यसै वर्ष बङ्गलादेश फर्किने शेख हसिनाको घोषणा

द एभरेष्ट पोष्ट
१५ असार २०८३ १४:४०

बङ्गलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले यसै वर्ष स्वदेश फर्किने घोषणा गर्दै आफ्नो अनुपस्थितिमै सुनाइएको मृत्युदण्डको फैसला “गैरकानुनी, असंवैधानिक र राजनीतिक प्रतिशोधबाट प्रेरित“ भएको बताएकी छन् ।

सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलनपछि सत्ता गुमाएर भारत पुगेकी ७८ वर्षीया हसिनाले भारतीय सञ्चारमाध्यम एनडीटीभीसँगको अन्तर्वार्तामा सबै बाधा र षड्यन्त्र पार गर्दै यसै वर्ष बङ्गलादेश फर्किने बताएकी छन्  ।

मृत्युदण्डको जोखिमबारे सोधिएको प्रश्नमा उनले आफू मृत्युबाट नडराउने बताइन्। गएको नोभेम्बरमा ढाकाको एक अदालतले सन् २०२४ को आन्दोलनका क्रममा हत्या गराउन उक्साएको, आदेश दिएको तथा हिंसा रोक्न असफल भएको आरोपमा हसिनालाई अनुपस्थितिमै दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो ।

हसिनाले फैसला अस्वीकार गर्दै न्यायपालिकालाई आफ्नो पार्टी अवामी लिगको नेतृत्व समाप्त पार्न प्रयोग गरिएको राजनीतिक औजारको संज्ञा दिइन । उनले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकाङ्क्क्षाका लागि नभई राजनीतिक अधिकार, लोकतन्त्र, कानुनी शासन र सन् १९७१ को स्वतन्त्रता सङ्ग्रामको भावनालाई पुनःस्थापित गर्ने उद्देश्यका लागि भएको दाबी गरिन् ।

हसिनाले अवामी लिगमाथिको प्रतिबन्ध हटाउन, पार्टी नेताविरुद्ध लगाइएका मुद्दा फिर्ता लिन, राजनीतिक बन्दीलाई रिहा गर्न तथा शान्तिपूर्ण राजनीतिक गतिविधिको वातावरण बनाउन वर्तमान सरकारसँग आग्रह गरेकी छन् ।

यस्तै प्रधानमन्त्री तारिक रहमान नेतृत्वको सरकारले भने हसिनाको शासनकालको अन्तिम चरणमा भएका कथित अपराधबारे जवाफदेहिता सुनिश्चित गर्न कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ । -एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस