राज्य संयन्त्रलाई संयमित रहन ओलीको चेतावनी
काठमाण्डौ – नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राज्य संयन्त्रमा रहेका व्यक्ति तथा निकायहरूलाई आफ्नो अधिकारको दुरुपयोग नगर्न र संयमित रहन चेतावनी दिएका छन् ।
आजदेखि शुरू भएको पार्टीको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुई दिने कार्यशालामा बोल्दै अध्यक्ष ओलीले समय र परिस्थिति सधैँ एकैनासको नरहने उल्लेख गर्दै राज्यका जिम्मेवार ओहोदामा रहेकाहरूलाई ‘उत्ताउलिएर’ अगाडि नबढ्न सचेत गराए ।
नेपालको राजनीतिक इतिहास स्मरण गर्दै उनले राणा शासन, पञ्चायती तानाशाही र राजतन्त्रजस्ता शक्तिशाली व्यवस्थाहरू त ढलेको अवस्थामा वर्तमान ’अराजक तन्त्र’ लामो समय नटिक्ने दाबी गरे ।
अध्यक्ष ओलीले गएको भदौ २३ र २४ गते भएका आगजनी तथा राष्ट्रिय सम्पत्ति विनाशका घटनाहरूप्रति सरकारको ध्यानाकर्षण गराए । उनले राष्ट्रव्यापी रूपमा भएका यस्ता उपद्रवकारी र आपराधिक क्रियाकलापलाई सरकारले सामान्य रूपमा लिएर बेवास्ता गर्न खोजेको आरोप लगाए ।
उनले भने, ‘राज्य संयन्त्रमा रहेका संस्था र व्यक्तिहरूलाई म भन्न चाहन्छु—समय र परिस्थिति सधैँ एउटै रहँदैन । उत्ताउलिएर धेरै अगाडि नबढ्नुहोला । सधैँ एउटै परिस्थिति रहँदैन ।’
