पुनर्स्थापना माग गर्दै आरक्षपीडित

द एभरेष्ट पोष्ट
५ साउन २०८३ १२:२९
पुनर्स्थापना माग गर्दै आरक्षपीडित

कञ्चनपुर । महेन्द्रनगरस्थित जडीबुटीको जमिनमा झुपडी बनाएर बस्दै आएकी हिरापुरबाट विस्थापित ४५ वर्षीय आरक्षपीडित दुखिनी रानाको झुपडी डुबानमा परेपछि चिन्तित भएका छन् । लगातार तीन दिनको वर्षाले झुपडीमा पानी भरिएपछि उनी जस्तै जडीबुटीको जमिनमा टहरा बनाएर बसेका निकुञ्जपीडितले दिनरात पानीमा भिजेर बस्नु परेको गुनासो गरेका छन् ।

पालले छाएको झुपडीमा जमिनको सतह भरिएर पानी भित्र पस्न थालेपछि कष्टकर जीवन बिताउनु परेको अर्का आरक्षपीडित गङ्गाबहादुर विष्टले गुनासो गरे । झुपडीको मर्मतका लागि भुइँमा इँटा बिछ्याउँदै गरेका उनले खाना बनाउनसमेत ठाउँ ओभानो नभएको गुनासो गरे।

उनले भने, “दुई दिन भोकै बस्नु प¥यो । सरकारले पुनस्र्थापनाको आश्वासन दिए पनि कुनै व्यवस्था नगरिदिँदा समस्या भएको छ ।” सरकारले अस्थायी बसोबासको समेत व्यवस्था नमिलाएको भन्दै आरक्षपीडित सोमबारदेखि पुनः आन्दोलित भएका छन् । यसअघि गत वैशाखमा आन्दोलित उनीहरूले व्यवस्थापन मिलाउने आश्वासनपछि आन्दोलन रोकेका थिए तर अहिले कुनै वास्ता नगरिँदा पुनः आन्दोलित हुनु परेको उनीहरूको भनाइ छ ।

आरक्षपीडित सङ्घर्ष समितिका अध्यक्ष जयबहादुर रोकायाले सरकारको झुटा आश्वासनका कारण आरक्षपीडितले पानीमा डुबेर कष्टकर जीवन बिताउनु परेको र पटक पटक आन्दोलित हुनु परेको बताए । आरक्षपीडितले सोमबार महेन्द्रनगर बजारसहित जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेटअगाडि प्रदर्शनसमेत गरेका छन् ।

उनीहरूले १० कट्ठा जमिन नघटाई उपलब्ध गराइनुपर्ने, हालसम्मको क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने, आरक्षपीडितलाई द्वन्द्वपीडित घोषणा गरिनुपर्ने, आरक्षपीडितको एउटै वडा घोषणा गरिनुपर्नेलगायतका माग राखेर आन्दोलनमा उत्रिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस