औषधि व्यवसायलाई मर्यादित बनाउन सरोकारवालाको जोड
यशोदा शर्मा,
कैलाली। नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा कैलालीको ५३ औँ वार्षिकाेत्सवकाे अवसरमा सरकारी निकाय र औषधि व्यवसायीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सोही अवसरमा ११३ पटक रक्तदान गरिसकेका समाजसेवी दीपक उपाध्याय (नेपाल) लाई विशेष सम्मान समेत गरिएको छ।
कार्यक्रममा बोल्दै नेपाल औषधि व्यवसायी संघ कैलालीका अध्यक्ष प्रेम बिसीले व्यवसायलाई मर्यादित बनाउन आफूहरू प्रतिबद्ध रहेको बताए। तर, औषधि व्यवस्था विभागले सामान्य औषधिहरूमा पनि झन्झटिलो मापदण्ड राखेर व्यवसायीलाई मारमा पारेको उनको भनाइ छ । खुला सिमानाबाट भित्रने औषधिले पनि व्यवसायीहरू मारमा पर्ने हुँदा यसको नियमन गर्न उनको माग छ । उनले भने, “खुला सिमानाबाट भित्रिने गुणस्तरहीन औषधिको नियमनमा सम्बन्धित निकायले विशेष पहल गर्नुपर्छ । यसले पनि औषधि व्यवसाय लाई प्रभावित पारेको छ ।”
कैलालीमा करिब २५० औषधि व्यवसायी रहेको उनले जानकारी दिए । सहभागी औषधि व्यवसायी र सम्बन्धित निकायबीच अन्तरक्रिया गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको उनले बताए ।
औषधि व्यवस्था विभाग नेपालगन्जका निरीक्षक दिनेश न्यौपानेले सम्बन्धित ऐन कानुनको पालना नगरे मुद्दा दर्ता तथा कारबाही गर्न बाध्य हुने बताए ।औषधि जस्तो संवेदनशील क्षेत्रमा केही व्यवसायीबाट अमर्यादित काम हुनु दुःखद रहेको उनको भनाइ छ। उनले भने, “कानुनबाट भागेर कतै जान सकिँदैन। औषधी ऐनको पालना अनिवार्य हुनुपर्छ। कतिपय व्यवसाय सिलबन्दी वा निलम्बन गर्नुको उद्देश्य व्यवसायीलाई सतर्क बनाउनु मात्रै हो।”
यस्तै, स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले स्वास्थ्य क्षेत्रमा व्यवसाय गर्दा ऐन कानुन पढेर तोकिएको मापदण्ड र इजाजतपत्रको अनिवार्य परिपालना गर्नुपर्नेमा जोड दिए।
आन्तरिक राजस्व कार्यालय कैलालीका प्रमुख भीम प्रसाद काफ्लेले विगतदेखि करमा अपडेट नभएका वा करको दायरामा नआएका व्यवसायीका लागिसमेत सरकारले विशेष छुट र सहुलियतको व्यवस्था गरेको जानकारी दिए । यो सहुलियत पुष मसान्त सम्म मात्रै भएको हुँदा छुटको सदुपयोग गर्न सम्बन्धित सबैसँग समन्वय गरेर काम गर्ने उनले बताए । करछुटको सेवा पाउन सहज हुने हुँदा व्यवसायीहरूलाई ६ वर्षसम्मका व्यावसायिक कागजातहरू सुरक्षित राख्न समेत उनले आग्रह गरे ।
कार्यक्रममा कैलाली र कञ्चनपुरका औषधि व्यवसायीहरूको सहभागिता रहेको थियो।
