहाईका लागि पहल गरिदिन अन्तर्राष्ट्रिय जगतसंग आग्रह गरिन् ।

हमासलाई विपिनको रिहाईका लागि थप दवाव दिन आमा पद्मा र बहिनी पुष्पा संयुक्त राष्ट्रको महासभामा भाग लिन अमेरिका पुगिन् ।

विपिनको अवस्थालाई लिएर बेलाबेलामा आउने नकारात्मक खवरले उनीहरु हतोत्साही हुन्थे । र, फेरि केही दिनमै आउने सकारात्मक खवरले उनीहरु उत्साही हुन्थे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा हमास र ईजरायल सरकारबीच युद्धबिराम भएपछि विपिन फर्किने आशा बलियो भयो । परिवारजन उनी फर्किनेमा आशावादी भए ।

अपहरण गरेयता हमासले विपिनको अवस्था सार्वजनिक गरेको थिएन् । चार दिन अघि विपिनको एउटा भिडिओ सन्देश सार्वजनिक भयो । जुन भिडिओ हमासको नियन्त्रणमा गाजामा रहेका बेला विपिन अपहरण भएको एक महिनापछि (नोभेम्बर २०२३) लिईएको थियो । त्यो भिडिओ सार्वजनिक भएपछि विपिन जीवित रहेको अनुमानमा बल पुग्यो ।

त्यसपछि हमासका तर्फबाट अपहरित ४८ जनाको तस्वीर सार्वजनिक भयो । जसमा विपिनको समेत तस्वीर थियो । यद्दपि त्यसमा मृत व्यक्तिहरुको समेत तस्वीर समावेश थियो । यसैबीच केही अन्तर्राष्ट्रिय मिडियाहरुले विपिन जीवित नरहेको समाचार प्रकाशन गरे । र, त्यसलगत्तै केही भरपर्दा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले विपिन जीवित रहेको समाचार मात्र प्रकाशित गरेनन्, हमासद्धारा रिहा गर्न लागिएका २२ जनाको सूचिमा उनको नाम समेत समावेश गरे ।

जोशी परिवार र आम नेपालीका लागि यो अत्यन्त खुशीको खवर थियो । निराश र हताश परिवार जनमा यो खवर अप्रत्याशित तर अत्यन्त सुखद थियो ।

जव हमासद्धारा अपहरितहरु मुक्त हुदै गए । र, ती मुक्त भएकाहरुमा विपिन देखिएनन्, र त्यहीबीच हमासद्धारा विपिनका बारेमा जे जानकारी ईजरायल सरकारलाई दिईयो, त्यो खवरले परिवारजनलाई अत्यन्त निराश बनायो ।

अनेकौ आशंका र अड्कलका बीच विपिन जीवित हुनसक्ने परिवारजनको आशाको त्यान्द्रो चुडिएयो ।

दाईको रिहाईका लागि अमेरिकामा दवाव सृजना गरिरहेकी बहिनी पुष्पा, छोरा जीवित फर्किने आशामा ७३७ रात अनिदा बिताएका बुवा महानन्द र आमा पद्माले विपिन जीवित नरहेको खवर पत्याउनु बाहेक अर्को बिकल्प रहेन ।

जोशी परिवारको आशाको दियो निभ्यो । बुवाआमाले बुढेसकालको सहारा गुमाए । बहिनी पुष्पाले भरोसा, आड र आँट गुमाईन् ।
बुवा,आमा र बहिनीको ७३७ दिन लामो छटपटी, बेचैनी र अविचलित पर्खाईको दुःखद अन्त्य भएको छ ।

हो, विपिन जीवित रहेनन् । उनी फर्केर आउने छैनन् । सुदूरपश्चिम विश्व विद्यालयमा कृषि विज्ञान संकायको स्नातक तहमा अध्ययनका क्रममा ‘लर्न एण्ड अर्न’ को सपना बोकेर दुई वर्षअघि ईजरायल पुगेका विपिन हमासको आक्रमणमा मारिने ११ औं नेपाली विद्यार्थी भएका छन् । उनीसंगै रहेका १० जना हमासको आक्रमणमा मारिएका थिए । चार जना घाईते भए । दुई जना मात्र सकुशल नेपाल फर्किएका थिए । दुई वर्षदेखि विपिन जीवित फर्किने आशा  सोमवार निराशामा परिणत भयो ।

तर परिवारलाई अझै पत्याउन मुस्किल भईरहेको छ । परिवारजनमा अझै उनी जीवित फर्किने आशा छ ।

हुन त, यी ७३८ दिनमा नेपाल सरकार र नेपाली मिडियाले विपिनलाई कैयौ पटक मृत घोषित ग¥यो, कैयौं पटक जीवित बनायो । आधिकारिक निकायबाटै फैलाईएका यस्ता अफवाह र समाचारले परिवारजनलाई कति पीडा दियो होला, त्यसको हामी कल्पनासम्म गर्न सक्दैनौ ।

विपिन अपहरणमा परेयता परिवारजनका आँखामा आँशु थामिएका थिएनन् । सहनै नसक्ने पीडा र पत्याउनै नसिकने यो खवरले जोशी परिवार शोकाकुल छ ।

योबीचमा भ्यूज बटुल्ने नाममा मान्छेको संवदेना र आँशुको व्यापार गर्ने युट्युव र मिडियाहरुले समेत विपिनलाई समाचारको मसाला मात्र बनाए ।

अभिभावकीय भूमिका निर्वाह गर्नु पर्ने सरकार नै भरपर्दो सूचना संवाहक नबन्दा जोशी परिवारले भोगेको पीडा शब्दमा व्यक्त गर्न सकिदैन् ।

टिओबीको टिसर्ट लगाउने तेन्जेनको पेस्तोल नक्कली, भिडियो पूरानो

काठमाडाैं । ‘टिओबी’को टिसर्ट लगाएर पेस्तोल बोकेकाे भिडियाेपछि विवादमा तानिएका तेन्जिङ दावाको घरबाट नक्कली पेस्तोल बरामद भएकाे छ । काठमाडौंको बौद्ध स्थित दावाको घरबाट उक्त पेस्तोल बरामद गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए ।

नक्कली पेस्ताेलसहित भेटिएका दाबालाई अभद्र व्यवहार सम्बन्धी आरोपमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएकाे छ ।

साथै, उनलाई टिओबी नामक संगठनसँगको सम्बन्धबारे पनि अनुसन्धान थालिएकाे प्रहरीकाे भनाइ छ । उनको ज्याकेटमा लेखिएको ‘टिओबी’ को अर्थ ‘तिब्बतीयन ओरिजनल ब्लड’ रहेको कुरा अधिकारीहरूले बताएका छन्।

सँगै, पेस्ताेलसहित बनाइएकाे उनकाे भिडियाे पुरानाे भएकाे पुष्टि प्रहरीले गरेकाे छ । भिडियोमा तेन्जिङ दावालाई बिजुली बजार पुल मा कालो ड्रेस र टीओबी टिसर्ट लगाएर पेस्तोल कम्मरमा भरेर बाइक चलाउँदा देखिन्छ। प्रहरी अधिकारीहरूले भनेका छन् कि भिडियोको वास्तविकता र सम्बन्धित युवकको पृष्ठभूमिबारे थप अनुसन्धान जारी छ।

तेन्जिङ दावा एक ट्याटु आर्टिस्ट हुन्, जसले केही समय अघि बौद्ध क्षेत्रमा ट्याटु पसल खोलेका थिए। बताइएअनुसार हालका दिनमा भने उनकाे पसल बन्द छ ।

 

मतदाता नामावली दर्ता गर्न युवाको घुइँचो

धनगढी : सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा यतिबेला मतदाता नामावली दर्ता गर्न किशोर तथा युवाहरुको बाक्लो संख्या छ । आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनका लागि निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ताको कार्य भइरहेको छ ।

‘आगामी निर्वाचनमा हामी मतदान गर्न चुकाउँदैनौं,’ प्रदेश निर्वाचन कार्यालय धनगढीमा मतदाता नामावलीमा दर्ता गर्न आएका चार जना युवाहरुको समूहमध्येका धनगढीका २१ वर्षीय विवेक थापाले भने ‘विगतमा चुनाव भनेपछि त्यति वास्ता थिएन । अब त मतदान गर्नै पर्छ ।’

सुदूरपश्चिममा प्रदेश कार्यालयसहित आठ जिल्लामा पनि उत्साहजनक रुपमा मतदाता नामावली दर्ता भइरहेको जानकारी आएको प्रदेश निर्वाचन कार्यालय प्रमुख प्रेमराज भट्टले बताए । ‘मतदाता नामावली दर्ता गराउन आउनेहरुमध्ये अधिकांश युवा उमेर समूहका छन्,’ भट्टले भने ‘दैनिक तीन सयको हाराहारीको संख्यमा नयाँ मतदाता नामावली दर्ता हुने गरेको छ ।’

यसअघि ०७९ मा सम्पन्न संघ तथा प्रदेश तहको निर्वाचनमा सुदूरपश्चिममा कूल १६ लाख ५८ हजार, चार मतदाता संख्या रहेको थियो । त्यसमध्ये महिला मतदाता संख्या आठ लाख ४२ हजार सात सय ७४ र पुरुष मतदाता संख्या ८ लाख १५ हजार दुई सय १२ थियो ।

सुदूरपश्चिममा सबैभन्दा धेरै कैलालीमा पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता थियो । कञ्चनपुरमा तीन लाख दुई हजार पाँच सय नौ, अछाममा एक लाख ५८ हजार ६ सय ५७, बैतडीमा एक लाख ५० हजार एक सय ५६ र डोटीमा एक लाख २४ हजार आठ सय ७० मतदाता थियो । यस्तै, बझाङमा एक लाख २२ हजार तीन सय ७६, डडेल्धुरामा ९१ हजार दुई सय एक, दार्चुलामा ८९ हजार एक सय ५४ र बाजुरामा सबैभन्द्या कम ८३ हजार पाँच सय ६७ मतदाता संख्या थियो ।

आगामी निर्वाचनका लागि मतदाता संख्या बढ्न निर्वाचन कार्यालयको अनुमान छ ।

‘हमासले नभनेसम्म विपिन फर्कने आश मार्दैनौं’

धनगढी। कञ्चनपुरमा रहेको विपिन जोशीका आफन्तले हमास समूहले आधिकारिक पुष्टि नगरेसम्म विपिन फर्कनेमा आफूहरु आशावादी रहेको बताएका छन् ।

इजरायली सेनाले विपिन जीवित रहेको प्रमाण फेला पार्न नसकेको नेपाली राजदूतावासलाई आज जानकारी गराए पनि आफन्तहरु भने त्यसमा विश्वस्त हुन सकेका छैनन् । सबै बन्धक रिहा नहुँदासम्म भाइलाई पर्खिरहने विपिनका दाजु ९ठुलो बुबाको छोरा० किशोर जोशीले बताए ।

“हामी निराश हुनुपर्ने ठाउँ छैन । भाइ फर्कन्छ भन्ने आशा छ” उनले भने, “हमासले केही कुरा भनेकै छैन । भाइको बारेमा हमासले भन्नुपर्छ । हमासले केही नभनेकाले आश मरेको छैन ।” सामाजिक सञ्जाल र सञ्चार माध्यममा थरी–थरीका कुरा सम्प्रेषण गरेर आफूहरुलाई विक्षिप्त बनाउने काम भइरहेको गुनासो आफन्तको छ ।

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको टीकापुर कृषि क्याम्पसमा अन्तिम वर्षको परीक्षा दिएर लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत २०८० भदौ अन्तिम साता विपिनसहित ४९ जना विद्यार्थी इजरायल पुगेका थिए । हमास समूहले २०२३ अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणमा परेर १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए । विपिनलाई भने हमासले बन्दी बनाएर लगेको थियो । उनी २०८० असोेज २० गतेदेखि परिवारको सम्पर्कमा छैनन् ।

श्रीमतीलाई डीभी परेपछि अमेरिका गएका वडाध्यक्षले दिए राजीनामा

कास्की : श्रीमतीलाई डीभी परेपछि अमेरिका गएका कास्कीको मादी गाउँपालिका–१२ का वडाध्यक्ष कृष्णराज दाहालले पदबाट राजीनामा दिएका छन् । उनले गाउँपालिका अध्यक्ष देवीजंग गुरुङलाई असोज १ गते ह्वाट्सएपमार्फत राजीनामा पत्र बुझाएका हुन् । उनको राजीनामा आइतबारको ४९ औं कार्यपालिका बैठकले स्वीकृत गरेको छ ।

आफू नियमित काममा फर्कन सक्ने अवस्था नरहेको भनी दाहालले राजीनामा पत्र पठाएको अध्यक्ष गुरुङले बताए । ‘पहिला म कात्तिक दोस्रो हप्तासम्म आउँछु भन्नुभएको थियो । अहिले म कसै गरेर पनि आउन नसक्ने भएँ भनेर राजीनामा दिनुभएको छ,’ उनले भने ।

राजीनामा स्वीकृत भएको कार्यपालिका बैठकको निर्णय अब निर्वाचन आयोगलाई जानकारी गराउने अध्यक्ष गुरुङले बताए । दाहालले देशभन्दा बाहिर नै रहेको विषय भने पत्रमा खुलाएका छैनन् । उनले आफू वडाभन्दा बाहिर रहेको र उपस्थिति हुन नसक्ने विषय पत्रमा उल्लेख गरेका छन् ।

श्रीमतीलाई डीभी परेपछि २०८१ असारमा वडा सदस्यलाई कार्यवाहक दिएर उनी अमेरिका गएका थिए । केही दिनलाई वडा बाहिर रहने भन्दै उनले महिला वडा सदस्य लक्ष्मी गिरीलाई ०८१ असार १६ मा कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएका थिए । दाहालले परिवारका सदस्य दुर्घटनामा घाइते भएकाले उपचारका लागि एक हप्तालाई काठमाडौं जानुपर्ने कारण देखाएका थिए ।

अमेरिका पुगेपछि उनले दुई महिनामा फर्कने अर्को सन्देश पठाए । पछि फेरि ६ महिनाको समय मागे । एक वर्षमा फर्कने भनेर अन्तिम मौका मागे । एक वर्ष हुँदा पनि उनी फर्किएका थिएनन् । पछिल्लोपटक उनले आफू कात्तिकमा फर्कने सन्देश गाउँपालिका अध्यक्षलाई पठाएका थिए ।

वडाध्यक्ष दाहाल अमेरिका हुँदा पनि उनको नेपालस्थित बैंक खातामा सेवासुविधा दाखिला भएको पाइएको थियो । गाउँपालिकाको कार्यालयले अमेरिका गएपछिको ५ महिनासम्म सात वटा शीर्षकमा करकट्टी गरेर कुल एक लाख ३३ हजार ६ सय ५० रुपैयाँ उनको खातामा पठाएको थियो ।

उनले अमेरिका गइसकेपछि अर्थात् ०८१ साउनदेखि मंसिरसम्म यातायात सुविधा ७ हजार ५ सय, पत्रपत्रिका तथा इन्टरनेट सुविधा १७ हजार ५ सय, टेलिफोन सुविधा १७ हजार ५ सय, अतिथि सत्कार सुविधा ३० हजार, अनुगमन सुविधा ३० हजार, समन्वय र सहजीकरण सुविधा १२ हजार ५ सय रुपैयाँ बुझेका थिए । यसबाहेक चाडपर्व सुविधाबापत २० हजार रुपैयाँ पनि उनको खातामा जम्मा भएको थियो ।

गत साउन १२ मा श्रीमतीलाई डीभी परेपछि वडाध्यक्ष अमेरिकामा, सुविधा खातामा शीर्षकमा समाचार प्रकाशन गरेको थियो । उनले राजीनामा दिएसँगै चारमध्ये एक जना सदस्यलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिने तयारी छ । चार जना सदस्य सल्लाह गरेर एक जनाको नाम पठाउन भनिएको गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले बताए । ‘वडाध्यक्षले राजीनामा दिएपछि उहाँले दिएको कार्यवाहक पनि मिल्दैन । सदस्यमध्ये एक जना मिलेर आउनुस्, उसैलाई कार्यवाहक तोकेर पठाउँछौं भनेका छौं,’ उनले भने ।

२०७९ को स्थानीय तह निर्वाचनमा दाहाल माओवादीबाट विजयी भएका थिए । मादी–१२ मा चारमध्ये तीन सदस्य एमाले र एक सदस्य कांग्रेसबाट निर्वाचित छन् ।

कांग्रेसको नियमित महाधिवेशन माग गर्दै बुझाइयो ध्यानाकर्षण पत्र

काठमाडौं । नेपाली कांग्रेसको नियमित महाधिवेशन माग गर्दै केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र बुझाइएको छ। नेता रञ्जित कर्ण, नेविसंघ पूर्वमहामन्त्री दीपक भट्टराईलगायतले मुख्यसचिव कृष्णप्रसाद पौडेललाई केन्द्रीय कार्यालय पुगेर ध्यानाकर्षण पत्र बुझाएका हुन्।

महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितको अगुवाइमा विशेष महाधिवेशन माग गर्दै ५१ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरेको बेला सभापति शेरबहादुर देउवा समूहका नेताहरूले नियमित महाधिवेशनको माग गरेका हुन्।

 

समयमै भए कांग्रेसको नियमित महाधिवेशनको आगामी मंसिरमा हुनुपर्छ।

यस्तो छ ध्यानाकर्षण पत्र

सभापतिज्यू,

नेपाली कांग्रेस, केन्द्रीय कार्यसमिति
विषय: ध्यानाकर्षण सम्बन्धमा।

२०८२ साल असोज २४ गते शुक्रबार नयाँ बानेश्वरमा बसेको नेपाली कांग्रेस सम्बद्ध युवा, विधार्थी तथा तरुण भेलामा, देशको विषम अवस्थामा नेपाली कांग्रेसको केन्द्रीय समितिले तय गर्नुपर्ने कार्यक्रम र कार्यदिशाको सम्बन्धमा भेलामा सहभागीहरूको तर्फबाट अभिव्यक्त विचार र अवधारणाको आधारमा तपसिल बमोजिमको विषयमा ध्यानाकर्षण तथा सुझावको रूपमा नेपाली कांग्रेस केन्द्रिय कार्य समितिमा पेश गरेको जानकारी गराउँदछौं।

१) राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता, संविधान र लोकतान्त्रिक प्रणालीप्रति देशी, विदेशी षड्यन्त्रको वादल मडारिइरहेको वर्तमान संकटको अवस्थामा यही भाद्र २३ गते जेनजी युवाहरूको सहभागीतामा भएको सुशासन र भष्ट्राचार विरोधी कार्यक्रमले दिएको राजनीतिक सन्देश र युवाहरुले उठाएका विषयवस्तुहरू तथा भाद्र २३ गते भएको विधार्थी हत्या, भाद्र २४ गते शान्तिपूर्ण आन्दोलनको आवरणमा भएको हिंसा, अराजकता, विध्वंस र राज्य उपद्रवको कारण भएको भौतिक तथा मानवीय क्षति, शान्ति सुव्यवस्था कायम गर्न राज्य असफल भएको घटना, सूचना प्रवाहमा भएको कमी कमजोरीको समीक्षा र विश्लेषण गरी आवश्यक निर्णय लिन नेपाली कांग्रेस केन्द्रिय समितिलाई हार्दिक आग्रह गर्दछौं।

२) जेन्जी विद्रोहको कारण देखाई जननिर्वाचित सरकारलाई विस्थापित गर्ने अराजनीतिक कार्य र प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमको कारण उत्पन्न राजनीतिक अस्थिरता र संबैधानिक शून्यतालाई चिर्दै वर्तमान संकटपूर्ण राजनीतिको वैधानिक निकास दिन नेपाली कांग्रेसले संसदको सवैभन्दा ठूलो दल तथा संविधान र लोकतन्त्रको पहेदार पार्टीको हैसियत कायम गरी संसदवादी राजनीतिक दल, राजनीतिक संस्थाहरू, नागरिक समाजसँग संवाद र सहकार्यमा व्यवहारिक र वैधानिक राजनीतिक पहलकदमीको नेतृत्व गर्न नेपाली कांग्रेस केन्द्रिय समितिलाई हार्दिक आग्रह गर्दछौं।

त्यसै गरी यही २०८२ फाल्गुण २१ गतेको लागि घोषणा भएको निर्वाचनमा पार्टीको सक्रिय सहभागीता तथा प्रतिनिधिसभाको पुनर्स्थापनाको सम्बन्धमा राजनीतिक र एजेन्डागत छलफल गरी पार्टीको आधिकारिक धारणा निर्माण गर्न र नेपाली कांग्रेसको सो साझा अवधारणा कार्यकर्ता पंक्ति र जन समुदायमा सम्प्रेषण गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको ध्यानाकर्षण गर्न चाहन्छौं।

३) नेपाली कांग्रेसको १५ औं महाधिवेशनका सम्बन्धमा विधिवत र नियमित महाधिवेशन मात्र नेपाली कांग्रेसको सबै तह (वडादेखि केन्द्रसम्म) युवा पुस्ताको सम्मानजनक सहभागीताको माध्यम हो।पार्टीको पुनर्गठन,पुस्तान्तरण र रुपान्तरणको प्रक्रियालाई वैधानिकरुपमा अघि बढाउन सक्ने एक मात्र विकल्प भनेको विधिवत नियमित महाधिवेशन मात्रै हो भन्ने हाम्रो निष्कर्ष हो।

तसर्थ १५ औं महाधिवेशनको सुनिश्चितताको लागि स्पष्ट समय तालिकासहित मंसिर मसान्तभित्र महाधिवेशन हुन सक्ने आधार र कार्ययोजना ल्याउन कांग्रेस केन्द्रीय समितिलाई हार्दिक आग्रह गर्दछौं।

अन्यथा, यो वा त्यो बहानामा महाधिवेशन गर्न असक्षम मौजुदा कार्यसमिति भङ्गको जोडदार माग समेत गर्दछौं।

४) यही भाद्र २३ र २४ गते जेन्जी विद्रोहको नाममा भएको जनधनको क्षति, तोडफोड, आगजनी र विध्वंसको निष्पक्ष छानबिन गरी दोषी उपर कडा कार्वाही गर्न हामी जोडदार माग गर्दछौ।

आन्दोलनको नाममा नेपालको महत्वपूर्ण राजनीतिक र न्यायीक संस्थाहरु, सास्कृतिक सम्पदा र पुरातात्त्विक महत्वका धरोहरहरुमा भएको यस्तो विध्वंसात्मक गतिविधि, आगजनी र लुटपाटको घटनाले सम्पूर्ण नेपालीको शीर निउराएको छ।

यसक्रममा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा, नेपाली कांग्रेसका संस्थापक बी पी कोइरालाको निवास विराटनगर, सर्वोच्च नेता गणेशमान सिंह स्मृति भवन चाक्सिबारी, सन्तनेता किसुन जी आश्रम बाडेगाउँ जस्ता राजनीति धरोहरहरू तथा पार्टी सभापति शेरबहादुर देउवालगायत शीर्षस्थ नेताको निवासमा भएको आक्रमण, तोडफोड, आगजनी र लुटपाटको घटनालाई हामीले षड्यन्त्रको रुपमा लिएका छौं। सो अपराधिक कार्यको घोर निन्दा गर्दछौं।

यसै गरी भाद्र २४ गते नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा उहाँकी धर्मपत्नी केन्द्रीय सदस्य आरजु देउवामाथी भएको बर्बरता पूर्ण आक्रमण र साङ्घातिक हमलाको घोर भत्सर्ना गर्दछौं। घाइते देउवा दम्पतीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सो हत्या गर्ने मनसायले गरिएको सो अमानवीय घटनामा सम्लग्न अपराधीक गिरोहलाई कडा भन्दा कडा कार्वाही गर्न माग गर्दछौं।

५) जेन्जी युवाहरूको भावना अनुरूप सुशासन, पारदर्शीता र भष्ट्राचारमा शुन्य सहनशीलताको मुद्दालाई भने पार्टीले गम्भीरतापूर्वक लिन आवश्यक छ,भन्ने हाम्रो ठम्याइँ हो।

यसका लागि पार्टीबाट सिफारिस भै राज्यका विभिन्न ओहदामा पुगेका, लाभको पदमा बसेका व्यक्तिको आर्थिक अनुशासनलाई पारदर्शी बनाउन केन्द्रीय समितिले “आन्तरिक अनियमितता छानबिन आयोग” गठन गरी २०४६ साल पछिका केन्द्रदेखि स्थानीय तहको नेतृत्वमा पुगेको व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न र भविष्यमा पार्टीभित्र कुनै पनि जिम्मेवारी प्राप्त गर्न तथा सार्वजनिक पदको लागि पार्टीबाट सिफारिस गर्दा पारदर्शीताको क्लिन चिट प्राप्त व्यक्ति हुनु पर्ने व्यवस्था गर्न केन्द्रीय समितिलाई आग्रह गर्दछौं।

लोकतन्त्र भन्ने विधिको शासन मात्र होइन यसले नेता कार्यकर्तामा सोही अनुरूप लोकतान्त्रिक व्यवहार जीवन पद्धतिको अपेक्षा राख्दछ। लोकतान्त्रिक शैली,भष्ट्राचारमुक्त आचारण, पारदर्शी जीवन पद्धतिको लागि केन्द्रदेखि स्थानीय तहसम्म लागू हुने गरी आचारण संहिता जारी गर्न समेतआग्रह गर्दछौं।

पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर

काठमाडौं । सुन तस्करसँग मिलेर आपराधिक लाभ लिएको अभियोगमा पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

उनी विरुद्ध भन्सार छलेको र संगठित अपाराध गरेको आरोपमा भन्सार ऐन, २०६४ र संगठित अपराध निवारण ऐन, २०७० मा टेकेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख रामहरी काफ्ले जानकारी दिए ।

सीआईबीको टोलीले उनलाई हिजो काठमाडौंबाट पक्राउ गरेको थियो ।

२०७९ पुस १० गते गते Fly Dubai को Flight number FZ0587 बाट नेपाल आएका चिनियाँ नागरिक राहदानी LI HANSONG ले २ वटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान भेप त्रिभुवन विमानस्थल हुँदै भित्र्याएको विषयमा अनुसन्धान हुँदै जाँदा महरा तानिएका हुन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको स्टोरमा नासु रेवन्त खड्का समेतको जिम्मा र संरक्षणमा राखिएको ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बराबरको सुन बेचबिखन गरी आपराधिक समूहमार्फत आपराधिक लाभ लिएको देखिएको सीआईबीले जनाएको छ ।

हमासले छोड्यो २० इजरायली बन्दी, विपीनको न सास भेटियो न लास

काठमाडौं । दुई वर्ष लामो इजरायल-हमास द्वन्द्वको पीडादायी अध्यायमा आज एउटा उज्यालो किरण देखा परेको छ । गाजामा बन्दी बनाइएका २० जना इजरायली नागरिकहरू हमासको कब्जाबाट मुक्त भएका छन् ।

यो घटना इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताको पहिलो चरणको रूपमा आएको हो, जसअन्तर्गत इजरायलले करिब २,००० फलस्तीनी कैदीहरूलाई रिहा गर्ने बताइएको छ ।

आज पहिलाे चरणमा सात जना र दाेस्राे चरणमा १३ जना मुक्त भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुलाई रेडक्रसमार्फत परिवारकाे जिम्ममा लगाइएकाे छ ।

मुक्त भएका बन्दीहरूमा दुईजना युवा सैनिकहरू (२२ वर्षीय मातन एंग्रेस्ट र २० वर्षीय निम्रोड कोहेन) सामेल छन्, जसलाई २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा अपहरण गरिएको थियो । बाँकी पाँच जनामा भाइबहिनी जोडी गाली र जिभ बर्मन (२८ वर्षीय), गुय गिल्बोआ दालाल (२६ वर्षीय), एइतान मोर (२५ वर्षीय) र अन्य युवाहरू छन् । यीमध्ये धेरैजसो नोभा संगीत महोत्सवमा सहभागी थिए, जहाँ हमासको आक्रमणमा सयौं मानिसहरू मारिएका थिए ।
इजरायली सरकारले सोमबार बिहान जारी गरेका तस्बिरहरूमा मुक्त बन्दीहरू खुशीसाथ परिवारजनसँग पुनर्मिलन हुँदै गरेको देख्न सकिन्छ । बन्दी हस्ताक्षरणको प्रत्यक्ष प्रशारण समेत गरिएको थियो, जुन हेर्न इजरायलभर लाखौं नागरिकहरु भेला भए ।

इजरायली सेनाका अधिकारीहरूले उनीहरूलाई प्रारम्भिक स्वास्थ्य जाँचपछि अस्पतालमा लगिएको बताएका छन् ।

‘यो दिन आनन्द, राहत र खुशीको दिन हो,’ इजरायली प्रधानमन्त्री बेंजामिन नेतन्याहुका प्रवक्ताले भनेका छन् ।

यो सम्झौता इजरायलको सैन्य अभियान र हमासको प्रतिरोधबीचको लामो वार्तापछि भएको हो । अक्टोबर ७, २०२३ मा हमासको आक्रमणमा १,२०० भन्दा बढी इजरायलीहरू मारिएका थिए भने २५१ जनालाई अपहरण गरिएको थियो । यसको जवाफमा इजरायलको कारबाहीमा गाजामा ६७,००० भन्दा बढी फलस्तीनीहरू मारिएका छन् ।

सम्झौताअन्तर्गत कुल २० जना जीवित बन्दीहरू र २८ जनाको शव फिर्ता हुने अपेक्षा गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो अवसरमा इजरायलको संसद् केनेसेतमा सम्बोधन गर्ने कार्यक्रम छ, जसलाई ‘गाजा युद्ध समाप्तिको संकेत’ भनिएको छ ।

फलस्तीनी पक्षबाट पनि खुशीको लहर छ । गाजाको नासिर अस्पतालमा १,७०० फलस्तीनी कैदीहरूको स्वागातको तयारी भइरहेको छ, जसमध्ये धेरैलाई अक्टोबर ७ पछि बिनामुद्दा थुनामा राखिएको थियो ।

यद्यपि, यो युद्धविरामले स्थायी शान्ति कायम गर्छ कि गर्दैन भन्ने प्रश्न अझै कायमै छ । मध्यस्थकर्ताहरूले मंगलबार इजिप्टको शर्म एल-शेखमा शान्ति सम्मेलन आयोजना गर्दैछन्, जसमा २० भन्दा बढी देशका नेताहरू सहभागी हुनेछन् । इजरायली तथा फलस्तीनी परिवारहरूले यो घटनालाई ‘नयाँ सुरुवात’ को रूपमा हेरेका छन्, तर बाँकी बन्दीहरूको रिहाइ र द्वन्द्वको अन्त्यका लागि थप प्रयास आवश्यक रहेको बताएका छन् ।

नेपालका युवा विपीन जोशीको अवस्था भने अहिलेसम्म पनि स्पष्ट छैन । उनको न सास भेटिएको छ न लास । इजरायलको सेनाले उनी जीवित नरहेको संकेत गरेको छ । हमासले छोड्ने २० जनाको सूचीमा विपीनको नाम छैन । मृतकको सूचीमा पनि अहिलेसम्म उनको नाम आएको छैन । परिवारजन भने अझै पनि फर्किने आशामा छन् ।

हमासले छोडेका ७ बन्धक इजरायल पुगे, आजै १३ बन्धक रिहा हुने

एजेन्सी । युद्धविराम सम्झौताका क्रममा हमासले गाजामा अन्तर्राष्ट्रिय रेडक्रस समितिलाई बुझाएका सात जना बन्धकहरू इजरायल पुगेका छन् । यसरी रिहा हुने सबै इजरायली नागरिक हुन् । आजै थप १३ जना जीवित बन्धकहरूलाई मुक्त गरिने तय गरिएको छ ।
अल जजिराका अनुसार, गाजा र कब्जामा रहेका पश्चिमी तटका प्यालेस्टिनीहरूले सम्झौताको भागको रूपमा करिब २,००० जनालाई इजरायली जेलबाट रिहा गरिने क्षणको प्रतिक्षा गरिरहेका छन् ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल पुगिसकेका छन् । त्यहाँ उनले इजरायली संसदलाई सम्बोधन गर्नेछन् । सम्झौतासम्बन्धी सम्मेलनमा इजिप्टमा सहअध्यक्षको रूपमा भाग पनि लिनेछन् ।

प्यालेस्टिनीहरू उत्तरी गाजामा आफ्नो घरतिर फर्कन सुरु गरेका छन् ।

इजरायलको गाजामाथि युद्धले अक्टोबर २०२३ देखि कम्तीमा ६७ हजार ८ सय ६ जनाको मृत्यु र १ लाख ७० हजार ६६ जना घाइते भएका छन् । अल जजिराको रिपोर्टअनुसार, ७ अक्टोबर २०२३ का आक्रमणहरूमा इजरायलमा कुल १ हजार १ सय ३९ जनाको मृत्यु भयो भने करिब २०० जना बन्धक बनाइएका थिए ।

कैलालीको गोदावरीमा हाेटलमा खाना खाइरहेका युवकमाथि चक्कु प्रहार

धनगढीः कैलालीको गोदावरी नगरपालिकाको अतरियामा चक्कु प्रहारबाट एक युवक घाइते भएका छन्।

आइतवार राति गाेदावरी नगरपालिका-४ मा रहेकाे शुभम हाेटलमा खाना खाइरहेका बेला डडेल्धुराकाे नवदुर्गा गाउँपालिका-२ का ३२ वर्षीय गाैरव ऐरमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहलका अनुसार गौरवले हाेटलमा खाना खाइरहेका बेला ४/५ जनाकाे समूहमा प्रवेश गरेकाे एक समूहले उनीमाथि चक्कु प्रहार गरेकाे बताए।

कैलाली प्रहरी प्रवक्ता सिंहका अनुसार घाइते अवस्थाका ऐरलाई थप उपचारका लागि भारत पठाइएको छ।

चक्कु प्रहार गर्नेहरूको पहिचान खुलिसकेकाले खाेजी भइरहेको प्रहरीले जनाएकाे छ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला रू तीन हजार २२० मा खरिदबिक्री हुनेछ।

हिजो आइतबार सुन प्रतितोला रू दुई लाख ३८ हजार र चाँदी प्रतितोला रू तीन हजार एक सय २५ मा किनबेच भएको थियो। अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ७१ अमेरिकी डलर हाराहारी कारोबार भईरहेको छ।

बन्धकहरू मुक्त हुन थाले, विपिन जोशी ‘जीवित रहेको कुनै प्रमाण फेला परेन’

काठमाडौं । दुई वर्षअघि हमासले इजरेलबाट बन्धक बनाएर लगेका नेपाली विद्यार्थी विपिन जोशी “जीवित रहेको प्रमाण फेला नपरेको” औपचारिक जानकारी इजरेली सेनाले गराएको इजरेलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले बीबीसी न्यूज नेपालीलाई बताएका छन्।

बन्धक बनाइएकामध्ये ४८ जना अझै गाजामा रहेका र तीमध्ये केवल २० जना जीवित भएको हमासले जनाएको छ। इजरेल र हमासबीच सङ्घर्षविराम भएपछि सोमवारदेखि बन्धकहरू मुक्त गर्न थालिएको छ। हमासले पहिलो खेपमा सात इजरेली नागरिक आफूलाई हस्तान्तरण गरेको इजरेली सेनाले पुष्टि गरेको छ।

तर विपिन जोशी जीवित वा मृत दुवै वर्गका बन्धकको सूचीमा नभएको राजदूत पण्डितले बताए। “केही थप आयो र चमत्कारिक रूपमा केही भयो भने मात्रै अन्य कुरा। नभए विपिन जीवित नभएको आधिकारिक जानकारी उनीहरूले आज दिएका हुन्,” उनले भने।

हमासले उपलब्ध गराएको सूची इजरेल डिफेन्स फोर्स आईडीएफले हेरेपछि त्यसमा विपिन जोशीबारे केही पनि जानकारी नपाएको भनी कलमार्फत् जानकारी दिएको पण्डितले बताए।

आईडीएफले नेपालबाट विपिनका ठूलोबुवाका छोरा किशोर जोशीलाई, हाल अमेरिकामा रहेकी विपिनकी बहिनी पुष्पालाई र इजरेलमा राजदूत पण्डितलाई ग्रूप कलमा सहभागी गराएर इजरेली सरकारका प्रतिनिधिले पछिल्लो जानकारी गराएका हुन्। स्थानीय समयानुसार सोमवार बिहान साढे ७ बजेतिर उक्त जानकारी गराइएको हो।

किशोरले पनि सामूहिक कलमा आफू सहभागी भएको र जीवित २० जनाको सूचीमा आफ्ना भाइ विपिन नरहेको जानकारी पाएको बीबीसीसँग पुष्टि गरे।

हमासको नियन्त्रणमा भएका विदेशी र इजरेली बन्धकहरू

सन् २०२३ मा हमासको नेतृत्वमा इजरेलमा भएको अप्रत्याशित आक्रमणपछि जोशीसहित २५१ जनाजतिलाई लडाकुहरूले बन्धक बनाएर लगेका थिए। इजरेलमा भएको आक्रमणमा १० नेपालीसहित १,२०० जनाको ज्यान गएको थियो।

उक्त घटनामा मृत्यु हुने सबै नेपाली सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायमा अध्ययनका क्रममा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरेल पुगेका विद्यार्थी थिए।

जोशी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए। कृषि फर्ममा कार्यरत १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणमा परेर मृत्यु भएको थियो।

हमासले बन्धक बनाएकामध्ये ४८ जना अझै गाजामा भएका र तीमध्ये केवल २० जना जीवित भएको ठानिएको छ।

केही साताअघि हमासले तस्बिरसहित सार्वजनिक गरेको एउटा सूचीमा उक्त लडाकु समूहले जोशीको नाम पहिलो पटक समाविष्ट गरेको थियो।

हमासले खिचेको र आईडीएफले फेला पारेर भिडिओको स्क्रीनशटमा विपिन जोशी

तस्बिर स्रोत,The Hostages Families Forum/Handout via REUTERS

तस्बिरको क्याप्शन,हमासले खिचेको र आईडीएफले फेला पारेर परिवारजनलाई उपलब्ध गराएको भिडिओमा जोशीले आफ्नो परिचय दिएको देखिन्छ

गत वर्ष इजरेली सेनाले फेला पारेको एउटा भिडिओ फूटेजमा जोशीलाई गाजास्थित एउटा अस्पतालभित्र लग्दै गरिएको देखिएको थियो। उक्त भिडिओ नोभेम्बर २०२३ को थियो।

हमासले खिचेको र आईडीएफले फेला पारेर परिवारजनलाई उपलब्ध गराएको अर्को भिडिओमा जोशीले आफ्नो परिचय दिएका छन्।

हमास र इजरेलले सङ्घर्षविराम गर्ने तयारी गरेपछि जोशी परिवारले उनी “जीवित रहेको” प्रमाण भन्दै उक्त भिडिओ सार्वजनिक गरेको थियो।

पहल

नेपाली विद्यार्थी विपिन जोशीका आमाबुवा पद्मा र महानन्द (फाइल तस्बिर)

तस्बिरको क्याप्शन,नेपाली विद्यार्थी विपिन जोशीका आमाबुवा पद्मा र महानन्द (फाइल तस्बिर)

गत साता उनको नेपालस्थित परिवारले विपिन जोशी छिट्टै रिहामुक्त भई आफ्नो सम्पर्कमा आउने आशा व्यक्त गरेको थियो।

उनका बुवा महानन्द जोशीले हमासलाई युद्धविरामका लागि सहमत गराउने प्रयास सुरु भएसँगै विपिन सकुशल घर फर्किने आशा बढेको बताएका थिए।

”युद्धविरामको कुरा आएको छ फेरि। पहिलाझैँ हुने हो कि के हुने हो थाहा छैन। भगवान्‌ले कति पीडा दिएका हुन्?”

जोशीको रिहाइका लागि पहल गर्न अन्तर्राष्ट्रिय जगत्‌सँग आह्वान गर्न भन्दै झन्डै एक महिनाअघि उनकी आमा पद्मा र बहिनी पुष्पा इजरेल गएका थिए। त्यसपछि नेपाल फर्किएर उनीहरू संयुक्त राष्ट्रसङ्घको महासभामा जोशीको मुक्तिको पहल गर्न अमेरिका गए। -बीबीसी नेपालीबाट


९३ पटक सगरमाथा आरोहण गर्ने शेर्पा परिवारको कथा

सगरमाथा नजिकैको सुन्दर गाउँ फोर्चे ‘हिमाल आरोहीहरूको गाउँ’ भनेर चिनिन्छ। यहाँका अधिकांश परिवारका सदस्यले सगरमाथाको चुचुरोमा पाइला टेकिसकेका छन्। तर, प्रायः अन्तर्राष्ट्रिय आरोहीहरूले ख्याति पाउँछन् भने ती शेर्पा पथप्रदर्शकहरू, जो उनीहरूलाई सुरक्षित रूपमा शिखरसम्म पुर्‍याउँछन्, उनीहरु भने प्रायः गुमनाम हुन्छन् ।

उच्च जोखिमपूर्ण पेशा भएकाले फोर्चेका लगभग हरेक परिवारले कुनै न कुनै सदस्य गुमाइसकेका छन्। सगरमाथा आरोहणका क्रममा मृत्यु भएका ३०० भन्दा बढी आरोहीमध्ये करिब एक तिहाइ नेपाली मार्गदर्शक वा भरियाहरू हुन्। सन् २०१४ मा आइसफल दुर्घटनामा १६ जना गाइडले ज्यान गुमाए भने २०१५ को भूकम्पले बेसक्याम्पमा २२ जनाको जीवन लियो। यी दुबै घटनामा मृत्यु हुने अधिकांश फोर्चेका शेर्पा थिए।

तीमध्ये एक थिए दिवंगत निमा छिरिङ शेर्पा, जसले सन् १९५३ मा सर जॉन हन्टको नेतृत्वमा भएको ऐतिहासिक अभियानमा भरिया र मार्गदर्शकको भूमिका निर्वाह गरेका थिए। सोही अभियानमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले पहिलोपटक सगरमाथाको शिखरमा पाइला टेक्न सफल भएका थिए। निमा छिरिङका जेठा छोरा पासाङ ग्याल्जेन पनि सो अभियानका सदस्य थिए।

सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ स्थित फोर्चे गाउँ सगरमाथा आधार शिविर जाने बाटोमै पर्दछ। आरोहीहरूका लागि बास, साहस र मार्गदर्शन दिने यही गाउँमा जन्मिएका थिए निमा छिरिङ।

उनका आठ छोरा र एक छोरी थिए, जसमध्ये अधिकांशले सगरमाथा आरोहण गरेका छन्। निमा छिरिङका नाति पुस्ता समेत अहिले सगरमाथा आरोहणमा सक्रिय छन्। उनका परिवारका सदस्यहरूले हालसम्म ९३ पटक सगरमाथा आरोहण गरेका छन्— सम्भवतः यो एकै परिवारले कायम गरेको पहिलो र अद्वितीय कीर्तिमान हो।

एडमन्ड हिलारी र तेन्जिङ नोर्गेलाई इतिहास रच्न सहयोग गर्ने निमा छिरिङ र उनका छोरा पासाङ ग्याल्जेन जीवनभर आरोहण दलका पथप्रदर्शकका रूपमा सक्रिय रहे। जीवनको उत्तरार्धमा उनी हिमाल आरोहणबाट विश्राम लिएर फोर्चेमा आफैंले बनाएको गुम्बामा बस्दै आएका थिए। सन् २०१५ मा क्यान्सरका कारण उनको निधन भयो।

निमा छिरिङले सगरमाथाको शिखरमा पाइला टेक्न नपाए पनि उनका सन्तानहरूले उनको अधुरो सपना मात्र पूरा गरेनन्,  कीर्तिमान पनि कायम गरे।

उनका माहिला छोरा ङवाङले ११ पटक सगरमाथा आरोहण गरे। साहिला छोरा आङछिरिङ शेर्पा मृत्युअघिसम्म सगरमाथा आरोहण दलका पथप्रदर्शकका रूपमा सक्रिय रहे। १४ पटक सगरमाथा आरोहण गरेका अर्का छोरा मिङमा दोर्जे यतिबेला १५ औं पटक आरोहणका लागि सगरमाथामा छन् ।

मिङमापछि जन्मिएका ङती शेर्पाले ७ पटक सगरमाथा आरोहण गरे र तिब्बती मोहडाबाट सगरमाथा चढेर नेपाली मोहडाबाट तल झर्ने पहिलो आरोही बने। सन् १९९३ मा अन्नपूर्ण आरोहणका क्रममा हिमपहिरोमा परी उनको निधन भयो।

मिङमापछि जन्मिएका पानरु शेर्पाले १६ पटक सगरमाथा आरोहण गरेका छन्। उनको नेतृत्वमा सन् २००४ मा खुम्बु आरोहण केन्द्र स्थापना भएको थियो। अहिले पनि उनी नयाँ पुस्तालाई प्रशिक्षण दिँदै हिमाल आरोहणमा प्रेरित गरिरहेका छन्।

दाजुहरूलाई पछ्याउँदै मिङमा छिरिङले पनि १६ पटक सगरमाथा आरोहण गरे र अहिले अमेरिकाको कोलोराडोको क्रिस्टेड व्यूटमा बस्दै आएका छन्।

एक्ली छोरी मिङ्मा याङ्जीले चोयो, आमादाब्लमलगायतका हिमालहरू आरोहण गरेकी छिन्। उनका पति लाक्पा छिरी शेर्पाले ११ पटक सगरमाथा आरोहण गरेका छन्। यदि ज्वाईको योगदान पनि जोडिने हो भने यो परिवारका सदस्यहरूले जम्मा ९३ पटक सगरमाथा आरोहण गरेका छन्।

सबैभन्दा कान्छा छोरा दानरुले पनि १६ पटक सगरमाथा आरोहण गरिसकेका छन्। अहिले उनी अमेरिकाको कोलोराडोस्थित गोल्डेनमा छन् र आगामी वर्ष पुनः सगरमाथा आरोहणको तयारीमा छन्।

तेस्रो पुस्ताका लाक्पा ग्याल्जेन (पानरुका छोरा) ले दुई पटक सगरमाथा आरोहण गरिसकेका छन्। तिब्बत र नेपाल दुबै मोहडाबाट सफल आरोहण गरिसकेका उनले आफ्नो जीवनको लक्ष्य सगरमाथामाथिका सबै रेकर्ड तोड्नु रहेको बताएका छन्।

‘फोर्चेमा जन्मिएका हामी सगरमाथा हेर्दै हुर्कियौं,’ पानरु भन्छन्, ‘त्यसैमा हाम्रो जीवन बित्यो। हाम्रो परिवारका लागि सगरमाथा नै सबैथोक हो—लाग्छ, हामी सगरमाथा चढ्नकै लागि जन्मिएका हौं।’

दानरुका अनुसार फोर्चे गाउँमा ९५ घरधुरी छन्, जहाँ करिब ३५० जनसंख्या छ। तीमध्ये ७५ भन्दा बढी परिवारका सदस्यले कम्तीमा एकपटक सगरमाथा आरोहण गरेका छन्।

विश्वकप छनोट : यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित

काठमाडौं : आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले यूएइलाई पराजित गरेको छ।

एशोसियट राष्ट्रको एल क्लासिको मानिएको यो खेलमा नेपालले यूएईलाई १ रनले पराजित गरेको छ।

ओमानको अल अमेरत क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो।

नेपालले दिएको १४१ रनको विजयी लक्ष्य प्रस्तुत पछ्याएको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको हो।

पहिलो विकेट सस्तैमा गुमाएको यूएईले दोस्रो विकेटको लागि गरेको ८१ रनको साझेदारीले यूएईलाई खेलमा फर्काएको हो। कप्तान मोहम्मद वासिम १ रनमा क्याच हुँदै पेभेलियन फर्किदा दोस्रो विकेटका लागि अलिशान सराफूले जोनाथन फिगिले ८१ रनको साझेदारी गर्दै यूएईलाई सहज अवस्थामा ल्याएका थिए।

तेस्रो विकेटको रुपमा अलिशान सराफूको विकेट गएपछि भने यूएईको ब्याटिङ आक्रमण घट्यो। त्यसपछि भने अन्तिम ओभरमा ३ बलमा ३ रन चाहिएको अवस्थामा आक्रमक खेलिरहेका ध्रुव परासर १७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै १९.४ मा दीपेन्द्र सिंह ऐरीको बलमा सन्दीप जोराको हातमा क्याच भए। १९.५ मा हैदर अलि रन आउट भए।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए। सन्दीप लामिछाने, सोमपाल कामी र गुल्सन झाले १–१ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५१ रन बनाए। उनले ४७ बलमा ४ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा २८ रन बनाए। कप्तान रोहित पौडेलले २० रन, गुल्सन झाले ५ बलमा २ चौका र १ छक्का प्रहार गरे। कुशल मल्लले १० रन बनाए।

 

सन्दीप जोरा र सोमपाल कामी क्रमशः ४ र ६ रनमा अविजित रहे।

 

यूएईका लागि बलिङमा मोहम्मद रोहिद, हैदर अलि, जाहिद अलि, हैदर अलि, हर्सिक कौशिक र ध्रुव परासरले १–१ विकेट लिए।

 

नेपालले यूएईलाई हराउँदा विश्वकप खेल्ने सम्भावना बढेको छ। नेपालले समूह ‘बी’अन्तर्गत जापान र कुवेतलाई हराउँदै अविजित सुपर सिक्समा प्रवेश गरेको थियो।

 

समूह ‘ए’ बाट यूएईपनि अविजित रुपमा सुपर सिक्स आएको हो। यूएईले समूह चरणमा। कतार र मलेसियालाई हराएको थियो। नेपालले सोमबार कतारसँग खेल्नेछ। बुधबार सामोआ र शुक्रबार नेपालले ओमानसँग खेल्नेछ।

यूएईलाई नेपालले दियो १ सय ४१ रनको लक्ष्य

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको जारी खेलमा नेपालले जितका लागि १ सय ४१  रनको लक्ष्य दिएको छ ।

ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४० रनको योगफल खडा गरेको हो ।

नेपाल समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो । नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो । यूएई पनि समूह ‘ए’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो ।

समूह चरणमा युएईले कतार र मलेसियालाई हराएको थियो । समूह चरणको छनोट खेलमा नेपाल र युएई अपराजित छन् । दुवै टोलीसँग समान दुई–दुई अङ्क छन् । विश्वकप छनोटमा सहभगिता जनाउनको लागि पनि आजको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ ।

देउवा, ओली र प्रचण्डलाई बिदा गरौँ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तीन दलका तीन प्रमुख नेतालाई तत्काल बिदाइ गर्न आग्रह गरेका हुन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बिदाइ गर्न भनेका हुन्।

उनले यसका लागि तीनवटै पार्टीमा संवाद सुरु गर्नुपर्ने पनि बताएका छन्।   उनले ‘इफ, बट’ केही नभनी तीनै दलका नेताहरूले उनीहरूलाई बिदा गर्न भन्नुपर्ने पनि बताएका छन्। सुधारको सुरुवात गरेर संवादको थालनी गर्नुपर्ने थापाको भनाइ छ।

नेपाली सेनालाई बेलायतमा चौथो पटक स्वर्ण पदक

काठमाडौँ । नेपाली सेनाले संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा सञ्चालन भएको एक्सरसाइज क्याब्रिअन पट्रोल, २०२५ मा स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ ।

यही असोज २३ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अंकसहित स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त अभ्यासमा बेलायतसहित ३३ राष्ट्रका एक सय १७ टोलीको सहभागिता थियो । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रियस्तरको उक्त प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आइरहेको छ ।

तोकिएको समयसीमा दुई दिनभित्रमा हतियार, करिब ५० पौण्ड तौलको उपकरण र बन्दोबस्तीका सामग्रीसहित ५० किलोमिटर दूरी पार गर्नुपर्ने त्यस अभ्यासमा सहभागी टोलीको विभिन्न तयारी, खबर संकलन, घाइते-बिरामीको व्यवस्थापनलगायतका दक्षताको मूल्यांकन र परीक्षण गरिने निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाले उक्त प्रतियोगितामा सन २०१७, २०१९ र २०२४ मा पनि स्वर्ण पदक प्राप्त गरेको थियो ।

नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी टी(२० विश्वकप एसिया एण्ड ईएपी छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले यूएईविरुद्ध टस जितेको छ ।

ओमानको अल अमारेत ग्राण्डमा हुने प्रतिस्पर्धामा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो । युएईविरुद्ध खेल्ने नेपालको टोलीमा यसअघिकै खेलाडी सहभागी छन् । पहिलो रोजाइमा कुनै परिवर्तन गरिएको छैन । समूह चरणमा जापानविरुद्ध खेलेको नेपाली टोली नै युएई विरुद्ध मैदान उत्रने छन् ।

खोज्नुहोस