भन्सार दर हेरफेर आरोपमा अर्थमन्त्री डा. वाग्लेको स्पष्टीकरण
काठमाण्डौ– अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरिएको र दस्तावेजबाट पानाहरू गायब पारिएको आरोपमा कुनै सत्यता नरहेको बताएका छन् ।
उनले यसलाई भ्रामक र अतिरञ्जित भन्दै चियाको कपमा तुफान ल्याउन खोजिएको टिप्पणी गरेका छन् । सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले भन्सार दरमा कुनै नीतिगत चलखेल नभएको र प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद बनाइएको बताए । बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले गएको वर्ष एमाले र कांग्रेसको सरकारले सच्याएका केही दरहरूलाई नै यस पटक स्पष्ट पारिएको समेत बताएका छन् ।
विद्युतीय गाडी (ईभी) को हकमा ५० लाख रुपैयाँ मुनिका गाडीको मूल्य नबढोस् भन्ने सरकारको नीति रहेको उनले उल्लेख गरे । भन्सार बिन्दुमा २० लाख रुपैयाँसम्म मूल्य भएका गाडीहरू, जसको बजार मूल्य ५० लाख भन्दा कम हुन्छ, तिनलाई सडक निर्माण दस्तुरमा ५ प्रतिशतको सट्टा २.५ प्रतिशत मात्र लगाउने निर्णय भएको अर्थमन्त्रीले बताएका छन् ।
कानुन मन्त्रालयसम्म पुग्दा यो बुँदा छुट्न पुगेकाले त्यसलाई पछि संशोधनमार्फत समावेश गरिएको उनको भनाइ छ । साथै, जेठ १५ अघि नै भन्सार प्रक्रिया पूरा गरी अन्तः शुल्क तिरिसकेका गाडीहरूको हकमा थप दस्तुर नलाग्ने गरी स्पष्ट पारिएको उनले जानकारी दिए ।
