कैलालीका नदीमा दुर्लभ गङ्गेटिक डल्फिन देखापर्न थाले
धनगढी: विश्वमै दुर्लभ र नेपालमा संरक्षित गङ्गेटिक प्रजातिका डल्फिन कैलालीका नदीहरूमा देखिन थालेका छन्। नदीमा जलस्तर बढेसँगै बच्चा हुर्काउने उद्देश्यले डल्फिनहरू यहाँ आएका हुन्। यस वर्ष मनसुन ढिलो सुरु भएकाले डल्फिनको आगमन पनि अपेक्षाकृत ढिलो भएको संरक्षणकर्मीहरूले बताएका छन्।
डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाका अनुसार गत वर्ष जेठ मसान्तमै डल्फिन देखिन थालेका थिए भने यस वर्ष केही ढिलोगरी आगमन भएको हो। उनले गत मङ्गलबारदेखि टीकापुर नगरपालिका–७ र भजनी नगरपालिका–८ को सिमानामा पर्ने मोहना नदी र पथरैयाको दोभान क्षेत्रमा एक बच्चासहित तीन वटा डल्फिन देखिएको जानकारी दिए।
त्यस्तै, पथरैया र काँढा नदीको दोभानमा दुई वटा वयस्क डल्फिन पनि देखिएका छन्। केही दिनअघिसम्म काँढा नदीमा पानीको सतह निकै घटेको भए पनि हाल पानी बढ्दै गएको छ। नदीमा पानीको मात्रा अझै बढेमा डल्फिनको सङ्ख्या क्रमशः बढ्दै जाने ढुङ्गानाको भनाइ छ।
